PahiloPost

May 24, 2018 | १० जेठ २०७५

कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?


किशोर नेपाल/पहिलोपोस्ट

कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी?
कनिका दंग परेकी थिइ। पत्रकारिता शुरु गरेको दिनदेखि अहिलेसम्म उसले यस्ता समाचारहरू पढनु त कता कता देखेकोसम्म पनि थिइन। घरमा पालेको कालो बिरालो एउटाबाट दुइटा हुने बित्तिकै चुल्हामा बसेर ङ्यार्रङुर्र गर्छन भन्ने उसले सुनेकी थिइ हजुरमुवाबाट। आज अध्यक्ष ओली सर र सीएम प्रचण्ड सर गाला जोडेर मुस्कुराइ रहेको देखेपछि कनिकाले हजुरमुवाको त्यो उखान गलत हो कि भन्ने सम्झेकी थिइ। अध्यक्ष कामरेड र सीएम कामरेड दुवैको मुहार एकदम उज्यालो थियो। चिल्लो गाला। तै पनि, ती मुस्लिम धर्मका सिया र सुन्नी जस्तै निकै फरक पनि देखिन्थे। कनिकाले सुनेकी थिइ, अध्यक्ष कामरेडले सीएम कामरेडभन्दा धेरै पहिले हत्याकोे राजनीति गरेका रे। सीएम कामरेडले धेरैपछि शुरु गरेका रे।

पछिल्लो चुनावको समयसम्म पनि अध्यक्ष कामरेड र सीएम कामरेड एक अर्काप्रति सौताको व्यवहार गर्थे रे। दोहोरो कटाक्ष। सँधैको हानाहान, काटाकाट र मारामार। सीएम कामरेडलाई लम्पसारवादी भनेर होच्याउँथे रे। त्यसपछि उनीहरूले अहिलेको सहमति गरेका रे। पैसा आ–आफनो खाने। राजनीति राष्ट्रवादको गर्ने।

अध्यक्ष र सीएमको मेलमिलाप देखेर दुवै पार्टीका गुरु गुसाईंहरू चिन्तित थिए। कतै यी दुवै लडेर सकिए भने त द्रौपदीको सारी तान्ने कोही रहँदैनन्। त्यसो हुन पाएन। भरतपुर महानगरपालिका राज्यमा सीएम पुत्रीको विजयपछि एकदिन अध्यक्ष कामरेड र सीएम कामरेड आपसमा वार्ता गर्दै आए। कनिकाले राज्य व्यवस्थाको पूरै ठेक्का उठाइ रहेको एकजना पत्रकारबाट थाहपाइ, त्यही वार्तामा उनीहरूले आफू बीचको झगडा अन्त्य गरेर सम्झौताको पहल गर्न आ–आफना गुरु गुसाईंहरूलाई आदेश दिए। त्यो आदेश अनुसार काम सम्पन्न भो। नेताहरूले हातेमालो गरे। ठूलो घोषणा भयो। कार्यकर्ताहरूले थपडी बजाए। त्यो समारोह पार्टीहरू बीचको ध्रुवीकरण थियो कि एकीकरण कसैले थाह पाएन। यति चाहिँ सबैले थाह पाए, एमाले रुपी रहस्यमय सुरुङ यात्राका लागि माओवादीहरू त्यत्तिकै जमजमाएका थिए जति चन्द्रागिरीमा केवल कार चढन भुराहरू जगमगाउँछन्।

कनिकाले सुनेकी थिइ – काशी कश्मीर अजव नेपाल। उसले वावासँग यसको अर्थ सोधेकी थिइ। तर, वावाले जवाफ दिएका थिए, यो आफैं जानिने कुरा हो। नभन्दै, कनिकाको ज्ञान चक्षु खुल्यो। उसले थाह पाई, काशी कश्मिर अजव नेपाल भनेको यही रहेछ। सीएम कामरेड र अध्यक्ष कामरेडका बीचमा सहमति भएको रहेछ। सहमति अनुसार, अब आइन्दा एमाले र माओवादीको ‘चुनावी र सांगठनिक गठबन्धन’ सरकारमा पनि बस्ने, विपक्षमा पनि बस्ने, सरकार र विपक्ष दुवैको सुविधा आफैँ उठाउने व्यवस्था रहेछ। सोही अनुसार, हाल कांग्रेस नेतृत्वको सरकारमा रहेका माओवादीहरूलाई सरकारबाट निकालियो भने त्यसका विरुध्द जनमत तयार गर्ने र चुनाव हुनसम्म रोक्ने सहमति पनि भएको रहेछ। आखिर चुनाव भनेको पनि त्यस्तै उस्तै हो। 

समाचारका सारा तत्वहरू पोको पारेर उ अफिसमा आई। पोको फुकाइ र केलाउन थाली। हेर्दाहेर्दै उसका आँखा समाचारपत्रहरूमा पनि परे। समाचारपत्रहरूमा एउटा समाचार थियो प्रचण्ड र वामदेवको मित्रताका बारे। कसरी प्रचण्ड–वामदेवको भेट भो, कसरी उनीहरूले मीत लगाए र कसरी त्यही मितेरी साइनोले अहिले एमाले र माओवादी बीच साठी–चालिसको मित्रता गरायो। आदि इत्यादि। यी कुनै कुरा सत्य थिएनन्। कांग्रेसको गर्धनलाई अचानु बनाएर रेणु दहाललाई माओवादीले जिताएको छ महिना भइसक्यो र? 

त्यो समाचार एउटै थियो। छापिएका थिए देशका सबै महत्वपूर्ण दैनिक र अनलाइन पत्रिकाहरूमा। जसरी हुन्छ समाचारलाई राजनीतिको दोबाटो चौबाटोमा स्थापित गर्ने प्रयास गरिएको थियो। कनिका छक्क परी। उसको प्रतिक्रिया मन्द स्वरमा निस्कियो, ‘ओहोहोहो माइ गड। यस्तो पनि हुँदो रहेछ।’

कनिकाको पछाडि आएर उभिएकी थिइ सुदिप्ती। कनिकाले त्यतिबेला सम्म यो कुरा चालै पाइन जति बेलासम्म बोलिन सुदिप्ती। सुदिप्तीले कनिकालाई जवाफ दिइ, ‘हो, यस्तै हुन्छ राजनीतिमा। तर, हामीकहाँ मात्र।’

त्यसपछि कनिकाले नयाँ वाम गठबन्धनका एकजना नेतालाई फोन गरी। ती नेताले कनिकासँग फोनमा कुरै गर्न मानेनन्। उनले कनिकालाई टाइम दिए, मनिकाज क्याफेमा ४ बजे। 

मनिकाज क्याफे दरवारमार्गबाट टाढा थिएन। कनिकाको स्कूटर त्यहाँ पुग्दा नेताजी आइसकेका थिए। भेटघाटको सामान्य औपचारिकतापछि कुरा शुरु भयो। नेताजीको दरो दृष्टि कनिकामाथि थियो। उनी लुकी लुकी, चोरी चोरी कनिकालाइ हेर्दै थिए।

कनिकाले सोधी, ‘तपाई यो महागठबन्धनबाट अप्रसन्न हुनुहुन्छ रे, अलिकति पनि खुशी हुनुहुन्न रे हो ?’

नेताजीले जवाफ दिए, ‘कसले भन्यो तपाईंलाई यस्तो कुरा? त्यसो होइन। मेरो कुरा यतिमात्र हो, यसले हाम्रो नेतृत्वको छविमा के असर पर्यो भन्ने हो। यो महागठबन्धन काण्ड माओवादीको भयको प्रतिक्रिया हो। हामी एमालेसँग चनाखो हुनुपर्दछ।’

कनिकाले पटक्कै बुझिन। उ अफिस फर्किइ। त्यसपछि सुदिप्तीसँग भनी, ‘यार, माओवादीभित्र पनि डर रहेछ। भित्र सबै गनगन गर्ने। बाहिर सडकमा कोही बोल्न नचाहने। एमालेसँग मिलेर चुनाव लड्ने, एमालेसँग मिलेर पार्टी एकीकरण गर्ने, एमालेसँग मिलेर सरकार चलाउने र एमालेसँग नै चनाखो हुने। वाह, वाह, माओवादी, तू तो नगरबधू जैसे दिखने लगी है।’

सुदिप्तीले कनिकासँग सोधी, ‘ल भन त कनिका, अहिले प्रचण्डलाई गिरिजा र ओलीमा को ठूलो भन्यो भने के जवाफ देलान?’
जवाफमा कनिका मुसुक्क हाँसी। 


कान्तिपुर गाथा : कसरी मिले यी सिया र सुन्नी? को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

ट्रेन्डिङ पोस्ट