PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

कनिका भन्छे – आइ लभ डा. केसी 



किशोर नेपाल

कनिका भन्छे – आइ लभ डा. केसी 

पानी परेकोले कान्तिपुरको मौसम चीसो चीसो थियो। कनिकालाई यस्तो मौसम मन पर्दथ्यो। अझ फुसफुसे पानी पर्‍यो भने उ झन रमाउँथी। पानी दर्किन थाल्यो भने आत्तिन्थी र बाबालाई फोन गर्थी। मौसम चीसो भएपनि त्यसको च्यालेन्ज स्वीकार गरेर ऊ स्लीभलेस टिशर्ट र टाइट जिन्समा ठाँटिएकी थिइ। टिशर्ट र पाइन्टको बीच कम्मरको चार अंगुल अंग प्रदर्शनमा थियो। ऊ निकै फुर्तिली देखिएकी थिइ। पूरै एकसाता छुट्टी बसेर आएकी उसको अनुहार चम्किलो हुनु त स्वाभाविक नै थियो। तर, व्वाइफ्रेण्ड बिनाको छुट्टी त्यति रमाइलो हुने रहेनछ। 
चार्लीसँगको ब्रेकअपपछि उसले अर्को व्वाइफ्रेण्ड बनाउने फूर्सद पाएकी थिइन। यसबीच उसले काम पनि धेरै गरी।
 
आफनो टिशर्टको तल्लो छेउमा कनिकाले एउटा स्टीकर टाँसेकी थिइ : आइ एम वीथ डाक्टर केसी। उसलाई त त्यो स्टीकरमा आइ लभ वीथ डा. केसी लेख्नुपर्छ भन्ने लागेको थियो। अहिलेको समयमा कसैको साथ लाग्नुभन्दा महत्वपूर्ण कुरा कसैलाई माया गर्नुहुन्छ। साथ दिनु भनेको चुनावका बेला कसैलाई भोट दिएजस्तै हो। भोट दिएपछि साथ पनि सकियो। तर, माया त कहिल्यै सकिँदैन। कनिकालाई लाग्दछ, माया गर्नुपर्ने चाहीं डा. केसी जस्ता मानिसहरु हुन्। उनी मेडिकल माफियाका विरुध्द अहिले एघारौं पटक अनसनमा बसेका छन्।

डाक्टर केसीको दशौं अनसन पनि कनिकाले कभर गरेकी थिइ। यो पटक एघारौं अनसनमाथि एउटा बलियो फिचर गर्नु थियो उसलाई। काम ‘नन अदर द्यान’ सम्पादक सुदिप्तीले लगाएकी थिइ। फिचर कसरी बलियो बनाउने? कनिकाको मनमा केही फूरिरहेको थिएन। मानिसहरु दिन प्रतिदिन लिच्चड हुँदै गएका छन्। सरकार, कर्मचारीतन्त्र, साहूजी र व्यापारी कसैमा पनि सामाजिक चिन्तन र चिन्ता छैन। प्रवृत्ति नै लिच्चड भएपछि कसको के लाग्छ?

स्कूटी चढेर कनिका टिचिङ हस्पिटल पुगी। डा. केसीलाई हेरी। उनी केही थाकेका देखिन्थे। तर आँखा र अनुहारमा गहिरो दृढता थियो। उसले आफ्नो क्यामराको फ्ल्यास फिक्स गरी र डा. केसीलाई एक दर्जन फोटोमा कैद गरी। त्यसपछि ऊ एउटी स्कूल पढने केटीको नजिक पुगी। ती केटी र उनका साथीहरुलाई क्लास टिचरले डा. केसीलाई शुभकामना दिने नियतले ल्याएका रहेछन्। कनिका खुशी भै।  शहरमा ढलिमली गरेर व्हिस्की पिउँदै बसेका आदमासहरुमा कहिल्यै बुद्धि पलाउँदैन। तर, कान्तिपुरबाट निकै टाढा रहेको गाउँको स्कुलबाट केटाकेटीको टोली डा. केसीलाई शुभकामना दिन आउनु धेरै महत्वको कुरा थियो। ऊ एकछिन त्यही पर्खेर बसी। स्कूलका केटाकेटी सबै आइसकेपछि क्लास टिचर र केटाकेटीसँग कुरा गर्न थाली। केटाकेटीलाई थाहा थियो, देशमा सारै कम मेडिकल कलेज छ। त्यसमा पनि धेरै जसो राजधानी र अरु सुविधाजनक ठाउँमा छन्। यस्तो अवस्थामा डा. केसीले जनताको सुविधाका लागि मेडिकल कलेजलाई रेगुलेट गर्न दवाव दिएका हुन्। अनसनको आशय पनि त्यही दवाव सिर्जना गर्नु नै हो। तर, अहिले डा. केसी आफै चौतर्फी दवावमा परेका छन्। सरकार मेडिकल माफियाको दवावमा छ। मेडिकल माफिया प्रमुख प्रतिपक्षको दवावमा छन्। 

डा. केसीले उठाएका विषयले संसदमा प्रवेश पाएका छैनन्। जनतासँग सम्बन्धित विषयमा बहस गर्ने चलन हाम्रो संसदमा छैन। हाम्रो देशमा जनताको प्रतिनिधि अभिशापग्रस्त छ। ऊ जनताको प्रतिनिधि भएपनि आफनो नेताको  र गुटको दास हुन्छ। संसदमा छिरेका सांसदहरुको मुखमा दलका नेताले टेप टाँसी दिएका हुन्छन्। दलका नेताले श्री पशुपतिनाथकी जय भन्छ। सबैले दोहोर्‍याउँछन् जय। देशको मूलभूत समस्याका बारे सदनमा छलफल नै नगर्ने हो भने संसद किन चाहियो? यो त सामन्तकै शैली भै गयो नि। हुन्छ भन्नेले हुन्छ भन, हुन्न भन्नेले हुन्न भन भनेजस्तो।
 
कनिका अफिस फर्किइ र आफनो कम्प्युटरमा लेखी – डा. केसीसँग वार्ता गर्न कोही तयार छैन। सरकार तयार छैन। माओवादी तयार छैन। एमाले तयार छैन। सबै दल दलदलमा गाडिएका छन्। ती दललाई दलालले घेरेका छन्। आफनो विचार कसैले व्यक्त गर्न सक्दैन। व्यक्त गर्ने विचार भए पो व्यक्त गर्नु? कसरी अझ धेरै नोट कमाउने विचार त शेयर गर्न पनि त भएन...

टाइप गर्दागर्दै कनिका झसंग भै। उसको आँखा अगाडि त्यही केटो आइपुग्यो जो डा. केसीको छेउमा नतमस्तक बसेको थियो। 
कनिकाको आँखा चम्किए। केटोसँग उसको क्रश परेको थियो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell