PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यस्तो छ टुँडिखेल र खुला ठाउँको हाल



  • पहिलोपोस्ट -
काठमाडौं : यतिखेर टुँडिखेलस्थिति सैनिक मञ्चको पहिचान फेरिएको छ। सेनाको स्वामित्वमा रहेको टुँडिखेलमा अहिले भूकम्पको त्रास पीडितहरुको आश्रयस्थल भएको छ। धनीदेखि गरीब सबै यसको चारघेरामा अटाएका छन्। सँगै यहाँ एउटा संसार सिर्जना पनि भएको छ। यो चौघेरामा माछा तारेर व्यापार गर्नेहरु पनि छन्। रोटी पकाएर खाना बेच्नेहरु पनि छन्। गोलभेडा र अन्य तरकारी बेच्नेहरु पनि भेटिन्छन् यही भित्र। पूर्व मेचीदेखि महाकाली र छिमेकी मुलुक भारतका युपी, बिहार उत्तराञ्चलसम्मका मानिसहरु यही चौरमा छन्।

'३६ वर्ष भयो नेपालमा बसेको पहिलोपटक यस्तो दुर्दशा भोग्नुपर्‍यो,' विनोदप्रसाद गुप्ता, ५३ ले सुनाए, 'हामीले यहाँ कुनै सहयोग पाएनौं।' गुप्ता भारतको सीतामणिका बासिन्दा हुन्। ठहिटीमा कपडाको व्यापार गर्ने उनी साँघुरो गल्लीबाट ज्यान बचाउन यो खुला ठाउँमा डेरा जमाएर बसेका छन्।

तीन हजार रुपैयाँको तरकारीसहित टुँडिखेलमा बसेका पदम थापा मगरले भने सिन्धुपाल्चोक ठोकर्पाका हुन्। नरदेवीमा तरकारी व्यापार गर्ने उनी पनि सुरक्षाका लागि टुँडिखेलमा बसेका छन्। दुई सन्तान र पत्नीसहित उनको टेन्टभित्र तरकारीको दुकानै अटाएको छ।

त्रास विर्स्याउने ठाउँ

नेपाली समाजको पूरा प्रतिविम्ब अहिले टुँडिखेलमा देख्न सकिन्छ। यहाँ पनि साँध र सधियारको विवाद छ। पाल र टेन्ट खोसाखोस छ। सेनाले पाल बाँढ्दा विभेद गर्‍यो भन्नेहरु पनि छन्। मिलाएर बाढिरहेको भनेर तारिफ गर्नेहरु पनि छन्।

तास खेलेर समय विताउने धेरै छन् भित्र। क्याम्पिङ ट्रेकिङको अनुभूति गराउनेखाले साना टेन्टहरु पनि गाडिएका छन्। गाडी र मोटरसाइकलसहित पाल गाँसिएका छन्।     

रामदेवको टेन्टले दियो साथ

भूकम्पको झड्का सुरु भएलगत्तै टुँडिखेलमा सुरु भएको रामदेवको योगा बन्द भयो। पर्याप्त टेन्ट र पालहरु राखिएको योग सिविर बन्द भए पनि ती सबै रामदेवले भूकम्प पीडितका लागि प्रयोग गर्न दिए। त्यतिमात्रै होइन योग शिविरका लागि ल्याइएको जेनेरेटर पनि टुँडिखेलमा रहेका मानिसको सेवामा समर्पण गरे। तर, राजनीति यसमा पनि सुरु भइसकेको छ।

'रामदेवले त दिनु भएको छ तर बीचका ठेकेदारले आफ्नो स्वार्थमा प्रयोग गर्नेगरी लैजान खोजे,' २८ वर्षीय रसिद अन्सारीले भने, 'यहाँ झगडा नै गर्नुपर्‍यो।'

सेनाले धमाधम टेन्ट गाड्न थाले पनि त्यसमा आफ्नोमात्र प्रभुत्व जमाउन खोज्नेहरु कम छैनन् भित्र। मिलेर रात काट्नुको साटो विवाद गर्न तम्सनेहरु धेरै छन्।   

हिजो पानी आज टेन्ट

भूकम्पपछिको लगातार झड्का महसुस भएपछि मुलुकभर मानिसहरु घरबाहिरै बसे। त्रिपाल टाँगेर बसे पनि रातिको पानीले उनीहरुलाई ओत दिनसक्ने अवस्था थिएन।

राजधानीको खुला ठाउँमा मानिसहरुको भीड रह्यो। टुँडिखेलस्थित सैनिक मञ्चभित्र पूरै मानिसहरुले आश्रय लिएका थिए। मञ्चको दक्षिणतिरको चौरमा पनि मानिसहरु अटाइनअटाइ थिए। १ हजार ५ सय रुपैयाँ पर्ने त्रिपाल किनेर मानिसहरु आफैँ रात कटाउन जुटेका थिए। तर आज सेनाले टेन्ट गाड्न थालेको छ। तर, हिजोभन्दा मानिस घटेका छन्।

सिंहदरबारभित्रको सैनिक क्याम्पभित्र पनि निर्वादरुपमा मानिसहरुले रात बिताउँदैछन्। उनीहरुले पनि खाने र सुत्ने प्रवन्धको जोहो आफैँले गरेका छन्। माइतीघर मण्डला, भृकुटीमण्डप, जावलाखेल चौर, चौबाटो सबैतिर मानिसहरु ज्यान जोगाउन खुला आकाशमुनि रात काटिरहेका छन्।

सरकारी कार्यालको परिसर, स्कुल, क्याम्पसका कम्पाउण्डभित्र पनि मानिसहरुको रात बितेको छ। राज्यकै मातहतमा रहेका यी सबै ठाउँमा मानिसहरुले रात विताए पनि त्यहाँ सरकारको उपस्थिति देखिएन। उनीहरुका लागि खाने पानीको उपलव्धता गराइएको थिएन।

छैन शौचालय

सरकारी नियन्त्रणको क्षेत्रममा रात काट्न पुगेकाहरुले सुलभ शौचालय पाउन सकेका छैनन्। टुँडिखेलमा प्लास्टिक बेरेर अस्थायी शौचालय त बनाइएको छ तर त्यसको निकास छैन। पिसाव चौरतिर खुलारुपमा वगेको देखिन्छ भने त्यसले पनि संक्रमण निम्त्याउने त होइन भन्ने आशंका पैदा गरेको छ।

शौचालयको प्रवन्ध नहुँदा अरु रोगका संक्रमण हुने सम्भावना उत्तिकै छ। एकातिर अस्पताल भरिभराउ छन् भने अर्कोतिर यसरी बसेको अव्यवस्थिति अस्थायी सिविरले थप जोखिम निम्त्याइरहेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell