PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वीरगञ्जले दिग्गज हैन सोच भएको नेतृत्व खोजेको छ -रहबर अन्सारी



राधेश्याम पटेल

वीरगञ्जले दिग्गज हैन सोच भएको नेतृत्व खोजेको छ -रहबर अन्सारी

वीरगञ्ज : विरगञ्ज महानगरपालिकामा मेयरको उम्मेदवार रहबर अन्सारीको नाम यतिबेला चर्चामा छ। नेकपा माओवादी केन्द्रको तर्फबाट रहबर चुनाबी मैदानमा छन्। सबै युवाले आफ्नो स्तरबाट समाजिक सञ्जालदेखि उनको कार्यक्रममा समेत सक्रियता बढाएका छन्। मेयरका अन्य प्रतिस्पर्धीभन्दा बौद्धिक मानिएका रहबर वीरगन्जको राजनीतिक नेतृत्वका लागि नयाँ अनुहार हुन्। रहबर मत पत्रबाट स्वीकृत हुन्छन् वा हुँदैनन् प्रतीक्षाकै विषय छ। ३१ वर्षीय रहबर कसरी उदाए राजनीतिमा? मेयर बन्ने सपनामा कस्ता योजना छन् प्रस्तुत छ पहिलोपोस्टका लागि राधेश्याम पटेलले गरेको कुराकानी।


चुनावी व्यस्तता कतिको बढेको छ?

एकदमै व्यस्त छु। बिहान ५ बजेदेखि राति १२ बजेसम्म खटिरहेको छु। सबै राम्रै भइरहेको छ। चुनावी सभा, घरदैलो, वडा कमिटी छलफलदेखि सबै समक्ष पुगेको छु।

 

ठूलाे चुनावमा अनुभव सायद यो तपाईको पहिलो होला। कस्तो लागिरहेको छ?

अन्य दुनियाँभन्दा एकदम फरक छ। टोल घुम्दा कतै बच्चा रोएको पाएँ कतै निराशा मात्र छ। दुःखसँग थप घुलमिल भएँ। प्रेसर पनि छ मिडियादेखि मतदाता र कार्यकर्ता सबैलाई समय व्यवस्थापन गरी अघि बढ्दैछु। एउटै कुरा –वीरगञ्जमा धेरै गर्न बाँकी छ। त्यसैको लागि म आएको हुँ।


मतदाताको ध्यानाकर्षणको लागि अन्य पार्टीभन्दा तपाईको प्रचार शैलीमा के फरक छ ?

आचारसंहिता उल्लंघन गरी कार्यक्रम गरेका छैनौँ। सभ्य र संयमित भएर वान टु वान डिस्कशन र कुराकानीबाट अघि बढेका छौँ। सोसल मिडियालाई उपयोग गरेका छौँ। टोलटोलमा पुगेर प्रत्यक्ष रुपमा मतदातासँग भोट मागेका छौँ।

 

तपाई मेयरमा उठेपछि माओवादीको पनि मिटर वीरगन्जमा उठेको हो?

त्यसो नहोला। माओवादी केन्द्र यस्तो पार्टी हो जसले एक्लै वीरगन्जको मेयरमा युवा उम्मेदवारलाई प्रतिनिधि बनायो। अन्य पार्टी कहाँ युवालाई चान्स दिए त? यसले सावित हुन्छ माओवादी पार्टी परितर्वन चाहेको छ। समाजलाई गतिशील र परिवर्तनशील बनाउन अबको अभिभारा युवाको काँधमा आएको म ठान्छु। यही पार्टी र मेरो लागि ठूलो कुरा हो।

 

चर्चाले मन जिते पनि चुनाव त जितिँदैन। वीरगञ्जमा माओवादीको संगठन पनि कमजोर छ। परिणामबारे के आँकलन गर्नुभएको छ?

वीरगञ्ज महानगरपालिका १९ वडाबाट २७ र हाल ३२ वडामा सीमावर्ती क्षेत्रदेखि बाराको सिमराको पश्चिम रामबनसम्म बिस्तार भएको छ। शहरको विकासभन्दा पछि थपिएका गाविस हालका १७ वडादेखि ३२ वडाको भौतिक पूर्वाधार एकदमै कमजोर छन्। संगठन अन्य दलभन्दा कमजोर भएर हुँदैन राम्रा उम्मेदवारलाई सबैले भोट दिन्छन्। म सक्षम मेयरको लागि तयार छु। संकल्प र योजनासाथ अघि बढेको छु। चुनाव जित्नेमा दृढ संकल्पित छु।

 

मतदाताको प्रतिक्रिया कस्तो पाउनु भएको छ?

एकदम उत्साहित छन्। उनीहरुले नयाँ अनुहार खोजेका छन्। वीरगञ्जमा मैले भेटेका अधिकांशलाई मेरो उर्जाको स्रोतका रुपमा लिएको छु।

 

वीरगञ्जको चुनावमा रहबर एकाएक उदाए भनेर टिपण्णी हुँदैछ। पढे लेखेर पनि राजनीतिको फोहोरी खेलमा किन आउनुभयो?

हेर्नुस, वीरगञ्जको विकास हामी तपाईले नै गर्ने हो। म एकाएक आएको होइन् पार्टीको केन्द्रीय तहमा मैले विगत सात वर्षदेखि काम गरेको छु। मुस्लिम मुक्ति मोर्चाको विदेश विभाग प्रमुखको रुपमा काम गर्दै आएपछि पार्टीले मलाई उम्मेदवार बनाएर पठाएको हो। एकाएक उदाएको होइन्। २० वर्षपछि स्थानीय चुनाव भइरहेको छ, यसर्थ म जस्तै अन्य पार्टीका उम्मेदवार पनि एकाएक नै आएका हुन्। रह्यो कुरा राजनीतिलाई फोहोरी खेलको संज्ञा दिइन्छ, तर यसमा शिक्षित युवा नेतृत्व आएनन् भने हाम्रो विकास कहिल्यै पनि हुँदैन।

 

तपाईको लाइनमा अन्य दिग्गज उम्मेदवार पनि छन्। कतिको गाह्रो होला?

दिग्गजको परिभाषा के? अहिलेसम्म ती दिग्गज नेताहरुले नै वीरगञ्जलाई हाकेका होइनन्? कहाँ विकास भयो वीरगन्जको? विकासलाई अवरोध गर्ने दिग्गज चाहिएको हो कि विकास गर्ने? अब दिग्गजको परिभाषाभन्दा सोच भएको व्यक्ति खोज्छ वीरगन्जले। असोज २ को चुनावले देखाउँनेछ।

 

तपाईमाथि वीरगञ्जवासीले विश्वास गर्ने अधार के? किन भोट दिने?

मैलै स्नातक गरी नेपाल फर्केपछि डेढ वर्ष भरतपुर मेडिकल कलेजको प्रशासक भएर काम गरेँ। वीरगञ्ज आउँदा मैले अस्पतालको आवश्यकता देखेँ। गण्डक चोकमा एउटा ४ कोठे भवन लिएर त्यहाँ १० बेडको अस्पताल सञ्चालनमा ल्याएँ। त्यही ४ कोठे भवनको गण्डक अस्पताल आज ठूलो अस्पतालको रुपमा विस्तार भई सेवा दिइरहेको छ। रोटरी क्लबमा मुख्य भूमिकामा काम गरेँ। युरोपियन संस्थाहरुसँग प्रत्यक्ष सम्पर्कमा छु। वीरगञ्जले चाहेको र पच्ने खालको विकास गरेर वीरगञ्जलाई सुविधायुक्त शहर बनाउन सक्छु। म सँग योजना छन् यसैले वीरगञ्जका जनताले मलाई भोट दिन्छन् भन्ने ठानेको छु।

 

तपाईको घोषणा पत्रमा विशेष केके छन्?

मैले गर्न सकिने कुरा मात्र गरेको छु। पहिलेका नेताहरुले नाप जोख गर्न नसकिने कुरा गर्थे। मैले गर्न सक्नेमात्र योजना ल्याएको छु। जुन वीरगञ्जलाई अति आवश्यक हुन्छ।

जस्तै, करले होइन रहरले जाऔँ बजार। तरकारी तथा फलफूल बजार व्यवस्थित। शहर सफा, बाटोघाटो विस्तार गरी व्यवस्थित भवन निर्माण गर्नुपर्छ। वीरगञ्जमा मल्टीलेभल पार्किङस्थलको आवश्यकता छ। ट्राफिक व्यवस्थापनमा काम गर्ने योजना छ। अन्तर्राष्ट्रिय योजनामैत्री वीरगञ्ज हुनुपर्छ। निःशुल्क शव बाहनको व्यवस्था मिलाउनु पर्छ। सफा, स्वच्छ खानेपानीको व्यवस्था गर्छु। घर–घरमा समाजिक सुरक्षा भत्ता वितरण गर्ने सेवा दिने कुरा गरेको छु।

 

रहबर अन्सारी जित्नभन्दा काठमाडौंमा रञ्जु दर्शना जस्तै अन्य दलको भोट काट्छन् मात्र भन्ने प्रश्न पनि उठिरहेको छ नि?

म कसैलाई जिताउन वा हराउन आएको होइन। न कि कसैको भोट काट्न आएको हुँ। वीरगञ्जका जनताको साथ र माया पाएर वीरगञ्जलाई जिताउन आएको हुँ। मलाई विश्वास छ वीरगञ्जवासीले यसपालि मलाई साथ दिन्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell