PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विपद्को बेला खुसीको खबर : भग्नावशेषबाट यसरी भइरहेको छ जीवितै उद्दार, हेर्नुस् भिडियो



काठमाडौँ : महाभूकम्पले देशमा महाविपत् निम्तिएको छैटौँ दिन खुसी र आशाका केही समाचार सञ्चार भए। भक्तपुरको दत्तात्रयबाट ११ वर्षीया बालिकाको जीवितै उद्दार भएको भोलिपल्ट बिहीबार गोंगबु नयाँ बसपार्क क्षेत्रबाट एक १५ वर्षीय किशोर र ३८ वर्षीया महिलाको जीवित उद्दार भयो। खोजी र उद्दार कार्यमा खटिएका उद्दारकर्मीहरुले आफ्ना कमान्डरलाई काँधमा बोक्दै खुसी मनाए, सर्वसाधारणले ताली बजाएर स्वागत गरे।
 
पेम्बाको उद्दार हेर्नुस् भिडियो


​हिडेन गेष्ट हाउसमा काम गर्दै आएका पेम्बा लामा शनिबार आएको भूकम्पले होटल भत्किएपछि त्यसैमा पुरिए । घरभित्रै पुरिएका उनको बाँच्छु भन्ने आशा मरिसकेको थियो । तर उनको भाग्य बलियो रहेछ । उनी पुरिएको सूचना साथीले दिएपछि सुरक्षाकर्मीले उनलाई घटनाको छैटौँ दिन जीवितै उद्धार गरे । 

“लामाका साथीले दिएको सूचनाका आधारमा विदेशी उद्धार टोलीले भग्नावशेषभित्र मानिस फसेको एकीन गरेपछि सशस्त्र प्रहरीको टोली सो भवनको ढलान फोडेर भित्र छिरेको थियो, त्यसपछि भग्नावशेषभित्रै लामालाई फेला पारेपछि टोलीले भित्रै उनलाई जुस र पानी खुवाएर जीवितै उद्धार गर्न सफल भयो,” लामाको उद्धारमा खटेका सशस्त्रका प्रहरी निरीक्षक एलबी बस्नेतले भन्नुभयो । 

लामो समयको अथक प्रयासपछि नुवाकोटका १५ वर्षीय लामाको १२० घन्टापछि उद्धार हुँदा लामाले नयाँ जीवन पाएको महसुस गरे । त्यहाँ सुरक्षाकर्मीको जयजयकार भयो । कसरी उद्धार हुन्छ भनी उत्सुकताका साथ बसेका वरपरका मानिस हर्षविभोर भए । 

जीवितै उद्धार गर्ने सिलसिलामा सशस्त्र प्रहरीले हात पारेको सफलताका सम्बन्धमा सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तले आफूहरुको पहिलो प्राथमिकता मानिसको जीवन भएको र त्यसका लागि आफूसँग भएको सम्पूर्ण स्रोत साधन प्रयोग गरेर उद्धारमा कुनै कसर बाँकी नराखी अहोरात्र खटेको प्रतिक्रिया दिनुभयो । 

“महाविपत्तिमा हाम्रो चिन्ता भनेको आफ्नो होइन, भएको स्रोत साधनको उपयोग गरेर जुनसुकै जोखिम लिएर भने पनि मानिसको जीवन जोगाउनु हो जसमा कतिपय ठाउँमा हामीले नपत्याएको सफलता पनि प्राप्त ग¥यौँ,” महानिरीक्षक वन्तले भन्नुभयो । 

सुरक्षाकर्मीको प्रयासमा पुनर्जन्म पाउनेको शृङ्खला यत्तिमै सकिएको छैन । मङ्गलबार राति सशस्त्र प्रहरी र फ्रान्सेली टोलीको संयुक्त प्रयासमा गोङ्गबुकै सयपत्री गेष्ट हाउसबाट भूकम्प गएको ८२ घन्टापछि अर्घाखाँचीका २८ वर्षे ऋषि खनाललाई जीवितै उद्धार गरियो । 

“मैले बाँच्नका लागि पिसाबसमेत खानुप¥यो, बाँचुला भन्ने लागेको थिएन तर सुरक्षाकर्मीले आफ्नो जीवनको जोखिम मोलेर मलाई नयाँ जीवन दिए” उद्धारपछि पटकपटक सुरक्षाकर्मीलाई धन्यवाद प्रकट गर्दै खनालले भन्नुभयो । भत्किएको भवनको पछाडिबाट छिरेको सुरक्षाकर्मी टोली सिमेन्टको भूईं ड्रिलले खनेर उनी अड्किएको स्थानसम्म रत्तीभर गल्ती नगरी सावधानीसाथ पुग्यो, जसले खनालको पुनर्जन्मको बाटो कोरेको थियो । 

ऋषि खनालको जीवित उद्दारको भिडियो हेर्नुस्-


भूकम्प प्रभावित सबै जिल्लामा पीडितको उद्धार र राहतमा अहोरात्र खटेको नेपाली सेनाका प्रवक्ता सहायक रथी जगदीशचन्द्र पोखरेलले भूकम्पमा परेका मानिसको उद्धार गर्ने प्रयास दिनरात जारी रहेको बताउनुभयो । 

“सामान्यतया कुनै ठाउँमा पुरिएका मानिस ७२ घन्टासम्म जीवितै रहने भनिए पनि हप्तादिनसम्म जीवितै भेटिएको उदाहरण भएकाले अझै जीवितै फेला पर्ने आशाका साथ हाम्रो जीवितै उद्धार गर्ने प्रयास जारी छ,” प्रवक्ता पोखरेलले भन्नुभयो । 

ठूलाठूला भत्किएका घरमा उद्धार गर्ने विशेष उपकरण हामीसँग नभए पनि सहयोगका लागि आएको विदेशी टिमसँग मिलेर उद्धारका कार्यलाई जारी राखेको उहाँले बताउनुभयो । “मुलुकलाई परेको यस विपत्तिमा नेपाली सेना आफ्ना दुःखकष्ट र जोखिम बिर्सेर पीडितको उद्धारमा अहोरात्र खटेको छ,” प्रवक्ता पोखरेलको भनाइ थियो । 

भूकम्पको दुःखद् घटनामा परेकी तेह्थुमकी सुनिता सिटौलाको उद्धारको कथा पनि कम रोचक छैन । उनको उद्धारको कथा जति सनसनीपूर्ण छ बाँचेको क्षण पनि अपत्यारिलो लागेको छ सिटौलालाई । भूकम्पको ३३ घन्टापछि राजधानीको माछापोखरीबाट सिटौलाको जीवितै उद्धार गरिँदा उनको पनि खुसीको सीमा रहेन । 

भत्किएको भवनमा ३३ घन्टा थुनिएकी सिटौलाले ‘बचाऊ’ भन्दै निरन्तर कराइरहेपछि त्यो आवाजको भरमा सो स्थानमा उद्धार गरिएको थियो। लामो समयसम्म हलचल नगरी, केही नखाई बसेपनि सिटौलाको स्वास्थ्य सामान्य रहेको भनी चिकित्सकसमेत छक्क परेका थिए । 

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कमलसिंह वमले भूकम्पपछि उद्धार र राहत कार्यसँगै शान्ति सुरक्षाको पनि जिम्मा लिनुपरिरहेको बताउनुभयो । “जनशक्ति, स्रोतसाधनको कमी भएपनि प्रहरीले उद्धारमा कुनै कसर बाँकी राखेको छैन, विकटका एकाध ठाउँबाहेक प्रभावित सबै क्षेत्रमा प्रहरी पुगेर पीडितको सहयोगमा जुटिरहेको छ,” प्रवक्ता वमले भन्नुभयो । 

यी केही उदाहरण मात्र हुन्, यसबाहेक सुरक्षाकर्मीले भूकम्पबाट प्रभावित जिल्लामा अहोरात्र खटेर जीवित उद्धारका साथै घरमा च्यापिएर निधन भएकाको शव निकाल्ने र पीडितको राहत तथा पुनःस्थापनाका लागि अतुलनीय सहयोग जारी राखेका छन् । 

भूकम्पपछिको उद्धार तथा राहत कार्य, उपचार र अन्य व्यवस्थापनमा भइरहेको अव्यवस्था तथा ढिलाइप्रति सर्वत्र आलोचना भइरहेका बेला सुरक्षाकर्मीले अत्यन्त जोखिम मोलेर गरेका उद्धार कार्यमा कतिपय मानिसलाई जीवितै उद्धार गर्न सफलता प्राप्त भएको छ । कतिपय सुरक्षाकर्मीका आफ्नै परिवारमा भूकम्पले पारेको जनधनको क्षति र पीडालाई बिर्सेर अरुको उद्धारमा जुट्दा पाएको यस्ता सफलतामा सुरक्षाकर्मी सबैको प्रशंसाको पात्र बनेका छन् । 

काठमाडौँकै विभिन्न स्थानमा भत्किएका भवन र संरचनामा डोजर, स्काभेटर, ‘ड्रिल’, डिजिटल क्यामेरा, ग्यासलगायतका सामान प्रयोग गरी ती जीवितै उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । उद्धारका लागि मुलुकका सुरक्षा निकायसँगै भारत, चीन, अमेरिका, फ्रान्स, इजरायल, टर्कीलगायत ३२ वटा अन्तर्राष्ट्रिय टोली खटिएका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell