PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

तपाइँको घर चर्केको छ? चर्केको घरको फोटो पठाउनुस्, इन्जिनियरले नि:शुल्क चेकजाँच गर्नेछन्



तपाइँको घर चर्केको छ? चर्केको घरको फोटो पठाउनुस्, इन्जिनियरले नि:शुल्क चेकजाँच गर्नेछन्

काठमाडौं: गत शनिबार र आइतबार गएको महाभूकम्पमा परी लाखौं घरहरुमा क्षति पुगेको छ। यतिबेला व्यक्ति व्यक्ति, नीजि संस्था, सरकार उद्दार र राहतमा जुटेका छन्। अर्कातिर भूकम्पले लाखौं जनता विस्थापित भएका छन्। धेरै मानिसहरुका घर चर्किएका र फुटेका छन्। आफू बसिरहेको घर चर्किएपछि त्यो घरमा बस्ने कि नबस्ने दोधार बाँकी नै छ। 

यहीबेला सिभिल इन्जिनियरहरुको समुहले नि:शुल्क घर चेकजाँच गर्न सुरु गरेको छ। उनीहरुले भूकम्प डट नेटबाट यस्तो सेवा सुरु गरेका हुन्। समुहका नेतृत्वकर्ता इन्जिनियर विपिन गैरेले इन्जिनियर र घरधनीको समूह बनाएर परामर्श र चेकजाँच सेवा सुरु गरेको बताए।

भूकम्प डट नेटमा घरधनीहरुले आफ्नो नाम, ठेगाना, परिवार संख्या, घरको बनौटसहित चर्केको घरको फोटो पठाउनुपर्नेछ। अहिले साइटमा एउटा घरको तीनवटा फोटो राख्न सकिने सुविधा दिइएको अर्का इन्जिनियर प्रमोद न्यौपानेले बताए।

गैरेका अनुसार इन्जिनियरहरुको समुहले साइटमा प्राप्त फोटो हेरेर घरको चेकजाँच गर्नेछन्। फोटो हेरेर घर बस्न योग्य वा अयोग्य छुट्याउन नसकिने अवस्थामा इन्जिनियरहरु घरमै पुग्नेछन् र चेकजाँच गर्नेछन्।

'हामी अहिले प्रारम्भिक अवस्थामा छौं। यो पहिलो प्रयास हो,' न्यौपाने भन्छन्, 'छिट्टै हामी वेबपेजमा विशेषज्ञको धारना, प्राविधिक र घरधनीहरुलाई उपयोगी सामग्रीहरु समावेश गरी परिमार्जन गर्दै जाने सोचमा छौं।' उनले विदेशमा रहेका विज्ञहरु पनि यसमा समावेश भएर सहयोग गरिरहेकोले यो घरधनीहरुलाई निकै उपयोगी हुने बताए।

'अहिले धेरै मानिसहरु आफ्नो घर बस्न योग्य हो वा होइन भन्ने अन्योलमा छन्,' इन्जिनियर गैरेले भने, 'हामीले चर्केका घरहरु हेरेर मानिसहरुलाई सल्लाह दिने अभियान सुरु गरेका हौं।' यो सेवाले धेरै मानिसहरुको अन्योललाई समाप्त पार्ने र घर फर्किने वातावरण बनाउने विश्वास समुहको छ।

उनीहरुले घरको फोटो पठाउँदा आफ्नो घर कति चर्केको, कुन तरिकाले चर्केको पनि खुलाउन आग्रह गरेका छन्। यो अभियानमा प्राविधिक, भुगर्भविद, परामर्शदाता आर्किटेक्टहरु पनि सहभागी हुन सक्नेछन्। 

तपाइँको घरको फोटो र डिटेल पठाउन यहाँ क्लिक गर्नुहोस्



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell