PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मलाई इतिहासबाट मेटाइदिने डिजाइन हुँदैछ : प्रचण्ड



​काठमाडौँ : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई संविधानको एक्लो बाधक बनाउने खेल भइरहेको बताएका छन्। शुक्रबार आफ्नै निवासमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले आफूलाई संविधान निर्माणको एक्लो बाधक बनाएर प्रचण्डलाई इतिहासबाट मेटाइदिने डिजाइन बनेको आफूलाई शंका लागेको बताएका हुन्।

प्रचण्डले चाहे २ घण्टामा सहमति हुन्छ भनेर भएको प्रचारले हद पार गरेको बताए। ‘यो त हदै हो, यो सत्य पनि होइन, तथ्य पनि होइन, शान्ति प्रक्रियामा हुँदा भूमिका हुन्छ, तर अहिले मैले चाहने बित्तिकै हुन्छ भन्ने बजारको कुराले म झस्केको छु’, प्रचण्डले भने, ‘अहिले हाम्रो पार्टी अंकगणितको हिसाबले पनि तेश्रो छ, चाहने बित्तिकै हुने अवस्था छैन, तर प्रचण्डले चाहने बित्तिकै हुन्थ्यो भनेर एक्लो बाधक जस्तो देखाएर, इतिहासबाट प्रचण्डलाई मेटाइदिने डिजाइन त होइन भन्ने लागेको छ’।

पछिल्लो चरण प्रचण्ड कमजोर भयो भनेर प्रचार भएको अनि संविधानमा बाधक देखाउने काम पनि भएको प्रति प्रचण्डले शंका व्यक्त गरे।

मैले भनेको केही नमान्ने अनि अर्को तिर गरेन भन्ने चर्चा चलाइएको छ’ उनले भने। ‘पछिल्लो चरण प्रचण्ड कमजोर भयो, तेश्रो शक्तिमा पुग्यो भन्ने अनि ठेक्का पनि उसले लिए जस्तो गर्नेलाई कसरी बुझ्ने’, प्रचण्डले प्रश्न गरे।

चाबी मलाई दिए २ घण्टामा फुकाइदिन्छु

प्रचण्डले आफूले चाबी पाए संविधानको विवाद २ घण्टामा फुकाइदिने बताए। ‘चाबी मलाई दिए २ घण्टामा फुकाइदिन्छु, भन्दिनुस् कांग्रेस र एमालेलाई’, प्रचण्डले भने। पत्रकारले सरकारको चाबी कि संविधानको भनेर सोधेको प्रश्नमा प्रचण्डले संविधानको चाबीको कुरा गरेको प्रष्टिकरण दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell