PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यसरी भइरहेको छ ​नेपाली मिडियामा सेल्फ सेन्सरसिप : आठ उदाहरण



काठमाडौँ : नेपाली मिडियासँग आवद्ध ७८ प्रतिशत सञ्चारकर्मी मिडियामा सेल्फ सेन्सरसिप रहेको बताउँछन्। नेपाल पत्रकार महासंघको आयोजनामा गत साता भएको कार्यक्रममा मिडियामा सेल्फ सेन्सरसिप : सर्वेक्षण र नतिजा शीर्षकमा केन्द्रीय सदस्य रोसन पुरीले आठ उदाहरण प्रस्तुत गरेका थिए।

सर्वेक्षणमा मिडियाकर्मी र मिडियाको नाम भने उल्लेख गरिएको छैन।

१) पत्रकारभित्रै सुराकी

पत्रकारभित्रै सुराकी गर्ने छन्। खासगरी अपराध र सुरक्षा निकायको कमजोरीका बारेमा खोजबिन गर्न खोज्दा र लेख्दा अनावश्यक दबाब आउने गरेको छ। जलेश्वरका सईले सानो निहुँमा जवानलाई मरणासन्न हुने गरी कुट्दा पीडितको आवाज मिडियामा पुग्यो। तर सोही प्रकृतिको घटना डिएसपीले खुलेआम बजारमा जवानलाई पिट्दा भने सो समाचार प्रकाशित नगर्न सञ्चारकर्मीहरुले नै लबिङ गरे। यो समाचार पठाउँदा पनि कतै आएन। केही सञ्चारमाध्यममा यो समाचार प्रकाशित भएपछि स्वयं पत्रकारहरुले नै खण्डन गर्नमा लागे। असुरक्षित भएपछि यस्ता समाचार लेख्न नै छाडियो।

२) व्यवस्थापनको आदेश

नेपाल आयल निगमका कार्यकारी निर्देशक नियुक्तिको समाचारसमेत राजनीतिक कारण (राप्रपाका अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापा) र गिरीबहादुर केसी छ करोड रुपैयाँमा कार्यकारी नियुक्ति भन्ने समाचारको फलोअप व्यवस्थापनको ठाडो आदेशमा रोकियो।

३) स्वतन्त्र रुपमा समाचार लेख्न पाइँदैन

गोरखापत्रको संवाददाता हुँदा स्वतन्त्र रुपमा समाचार लेख्न पाइँदैन। सरकारी तथ्यहरुमा आधारित भएर लेख्नुपर्छ, साँचो होस् नहोस्। हामीले स्वतन्त्र पुष्टि गरी लेखेको समाचार प्रकाशित हुँदैन। पाँचथरको खानेपानी आयोजनामा राजनीतिकरणसम्बन्धी समाचार सबै तथ्य पुष्टि गरी पठाउँदा प्रसारण भएन। समाचारसँग राजनीतिज्ञहरु जोडिएको कारण च्यानलले प्रसारण नगरेको हो।

४) रेडियो मालिकको फोन आएपछि

महोत्तरीमा अवैध कारोबार र तस्करीबारे रेडियोमा समाचार प्रसारण भइरहेको थियो। तर प्रसारण भइरहेकै बेला रेडियो मालिकको फोन आयो। त्यसपछि अर्को बुलेटिनमा त्यसमा प्रयोग भएको बाइटमात्रै हटाउन परेन, बरु पूरै समाचारको आसय र प्रसङ्ग नै बदलेर प्रसारण गर्नुपर्‍यो। आफूलाई श्रमजीवी पत्रकारका सबैभन्दा ठूला नेता भन्नेले नै राजनीतिक रङ्थ भएका समाचारको आशय बदल्न समाचार नदिन दबाब दिँदा म अचम्ममा परेको छु।

५) सटर व्यवसायी मिडिया सञ्चालक

लुम्बिनी अञ्चल अस्पतालको सटरको टेन्डर आह्वानको समाचार संकलन गरे पनि सटर व्यवसायी स्वयं मिडिया सञ्चालक भएको कारण प्रकाशन गर्न सकिएन।

६) सञ्चालक समितिकै सदस्य भएपछि 

गाविस सचिवले वार्षिक रुपमा बोलवाला दलका नेतालाई रकम दिएर मनोमानी दुरुपयोग गरेको समाचार रेडियो सञ्चालक समितिकै सदस्य पनि त्यसमा परेको कारण प्रसारण हुनबाट रोकियो।

७) जागिर र ज्यान जाने खतरा

कुरा २०६२ सालमा सुरक्षाका लागि खटिएको भवानी बक्स गणको हो। युद्धविरामको कुरा सँगै निशस्त्र आएका दुई जना माओवादी कार्यकर्ताहरुलाई तत्कालीन सेनाले माओवादी मार्नका लागि बनाएको टाइगर ग्रुपले मार्‍यो। मानिसकेपछि मलाई समेत गणमा बोलाएर भनियो- दोहोरो भिडन्तमा मारिएको दुई जनाको समाचार प्रकाशन गरिदिनुपर्‍यो। यदि समाचार सेनाले भने झैँ गरी नपठाउने हो भने आफ्नो जागिर र सँगै ज्यान जाने खतरा छ। बाध्यतावश सरकारी सञ्चारमाध्यमहरुमा टाइगर ग्रुपले निशस्त्र कार्यकर्तालाई जबर्जस्ती मार्‍यो भनेर समाचार लेख्नुपर्‍यो।

८) सम्बन्धका कारण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका मुख्य आयुक्त लोकमानसिह कार्कीकी छोरीको अख्तियार कार्यालयबाट भएको विवाह सम्बन्धी समाचारमा सेल्फ सेन्सरसिप भयो। कारण कार्की र व्यवस्थापनबीच घनिष्ठ सम्बन्ध।
 
तत्कालीन नेपाल पर्यटन बोर्डका प्रमुख सुवास निरौलासँग जोडिएका समाचार सेन्सरसिप भयो। कारण थियो व्यवस्थापन र निरौलाबीच घनिष्ठ सम्बन्ध।
 
नयाँ मेडिकल कलेज सन्चालनका लागि लाइसेन्स दिनुहुँदैन भन्ने अभियानबारे लेख्दा सेल्फ सेन्सरसिप। कारण लाइसेन्स दिनुपर्ने लाइन भएकाहरुसँग व्यवस्थापनको राम्रो सम्बन्ध।  
 
२१ प्रतिशत सम्पादक आफूमाथि सेल्फ सेन्सरसिप आफैबाट वा अन्यत्रबाट भएको बताएको अध्ययनमा उल्लेख छ। चार प्रतिशत मिडिया सञ्चालकहरुले पनि सेन्सरसिपमा परेका तथ्य सर्वेक्षणले देखाएको छ।  

यो पनि पढ्नुहोस्ः पहिले राजनीतिले समाचार लेख्‍न दिएन, अहिले बजारले: नारायण वाग्ले



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell