PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्वोच्च साँघुरो भएको नाममा अभिलेखालयलाई बेवास्ता



काठमाडौँ : पुर्खाले सिर्जेका र सँगालेर राखेका सिर्जनाको लोभलाग्दो सङ्कलन रहेको राष्ट्रिय अभिलेखालय \लाई सरकारले अविलम्ब स्थानान्तरण गर्न भनेको एक वर्ष बितिसकेको छ । 

सरकारले २०७१ साल वैशाख २५ गतेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको परिसर साँघुरो हुन गई सेवाग्राहीलाई असुविधा भएकाले नयाँ भवन निर्माण गर्नका लागि अभिलेखालयलाई अन्य स्थानमा सर्न आदेश दिएको थियो । राष्ट्रिय अभिलेखालयका प्रमुख प्रकाश दर्नाललाई भने अभिलेखालय स्थानान्तरण गर्न सरकारले सम्बन्धित निकायसँग परामर्श नै नगरी गरेको निर्णयप्रति दुःख लागेको छ । 

“एउटा सानो चिज हराए वा टुक्रिए, करोडौँको क्षति हुन्छ, दुर्लभ र महत्वपूर्ण चिजलाई स्थानान्तरण गर्न त्यति सहज हुँदैन, फेरि यो भवनको विकल्पमा उपयुक्त स्थान पनि तय भएको छैन”–उनले भने । दर्नालका अनुसार अभिलेखालयमा पुनः तयार गर्न नसक्ने अर्बौं पर्ने चिज छन्, यिनीहरुलाई सार्न मिल्दैन, सर्वोच्च अदालत जहाँ पनि आधुनिक भवन बनाएर सर्न सक्छ, तर हामीले राष्ट्रका ऐतिहासिक गौरवमय वस्तु भएको चिजको सुरक्षामा ध्यान दिनुपर्ने हुन्छ, अलिकति क्षति भए पनि त्यसको कहिल्यै पूर्ति गर्न सकिँदैन । 

“ज्ञानको भण्डारलाई सरकारले खेलाँची गर्न मिल्दैन, जोक हैन, राष्ट्रको सम्पत्ति हो”– दर्नालले भने–“राउटे, फिरन्तेले त जङ्गल बस्ने उपयोगी छ कि छैन भनेर सोचेर जान्छन् भने अभिलेखालय त राष्ट्रको निधि हो, हामी घरपतिलाई नसोधी यस्तो निर्णय भयो । ” 

नेपाल आकारमा सानो भए पनि यहाँ दक्षिण एसियाकै दुर्लभ ग्रन्थ छन् । दुर्लभ ग्रन्थ सङ्कलनको हिसाबले नेपाल निकै प्रसिद्ध छ । दर्नालका अनुसार यस्तो चिजलाई सार्नुको अर्थ हजारौँ वर्ष पुरानो अमूल्य सम्पत्तिमाथि हेलचेक्र्याइँ गर्नु हो । एक ठाउँबाट ग्रन्थ सार्नु राम्रो हुँदैन । सरकारको सम्पत्तिमा भएको भवन भएकाले सुकुम्बासीजस्तो तत्काल सर्ने अवस्था छैन । पूर्वसंरचनाबिना कुनै आधारबिना अभिलेखालय सार्न सकिँदैन । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको अभिलेखालयलाई सो स्थान छाड्नका लागि अदालतले मन्त्रालयसँग कुरा गरेको थियो तर अभिलेखालयलाई सिधै कुरा गरेको थिएन । गत चैत २३ गते मात्र अदालतले जग्गा खाली गरिदिनका लागि आधिकारिक रुपमा लिखित पत्र पठाएको थियो । अदालतका सहप्रवक्ता बाबुराम दाहालले पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र नेपाली सेनाअन्तर्गत क्याभलरी (घोडा राख्ने तबेला) रहेको ३० रोपनी जग्गाको लालपुर्जा अदालतले पाइसकेको बताए । “अभिलेखालय स्थानान्तरण भएपछि भवन निर्माणको काम अघि बढ्ने र अहिले नक्सा बनाउने प्रक्रिया अघि बढिरहेको छ” –उनले भने । 

अदालतको लिखित पत्रको जवाफमा अभिलेखालयले उपयुक्त विकल्प नभएसम्म आफूहरु सो स्थानबाट सर्न नसक्ने जनाएको छ । सरकारले निर्णय गर्ने बेला नै खाली गर्ने स्थिति हो, हैन, अभिलेखालय सार्न मिल्छ कि मिल्दैन, मिल्छ भने कति समय लाग्छ भन्ने कुरा अभिलेखालयसँग छलफल गरेर गर्नुपर्ने अभिलेखालयका प्रमुख दर्नालको गुनासो छ । उनका अनुसार अभिलेखालयमा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय महत्वका चिज भएकाले यसलाई सरकारले खेलाँची तरिकाले हेर्नु उपयुक्त निर्णय होइन । 

गत वैशाखमा मन्त्रिपरिषद् बैठकले पुरातत्व विभाग, राष्ट्रिय अभिलेखालय र नेपाली सेनाअन्तर्गत क्याभलरी (घोडा राख्ने तबेला) समेत गरी ३० रोपनी जग्गा अदालतलाई उपलब्ध गराउने निर्णय गरेको थियो । अभिलेखालयलाई नारायणहिटीभित्र जग्गा दिई स्थानान्तरण गर्ने व्यवस्था मन्त्रालयले मिलाउने प्रस्ताव गरिएको थियो तर पछि नारायणहिटीभित्र जग्गा हेरिए पनि नारायणहिटी दरबार सङ्ग्रहालयले नयाँ भवन निर्माण गर्न हुँदैन भनी जग्गा दिन मिल्दैन भन्यो । 

अघिल्लो आवमा सरकारले जग्गा खोजेर भवन बनाउनका लागि भनी रु ५० लाखसमेत छुट्याएको थियो । उपयुक्त जग्गा नपाएपछि सो पैसा अभिलेखालयले अन्य जरुरी सामान खरिद गर्‍यो। 

के के छन् अभिलेखालयमा 

वीर पुस्तकालयको उत्तराधिकारीका रुपमा राष्ट्रिय अभिलेखालय स्थापना भएको हो । भारत सरकारको सहयोगमा प्राचीन ग्रन्थ राख्न उपयोगी भवन निर्माण २०१८ सालमा सुरु गरेर २०२४ सालमा पूरा भयो । अहिले अभिलेखालयमा ३० हजारभन्दा बढी हस्तलिखित ग्रन्थ छन् । तीन चार हजार अभिलेखको उतार छ । शिलालेखको प्रतिलिपि(रबिङ) तीन हजार छ । ठ्यासफु (नेपाल भाषामा लेखिएको टिपोट तथा दस्तावेज) ऐतिहासिक चिट्ठीपत्र, विभिन्न समयका महत्वपूर्ण सन्धिसम्झौता, लालमोहर, ‘गोरखापत्र’ र ‘ द राइजिङ नेपाल’ छन् । 

त्यसैगरी ३० वर्ष लगाएर देशभरबाट सङ्कलित दुई लाख माइक्रोफिल्म ग्रन्थ छन् । तीन हजार ग्रन्थ ताडपत्र (बोक्रामा लेखिएको पाम लिप) मा छन् जुन सबैभन्दा पुरानो हो । साथै सातौँ आठौँ शताब्दीको कागजदेखिको कागजमा लेखिएका ग्रन्थसमेत छन् । 

भारत सरकारले ग्रन्थ र कागजपत्र राख्नकै लागि भनेर सात आठ रिक्टर स्केलको भूकम्प जाँदा पनि नभत्किने भवन बनाएको हो । त्यसले गर्दा सरकारले सर्नू भन्नेबित्तिकै अभिलेखालयको सर्ने अवस्था छैन किनकि ग्रन्थलाई वातावरण अनुकूल बनाएर राख्नुपर्छ । उचित तापक्रम मिलाउन चौबिसै घन्टा बिजुली आवश्यक पर्छ । ग्रन्थलाई यथावत् राख्न ‘एसी’ चलाउनुपर्छ । 

पहिले कहाँ थियो अभिलेखालय 

वषौँदेखि संरक्षण गरेर राष्ट्रका अभिलेखसम्बन्धी आधिकारिक संस्था रहिआएको अभिलेखालयले प्राचीनकालदेखि नै ज्ञानको सिर्जना, खोज र रचनालाई संरक्षण गर्दै आएको छ । पहिले हनुमानढोका दरबारमा मल्ल र शाहवंशका राजाले विभिन्न समयमा जम्मा गरेको ग्रन्थको सङ्कलन थियो । त्यस बेलादेखि अभिलेख सङ्कलन हुँदै गयो । त्यसपछि सबै ग्रन्थ जङ्गबहादुर रणाले थापाथली दरबारमा ल्याए । पछि दरबार हाइस्कुल खुलेपछि त्यहाँ ‘दरबार लाइब्रेरी’ भनेर राखियो । त्यसपछि वीरशम्शेरले ‘वीर पुस्तकालय’ बनाएपछि सबै अभिलेख त्यहीँ लगेर राखियो । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell