PahiloPost

May 24, 2018 | १० जेठ २०७५

कान्तिपुर गाथा : पत्रकार महासंघ र कुहिएको आलु


किशोर नेपाल/पहिलोपोस्ट

कान्तिपुर गाथा : पत्रकार महासंघ र कुहिएको आलु
सुदिप्ती आफ्ना सहकर्मी साथीहरुसँग भन्दै थिइ, ‘यसपटक म पनि चुनाव लडौं कि जस्तो लागेको छ। के सल्लाह दिनुहुन्छ तपाईंहरु? अहिले केन्द्रीय सदस्यमा मात्र। अनलाइन कम्युनिटीलाई त यहाँका सबैले हेप्‍न र खेद्‍न पो थाले।’

सुदिप्तीको प्रस्तावमा आशिषको जवाफ थियो, ‘सुदिप्ती, तिमीलाई कुहिएको आलुको कथा थाह छ नि होइन?’

सुदिप्ती झण्डै चर्किइ र कराई, ‘के भनेको हो आशिष। म कुहिएको आलु हूँ?’

आशिष बोल्यो, ‘ओ माइ गड। सरी यार सरी। यो उखान यहाँ फिट भएन।’

छेउमा बसेर रोशनीको पिङ्क वन पिसमा आँखा गाडी रहेकी कनिका अचानक बोली, ‘यो आशिष पनि। खुरुक्क रोशनीको आँखामा आँखा भिडाउन छाडेर कता एडिटरलाई जिस्क्याइरहेको।’

रोशनी र आशिष एक अर्कालाई चाहन्थे भन्ने त रोशनी जत्तिकै छर्लंग भै सकेको थियो। तर, उनीहरु अफिस हातामा साथीहरुका अगाडि त्यति खुल्न सकेका थिएनन्। 

सुदिप्तीको प्रस्तावमा एकाउन्ट चीफ विष्णुभक्तले प्रतिक्रिया दियो, ‘म्याडम चुनाव लड्न जानु भयो भने त कम्पनीलाई पनि निकै फाइदा हुन्थ्यो। अहिले पनि म्याडमकै कारण हामी अरुभन्दा अगाडि छौं।’ 

कनिकाले विष्णुभक्तलाई उछिन्दै भनी, ‘म्याडमले चुनाव लडेमात्रै कम्पनीलाई फाइदा हुने हो भने त चुनाव लडे भै गो। चुनाव लडेपछि जित्‍नु पनि त पर्ला नि? कि पर्दैन?’

कनिका बोलुन्जेल विष्णुभक्त उसको मुखमा हेरिरहेको थियो। हलुका गाजल पोतिएका कनिकाको आँखा, गालामा परेको डिम्पल, लर्किएको कपाल, टू पीस मिनी वेयर। झण्डै चालीस कटेको विष्णुभक्त कनिकालाई देखेर अभिभूत भएको थियो। सँधै जिन्समा ठाँटिए पनि विष्णुभक्त अलि डल थियो। उ अफिसका सबै केटी रिपोर्टरहरु देखेपछि मुग्ध हुन्थ्यो। केटीहरु उसलाई वाल दिँदैनथे।

डिजाइनर रस्साकोटीले टिप्पणी गर्यो, ‘म्याडमले आदेश दिने हो भने म चुनावको दिन आफैँ व्यालेट बक्स बनेर बस्छु र केटाहरुको भोट म्याडमको पक्षमा बटुल्छु।’

सुदिप्तीको टीममा कसैलाई पनि चुनावको बारेमा कुनै कुरा थाह थिएन। यसको चुनाव पध्दति पनि जटिल थियो। प्रत्यक्ष हुने कुरामा भन्दा अप्रत्यक्ष हुने कुरामा बढी महत्त्व दिन्थ्यो महासंघले। सुदिप्ती आफैंलाई पनि केही थाह थिएन। युवीले उक्साएको भरमा उ चुनावमा उठ्न खोज्दै थिइ। नत्र भने, उसको लागि यो प्रेसको पोलिटिक्सले कुनै माने राख्दैनथ्यो। उसले सुनेकी थिइ, पत्रकार महासंघको पदाधिकारीले सरकारको सरकारी उखेडी दिन्छ। बडेबडे दलालको दलाली उतारी दिन्छ। सुदिप्ती त्यस्तो केही चाहँदैनथी। उसलाई त्यो संस्थामा पुगेपछि प्रेसको रुपमा परिचय स्थापित हुन्छ भन्ने थियो।

साथीहरु छलफल गर्न बसेका थिए महासंघको केन्द्रीय सदस्यमा सुदिप्तीको उम्मेदवारीको। तर, कुरो टुंगिएन। महासंघको पोलिटिक्सबारे कनिकालाई केही जानकारी थियो। उसले भनी, 'महासंघ कब्जामा लिने कुरामा अहिले कांग्रेसको युनियन र एमालेको चौतारीका बीच मारामार छ। युनियनले माओवादीको प्रेस सेन्टरसँग हात मिलाएको छ। अहिले तीनवटै संस्थाका महिलाहरु उम्मेदवार बन्ने मारामारीमा लागेका छन्। यो मारामारीमा हाम्रो एडिटर कहाँनिर फीट हुने हुन? केही भन्न सकिन्न। उम्मेदवार बन्ने हो भने छिटै निर्णय गरौं। होइन भने ट्रेन छुट्छ। 

सुदिप्ती निकैबेर घोरिइ र गम्भीर अनुहार लगाएर वोली, ‘आइ एम नट इन्टरेष्टेड इन दिस। लेट्स नट डिस्कस एनिमोर।’

सुनेर कनिका हाँसी। त्यसपछि ठटेउलो पारामा बोली, ‘चुनाव भनेको जो पायो त्यसले लड्दैन। यसका लागि दिल, गुर्दा र जिगर चाहिन्छ। त्यो कनिकासँग छ। आँखा झिम्क्याएर हुन्छ कि कम्मर मर्काएर हुन्छ, चुनाव जित्ने सबै प्रक्रिया अवलम्वन गरेर अब अर्को वर्ष उसको नाममा लडिन्छ चुनाव।’

सुदिप्ती चुनाव नलडेको खुशीमा पूरै टीम ककटेलमा जम्ने भयो। आशिष करायो, ‘हामी कुहिएको आलुको थुप्रोमा मिसिन तयार छैनौं। हिप हिप हुर्रे।’
(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)


कान्तिपुर गाथा : पत्रकार महासंघ र कुहिएको आलु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट