PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

 नग्मा श्रेष्ठ जसले नेपालमा भित्र्याइन् 'मिस युनिभर्स'को फ्रेन्चाइज 

नग्मा श्रेष्ठ जसले नेपालमा भित्र्याइन् 'मिस युनिभर्स'को फ्रेन्चाइज 


काठमाडौं: नग्मा श्रेष्ठ पाँच वर्षअघिकी मिस नेपाल अर्थ हुन्। हिडन ट्रिजर आयोजित मिस नेपालमा फस्ट रनर्सअपको ताज पहिरेकी उनी मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्ने मध्ये सबैभन्दा अगाडि पुग्ने नेपाली सुन्दरी बनिन्। 

२०१२ नोभेम्बरमा भएको कार्यक्रममा उनी उत्कृष्ट ८ मा पर्न सफल भइन्। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताको फाइनलसम्म पुग्ने उनी पहिलो युवती हुन्।

नग्माको सौन्दर्य प्रतियोगिता यात्रा मिस नेपाल र मिस अर्थमा सीमित भने भएन। नग्मा भन्छिन्, 'म ब्युटी प्याजेन्ट फ्रिक हुँ।' 

श्रेष्ठले राष्ट्रिय तीन र अन्तर्राष्ट्रिय तीन गरी ६ सौन्दर्य प्रतियोगितामा सहभागिता जनाइसकेकी छिन्। 
‘वर्ल्ड मिस युनिभर्सिटी–२०१६’ मा नेपालका तर्फबाट प्रतिनिधित्व जनाएकी नगमा श्रेष्ठले थर्ड रनर्स अपको ताज जितिन्। प्रतियोगितामा उनले मिस फिटनेसको अवार्ड पनि पाइन्। त्यस्तै नग्मा इजिप्टमा भएको मिस इको युनिभर्स २०१६ की बेस्ट टुरिजम भिडियो अवार्डकी विजेता समेत हुन्। 

यसैबीच नग्मा 'मिस युनिभर्स'मा नेपालको प्रतिनिधित्व गर्ने पहिलो सुन्दरी बन्ने भएकी छिन्। नग्माको लागि मिस युनिभर्समा सहभागिता विशेष छ। किनकि विश्व प्रसिद्ध मिस युनिभर्सको फ्रेन्चाइज नग्मा स्वयंमले नेपालमा भित्राएकी हुन्। 

सन् २०१२ देखिको व्यक्तिगत प्रयास सन् २०१६ मा सफल भयो र २०१७ को मिस युनिभर्समा नेपालले पहिलोपटक सहभागिता जनाउँदैछ। नग्मा भन्छिन्, 'सपना पूरा भएको छ र म खुशी छु।' 

नग्मा श्रेष्ठसँग पहिलोपोस्टकी स्वेच्छा राउतले गरेको कुराकानी: 

मिस युनिभर्सको फ्रेन्चाइज नेपाल भित्राउन सफल हुनुभयो। कसरी सम्भव भयो? 
छोटो समय र सानो प्रयासको नतिजा होइन यो। सन् २०१२ देखि निरन्तर लेखिएको एकोहोरो मेल र सन् २०१६ मा मिस युनिभर्सकै हेड अफिसमा पुगेर गरिएको भेटको फल हो। मैले नेपाल पनि सहभागी हुन चाहन्छ भन्ने सन्देशसहितको मेल कति लेखें, मलाई नै याद छैन। तर रिप्लाई कहिल्यै पनि आएन। 

त्यस्तैमा सन् २०१६ मा एक कार्यक्रमको जज बन्न म अमेरिका पुगें। मिस युनिभर्सको हेड अफिसमा सम्पर्क कोसिस गरेको फोन पहिलो प्रयासमै उठ्यो र मैले भेट्ने मौका पाएँ। डालसबाट काठमाडौं फर्किन पर्ने मान्छे न्यूयोर्क पुगें र कुरा गरें। 

मलाई त प्रश्न पो गरियो, त्यो मेल गर्ने केटी तिमी हो? भनेर। त्यसपछि मैले कन्भिस गरें किन नेपाल सहभागी हुन चाहन्छ भन्ने। नेपालमा मिस युनिभर्सको लागि भरपर्दो डिरेक्टर खोज्ने बताएपछि उनीहरु तयार भए। नेपालको लागि मिस युनिभर्सको नेशनल डिरेक्टर हिडन ट्रेजर हो।

मिस युनिभर्स नै किन? 
किनकी मिस युनिभर्स सबैभन्दा ठूलो ब्युटी प्याजेन्ट हो। ६५ औं मिस युनिभर्स भैसक्दा पनि नेपालको सहभागिता नरहनु दु:खद् हो। मेरो व्यक्तिगत हकमा भने मिस अर्थमा हाम्रो टिम म्यानेजर रहेकी रुरुको कारण मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्नु मेरो सपना बन्यो। रुरुले सुरुवातदेखि साथ दिइन्, सहयोग गरिन्। उनीसँगै मैले पनि टप ४ मा आफूलाई देखेको थिएँ तर त्यसो भएन। म आउट हुँदा उने भनिन्,'मिस नेपाल तिमी अब मिस युनिभर्समा भाग लिनुपर्छ। त्यसपछि मिस युनिभर्स मेरो लक्ष्य बनेको हो। 

तपाईंको लागि सुन्दरता के हो? 
आत्मविश्वास सुन्दरता हो। मान्छे भित्र जति आत्मविश्वासी छ त्यसैको प्रभाव बाहिर देखिन्छ। आफैलाई स्वीकार्न सक्नु सुन्दरता हो। अरुमा प्रभाव जमाउन मात्र गरिने प्रयासले मान्छे सुन्दर हुँदैन। मैले २५ वर्ष लामो सुन्दर जीवन बिताइ सकें। आफैलाई माया गर्नु र आफूमा विश्वास हुनु सुन्दर पक्ष हो भन्ने बुझाईको विकास भयो। आफ्नो सकारात्मक पक्षलाई ग्रुम गर्ने र नकारात्मक पक्षलाई हटाउन कोसिस गर्ने र आफूलाई प्रस्तुत गर्ने शैलिमा ध्यान दिने। साथै फिट देखिन पनि अति आवश्यक हुन्छ। 

सौन्दर्य प्रतियोगिता चाहिं के हो? 
सुन्दरता र सुन्दर पक्षहरु प्रस्तुत गर्ने माध्यम हो। सौन्दर्य प्रतियोगिताको लामो इतिहास र फराकिलो बजार छ। सौन्दर्य प्रतियोगिताको व्यवसायिक पाटो पनि छ र एउटा जिम्मेवारी पूरा गर्न सक्ने व्यक्ति छनोटको पाटो पनि छ। समग्रमा सौन्दर्य प्रतियोगिता आत्मविश्वासी, जिम्मेवार र प्रतिभावानहरुलाई ग्रुम गराउने माध्यम नै हो। सौन्दर्य प्रतियोगिताको बजार निकै अगाडि पुग्दा नेपालमा ५/ ६ वर्ष भयो यसको चर्चा सुरु भएको। यी सबै सौन्दर्य प्रतियोगिताको फर्म्याट अन्तर्राष्ट्रियको जस्तै बनाउन खोजियो तर तरिका भएन। किनकी हाम्रो समाजले स्वीकार्न नसक्ने विकिनी राउण्ड जस्ता धेरै कुरा त्यस्तोमा समावेश हुन्छन्। 

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतिस्पर्धामा नेपाल जानुको औचित्य के हो? 
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपाल चिनाउने एकदम ठूलो प्ल्याटफर्म हो। देशको परिचय, यहाँको राष्ट्रिय र ऐतिहासिक महत्वको कुरा, प्राकृतिक एवं सांस्कृतिक विविधताको कुरा, नेपालमा भएको फरक जाति र भाषाबीच एकताको कुरालाई प्रस्तुत गर्ने ठाउँ हो। नेपालको प्रतिनिधित्व हुनुको मतलब सहभागीले आफूलाई प्रस्तुत गर्नु होइन, देशलाई प्रस्तुत गर्नु हो। त्यसैले महत्व छ अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता। 

सौन्दर्य प्रतियोगिता पनि फूटबल जस्तै हो, क्रिकेट जस्तै हो। यसको दर्शक कम भए। प्रतियोगीको लागि समर्थक कम भए। समर्थक बढ्नु प्रचार बढ्नु हो र प्रचार बढ्नु हौसला र जिम्मेवारी बढ्नु हो। नेपालको प्रतिनिधिले राम्रो गरे त पक्कै पनि पूरा देशले गर्व गर्ने ठाउँ हुन्छ। कस्तो हुन्छ होला? मिस युनिभर्सको देश नेपाल, मिस अर्थको देश, मिस वर्ल्ड वा मिस इन्टरनेशनलको देश भन्दा? 

अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताहरुमा नेपाल अगाडि नपुग्नुको कारण के हो जस्तो लाग्छ? 
तयारी नपुग्नु मुख्य कारण हो। अन्तर्राष्ट्रियमा प्रतियोगितामा भाग लिनको लागि पनि मिस नेपाल नै सबैभन्दा भरपर्दो माध्यम हो। फाइनलमा पुगेकोहरुलाई जुन एक महिनाको तालिम हिडन ट्रेजरले दिन्छ त्यसले धेरै कुरा सिकाउँछ। प्रतियोगीले आफूमा सकारात्मक विकास महसुस पनि गर्छन् तर त्यतिले कहाँ पुग्छ र? टाइटल जितेर अन्तराष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्नेहरु कम्तिमा पनि ९० देशको सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्नुपर्छ। प्रतिस्पर्धा राम्रो देखिने विषयमा मात्र हुँदैन। कसरी प्रस्तुत हुन्छ भन्ने पनि हुन्छ। त्यसैले बाहिर सौन्दर्य प्रतियोगितामा भाग लिन जानेलाई कुन लुगामा कसरी हिड्ने, कुन लुगामा कसरी बस्ने, कसरी खाने, साथीहरुसँग कसरी बोल्ने र जजहरुसँग कसरी बोल्ने, पोजिशन कुन ठिक कुन बेठिक सबै सिकाइनु पर्छ। 

अरु देशमा ब्युटी स्कूल हुन्छन्। हाम्रोमा त्यो छैन। ट्रेनरको पनि कमी छ। अनि पूर्ण तयारी सहित आएकासँग हामीलाई प्रतिस्पर्धा गर्न साँच्चै गाह्रो हुन्छ। सहभागीमा केही गर्छु भन्ने विश्वास हुँदा पनि सकिंदैन।

बाहिरबाट हेर्नेले यस्तो प्रतियोगिताहरु बायस्ड हुन्छ भन्छन् नि। 
हुन्छन् भन्ने सुनेको छु र केही त आफैले देखेको पनि छु। तर आयोजक संस्था र कार्यक्रमको उद्देश्य बारे सहभागी प्रस्ट हुनुपर्छ। सौन्दर्य प्रतियोगिता भने व्यक्तिगत विकासको अवसर पनि हो। यस्तोमा टाइटलले मात्र महत्व राख्दैन। मैले सहभागिता जनाएको चाहिं कुनै पनि प्रतियोगिता बायस्ड महसुस गरेको छैन। किनकी मिस नेपाल होस् वा मिस अर्थ यस्ता प्याजेन्ट हजारौंले हेरेको हुन्छन्। यस्तोमा जज वा आयोजक बायस्ड हुने ठाउँ रहँदैन। किनकि उनीहरुलाई आम दर्शकले हेरेका हुन्छन्। यदि भित्र त्यस्तो केही हुन्थ्यो भने हामी प्रतियोगी स्वयंलाई प्रश्न गर्न कसले रोक्छ र? 

मिस युनिभर्सको लागि तपाईंको तयारी के छ त?
यो अवसर मेरो लागि चुनौति हो र आफ्नाले गरेको विश्वासलाई शक्तिमा बदल्ने मौका। धेरैले मेसेज गरेका छन् 'तिमी सक्छौ', 'राम्रो गर्नुपर्छ' भनेर सबैलाई खुशी दिनुछ। त्यसको लागि मिहेनत त पक्कै गर्नुपर्छ। लामो समयदेखि सतिन कुँवर सरसँग प्रशिक्षण लिंदै आएको छु। हरेक दिन बिहान, बेलुका नै फिटनेसमा व्यस्त छु, अध्ययन बढाएको छु र खानेकुरामा निकै सचेत रहेको छु। 

नेशनल राउण्डको लागि आफ्नो देशको सांस्कृतिक पहिरन लगाउनु पर्छ। त्यसको लागि सबैभन्दा धेरै प्रेसर भएको छ। डिजाइनरसँग धेरै कुरा गरेर पनि निर्णय लिन सकेको छैन।  
 


ट्रेन्डिङ पोस्ट

Ncell