PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​बाढीपहिरो पीडित रहेका शिविरमा डा. गोविन्द केसी



​बाढीपहिरो पीडित रहेका शिविरमा डा. गोविन्द केसी

पहिलोपोस्ट- 
काठमाडौँ: साउन २९ गते रातिदेखि ३० गते दिनभर परेको अविरल वर्षापछि बर्दियाका भेरी र बबई नदीले रौद्र रुप धारण गरे। नदीको ठूलो भङ्गालो गाउँ र बस्ती छिर्‍यो। २७ जनाले ज्यान गुमाए। १२ जना अझै बेपत्ता छन्।
 
१८ प्रतिशत भूभाग डुबानमा पर्‍यो।  ३ हजार २३ घरका १६ हजार ६ सय ५२ जना घरबारविहीन भए भने २० हजार ५ सय ५३ जना शिविरमा शरण लिन पुगे।
 
बर्दिया गृहमन्त्री वामदेव गौतमको गृहजिल्ला हो। यहाँको प्रतिनिधित्व गर्ने सभासद् संजय गौतम बाढीका कारण प्रकोप र महामारी फैलन सक्ने चिन्ता गरिरहेका बेला कुरा भन्दा धेरै काम गर्ने डाक्टर गोविन्द केसी राजधानीबाट सिधै बर्दिया हानिए। जिल्लाका विभिन्न ठाउँमा शिविर सन्चालन गर्दै औषधि बाँड्न थाले।
 
बर्दियामा रहेका चिकित्सक विश्वनाथ शाह भन्छन्, 'डा. केसीले सोमबार बर्दियाको बानियाभारमा शिविर सन्चालन गर्नुभयो। डा. केसीसहितको टोलीले त्यहाँ ४ सय जनाको स्वास्थ्य परीक्षण गर्‍यो।'
 
बानियाभारमा बबई नदिको भङ्गालो वस्तिमा पसेको थियो। त्यहाँ मात्र ७ जनाले ज्यान गुमाएका थिए भने ४ जना बेपत्ता रहेको प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिए।
 
केसीले अहिले बर्दिया छाडिसकेको शाह बताउँछन्।
 
दैवी प्रकोप पर्दा सात समुद्र पारीको देश हाइटीसम्म पनि आफ्नै खर्चमा हानिएर शिविर सञ्चालन गर्ने डा. केसी अहिले सम्पर्कविहीन छन्। बर्दियाबाट हिडेँका उनी राजधानी गएको वा अन्य कुनै स्थानमा स्वास्थ्य उपचारका लागि हिँडेको भन्ने विषयमा भने जानकारी नभएको चिकित्सक शाहले बताए।
 
बर्दियामा डा. केसीले बानियाँभारको स्वास्थ्य शिविर जस्तै नेपाल प्रहरीको मेडिकल टोली महम्मदपुरको लालपुरमा, नेपाली सेनाको ४० जनाको मेडिकल टोली वगनाहमा खटिएर स्वास्थ्य परिक्षण गरेको गृह मन्त्रालयले जनाएको छ।  
 
८ जना मेडिकल अधिकृतसहित ८८ जना स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा परिचालित थियो। बर्दियामा समयमै स्वास्थ्यमा पुर्‍याइएको सावधानीले कुनै सरुवा रोगको प्रकोप फैलन पाएन।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell