PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

वाम एकता कांग्रेसका लागि गज्जवको अपर्चुनिटी : गगन थापा 



पहिलोपोस्ट

वाम एकता कांग्रेसका लागि गज्जवको अपर्चुनिटी : गगन थापा 

नेपाली कांग्रेसका युवा नेता तथा प्रचण्ड नेतृत्वको सरकारमा मन्त्रीसमेत रहेका गगन थापा माओवादी केन्द्रभन्दा पनि नेकपा एमालेको चरित्र पढ्न नसक्दाको परिणाम मान्छन् पछिल्लो राजनीतिक घटनाक्रम। बामपन्थी शक्तिलाई लोकतान्त्रिक बाटोमा हिँडाउनेक्रममा झड्का लागेको बताउने उनी आगामी चुनावी समिकरणमा चुनौतिसँगै अथाह सम्भावनाहरु पनि कांग्रेससँग रहेको बताउँछन्। थापासँग ऋषिकेश दाहालरमेश वाग्लेले गरेको कुराकानी :


'माया बैगुनी... कोलिसनमा प्रचण्ड नभइ नहुने...' भनेजस्तै भयो। यसलाई कांग्रेसले किन बुझेन?

यस्तो निर्वाचन प्रणालीमा अब कि प्रि-इलेक्सन कि पोस्ट-इलेक्सन अलाइन्स नबन्‍दासम्म सरकार बन्न सक्दैन भन्ने सबैको निष्कर्ष हो।
त्यस सन्दर्भमा पहिलोपटक हामीले माओवादीसँग अलाइन्सको अभ्यास गर्‍यौं। त्यो हाम्रा लागि फाइदाजनक पनि रह्यो। काम गर्ने क्रममा बडो कम्फर्टेवल पनि भयो जुन परिकल्पनाभन्दा फरक थियो। त्यसले सबै ढंगले त्यो अलाइन्सलाई हामी कन्टिन्यू गर्न चाहन्थ्यौं। त्यतिखेर अलाइन्स नबनेको थियो भने अहिले बनेको वाम अलाइन्स त्यहीबेलै बन्थ्यो। तात्कालीक रुपमा यो अलाइन्स बनेको भए हामीलाई थप बेफाइदा हुन्थ्यो।

पार्टी एकीकरण भन्ने कुरा दुई वर्ष देखि सुनिँदै आएको हो। प्रतिस्पर्धात्मक राजनीतिलाई स्थिर बनाउने र वामहरुको लोकतान्त्रिकरण गर्ने भन्ने हाम्रो प्रयासमा एउटा कम्युनिष्ट सेन्टर बनाउने प्रयासले बाधा खडा गर्छ।

जसरी हामीले मोनार्की र डेमोक्रेसी सँगसँगै जाँदैन भन्यौ त्यसरी नैं एउटा बलियो कम्युनिष्ट सेन्टर र लिवरल डेमोक्रेसी सँगसँगै जाला र? कहीँ न कहिँ त विरोधाभाष हुन्छ। त्यसैले हामीले माओवादीसँगको सहकार्य अघि बढायौं। भरतपुरजस्तो एक्ट्रिम घट्नासम्ममा पनि गयौं।

यो जाँदै गर्दा हामीले कुनै पनि वेला माओवादीले युटर्न गर्छ सोचेनौं। युद्धबाट आएको पार्टी सामान्य कुरा पनि हो - प्लान ए र प्लान बी तयार पारेर बस्ने। र, कुनै पनि बेला त्यसलाई ट्याक्टिस र स्टाटेजीलाई थ्योराइज गरेर ट्याक्टिकल मुभ गर्ने।  बढी भन्दा बढी फाइदा लिने। यो क्यारेक्टर बाँकी नैं छ भन्ने कुरा बिर्सियौं। र, उसलाई आफूजस्तै डेमोक्रेट सोच्यौं। त्यो एउटा कमजोरी भयो।

दोस्रो चाहिँ हामी माओवादीलाई मात्र विश्लेषण गर्न चुकेको होइन रहेछौं। एमालेलाई विश्लेषण गर्न पनि चुक्यौं। अहिलेको अलाइन्स त माओवादीको चाहनाले भन्दा पनि एमालेको चाहनाबाट भएको हो। एउटा लार्जेस्ट पार्टी बन्छु भनेर हिँडेको एमाले ४० प्रतिशत हिस्सा माओवादीलाई दिएर आफू ६० प्रतिशतमा सीमित भएर जान्छ भन्ने अलिकति पनि विश्लेषण गरिएन। हामीले एमालेलाई चिनेकै रहेनछौं।

यति ठूलो संयन्त्र भएको दलमा यसको संकेत पनि थिएन त?

केही दिन अघि पार्टीसभापतिसँग लामो समय कुरा हुँदा माओवादीको विषयमा कुरा भएको थियो। त्यहाँ ४० र ५० प्रतिशत माग गरेको कुरा भयो। तर, यसरी दिन सक्ने अवस्था थिएन। किन भने हामीलाई ५ प्रतिशत पनि दिन एकदमै गाह्रो थियो। हाम्रो त राष्ट्रिय पार्टी हो। जुनसुकै क्षेत्रमा धेरै उम्मेदवार हुन्छ। 

कुन चाहिँ क्षेत्रमा हामीले चुनाव नलड भन्ने त? हाम्रो त ठाउँ नै छैन। हामीलाई ५ प्रतिशत दिन गाह्रो छ भने एमाले भनेको त हाम्रो दौतेरी नै हो। उसको संगठन नभएको कुन वडा छ? यस्तो अवस्थामा ४० प्रतिशत दिने कुरा हावादारी भन्ने नै थियो। एमाले ४० प्रतिशत सम्म दिन सक्ने पार्टी हो भन्ने अनुमान भएको भए त्यसबेला के हुन्थ्यो भन्न सकिन्नथ्यो।

माओवादीसँग सहकार्य टुट्नाका कारण के हो भन्ने बुझाई छ?

अहिले दुईवटा स्कुल अफ थट छन् यहाँ। एउटा प्रदेश नम्बर-२मा राम्ररी सहकार्य गर्न सकेको भए माओवादी छुटेर जाँदैनथ्यो भन्ने। अर्को चाहिँ सहकार्य गरेको पार्टी प्रतिपक्षीसँग मिल्न जान्छ भने प्रदेश नम्बर-२मा सहकार्य गरेको भए झन् धेरै लगेर जान्थ्यो भनेन। यहाँ माओवादीलाई मात्र हैन एमालेको स्टाटेजीलाई बुझ्न सकेनौं। नेताहरुले हामीलाई पहिलेदेखि नै थाहा थियो भन्लान् तर त्यस्तो विश्लेषण पार्टी भित्र सुनेको छैन।

लेफ्ट अलाइन्स हुनसक्छ। त्यसका असर यी हुनसक्छन् भनेर पार्टी सभापतिले सुचना राख्ने हो कि तपाईँहरु जस्तो युवा नेताहरुले? तपाईँहरुले विश्लेषण गरेर इन्पुट दिएर स्टाटेजी बनाउनुपर्ने होइन? गल्ती कहाँ भयो?

स्टाटेजीको कोणबाट मात्र हेर्दै गर्दा हाम्रो पार्टीको अहिलेको अवस्था र नेतृत्वको कुरा गर्नुपर्ने हुन्छ। अहिले यत्रो दुर्घटना भइसक्यो। हामीसँग सूचना पनि छ। हामी केही विश्लेषण पनि गर्न सक्छौं। र, हाम्रो सन्दर्भ पनि छ। यी सबै कुराबाट आएका कुरा एउटा अपवाद बाहेक हाम्रो नेतृत्वसम्म पुर्‍याउन पनि सक्दैनौं। हाम्रो भाषा फरक छ। उहाँहरुलाई के लाग्छ भने हामीलाई केही पनि थाहा छैन। हामी सोच्न पनि सक्दैनौं। 

अहिले हुँदाहुँद पार्टीको कार्यसम्पादन समिति भन्ने बनेको छ। त्यो पनि केका आधारमा भन्दा जो केन्द्रीय सदस्य सबैभन्दा पहिले बनेको छ उहाँहरु जति जान्ने महारथी अरु कोही छैन भन्ने ढंगले। यो सबै कुरा त उहाँहरुले बनाएको हो नि त। राम्रो हुँदा जस लिनुहन्छ भने नराम्रो हुँदा अपजस पनि लिन पनि तयार हुनुपर्‍यो नि।

आजको दिनमा अपजसको भागिदार कुनै पार्टीको एकजना मात्र मान्छे हैन निर्णय प्रक्रियामा सहभागी सबै हुनुपर्छ। दोषी निर्णय गरेर हामीलाई पत्रपत्रिकाबाट सुनाइरहेको छन् उनीहरु सबै हुन्। 

हाम्रो स्टाटेजी मात्र फेल भएको होइन। नेपालमा वाम पार्टीहरु डेमोक्रेटाइज्ड भयो भन्ने हाम्रो बुझाइ थियो। तर, त्यो वामको इसेन्स त गएको रहेनछ नि त। एकचोटी चै वाम पार्टी भएर त्यसकै आधारमा राज्यसत्ता लिने भोक र चाहना त रोकिएको रहेनछ नि। भोलि जेसुकै होला तर उहाँहरुको डकुमेन्टमा त एकीकरण नै भनिएको छ। संसारलाई समाजवादको नयाँ नमुना नैं सिकाउने भनिएको छ। हिजो नमस्कार गर्न थालेका नेताहरु पनि मुठ्ठि कसिरहनुभएको छ। पार्टीको नामै फेर्नुपर्छ भन्ने नेताहरु नेपालमा एउटै कम्युनिष्ट सेन्टर बनाउनुपर्छ भनेर लाग्नुभएको छ। 

मतलब बाम दलमा प्रजातान्त्रिक धार देखिएन?

डेमोक्र्याटहरुको जुन लडाइ वा संघर्ष गरे त्यो उहाँहरुलाई समाप्त गर्न  थिएन। हामी त उहाँहरुलाई सँगसँगै लिएर आयौं। हामी भाषणमा भन्थ्यौ- एमालेलाई हामीले लोकतन्त्रको मुलधारमा ल्यायौं। माओवादीलाई पनि ल्याउँदैछौ भन्थ्यौ। तर, यसमा चाहिँ हाम्रो स्टाटेजी चुकेको हैन। यो एउटा रियालिटि रहेछ।

स्थानीय तहमा पाएको मतको आधारमा विश्लेष गर्दा कांग्रेस माओवादी अलाइन्सले धेरै जित्ने देखिन्थ्यो। यस्ता कुराको इन्पुट दिने काम त तपाईँहरु जस्ता युवा नेताको होइन र?


यसको टोटल होमवर्क हामीसँग छ। नयाँ निर्वाचन क्षेत्र बनेपछि जहाँ सीमांकन गरियो, त्यसका आधारमा हामीले गाविस वडा, २०७० को संविधानसभा चुनाव, २०७४ को स्थानीय चुनाव र त्यस अघिको चुनावको ट्रेन्डसहित तीनवटा इलेक्सनको विश्लेषण गरेर रिपोर्ट बनाएका छौं। स्थानीय चुनावले मात्र विश्लेषण हुन सक्दैन किनकि धेरै फ्याक्टरहरु छन्। 

नयाँ निर्वाचन क्षेत्र बनिसकेकपछि त्यस निर्वाचन क्षेत्रभित्र हामीहरुको अन्य दलसँग कति अन्तर छ भन्ने निर्वाचन क्षेत्रमात्र होइन प्रदेशसम्मको पनि हामीले हामीले विभिन्न एङ्गलबाट प्रोसेसिङ गरेका छौं। तर, नेतृत्व र हाम्रोबीचमा ग्याप छ। भेट हुँदा हामीसँग छ है चुनावको पुरापुर एनालाइसिस भन्यो। नेतालाई कुनै चासो नैं छैन। हामीसँग प्रदेशको यस्तो हुन्छ भन्ने पनि छ। प्रतिनिधिसभाको यस्तो हुन्छ भन्ने पनि छ। प्रदेश नम्बर २ को मात्र बाँकी छ भन्यौ। अर्गनाइज भएर काम गर्ने हो भने त त्यसलाई उपयोग त गर्नुपर्छ।

केन्द्रीय समितिको बैठकमा नक्सासहित माइन्युटली कति भोट आयो भन्ने पेपर प्रस्तुत भयो। कहाँ भोट घट्यो कहाँ बढ्यो? यी कुरा मैले लिडरहरुलाई हेर्दा रिसिभ नै गरेको देखिन। चुनावका म्यानेजमेन्ट टुलहरुलाई पार्टीको केन्द्रीय समितिमा राख्दा पनि नेताहरुलाई मतलव नै छैन।

अब यो कम्युनिष्ट अलाइन्स कांग्रेसका लागि आइ-ओपनार बन्न सक्छ?

आइ ओपनर हुन्छ कि हुँदैन 'कमिङ डेज विल टेल'। अहिलेनै भन्न सकिँदैन। दावी गर्ने कुरा पनि वेकार हुन्छ। हुनुपर्छ भन्ने हो। म्यानेजमेन्टको कुरा गर्दा लिडरसीपले राख्ने इन्टेलिजेन्स, लिडरसीपले कहाँ कम्जोरी गर्यौ भनेर खोज्ने कुरा न्यारेटिभ बनाउने कुरामा हामीहरु पटक्कै कम्युनिकेट नै गर्न सकिरहेका छैंनौ। 

नेपाली कांग्रेस पार्टीले अब खुलेर भन्नुपर्छ जनतालाई - हो हामीले माओवादी एमाले गठबन्धन नहोस् भनेर चाहेकै हो। किनकि हामी सरकार चलाउन चाहने पार्टी हौं। हामी नेमकिपा हैन। एमाले र माओवादीको अलाइन्स नमिलोस्, माओवादीलाई सँगै लिएर जाँदा उसलाई अझ बढी लोकतान्त्रिकरण गर्न सकियोस् भन्ने चाहन्थ्यौ। स्ट्याटेजी ठीक पनि थियो। नेपालको डमेक्रेसी ठीक ढंगले चल्न बलियो कम्युनिष्ट सेन्टर नबनोस् भन्ने चाहेकै हो जुन नेपालको डेमोक्रेसीका लागि कुनै पनि कोणबाट हितकर छैन। 
हामीले नजिकबाट पश्चिम बंगाललाई देखेका छौं। निर्वाचनबाट जितेर आउने शक्तिशाली कम्युनिष्ट पार्टीहरु मात्र एकछत्र राज गरेको अवस्थामा त्यहाको लोकतन्त्र देखेका छौं। यो हुन दिन चाहँदैनथ्यौ। तर दुर्भाग्यवस यो भयो।

अब कांग्रेसको प्रयत्न के हुन्छ त?

अब हाम्रो आफ्नो ताकतमा हामी चुनाव लड्छौं। हामी कोसँग मिल्ने हैन हामी आफूभित्र मिल्छौं। हामी आफ्नै ताकतले वेस्ट बंगालजस्तो हुन दिन्नौं।  हामी त अब रोएर बस्ने त हैन नि। उच्च मनोबलका साथ केही विश्लेषणसहित भन्नुपर्यो। 

अर्को कुरा यो कन्सपिरेसीबाट जहिले पनि नेपाली कांग्रेसले मार भोगेर हिड्नुपर्ने? हामी चाहिँ जहिलै स्वचालित। कसैले हामीलाई परिचालित गरेको हुने। अनि नेपालमा भएका यी घट्नाहरु चाहिँ आफैँ भएको मानिदिनुपर्ने? हाम्रा क्रियाकलापमा प्रश्न उठ्छ भने अरुका क्रियाकलपामा पनि त प्रश्न उठ्नेभयो नि त। 

एउटा राम्रो पक्ष पनि छ नि। यो अलाइन्सको एउटा विनर कांग्रेस हो र लुजर माओवादी भन्ने छ नि? कांग्रेस आफ्नै खुट्टामा उभिन प्रयास गर्छ?


लाल नियन्त्रको बाटोमा नेपाली समाज जानसक्छ कि भन्ने कल्पना भएको हो। त्यसलाई रोक्नका निम्ति त नेपाली कांग्रेस अब त २००७ सालको जस्तो क्रान्तिकारी, २०१५ सालको जस्तो जनपक्षीय र २०४६ सालको जस्तो समर्पणको भावना भएको बनाउनु पर्छ। कांग्रेसलाई नयाँ बनाउने हैन पुरानो अवस्थामा फर्काउनु छ। जसका लागि मानिसहरु कांग्रेस भए त्यसलाई जोगाउनु छ।

नेपाली कांग्रेस बाँचेको भनेको चै कांग्रेसका कारण हो। कांग्रेसीहरुका कारण हैन। कांग्रेसी भन्या म जस्तो भयो। म कांग्रेसको होलटाइमर। तर कांग्रेस भनेको यसको सर्टेन भ्यालुलाई मान्ने मान्छेहरु हुन्। नेपालको यत्रो मिडिल क्लास हेर्यो भने डेर्मोक्रेसीको चस्मा लगाउने ठुलो संख्या छ ती कांग्रेस हुन्। त्यसले कांग्रेसीसँग चित्त नदुखे कांग्रेसीलाई भोट दिन्छ नत्र दिँदैन।

त्यसले स्वतन्त्र प्रेसमा विश्वास गर्छ। सम्पत्तिको स्वतन्त्रतामा विश्वास गर्छ। स्वतन्त्रता गुम्ने कुरामा डराउँछ। न्यायपालिका स्वतन्त्र रहोस् भन्ने चाहन्छ। संस्थाहरुमा सरकारले हस्ताक्षेप नगरोस् भन्ने चाहन्छ। त्यो समूह नेपाली कांग्रेसले गरेको निर्णयसँग रिसाएको छ। उसको आफ्नो मान्यतालाई अघि नबढाएकोमा कांग्रेसीसँग आक्रोशित छ।

तर, नेपाली कांग्रेसले आफ्ना गल्तीहरुलाई क्षमा माग्छु र मेरो पार्टीलाई मुल्य र मान्यतामा पुर्याउँछ भन्छ भने त्यत्रो कांग्रेस देशलाई लाल नियन्त्रणमा जान दिँदैन। देश जान लाग्यो भने त्यसलाई रोक्न एक भएर उभिन्छ।

फेरि राजनीतिमा सधै २ प्लस २ ले ४ हुँदैन। कहिले पाँच पनि हुन्छ, कहिले डेढ तिर झर्न पनि सक्छ। इलेक्सन पोलिटिक्स कुनै गणित मात्र त हैन। खिलराजलाई प्राधानमन्त्री बनाएर, लोकमानलाई अख्तियारको प्रमुख आयुक्त नियुक्त गरेर गएको बेला कांग्रेसलाई काठमाडौंमा १० मा ८ सिट दिने अनि संविधान पनि जारी गरेर त्यसको कार्यान्वयनको पक्षमा उभिएर निर्वाचन पनि गरेर सम्हालेर ल्याएको बेलामा स्थानीय चुनावमा बढारिदिने। त्यस्तो पनि स्विङ्ग हुन्छ? भोटरको मुड त समय अनुसार परिवर्तन हुँदो रहेछ। कांग्रेसले गरेको निर्णयले काठमाडौंको जनमत त हजारौंको संख्या फरक पारिदिएको छ। 

नेपाली कांग्रेस जुन भ्यालुका लागि बनेको हो त्यो भ्यालु चै वाम एकताले खतरामा पर्यो। अब कांग्रेसले मात्र जोगाउँछ भन्ने बुझाउँदा मानिसले कांग्रेसी र कतिपय अवस्थामा कांग्रेस पार्टीलाई पो मन नपराएको हो त। त्यो भ्‍यालुजलाई मन नपराएको त हैन नि।

हिजो त कुनै पनि मानिसलाई कांग्रेस र एमाले दाजुभाइ जस्तो लाग्थ्यो। कांग्रेस पनि त्यही भ्यालुमा विश्वास गर्छ एमाले पनि भन्ने थियो। तर, एकीकरणको अभ्यास पछि एमाले एमाले रहेन। अब उ नेपाल कम्युनिष्ट पार्टी भयो। मानिस अब कम्युनिष्टि भ्यालुजलका पक्षमा उभिउन या विपक्षमा।

आजको दिनमा ६२ प्रतिशत कम्युनिष्ट छन् भन्छन्। हैन ७० प्रतिशत स्पेस डेमोक्रेट्सको हो। त्यही स्पेस कांग्रेस र एमालेले बाँडेको हुन्। ३० प्रतिशत स्पेस मात्र कम्युनिष्टको हो। त्यही स्पेसमा अब नेपाल कम्युनिष्ट पार्टीलाई लिएर जानुपर्छ। कम्युनिष्ट आवश्यक नै छैन भनेर हिडेका बाबुराम पनि मुठ्ठी कस्दै त्यही जानुभयो।  

तर, हामीले गल्ती कहाँनेर गरिरहेका छौं चुनावी तालमेल कहाँ गर्ने भन्दा भन्दै वास्तविक राजनीति बिर्सियौ। प्राथमिक विषय अलाइन्स होइन। यहाँनेर संघीय समाजवादी राजपा वा राप्रपासँग अलाइन्स बनाउने भन्दै गर्दा वास्तविक राजनीति र त्यसको न्यारेटिभ बनाउन छुट्यो। नेपाली कांग्रेस बलियो भएर उत्रिन्छ भन्ने जनतामा विश्वास भयो भने न जनसमर्थन जुट्ने हो।

वाम अलाइन्स बनाएर सभा गृहमा रमाइलो गरिरहँदा कांग्रेस सभापतिको जिल्ला डडेलधुराबाट दुई वटा समुहमा उम्मेदवार सिफारिस हुँदै थियो भने वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उनकै जिल्लामा जुलुस निस्किरहेको थियो। अरुले सेलिब्रेसन गर्दा कांग्रेसको गति यस्तो छ। यही हो कांग्रेसको सिरियसनेस?

कहिलेकाही यस्तो प्रतिकूलतालाई अनुकुलतामा लैजान सक्नुपर्छ। मेरै निर्वाचन क्षेत्रमा एक दिन अघिसम्म पनि केही इस्युहरु थिए। तर, वाम अलाइन्ससँगै दशतिर मुख फर्काएर हुँदैन भनेर साथीहरु बस्यौ। भोलिदेखि फेरि एकठाउँ बस्ने भन्ने वातावरण बन्यो।
हाम्रो पार्टीमा जसरी काम हुँदै आएको मिलाउने यही बेलामा त हो। डेमोक्रेसी संकटमा पर्यो भनेर फिल गराउन सकियो भने समस्या रहँदैन। मैले कांग्रेसीहरुसँग कुरा गर्दैगर्दा यो त वर्वाद भयो भन्ने पहिलो प्रतिक्रिया पाएँ। तर, उही व्यक्ति भन्दै थिए – यो हाम्रा लागि मौका पनि हो। यसलाई सदुपयोग गर्न सक्यौं भने हामीलाई कसैले चलाउन नसक्ने अवस्था निर्माण हुन्छ। त्यसका लागि पार्टी एक बनाउनुपर्छ। दोस्रो कुरा हाम्रो ताकत हो।

फ्याक्ट के भने डडेल्धुरामा स्थानीय तहको चुनाव हारेको हो। तनहुँमा समस्या थियो। काठमाडौंमा सबै क्षेत्रमा समस्या छ। यसलाई ढाकछोप गरेरभन्दा पनि यो वास्तविकता स्वीकार गरेर सुधार गर्न सकिन्छ। तर, मेरो अनुभव के हो भने हामी दाइ वाला पार्टी हो। यहाँ थुप्रै दाइ दिदी हुनुहुन्छ। 

कस्तो गजवको पार्टी हो भने २०५६ सालमा गिरिजाबाबुले झ्याप्प किसुनजीको हात समातेर 'प्रधानमन्त्री' भनिदिँदा देशभरि लहर आयो। त्यो प्रधानमन्त्री को भन्ने कुरा हैन। लिडरले गेस्चर के दिनुभयो भने हामी मिल्यौ है। अब पार्टी एक भयो भन्ने सन्देश हो। 
अहिले पनि टप लिडरहरु एक हुनुपर्छ। तल माथि हुन हुँदैन। देखाउन पर्छ भन्ने हो भने देशभर हामी दाइहरुका भक्तहरुबीच यति ठूलो लहर आउँछ कि त्यो अहिले भन्नै सकिँदैन।

त्यो एउटा सजिलो बाटो छ। तर यो विषय लिडरहरुबाट नै आउन पर्‍यो। जति भने पनि नभने पनि शेरबहादुर देउवा पार्टी सभापति, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला जसलाई तलबाट कार्यकर्ताले हेरिरहेका छन् तिनलाई एकताको म्यासेज दिन सक्नुपर्यो।

सिनियर लिडरहरु बरवाद भयो भन्नेखालको सन्देश दिँदै हुनुहुन्छ। तपाईँहरु जस्तो ओपिनियन लिडरले यसलाई क्राइसिस क्राइसिस मात्र भन्नुहुन्छ कि अपर्चुनिटी?

वास्तवमा यो अपर्चुनिटी हो। हरेक क्राइसिसका पछाडि अपर्चुनिटी हुने गर्छ। अर्को हिसाबले क्राइसिस पनि हो। चुनावको नोमिनेसनको १०/१५ दिन अगाडि अरु पार्टीको अलाइन्स हुँदा समय कम हुने हुनाले पनि त्यो क्राइसिस हो। यसले केही अनिश्चितता छ। तर, अब त्यो अपर्चुनिटिमा बदलिने समय आयो।

अब नेपाली कांग्रेस भारतीको कांग्रेसकै हविगतमा पुग्छ भन्ने चिन्ता कतिको छ?

अवसर भनेको ढोका ढकढकाएर आउँदैन। अहिले अवसर आएको छ। यसलाई सदुपयोग गर्न सक्यौ भने अनविलिभएवल हाइटमा पुग्न सक्छौं। अवसरलाई बुझ्न र सदुपयोग गर्न सकिएन भने एउटा डिजास्टर त भोग्नै पर्छ। बाटो सजिलो छैन। केही दिन अघिको अंकगणितले सुविधायुक्त ठाउँमा राखिदिएको थियो हामीलाई तर अब त्यो सुविधा छैन। डेमोक्रेटको भोट हामी जोगाउँछौ भनेर कांग्रेस जाने हो भने कांग्रेसका लागि यो ओण्डरफूल अपर्चुनिटी हो यो।

अब माओवादीलाई साथमा लिएनौं भने कामजोर हुन्छौं भन्ने हीन भावनाबाट कांग्रेस मुक्त भयो त?

त्यसलाई म त्यसरी हेर्दिन। प्रि इलेक्सन माओवादीसँग गर्दैगर्दा बढी सिट जित्ने र सरकार बनाउनेसँगै माओवादीलाई पनि सरकारमा राख्ने योजना थियो। माओवादीलाई सरकारमा राख्दै गर्दा माओवादी हामीजस्तो हुने हो हामी माओवादीजस्तो होइन। हामी सरकारबाट बाहिर बस्नुपर्दैन भनेर सोच्ने कुरा एउटा राजनीतिक दलका लागि कहीँ कतै गलत होइन। त्यो बेला हाम्रो तरिका मात्र गलत भएको हो। चितवनमा एउटालाई टिकट दिएर पठाएको छ, बाटोमा गएर खोसेको छ। त्यो चाहिँ गलत हो। कम्युनिकेसन गर्ने कुरामा हामी चुक्यौं। हामीले अलाइन्स किन गर्यौ। त्यसको के आवस्यकता थियो? त्यसलाई बुझाउन हामी चुकेका हौं। त्यसले गर्दा अम सर्वसाधारण र कांग्रेसहरुमा केही निरासा ल्याएकै हो। कार्यकर्तामा हामी त एक्लै हिड्नै नसक्ने अवस्था भयो भन्ने परेको हो। माओवादीलाई सँगै लैजाने हाम्रो स्ट्र्याटिजी पनि हैन, एउटा ट्याक्टिस फेल भएको हो। अब नयाँ कुरा आयो। प्लान बी भनेको हामी मिल्नेसँग प्रि-इलेक्सन अलाइन्स गर्ने। तर, त्योसँगसँगै ६० प्रतिशत भन्दा माथिको हाम्रो स्पेसमा क्लेम गर्छौ। पार्टी बनाउँछौं।

एकातिर त्यस्तो अवस्थाको निर्माण गर्नुपर्ने छ भन्नुहुन्छ अर्कोतिर तपाईँहरु अझै सगोल सरकारमा भान्सा गर्दै हुनुहुन्छ। विश्वास आर्जन गर्न त भान्सा छुट्याउन पर्दैन?


यो सबै कुराको बीचमा राजनीतिक धर्म र मूल्य मान्यता त हुन्छन्।  अब माओवादीले सरकारमा बसिरहन पनि मिल्दैन। कांग्रेसले पनि माओवादीलाई सरकारमा राखिरहन मिल्दैन। एमालेले भन्यो माओवादीले पनि भन्यो – यो सरकार चुनावसम्म जान हामी यसको समर्थन झिक्दैनौं। सरकार फेर्दैनौं। तर, फेर्ने नफेर्ने उहाँहरुको कुरा हो। फाइनल थ्याङ्क्यु भनेर बिदा गर्नुपर्यो। सरकार जान्छ, उहाँहरु त्यही चाहनुहुन्छ भने जान्छ। अहिले त यतिञ्जेलको सहयोगका लागि धन्यवाद भनेर बिदा गर्नुपर्यो नि। गए जान्छ सरकार। सरकार बनाउनकै लागि यत्रो लडाई हो र हाम्रो? 

हिजो बाबुराम भट्टराईको सरकार थियो जसले संविधानसभाको विघटन गर्यो। त्यो सरकारमा आउ र जाउ भन्ने त हामीलाई ठुलो दवाव थियो नि तर हामी गयौ? गएनौं। हिजो किन जनताले पुरस्कृत गरे? जनताले २०६५ देखि ७० सम्मको कांग्रेसको भूमिकाले हो। चाहे त्यो सम्पतिको विषयमा होस् चाहे लडाकुको विषयमा कांग्रेसले लिएका अडान। जनताले साथ दिएकै हुन् नि। हामी गएनौं माओवादीको सरकारमा। यो बेलामा सरकार पो जान्छ कि भनेर चिन्ता गर्ने हैन नि।

अहिलेको एकता अभियानलाई के भन्नुहुन्छ? एमालेको प्रभावले माओवादीको लोकतन्त्रिकरण भयो वा माओवादीको प्रभावले एमाले पुरानो बाटोमा फर्कियो?


माक्सवादी स्कुल संयुक्तरुपमा खोल्दै जाँदा उहाँहरु कम्युनिष्ट पाठशालमा भर्ना हुँदै गर्दा निश्चित शिक्षा नेपालको कम्युनिष्टहरुले लिनुभयो। यत्रो वर्षको दौरानमा हाम्रो बुझाई चाहिँ उहाँहरुको लोकतान्त्रिकरण भयो भन्ने भयो। प्राध्यापक चैतन्य मिश्र सर जस्तो व्यक्तिहरुले 'नेपालमा कम्युनिष्ट चाहिँदैन' भन्ने ठाउँसम्म आइपुग्दा उहाँहरुमा चै त्यही पुरानो साम्यवादको सपनामा संसारकै कम्युनिष्टहरु जगाउँछौ भन्ने बाटोतिर फिर्किनभयो। उहाँहरुले प्रारम्भिक पाठशालामा पढेको 'एक दिन यो समाज वर्गबाट मुक्त हुने छ, राज्यविहिन आदर्श समाज हुने छ' भन्ने थियो त्यहाँबाट बाहिर निस्कन सकिरहनुभएको रहेनछ। त्यही हुटहुटीले उहाँहरुलाई यहाँसम्म पुर्याएको छ।  

अब उहाँहरुबाट त्यसकै निम्ति प्रयास हुने छन्। यो विश्व इतिहास साक्षी छ कि त्यस्ता खालका प्रत्यक प्रयत्नहरुले मानव इतिहासलाई कही न कही चोट पुर्‍याउने काम गरेको छ। कही पनि फाइदा गरेको छैन भने त्यो प्रयोगले नेपाललाई पनि राम्रो ठाउँमा पुर्याउँदैन। 

कतिले अहिलेको कम्युनिष्ट अलाइन्सलाई इन्डिया इन्पुट हो भने। कसैले चाइना इन्पुट भनिरहेका छन्। तपाईँलाई चै कुन लाग्छ?

यसका फ्याक्टहरु खोज्ने तपाईँहरुको काम हो। अहिलेसम्म कांग्रेसलाई 'आफ्नो खुट्टामा आफैँ हिँड्दै हिँड्दैन।' हामीले सरकार बनाए पनि कसैले बनाइदिएको हुन्छ। सरकार ढाले पनि कसैले ढालिदिएको भन्छन्। कसैले भनेर ढालेको भन्छन् नेपालका मिडियाले। कि अब सबैलाई बताइदिनु पर्यो कसैको हात छैन भनेर। कि त देश र जनतालाई बुझाइदिनुपर्यो कसैको हात छैन भनेर। त्यो दुःख हामीले किन गरिरहनपर्यो। त्यो मिडिलाई छोडिदिने हो।

पोपोगाण्डा टुल र मिडियालाई एकै नजरले हेर्नुभयो त?

मेरो जानकारी बेगर म कसैको हात होला भनेर अनुमानको भरमा केही भन्दिन। तर, व्यक्तिगत महत्वकांक्षा र कुण्ठाको भारी जुन अहिले मिडियाहरु र नेताहरुले बोकिरहनुभएको छ त्यस्तो कुरालाई चमत्कारिक रुपमा अहिले स्वभाविक रुपमै भएको हो त? भन्ने कुरा सर्वत्र उठेको छ। अब यसबारे छलफल हुँदै जाँदा यो समयलाई छोडिदिनु उपयुक्त हुन्छ।

अब एमाले लार्जेस्ट पार्टीबाट ६० प्रतिशतमा झर्यो भन्नुहुन्छ तपाईहरु?

यो कुरा जनतालाई बुझाइदिन आवस्यक छ। त्योभन्दा अघि कांग्रेसीले बुझ्न जरुरी छ। कांग्रेस र कांग्रेसीबीचको भिन्नता कांग्रेसीले कांग्रेस पार्टीले बुझ्न पर्छ। त्यति भयो भने भोलि जनता आश्वस्त पनि हुन सक्छन्। नेपालमा कांग्रेसीको स्पेस कहीले २० प्रतिशत भएको छ कहिले दुई तिहाइ। तर, कांग्रेसको स्पेस सधैं बढेको छ। २०१६ सालमा भन्दा कांग्रेस भ्यालु स्पेस बढेर गएको। घटेको छैन। बिहानदेखि वेलुकासम्म सोसल मिडियामा बस्न र लाखौलाई बुझाउन सक्नुपर्यो- तिमीले खोजेको समाज र राज्य व्यवस्था यो कम्युनिष्ट अलाइन्सले दिँदैन। दिन खोजेको पनि हैन। यसमा एउटा कुरा दावीका साथ के भन्न सक्छौ भने तिमीले खोजेको स्पेस सके हामीले दिन्छौं, नसके पनि त्यो अलाइन्सले दिँदैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell