PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बाटो भत्कियो, थलिएकाले पनि पाएनन उपचार



बाटो भत्कियो, थलिएकाले पनि पाएनन उपचार

  • ऋषिकेश दाहाल -
देउपुर (काभ्रे) : चन्द्रप्रसाद लामिछाने, ८२ घरले किचेपछि थप चल्न नसक्ने भएका छन्। भूकम्पले घर भत्काउँदा काभ्रेको गैरिविसौनाका यी वृद्ध चेपिए। त्यसो त नसाको रोगले थलिँदै आएका उनी भूकम्प आयो भने पनि कुदेर ज्यान जोगाउन सक्ने अवस्थामा थिएनन्। भूकम्पले घर भत्काएको एक घन्टापछि गाउँलेहरु आए र उनलाई निकाले। ‘जताततै दुखिरहेको छ,’ बारीको कान्लामा गाडिएको त्रिपालमुनि भेटिएका उनले संकेत गर्दै भने।

हार गुहार गर्दै ८२ वर्षका वृद्धको ज्यान त जोगियो तर उपचार गर्न लैजाने कुनै आधार भएन। बाटो पूरै भत्किएको छ। उपचार गराउन लैजान सक्ने स्थिति छैन।

गैरिविसौना देउपुरमा रहेका करिब १ हजार ५ सय घरमध्ये १ हजार २ सयभन्दा धेरै घर ढलेका छन्। केही बचेका छन् तर कुनै पनि समय ढल्ने अवस्थाका अथवा चरक्क चर्केको स्थितिमा अडिएका छन्।

गैरिविसौनामा एउटै ठाउँमा ७ घर ढल्दा ३ जनाको मृत्यु भयो। भूकम्पमा परी मर्नेहरुको संख्या यो गाउँमा २३ पुगिसकेको छ। काठमाडौंबाट नजिकै भए पनि राहतको नाममा यहाँ एउटा पालसम्म पुगेको छैन।

स्थानीयहरु आफैँ सक्रिय भएका छन् उद्दारका लागि। सामुदायिक वनमा काट्न योग्य रुख काट्ने र पीडितको घर बनाउन सघाउने तय गरेका छन् उनीहरुले। गाउँ विकास समितिका लागि आएको विकास बजेटलाई पनि पीडितका लागि प्रयोग गर्ने तय गरेका छन्। विकासभन्दा पनि जनतालाई यतिखेर ओत लाग्ने ठाउँको आवश्यकता छ।

‘घरमा बिजुलीमात्रै भएको भए पनि धेरैको ज्यान जाने थियो,’ शिक्षण पेशामा रहेका विनय गौतमले भने, ‘टिभी नआउने भएपछि केटाकेटी खेल्न गएका थिए। भूकम्पमा पर्नेहरु घरमै रहेका बुढाबुढी धेरै रहे।’ यहीको एउटा मन्टेश्वरी स्कुल पनि पूरै खण्डहर बनेको छ। ‘शनिबारको दिन भूकम्प गएकाले २३ जनाको ज्यान बच्यो,’ गौतमले भने, ‘स्कुल खुलेको हुन्थ्यो भने एकजनाको पनि ज्यान बच्नसक्ने थिएन।’

भक्तपुर र धुलिखेल दुवैतिरबाट सडक मार्गले जोडिएको यो गाउँमा राहतको गाडी पुगेको छैन। अन्यत्रका भूकम्प पीडितले जस्तै यहाँका मानिसहरु पनि बारीका पाटा आफ्नै जोरजाममा रात काटिरहेका छन् भने खुला ठाउँ भान्सामा रुपान्तरण भएको छ।

भूकम्पका कारण सडक भासिएकाले यहाँसम्म पुग्न कठिन छ। घरसँगै यहाँ विद्युत आपूर्ति ठप्प छ। यसको असर दैनिक जीवनसँगै सञ्चारमा पनि परेको छ। यहाँबाट मोबाइल संकलन गरेर भक्तपुर या काठमाडौं ल्याउँदै चार्ज गरेर गाउँ गाउँमा पुर्‍याउन युवाहरु जुटेका छन्। गाउँको अवस्थामा अपडेटका लागि उनिहरुले मोबाइल चार्ज गरेर पुर्‍याउँदै आएका हुन्।  






@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell