PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रतिबन्ध बेवास्ता गर्नेलाई कारबाही, सात क्विन्टल प्लास्टिक झोला जफत



काठमाडौँ : सरकारले राजधानीमा प्लास्टिक झोलामाथि प्रतिबन्ध लगाएको नौ दिनमा सात क्विन्टल झोला जफत गर्नुका साथै आठवटा थोक बिक्रेता, एउटा डिपार्टमेन्टल स्टोर र दुईजनालाई कारबाही गरेको छ । 

विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभागले बजार अनुगमन तथा कारबाहीलाई तीव्र गतिमा अघि बढाएसँगै उक्त परिमाणका प्लाष्टिक झोला र बिक्रेतालाई कारबाहीको दायरमा ल्याएको हो । 

काठमाडौँ उपत्यकामा मापदण्ड विपरीतका प्लास्टिक झोला आयात हुन नदिन विभागले उपत्यका प्रवेश गर्ने तीनवटा नाकामा टोली खटाइ निगरानी गरिरहेको र त्यस्ता झोला फेला परेमा जफत गर्ने जनाउँदै निगरानीका लागि उपत्यकाका महानगरपालिका, उपमहानगरपालिका र १९ वटा नगरपालिकाले समेत अनुगमन गरिरहेका बताएको छ । 

विभागले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर अहिलेसम्म सात सय बिक्रेता, २८ वटा डिपार्टमेन्टल स्टोर र कालिमाटीलगायत विभिन्न स्थानका तरकारी बजार तथा उपत्यकाका अन्य थोक तथा खुद्रा बिक्रेताको निरन्तर अनुगमन गरिएको जनाएको हो । 

विभागका महानिर्देशक सुरोज पोखरेलका अनुसार कालिमाटीस्थित रेग्मी प्लास्टिक उद्योग र अधिकारी प्लास्टिक उद्योग, असनमा सञ्चालित रकी प्लास्टिक स्टोर, आरके प्लास्टिक स्टोर, एनके प्लास्टिक स्टोर, पुल्चोकको सेलवेज डिपार्टमेन्टल स्टोर, लगनखेलमा सञ्चालित थानापति ट्रेडर्सलगायत कारबाहीको दायरामा परेका छन् । 

सरकारले वातावरण संरक्षण ऐन, २०५३ अनुसार यही वैशाख १ गतेदेखि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा २०३५ इन्च साइज र ४० माइक्रोन मोटाईसम्मका प्लास्टिक झोलाको आयात, भण्डारण, बिक्री, वितरण तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको हो । गत चैत १८ गते त्यस्तो प्रतिबन्धको सूचना नेपाल राजपत्रमा प्रकाशन भइसकेको छ । 

प्लास्टिकजन्य फोहोर जलाउँदा निष्कासन हुने डाइअक्सिन तथा फ्यूरानजस्ता विषाक्त ग्यासले क्यान्सरजन्य रोग निम्त्याउने, प्लास्टिकको झोलाले माटोको उर्वराशक्ति घटाउने, जमिनमा पानी रिचार्ज हुन नदिने, सहरको सौन्दर्य घटाउने, नाला तथा ढललाई जाम गरी वातावरण तथा मानव स्वास्थ्यमा नकारात्मक असर पार्ने भएकाले प्लास्टिकका झोलाको प्रयोग, बिक्री वितरण, आयात, भण्डारणमा पूर्णरुपमा बन्देज लगाइएको हो । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell