PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

लीला अपरम्पार छ प्रभुको



किशोर नेपाल

लीला अपरम्पार छ प्रभुको

देश तमाशामय भएको छ। संसारभरिकै सबैभन्दा राम्रो, सबैभन्दा सुन्दर, सबैभन्दा ‘युनिक’ संविधान कार्यान्वयनको प्रक्रियामा छ। संविधान कार्यान्वयनकै लागि कुनै दिन पानी बाराबार गरेका प्रचण्ड र ओलीका बीच सुलह सहमति भएको छ। बाह्र वर्ष जनयुध्द गरेर मानिसका थाप्लामा बन्दुक नचाउने माओवादी र यसका अध्यक्ष प्रचण्डले जुल्फी हल्लाउँदै एमालेले दिएको चालीस गाँस घ्यू–भात खाएका छन्। सयमा साठी र चालिस। यो त बडो नाइन्साफी भयो। प्रचण्डसँग उनका कार्यकर्ता वेपत्ता चिढिएका छन्। जनयुध्द गर्ने माओवादी फलखाने एमालेवादी?

साँच्चिकै राजनीतिक तमाशा। माओवादी–माओवादीका बीचमा, एमाले–एमालेका बीचमा, नारायणकाजी र बाबुरामका बीचमा झगडा तन्किएको कुरा यथार्थ हुन्। यो सबै देखेर प्रचण्ड दिक्क भएका छन र पार्टी भत्काउने कुरा गर्न थालेका छन्। प्रचण्डले पार्टी भत्काउने कुरा गर्न थालेपछि एमाले फेरी सशंकित भएको छ। प्रचण्डले पछिल्लो समयमा बनाउने भन्दा भत्काउने कुरा बढी गर्न थालेका छन्। उनका धेरै कार्यकर्ताले जोगीको रुप लिएका छन्। ती जोगीहरु प्रचण्डका बारेमा क्रिटिकल पनि भएका छन्। रिपोर्टर कनिका यी सबै वाक्य र विश्लेषणहरुको माला उन्ने तयारीमा छे। 

देशमा चुनाव हुन लागेको देखेर नेपाली जनता हर्षले गद्गद् छन्। पार्टीहरु टिकट वितरण गर्दैछन्। अदालतबाट अभियुक्त सावित भएका नेताहरु टिकट वितरणमा सामेल छन्। वर्षौं वर्षदेखिको अभ्यासपछि अपराधकर्ममा पारङ्गत भएका डनहरु टिकट पाउने भाग्यमानीमा परेका छन्। प्रभु कतै देखिँदैनन् र पनि उनको लीला अपरम्पार छ। जल नभ दुवैतिर उनको शासन छ। संसार छ, कसरी छ र किन छ? यो कसैलाई थाह छैन। प्रभुको यही लीलाले प्रभुको पाउमा सारा संसार झुक्ने गरेको छ। 

रिपोर्टर कनिका। कनिकामा नाममा केही फूर्ती थपेर बोल्ने बानीको विकास भएको छ। यसले कनिकालाई फाइदा गरेको छ। अचेल रिपोर्टरलाई हप्काउने र दच्काउने चलन चलेको छ समाजमा। कनिकालाई उसको दर्विलो बोली, सेक्सिलो शैली र कटाक्षपूर्ण हेराइका कारण पनि कसैले हप्काउन सकेका छैनन् अहिलेसम्म। सरकारका उच्चतम अधिकारीहरु कनिकासँग कि त आकर्षित भएर सरेन्डर गर्छन्। कि मुख लुकाएर भाग्छन्। कनिकाका पोशाक जस्तै उसका रिपोर्टिङहरु पनि रिभिलिङ हुन्छन्। 

चुनावको यो सिजनमा कनिकालाई रिपोर्टिङ गर्नुभन्दा अव्जर्भेसनमा मजा आइरहेको छ। हिजो उ रिपोर्टर्स साथीहरुसँग शिल्पी थियटरमा थिई। नाटक सकिएपछि बाजेको सेकुवामा घाँटी रसाउन पुगेको थियो रिपोर्टर्सको टोली। पूरै बाजेको सेकुवा पसल चुनावमा रङमङ्गिएको थियो। झगडा एमालेमा मात्रै होइन, कांग्रेसमा पनि उत्तिकै छ। कांग्रेसका कृष्ण सिटौला र मीनेन्द्र रिजालले कसकसको नाममा टिपेक्स लगाए? दाङका बडका नेता खुमबहादुरजीका कोको मानिसले जित्ने भए? रामचन्द्र पौडेलले क–कसको नाम सिफारिश गरे? एमालेका सुरेन्द्र पाण्डेले आफना भाइ राजेन्द्रलाई धादिङबाट उम्मेदवार बनाउन मेहनत गरे कि गरेनन? कामरेड प्रचण्ड र कामरेड ओली दुवै कथंकदाचित मधेश तराईको सिराहबाट उठ्ने भए भने वामपन्थी आन्दोलन शितलहरमा परेर डुव्ने पो हो कि? आशंकहरु थुप्रै देखिएका छन्। 

अझ, वामपन्थीहरुले चुनाव क्षेत्र नम्बर ४ बाट ओली कामरेडका सल्लाहकार नेता चुनाव लड्न जोशिएपछि कांग्रेसका लोकप्रिय नेता गगन थापा नम्बर ३ मा ओर्लिन लागेको खबर पनि निकालेका छन्।  अचेल अनलाइन र सामाजिक सञ्जाल हेर्नेले कुन न्यूज हो र कुन गफ हो भन्ने छुट्याउनै पर्दछ। कनिकालाई थाह छ कहाँसम्म समाचार हुन्छ र कहाँबाट गफको प्रारम्भ हुन्छ। 

पार्टीहरुको माथिल्लो शिखरमा हेर्ने हो भने सबै पचास र साठी प्लसका कदहरु मात्रै छन्। यस्तोमा मतदाताले मन पराउने व्यक्तित्वको छनौट गर्नु कठिन हुन्छ। तै पनि, कनिकालाई थाह छ कांग्रेसका मीनेन्द्र र एमालेका ईश्वर साँच्चै पुखला र सेक्सिला कलाकार हुन्। एमालेका जोशिला कलाकार प्रदीप नेपाल अहिले निष्क्रिय जस्तै छन्। जसरी कम्युनिष्ट प्रणालीमा कसका कमाण्डमा कति लडाकु भन्ने महत्वपूर्ण भएजस्तै संसदीय प्रणालीमा कसका कमाण्डमा कति सांसद भन्ने महत्वपूर्ण हुन्छ। संविधान अलि गोज्यांग्रो नभएको भए प्रधानमन्त्री हुन सांसद हुनै पर्दैनथ्यो। लखर लखर हिँडेकै भरमा देशको प्रधानमन्त्री भै हालिन्थ्यो। त्यो मौका गुम्यो। तै पनि, गुट र फुटको धन्दा जारी छ। कनिकालाई थाह छ, यो धन्दा अझै केही समय यसरी नै जारी रहनेछ। 

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell