PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​राहत र उद्दारका लागि आएका विदेशी टोली फर्काइएको छैनः सरकार



​राहत र उद्दारका लागि आएका विदेशी टोली फर्काइएको छैनः सरकार

काठमाडौं: नेपाल सरकारले फिनल्याण्ड, ताइवान, न्युजिल्याण्ड लगायतका देशबाट राहत सामाग्री तथा उद्दार टोलीलाई नेपाल सरकारले देश छिर्न नदिएको भन्दै विभिन्न विदेशी मिडियामा आएको समाचारको सरकारले खण्डन गरेको छ।

गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाले राहत सामाग्री तथा उद्दार टोली फिर्ता पठाइएका समाचारहरु सत्य नभएको  जनाएको छ।

'हामीले कुनैपनि देशको सहयोग नलिने भनेका छैनौं,' महाशाखाका सहसचिव  रामेश्वर दंगालले पहिलोपोस्टसँग भने, 'विमानस्थलबाट राहत तथा उद्दार टोली फर्काइएको थाहा छैन।'

दंगालले नेपाललाई अहिले राहत सामाग्री नचाहिने अवस्था नआएको बताए। 'हामीलाई अहिले धेरैभन्दा धेरै टेन्ट र ब्ल्याङ्केट चाहिएको छ,ठूलो जनसंख्या विस्थापित भएको छ' दंगालले भने, 'राहत सामाग्री सहयोग गर्न चाहनेलाई प्राथमिकतामा टेन्ट र ब्ल्याङ्केटलाई राख्न भनिदिनुस् न।'

ताइवान, फिनल्याण्ड, न्युजिल्याण्ड लगायत देशमा नेपालले राहत सामग्री र उद्दार टोली विमानस्थलबाटै फर्काइदिएको समाचार प्रकाशित भएपछि राहत संकलन गर्न अप्ठेरो परेको फिनल्याण्डमा रहेका भुवन पोखरेलले बताए।

'तेरो देशको सरकारले राहत नै अस्विकार गरिसक्यो, किन सहयोग गर्ने भन्न थालेका छन्,' पोखरेलले भने, 'फिनल्याण्ड, न्युजिल्याण्ड, बेल्जियमलगायत देशमा यो समस्या आएको छ।'

गत शनिबार गएको भूकम्पले ठुलो क्षति गरेपछि विभिन्न देशबाट उद्दार टोली राहतसहित आउने क्रम जारी छ।

सबैतिरबाट एकैपटक जेटहरु आउन थालेपछि त्रिभुवन विमानस्थलमा पार्किङको अभावमा केही जहाजहरु फर्किनुपरेको थियो। तर सरकारले कुनै पनि देशलाई राहत र उद्दार टोली नचाहिने भनेर अस्वीकार नगरेको सहसचिव दंगालले बताए।

उनले राहत वितरणका लागि भन्दै जोपनि आउनसक्ने हुनाले कागजपत्रहरु मिलाएर आउन पनि आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell