PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

स्थलगत रिपोर्ट : भक्तपुरको विभत्स दृश्य देखेपछि सोध्न मन लाग्यो : के मुलुकमा सरकार छ ?



स्थलगत रिपोर्ट : भक्तपुरको विभत्स दृश्य देखेपछि सोध्न मन लाग्यो : के मुलुकमा सरकार छ ?

  • उमेश श्रेष्ठ/ऋषिकेश दाहाल -
भक्तपुर : राम र मैया बासी यहाँ छोरीको लुगा खोजिरहेका छन्। भक्तपुर दत्तात्रय नजिकै भत्किएको घरबाट एक जोर लुगा निकाल्न सके अस्पतालमा रहेकी १६ वर्षीया छोरीको आङ ढाक्न सकिन्थ्यो। जिल्ला अस्पतालले छोरीलाई अर्कै अस्पताल लैजान भनिसकेको छ। तर, त्यहाँबाट अन्यत्र सार्न यो जोडीसँग पैसा छैन। 'घर भत्कियो, छोरी घाइते छ,' भक्तपुरको स्थलगत रिपोर्टिङका लागि पुगेका हामीसँग याचना गर्दै मैयाले भनिन्, 'लौन सहयोग जुटाइदिनुपर्‍यो।'

यहाँ आँखाले भ्याएसम्म भत्किएका घरमात्रै देखिन्छन्। बाटो कहाँ हो र घर कुन हो छुटिन्न। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी उद्दारमा खटिएका छन्। उनकै भत्किएको घरभन्दा चार घर पश्चिमबाट आजैमात्र ४ वटा शव निकालिएको छ।

कतिपय घर पूरै भत्केका छन्। कतिपय आधामात्र। आधा भत्किएका घरमा झुन्डिएका छन् परिवारका सदस्यको तस्बिर, भाँडाकुडा, सुकुल र गुन्द्री। भान्सा पनि देखिन्छ बाहिरैबाट।

'हल्लियो हल्लियो होस गर है,' उद्दारमा खटिएका एक सुरक्षाकर्मी टाढैबाट चिच्याइरहेका थिए। भूकम्पले मानिसको घर ढल्यो। पुरिएका सबै घर खोतल्नसमेत भ्याइएको छैन। आधा ढलेका घरले फेरि किच्ला भन्ने पीर छ। जोखिममा छन् उद्दारकर्मी आफैँ।

मैयालाई सेनाले पटक पटक त्यहाँबाट सुरक्षित ठाउँमा जान भनिसकेको छ। उनी जान मान्दिनन्। यसपाला एसएलसी दिएकी छोरी घाइते छ। उनको उपचारका लागि भत्किएको घरबाट केही निस्किन्छ कि भन्ने उनको आशा। 'गहना, पैसा सबै पुरियो,' उनले यसो भनिरहँदा उनको हातमा एउटा मरेको कुखुराको चल्ला पर्‍यो। वस्तुभाउ सबै यसरी नै पुरिएका छन्। यी दृष्यले हामीलाई प्रष्टरुपमा भनिरहेको थियो : भूकम्पपछि महामारीको महाभारत सुरु हुनसक्छ।

रिपोर्टिङका क्रममा भत्किएको घरमाथिमाथि हिँडिरहँदा हामीले देख्यौं हाम्रो मुनि मोटरसाइकल पुरिएको रहेछ। 'कतै मोटरसाइकल कतै गाडी नै पुरिएका छन्। मानिस पनि हामीभन्दा मुनि हुनसक्छन्,' स्थानीय युवाले त्यहाँको अवस्था चित्रित गरिरहँदा आङ नै सिरिङ हुन्थ्यो।

उद्दार आफैँमा जटिल काम हो। 'यहाँबाट ५० मिटर भित्र के छ हामीलाई नै थाहा छैन,' उद्दारमा खटिएका एक सैनिकले हामीलाई ब्रिफ गरे, 'तपाईँको क्यामराले ऊ त्यो परसम्मको खिच्नुस् न केही देखिन्छ कि !' ड्रोनबाट हामीले भूकम्पले भग्नावशेष पारेका दृष्यलाई आकाशबाट कैद गरिरहँदा उद्दारमा खटिएका सुरक्षाकर्मीले गरेको आग्रहले उनीहरु उद्दार गर्ने कुन अवस्थामा त्यहाँ छन् भन्ने प्रस्टिन्थ्यो।

भूकम्पको तेस्रो दिन हो आज। अझै पनि झट्काहरु चलिरहेकै छन्। आकाश धुम्मिएको छ। पानी छिट्याउन पनि थालिहाल्यो। केही मानिसहरु आफ्नो खण्डहर घरबाट भाडा खोतलिरहेका थिए। चोक चोकमा बास बसे पनि खान त पर्‍यो नि।

यहाँको पानीको प्रमुख स्रोत इनार हो। इनारमा पानी त छ तर पानीको रुप सर्वतजस्तो भएको छ। धमिलै भए पनि जारमा पानी बोकेर आफ्नो सेल्टरतिर युवा हानिएका छन्।

दत्तात्रय भन्दिरबाट पूर्वपट्टीको चोकबाट उत्तर र दक्षिण घरहरु पूरै भत्किएका छन्। पुरानो सहर भक्तपुरमा मानिस हराउने गल्लीहरु यसकै ओरपर थिए। ती गल्ली अहिले गुमनाम छन्। घर कुन र बाटो कुन हो उद्दारमा खटिएकाहरुले नै पहिल्याउन सकेका छैनन्।

उद्दारमा पुगेका सुरक्षाकर्मीलाई जस्तै गरी राम र मैयाले हामीलाई सोधे, 'हामीलाई सहयोग गर्लान त कसैले ?' चाउचाउ र पानीको भरमा उद्दारमा खटिएका सैनिक र प्रहरीसँग यसको जवाफ के होस्। ती आफैँ भोकभोकै खटिएका छन्। अनि हामी पनि जवाफविहीन झै भयौं। 'हामी तपाईँहरुको अवस्था के छ बुझेर सरकारसम्मलाई सुनाउन आएका हौं। हामी तपाईँको अवस्था सुनाउँछौं र देखाउँछौं,' हामीसँग यो बाहेक अरु जवाफ थिएन। हामी आफैँलाई थाहा छैन, 'सरकारले के गर्छ ?'

सबैभन्दा बढी क्षति बेहोरेको भक्पुरका पीडितको प्रश्नले हामीलाई नै घोचिरहेको छ। सरकारको सक्रियतामाथि हामी आफैँ विश्वस्त छैनौं। यस्तो दुरावस्था आफ्नै आँखाले देखेपछि हामीसँग पनि प्रश्नमात्रै छ : के यो देशमा सरकार छ ?  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell