PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

४७० रुपैयाँ बोकेर काठमाडौँ छिरेका सोनाम यसरी भए करोडपति



४७० रुपैयाँ बोकेर काठमाडौँ छिरेका सोनाम यसरी भए करोडपति
सोनाम शेर्पा र उनको एभरेस्ट हार्डवेयर

कञ्चन अधिकारी 
काठमाडौं : सोलुखुम्बुबाट ४ सय ७० रुपैयाँ बोकेर काठमाडौं छिरेको १४ वर्षे सोनाम केही वर्षमै करोडपति भए। तर सय बोकेर करोड कमाउन सजिलो थिएन। ठँहिटीको एउटा कोठा। चौरमा बसेर ३ सय रुपैयाँमा दिनभरी पाल रिपेयरिङको काम।
 
स्पेन, इङ्ल्याण्ड, अमेरिका, क्यानडा, सिंगापुर, चीन लगायतका देशमा ट्रेकिङ्का सामान पुर्‍याउने सोनामको संघर्षको कथा सजिलो छैन। 'मेसिनको एक सय र ज्याला तीन सय दिन्थे,’ आफ्नो सफलताको कथा सुनाउँदै उनी भन्छन्, ‘कति समय त म २४ सै घण्टा काम गरिराखेको हुन्थेँ। यसरी लगभग ५/६ वर्ष संघर्ष गर्नु पर्‍यो।‘ त्यही संघर्षले नै अहिले उनलाई करोडपति बनाएको छ।
 
चार सय ७० रुपैयाँबाट सुरु गरिएको व्यापारलाई करोडमा पुर्‍याउने उनको मन्त्र मेहनत र लगनशीलता थियो। 'लगनशीलता, परिश्रम, मेहनत र इमान्दारीले यहाँसम्म आइपुगेको हुँ,’ ३६ वर्षे सोनाम भन्छन्, ‘आफ्नो प्रोपर्टीसहित सबै हिसाब गर्दा अहिले त करोडौं भइसकेको छ।'
 
विदेशीको पछि लाग्ने हैन, पछि लगाउने
चैत/वैशाखको समय। घरपारिको डाँडाबाट विदेशी पर्यटक लस्करै उकालो लाग्थे। पर्यटकलाई देखेर गाउँका धेरै युवाहरु विदेशीको पछि लाग्थे। पछि लाग्नेहरु कसैले भरियाको काम पाउँथे अनि कसैले सहयोगीको भूमिका।

गाउँका साथी विदेशीको पछि लाग्दा सोनाम शेर्पा भने आफू विदेशीको पछि लाग्ने भन्दा कसरी विदेशीले आफूलाई खोज्दै आउन सक्छन् भन्ने सोच्थे। ट्रेकिङको सिजनमा गाउँका तन्नेरी विदेशीको भारी बोक्थे। राम्रा जुत्ता बजार्दै, न्यानो लुगा लगाएर, बलिया झोला भिरेर फर्किन्थे। सोनामलाई पनि तिनै गाउँलेले जस्तै जुत्ता बजार्दै झोला भिरेर सानका साथ गाउँ पस्न मनै नलाग्ने त होइन, तर यसको लागि भरियाको काम गर्न लुक्ला जान भने उनको मनले मानेन।
 
बुबा गाउँमा घर बनाउने ठेक्कापट्टा मिलाउने, घरमा खासै बास हुँदैनथ्यो। आमाले घरको काम सम्हाल्थिन्। सोनामचाहिँ आमालाई सघाएर उब्रिएको समयमा वल्लोपल्लो घरको मेलापात भ्याउँथे। उनी भन्छन्, 'सानो छँदा घरमै बसियो। त्यसपछि स्याउको ठेक्कापट्टाको काम गर्थेँ।'

चप्पल लगाएर काठमाडौँमा
२०४९ सालको भदौ। स्याउको ठेक्का पारेर उनी काठमाडौंमा पठाउँदै थिए। त्यही बेला सोनामलाई काठमाडौं जाने अवसर मिल्यो। स्याउ बेचेर निस्केको केही रकम र साथमा एकजोर चप्पल, सर्ट पाइन्ट र झोला भिरेर उनी सोलुबाट काठमाडौं आए।

काठमाडौं छिर्दा उनीसँग न सीप थियो न त पढाइको प्रमाणपत्र नै। 'घरबाट १५/१६ दिन घुम्न भनेर आएको थिएँ,’ सोनाम सम्झिन्छन्, ‘केही जानेको पनि थिइनँ र ल्याएको पनि।'

घुम्न काठमाडौं आएका सोनामलाई राजधानीको झिलिमिलि र यहाँको रहनसहनले लठ्यायो। उनका काका ट्रेकिङका लागि चाहिने सामाग्री बनाउने फ्याक्ट्री चलाउँथे। काठमाडौं बस्न सोनामले यही फ्याक्ट्री रोजे। 'गाउँबाट आएको अनुभव केही कामको थिएन। त्यसैले  मलाई कारखाना सफा गर्ने,सामानहरु पुर्‍याउने कामको जिम्मेवारी दिइयो,'  उनी २१ वर्ष अघिको कथा सुनाउँछन्, 'मैले पढेको पनि थिइनँ। लेखापढीको काम जान्दैन थिएँ। त्यसैले जे काम लगाए पनि गर्थेँ।'

फ्याक्ट्रीमा काम गर्दा उनले कुन सामान कहाँ लगेर बेच्न सकिन्छ, त्यसको कति मूल्यमा बेच्न सकिन्छ भन्ने भेउ पाए। पाँच वर्षको अनुभवलाई आफ्नै कामको लागि उपयोग गर्ने सोच बनाएर उनी काकाको फ्याक्ट्रीबाट बिदा भए।
 
भारी बोक्ने शेर्पाले भारी बोकेरै पैसा पनि कमाए। तर सोनामलाई भने लाग्यो, 'भारी बोकेर हिँड्नु भन्दा विदेशीहरुलाई हाम्रो देशमा बनेको सामान नै बेच्नु राम्रो।' गाउँमा छँदा अरुले राम्रो ब्याग बोकेको देख्दा आफूलाई पनि त्यस्तै ब्याग बोक्न मन लाग्दा महँगो भएकै कारण बोक्न नसकेको पीडा बुझेका थिए उनले। त्यही भएर उनी सस्तो र गुणस्तरीय सामान बनाउन कस्सिए।
 
'मान्छेले आकाशमा उडेको चरा हेरेर जहाज त बनाए। मैले एउटा साधारण कपडाको ब्याग बनाएर बेच्न किन नसक्ने भन्ने सोच आयो। अनि ब्याग बनाउन थालें,' आफ्नो व्यवसायको सोचबारे सोनामले भने। 

२०५४ सालमा उनले ट्रेकिङमा चाहिने कपडा, आवश्यक सामाग्री र एउटा लुगा सिउने मेसिन पनि किने। त्यही मेसिनबाट ब्याग बनाउन थाले। सुरुमा उनी आफैँ कल चलाउँथे। काकाको पसलमा काम गर्दा ठमेलका पसल चिनेका थिए। आफ्नो ब्याग बेच्न उनले तिनै पसल रोजे। कपडा ल्याउने, सामान बोकेर ठमेलका पसलपसल चाहर्ने, पैसा संकलन गर्ने लगायतका सबै काम उनी आफैँ गर्थे। जब बजार बढ्न थाल्यो उनले स्टाफ थप्न थाले।
 
'मैले नै व्यापार सुरु गरेँ भनेर सबैले थाहा पाए। सबैले सामान किन्दिए। अनि ट्राभल र ट्रेकिङको लागि ह्यान्डब्याग पनि बनाएर बेच्न थालेँ,' उनी भन्छन्, ' चिनेका पसलेले सस्तो र क्वालिटी देऊ भनेपछि बिस्तारै व्यापार बढ्न थाल्यो।'

यसरी बन्यो नेपाली ब्रान्ड
विदेशी ब्रान्डका सामान महँगा थिए। एउटै स्लिपिङ व्याग नै ५०/६० हजार पर्थ्यो। एउटा राम्रो डाउन ज्याकेटको २० हजार रुपैयाँसम्म पर्थ्यो। जुन नेपालीले किनेर लगाउन सक्दैन थिए। उनले तिनै विदेशी ब्रान्डेड कम्पनीका नाम राखेर 'नक्कली' सामान बेचे। उनले नर्थ फेस, लोए अल्पाइन, म्यामोट, केल्भिन लगायत विदेशी ब्रान्डका नाम राखेर आफ्नो सामानको व्यापार गरे ।

विदेशी ब्रान्डको नाम राखेर आफ्नो सामानको व्यापार बढेपछि सोनामलाई लाग्यो, अरुकै नाम राख्दा त चलेको छ भने नेपाली नाम राखेर आफैँले ब्रान्ड बनाउँदा कसो नचल्ला!

त्यतिबेला माउन्टेन हार्डवेयर भन्ने क्यानडामा दर्ता भएको कम्पनी फेला पर्‍यो। यसले २०५८ सालतिर विश्वबजार तताइरहेको थियो। यस्तै नाम राखेर आफूले पनि आफ्नै देशको नाम झल्किने कुनै नाम राखेर ब्राण्ड सुरु गर्ने उनको सोच आयो।

२०५९ सालमा उनले 'एभरेष्ट हार्डवेयर' नामको आफ्नै ट्रेडमार्क घरेलु र कम्पनी रजिष्टारको कार्यालयमा दर्ता गरे। 'राष्ट्रलाई चिनाउन हुन्छ। कुनै विदेशीलाई चिनोको रुपमा लैजान पनि हुन्छ भनेर एभरेष्ट हार्डवेयर नाम राखेँ,' उनी भन्छन् 'नाम्चेतिर रहेका साथीहरुले यो ब्राण्ड त खैरेले धेरै लगेका छन्। राम्रो फाइदा भयो भनेर भन्दा म निकै खुशी भएँ।'
 
सरकारसँग गुनासो
शुन्यबाट सुरु गरेका सोनामले अहिले एभरेष्ट हार्ववेयर नेपालमा मात्रै होइन विदेशमा समेत राम्रो ब्रान्ड बनाइसकेका छन्। आफ्नो ट्रेडमार्कको चिनारी नै आफ्नो सफलता भएको ठान्ने उनी सरकारसँग भने बेखुश छन्।

'नेपालमा नै केही गरौँ भनेर बसेका म जस्ता व्यवसायीलाई सरकारले वेवास्ता गरेको छ,' उनी भन्छन्, ' न बिजुली छ, न लगानी थप्ने वातावरण नै,’ सोनाम भन्छन्, ‘काम गर्ने कामदार अनुशासित छैनन्। हामी मर्कामा छौँ।'

यदि अमेरिकाले आफ्नो उत्पादन मन पराएर एकैचोटी १५ लाख टिसर्ट मात्रै अर्डर दियो भने बनाउन नसक्ने अवस्थामा रहेको बताउँछन् उनी।' अमेरिकाले नेपाली सामान अर्डर गर्छ। नेपाली ब्रान्ड पनि मन पराउँछन् तर सरकारको नीति र नियम छैन,’ उनले गुनासो गरे, ‘औद्योगिक क्षेत्र छैन। लगानी मैत्री वातावरण बनाउन पनि सकेको छैन।'
 
उनले २५ जना भन्दा बढीलाई रोजगार दिएका छन्। सोनामले आफ्नो ट्रेडमार्कबाट २५/३० किसिमका सामान बनाउँछन्। डाउन ज्याकेट, डाउन स्लिपिङ ब्याग, पञ्जा, जुत्ता, सुट, विन्ड प्रुफ ज्याकेट, सुरुवाल लगायत उनका उत्पादन हुन्।

‘विदेशी ब्रान्डका आठ सयदेखि एक हजार डलरसम्म पर्ने लुगालाई हामीले तीन सय पचासमा डलरमा नै सो बराबरको क्वालिटी भएको कपडा दिन्छौँ’, उनले भने। २५ देखि ३५ प्रतिशतसम्म नाफा खाएर बेच्ने भएकोले पनि ग्राहकको मन जित्न सफल भएको उनले सुनाए। उनी भन्छन्, 'क्वालिटी र क्वान्टिटी पुर्‍याएर मात्रै बेच्ने गरेका छौं, त्यसले नै मलाई टिकाएको छ।'

विदेशी ब्रान्ड बराबरकै सामान 
सोनामको विचारमा नेपाली ब्रान्डहरु पनि विदेशी नाम चलेका ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्छन्। तर यहाँको राजनीतिक वातावरणदेखि सबैकुरा डामाडोल हुँदा यो असम्भव देखिएको छ। ‘मैले पाँच वर्ष अझै बढी मेहनत गरेँ भने नर्थफेस जत्तिकै ब्राण्ड बनाउन सक्छु,’ उनी थप्छन्, ‘तर सरकारले बिजुलीदेखि भन्सारसम्मको सुविधा र ‌औद्योगिक क्षेत्र बनाएर काम गर्ने वातावरण बनाउन आवश्यक छ।‘ 
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell