PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

अमेरिकामा बसेर नेपालमाथिको चिन्तन



अमेरिकामा बसेर नेपालमाथिको चिन्तन

  • बिष्णुहरि घिमिरे -

    लेख्न मन लाग्छ तर कामले फुर्सद दिँदैन। नलेखौं रोकिन सकिन्न। अनलाइनबाट देशका खबर हेर्‍यो, मन कुडायो बस। मलाई मात्र होइन धेरै छन् यसैगरी मन कुडाउने। किनकि हरेक दिन खबरै खबर भित्रिन्छ। त्यसमा खुशी कम चिन्ता बढी मिसिएका हुन्छन्। समाचार खातका खात भित्रिरहेका छन्। थाहा नपाउँदा जति आनन्द हुन्छ थाहाले थप तनाव दिने रहेछ। खबरले खैलाबैला पार्छ मन। 

    केही दिनअघि  खबर आयो, नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भयो भन्ने। त्यसपछि आयल निगमका पदाधिकारीले पत्रकारलाइ धम्की दिएको समाचारले ठाँउ पायो। सोही अनियमिताको विषयमा स्थलगत अनुगमनमा गएका सभासदले नै आफ्नो ज्यानको खतरा रहेको सार्वजनिक गरे। 

    तराईका बाढी  पीडितहरू अझै तंग्रिन सकेका छैनन्। पहाडमा पहिरोको डरले राति निदाउन सकिरहेका छैनन्। पहिरोका कारण राजमार्ग पनि समय समयमा अवरुद्ध हुँदा हजारौ यात्रुले कष्ट बेहोरेका छन्। सर्वसाधरण गाँस टिप्नकै लागि संघर्ष गरिरहेका छन्। यी र यस्तै कयौं काहालीलाग्दा समस्यामा मुलुक गुज्रिरहेको छ।  तर, यी राज्यका निकायका  लागि महत्वको विषय भएन। 

    तर, जम्बो मन्त्रिपरिषद्का मन्त्रीहरू, केही वकिल र केही न्यायमुर्तिहरूको प्राथमिकताको विषय पनि अनौठो देखिएको छ। केही मन्त्री सडक पेटीमा रहेका पोलका तार काट्दै हिँड्न थालेका छन्। अनि अर्को एक थान मन्त्री नेपालका केही प्रतिशत सुकिलामुकिला व्यक्तिहरूको जमघट हुने दरबारमार्गका पसलमा छापा मारेर बहादुरी देखाउँदै छन्। 

    पोलका तार काट्न हिँड्ने मन्त्रीलाई हेक्का हुनु पर्ने हो, उनले कुल्ली काम शुरु गर्नु भन्दा नीति बनाउन त्यो समय खर्च गर्दा बढी लाभदायी हुने थियो। देशमा अझै पनि कयौ ठाँउ छन् जहाँ प्रयोग गर्ने मिति ग्रुजिएको औषधी देखि खाद्य सामग्री बिक्री भइरहेका छन्। जनताको स्वास्थमा प्रत्यक्ष असर गर्ने खाद्य बस्तुमा मिसावट छन्। राजमार्गमा होटल रेष्टुरामा सर्वसाधारण दिनहुँ ठगिएका छन्। तर मन्त्रीमहोदयको प्राथमिकता दरबारमार्गका स्वघोषित ब्राण्डेड पसल पर्दछ। 

    दरबारमार्गमा पुगेर खरिद गर्ने जनता कुन वर्गका हुन् र कति प्रतिशत छन् भन्ने हेक्का मन्त्रीलाई नभएको पक्कै होइन होला। दरबार मार्गमा जो ठगिए भनिएका छन् तिनीहरू दुरदराजका सर्वसाधरण ठगिए जस्तो होइन। 

    यो डिजिटल जमाना हो। दरबारमार्ग किनमेलका लागि जाने भनेका सम्पन्न वर्ग हुन्। जसको पहुच इन्टरनेटमा सहज छ। दुई शब्द टाइप मात्र गर्दा पनि सामानको मूल्य र ब्राण्डका बारेमा ठेलीका ठेली जानकारी लिन सक्छन् तिनीहरुले। 

    दरबार मार्गमा ग्राहक ठगिएका होइनन्। आफूलाइ शभ्य, शहरीया, अंग्रेजी भाषामा दख्खल  भएको भन्ने जमातले देखावटी गर्न र बिलासी जीवन जिउन शोख पूरा गरेका हुन्। दरबारमार्गका कुनै पनि पसलेले बाटोमा हिडिरहेको यात्रुलाई पाखुरामा तानेर जबरजस्ती सामान किन्न लगाएको होइन। किराना पसलमा  पाइने सामान र तारे होटलमा पाइने सामान, भट्टीमा पाइने म म र स्टार रेष्ठटुरामा पाइने म म को मूल्य एकै हुन्छ र? 

    दरबार मार्गका ग्राहक ठगिए ठगिएन भन्दा पनि त्यहाँका उपभोक्ताको आयस्रोत के हो, र बिक्रेताले कतिमा बेच्यो भन्दा पनि नाफा अनुसारको कर तिर्‍यो कि तिरेन भन्नेमा मन्त्रीको ध्यान जानुपर्ने हो। इमान्दारीको कमाइ खर्च गर्दा कुनै पनि ब्यक्तिले पक्कै पनि धेरै पाटामा विचार गर्छ। सयको सामानमा दशौं हजार खर्च गर्दैन। 

    अर्कोतर्फ  न्यायका लागि अदालत धाउँदा धाउँदा लीला समाप्त भएका कयौं उदाहरण छन्। अदालतको दैलोमा तारिक धाउँदा धाउँदा सडक पेटीमा बास भएका छन्।  दिनदिनै मुद्दाका ठेली थपिँदैछन्। न्यामुर्तिहरूलाई पनि न्याय सम्पादन गर्न भ्याइनभ्याइ छ। जनतका जीवनमा प्रत्यक्ष जोडिएका पनि कयौं विषय विचाराधीन नै छ। 

    तर, अदालतले एउटा निजी टेलिभिजनको एक रियालीटी सो लाई अग्राधिकार दियो। मानौं त्यो कार्यक्रमले मुलुकबासीको जन जीवनमा ठूलै उथलपुथल ल्याउँछ। हुन्डरी नै आउँदै छ।  नेपाल आइडियल एउटा नाफामुलुक अन्तर्राष्ट्रिय टेलिभिजन सो हो। यो कुनै समाज सेवा गर्न मात्र गरिएको परिकल्पना होइन। अर्को तर्फ नेपाल आइडल आयोजकले आफ्नो सो हेर्नै पर्ने र भोट हाल्नै पर्ने भनी कुनै पनि दर्शकलाई जबरजस्ती गरेको छैन। न त यो सो ले मुलुकको शान्ति सुरक्षामा नै कुनै दखल दिने काम गरेको छ। तपाईँलाई मन पर्छ हेर्नुस् मन पदैन नहेर्नुस्, मन पर्छ भोट हाल्नुस्, मन पर्दैन नहाल्नुस्। 

    अर्को तर्फ नेपाल आइडियल भयो नै तर त्यो स्थापित गायक हुन्छ भन्ने के ग्यारेन्टी छ? नेपाल आइडियलकी अहिलेकी जज इन्दिरा जोशी कुनै समय यस्तै सोको बीचमै फालिएकी थिइन्। उनले भाग लिएको सोमा टाइटल जित्ने व्यक्ति कहाँ छन्? प्रशान्त तामाङका लागि नेपालीले करोडौ खर्चिएर इण्डियन आइडियल बनायौं तर त्यस पछि प्रशान्तको नेपाली वा भारतीय संगीतमा के योगदान र स्थान छ? 

    दरवार मार्गको सामान खरिद त के त्यहाँको फोटोसम्म नदेख्ने जनसख्या धेरै छ। नेपाल आइडियलमा हेर्ने भोट गर्ने भन्दा पनि त्यो सो नै नहेर्नेको जमात धेरै छ। रुघाखोकीको सामान्य औषधी नपाएर थला पर्नेको जमात धेरै छ। मौलाउँदा भ्रष्टाचारका कारण कण कणमा ठगिनेको जमात ठूलो छ। 

    दशै दैलोमा आएको छ, कसरी एक सरो नयाँ फेरौ र चामाल कै भात खाउ भन्नेको जमात धेरै छ। अरबको मरुभूमिमा बसौं पसिना चुहाएरै भए पनि यो पटकको दशै परिवार सँगसँगै मनाउँ भन्दै कयौं दु:खलाई पैतलाले कुल्चेरै पनि त्रिभुवन विमानस्थल ओर्लिएको व्यक्ति दुर दराजको गाउँमा कसरी जाने भन्ने समस्याले घेरिएको जमात ठूलो छ। त्यसतर्फ जम्बो मन्त्रिमण्डल, विद्धान वकिल र न्यायमूर्तिहरूको ध्यान जानु पर्ने होइन र?  

    त्यसो त देशको बेहालबारे अमेरिकामा बसेर ठूला कुरा गरिस् भन्नेहरु पनि होलान्। पक्कै पनि कुरा ठूलै होला - गर्न छाडिन्न। देशमा अडिन नसेकेरै विदेशिएको हो। मैले देशमा जे भोगेँ  जे देखेँ त्यही नहोस् भन्नेमात्रै हो। जहाँ बसेर गरे पनि चिन्तन नै हो। मेरो छोरा मेरै छायाँमा यहाँ हुर्किँदैछन्। पलायनवादी भए पनि यिनले मैलेजस्तो दु:ख देखेनन्, भोगेनन् नेपालमा। पक्कै पनि उनीहरुको पुस्ताले मैले जति नेपालको वेथितिमा प्रश्न गर्ने छैनन्। किनकि मैले भोगेको नेपाल जहीँको तहीँ छ। मैले भोगेका भोगाइहरु अरुले भोगिरहेका छन्। म रहेसम्म पक्कै पनि गनगन गरिहरनेछु।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell