PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भूकम्प पछिको उद्दारमा जे देखियो



  • उमेश श्रेष्ठ/ऋषिकेश दाहाल/मनोज सत्याल/सविन मिश्र
काठमाडौं : भोटाहिटी छिर्ने गल्लीमा ६ वटा लास देखेपछि भक्कानिँदै आएका एक वृद्ध कराउँदै थिए : 'त्यो मेरो छोरो हो नलैजाउ।'
२७ वर्षको छोरो मोहम्मद रासे पसलमा थिए भूकम्प आउँदा। दरबार हाइस्कुलको उत्तरतिर रहेको पसल भूकम्पको सिकार हुँदा उनी बच्ने अवस्था थिएन। भूकम्पको झड्काले राणाकालीन दरबार हाइस्कुल भत्किन थाल्यो। त्यही पुरिएर उनको निधन भयो।

वृद्ध कराउँदै सडकबाट लास नउठाउन भनिरहँदा नीलो रङको महेन्द्राको मिनी ट्रक आइसकेको थियो। लाश राख्न मानिसहरु तयार थिए। रोइरहेका ती वृद्धलाई प्रश्न सोध्ने साहस हामीमा थिएन। एक एक गर्दै सडकबाट लास गाडीमा हालेपछि वीर अस्पतालतिर लगियो। २:३० बजे शव लिएर ट्रक वीर अस्पताल पुग्दा त्यहाँ ५४ वटा शव जम्मा भइसकेको थियो।

सडक बन्यो अस्पताल

महाभूकम्पले यहाँका सबै अस्पताल भरिए। विरामी अस्पतालमा उत्रनेक्रम यति तीब्र गतिमा भयो कि अस्पताल परिसरमा पनि उपचार गर्न अटाउन सक्ने भएन। त्यसपछि बन्यो सडक अस्पताल। सडकमै प्राथमिक उपचार गर्दै घाइतेको प्रकृति हेर्दै अरु अस्पताल पठाउनेक्रम जारी रह्यो दिनभरि नै। काठमाडौंका अतिरिक्त विभिन्न ठाउँबाट ल्याइएका घाइतेका कारण सडकमै उपचार गर्नुपर्ने स्थिति बन्यो।
 

सहयोगमा हातहरु

भूकम्पले काठमाडौंको पुरानो सहर तहसनहस भयो। पुराना घर र मन्दिरहरु ढले। त्यही पुरिएकाको बचाउनका लागि कुनै आह्वानविना नै समुदाय जुट्यो। समाचार संकलनका लागि पुगेका पत्रकारहरु कमल परियार, प्रशान्त लामिछानेहरु घाइतेलाई ओसार्न दौडिरहेका थिए। यीबाहेक टेलिभिजन र रेडियोमा काम गर्ने पत्रकारहरु पनि समाचार संकलन छाडेर ज्यान बचाउन दौडिरहेका थिए।

हामीजस्ता पत्रकारमात्र होइन, जो सुकै पनि सडकमा सहयोगका लागि उत्रिएका थिए। गाडीको व्यवस्थापनदेखि उपचारमा सहयोग पुर्‍याउने हातहरु अनगिन्ति थिए। सेना प्रहरीको जुझारु पन उद्दारमा देखिएको थियो।

मेरा विद्यार्थीहरु सडकमा दौडिरहेका थिए। 'होस्टल नजिकै घर भत्कियो ४ जनालाई बचायौं एक बालक बचेन,' पोखराबाट काठमाडौं आएर अध्ययनरत शक्ति कोइरालाले सुनाए।

ट्याम्पु बन्यो एम्बुलेन्स

आपतकाल परेपछि कुनै पनि सवारीले एम्बुलेन्सको काम गर्ने रहेछ। उद्दारमा जुटेकाहरु मानिसको ज्यान कसरी बचाउने भन्नेमा सक्रिए थिए। त्यसैले सडकमा गुड्ने कुनै पनि साधन उपचारका लागि सहयोगी बन्न सक्थ्यो। एम्बुलेन्स जतिवटै भए पनि यस्तो आपतकालीन अवस्थामा अपुग हुने रहेछ। त्यसैले स्वयमसेवामा खटिएकाहरु आएका सबै सवारीलाई एम्बुलेन्स बनाउन जुटेका थिए।

ट्रकमा चार जनासम्म अटाए भने एम्बुलेन्समा दुई जना। ट्याक्सी आउँदा यात्रु ओरालेरै पनि विरामीलाई अस्पतालतिर पठाइयो। यतिसम्म कि ट्याम्पु पनि प्रयोग भयो उद्दारका लागि। निजी कारहरु पनि सहजै सहयोगी बने घाइते ओसार्न।
 

पर्यटकको मानवीय सेवा

नेपाल घुम्न आएका पर्यटकले उद्दारमा देखाएको सदासयता भूल्ने नसकिनेखाले छ। वसन्तपुर दरबारमा घुमिरहेका उनीहरुले एक्कासी भूकम्पको कम्पन भोगे। मानिस पुरिएका देखे। उनीहरुको हात पनि एकाएक उद्दारका लागि उठे। भत्किएका घरबाट मानिस निकाल्न पर्यटकहरु पनि सक्रिय रहे।

चर्कियो प्रधानमन्त्री कार्यालय


महाभूकम्पले मुलुकको प्रमुख प्रशासनिक भवन सिंहदरबारभित्र रहेको प्रधानमन्त्री कार्यालय क्षतिग्रस्त बनेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयको पश्चिमपट्टी भवन चिराचिरा परेको छ।

७.९ रेक्टरस्केलको भूकम्पको झट्काले मुलुकका धेरै भागमा प्रभावित बनाएको छ। सबैभन्दा धेरै प्रभाव काठमाडौं उपत्यकामा परेको छ।
भूकम्पले काठमाडौंको पुरानो सहर भग्नावशेषमा परिणत भएको छ। भीमसेन थापाको स्तम्भका रुपमा चिनिने धरहरा पूरै जमिनमा ढलेको छ। काठमाडौंको वसन्तपुरदेखि भित्री सहरका रुपमा चिनिने असन – इन्द्रचोकका घरहरु भत्किएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell