PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

स्थलगत रिपोर्ट : लाश बोक्ने मान्छे छैनन् सिन्धुपाल्चोकका गाउँमा



स्थलगत रिपोर्ट : लाश बोक्ने मान्छे छैनन् सिन्धुपाल्चोकका गाउँमा

  • मनोज सत्याल -
सिन्धुपाल्चोक (लाँगर्चे) : लाश बोक्ने मान्छै छैनन्। बाल बच्चाको शव बोक्न हरियो बाँस लिएर आउने अवस्था छैन। कति वटा लाश बोक्न बाँसको व्यवस्था गर्ने? झरी परिरहेछ।

मरेका मान्छेहरुको शव जलाउन समय लाग्छ, नदी किनारमा कुरेर बस्ने अवस्था छैन। बेला बेलामा आउने भुकम्पको झट्काले पहिरो झरिरहेछ। इन्द्रावती नदी बाढीका कारण कालो भएर बगिरहेछ।

स्थानीयले शव जलाउन सक्ने अवस्था नभएपछि शवलाई नदीको किनारामा गाडेर हिँडेका छन्।

'शव जलाउन ६ घण्टासम्म लाग्छ। शव कुरेर बस्दा उता गाउँमा मरेका पशु चौपाया निकाल्न भ्याइदैँन, गाउँ नै डुङ डुङ गन्हाउने भएको छ' हामीले पुरेर छाड्यौँ, स्थानीय निरज खड्काले भने।

भत्किएको घरले पुरिएका सामान निकाल्न पनि भ्याउने अवस्था छैन। भत्किएको घर खोतल्न लाग्दा भुइचाँलो जाने डरले भग्नावशेषमुनिको अन्नपात निकाल्न उनीहरु डराइरहेका छन्।

लाश उठाउने मान्छे छैन

शनिबारको महाभूकम्पपछि आइतबार सिन्धुपाल्चोकको लाँगर्चे पुग्दा स्थानीयहरु भवनभित्र पुरिएको लाश निकाल्न खोज्दै थिए। तर सकिरहेका थिएनन्। राजधानीबाट गाउँ पुगेका युवाले बल्ल लाश निकाले र दाहसंस्कार गरे।

घाइते लिन आएन हेलिकप्टर

भूकम्प गए लगत्तै विद्युत अवरुद्ध भयो। मोबाइलका ब्याट्री चार्ज सकिँदै गएपछि गाउँ नै सम्पर्कबाट बाहिर बन्यो। सदरमुकाममा घाइतेका लागि सम्पर्क गर्दा 'एक दुई जना घाइते लिन हेलिकप्टर पठाउन सकिँदैन भन्ने जवाफ आयो' सहायक प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यसँग टेलिफोनमा कुरा गरेका स्थानीयले भने।


सडक अवरुद्ध

भूकम्पबाट सबैभन्दा धेरै प्रभावित जिल्लाका थाङ्पालधाप, थाङ्कपालकोट, मानेखर्क, खैरे, भोताङ लगायतका गाविसमा पुग्ने सडक अवरुद्ध भएको छ। मेलम्चीबाट ९ किलोमिटर माथि तिपेनी बजार छेउमा पहिरोका कारण बाटो अवरुद्ध छ। मेलम्चीबाट तिपेनी पुग्ने बाटो छेउमा रहेको खाल्डेखोलामा केवल नौ प्रहरी कार्यरत छन्। प्रहरी चौकीसँग सम्पर्क गर्ने सेट समेत छैन। प्रहरी चौकी बसेको भवन नै भत्किएको छ।

पसल बन्द

मेलम्ची बजार बन्द छ। बजारमा रहेका अग्ला घरमा बस्न मानिसहरु डराएका छन्। उनीहरु बजार भन्दा माथि अस्पताल र इन्द्रावती क्याम्पस छेउको समथर जमिनमा पाल टाँगेर बसेका छन्। बजारमा टर्चलाइटका लागि आवश्यक ब्याट्री पाँइदैन। टेन्टको अभाव छ। तिपेनी बजारमा पसल बसेका घरहरु भत्किएका छन्। चामल लगायतका खाद्यान्न अभाव छ। तिपेनीमा रहेको स्वास्थ्य चौकी भत्किएको छ।
 

छैन खानेकुरा

स्थानियहरुले भत्किएको भग्नावेशबाट भूकम्प रोकिएको बेला पारेर भाँडा वर्तन निकालेका छन्। तर उनिहरुले चामल, पिठो निकाल्न सकेका छैनन्। पिठो र चामलमा भत्किएको भग्नावेशको माटोमा विलिन भएको छ। भग्नावेशबाट सामान निकाल्न नसकेपछि स्थानियमा भोकमरीको त्रास फैलिएको छ। विद्युत अवरोध हुदाँ धान मिल चल्न सकेको छैन। जसका कारण घरबाट निकालेको धान पेल्न नपाउँदा छाप्रो बनाएर बसेका स्थानिय भोकमरीको त्रासमा छन्। उनिहरुसँग बारीमा तरकारी भएपनि चामल लगायतका खाद्यान्न अभाव छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell