PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भोट दिएकोमा गर्व गर्ने गरी पोखराको समृद्धिका लागि काम गर्नेछुः मानबहादुर जिसी



पहिलोपोस्ट

भोट दिएकोमा गर्व गर्ने गरी पोखराको समृद्धिका लागि काम गर्नेछुः मानबहादुर जिसी

विद्यार्थी जीवनदेखि राजनीतिमा होमिएका संघर्षशील एवं जुझारु नेता मनबहादुर जिसीले लामो समयपछि क्षेत्रफलको हिसावले देशकै ठूलो पोखरा लेखनाथ महानगरपालिकाको मेयरको जिम्मेवारी पाएका छन्।

लामो समयदेखि राजनीतिमा सक्रिय भएरपनि अहिलेसम्म पार्टीको जिल्ला अध्यक्ष बाहेका खासै महत्वपूर्ण जिम्मेवारी पाएका थिएनन्। 

पार्टीले संविधानसभाको निर्वाचनमा कास्कीको क्षेत्र नम्वर एकबाट उनलाई उम्मेदवार बनाएको थियो तर,कांग्रेसका यज्ञबहादुर थापासँग झिनो मतले पराजित भएका थिए। 

पार्टीले उनलाई स्थानीय निकायको निर्वाचनमा पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा उम्मेदवार बनाएपछि जिसीले कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार रामजी कुँवरसँग प्रतिस्पर्धा गरेका थिए। 

संयुक्त गठबन्धनका उमेदवार कुँवरलाई फराकिलो मतान्तरले पराजित गर्दै उनी पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा विजयी भएका थिए। कुँवरलाई उनले झण्डै १४ हजार मतान्तरले पराजित गरेका थिए। 

पोखरा लेखनाथ महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि चार महिनाको अवधिमा महानगरमा उनले गरेका विभिन्न कार्यहरु र भावी योजनाका वारेमा केन्द्रित भएर पहिलोपोस्टका लागि नरहरि पौड्यालले गरेको कुराकानीः

तपाइँ मेयरमा निर्वाचित हुनुभएको छ, नगरको समग्र विकासमा तपाइँका योजना के–के छन् ?

सर्वप्रथमतः पोखरा लेखनाथ क्षेत्रमा बसोबास गर्ने जनताले मलाई समृद्ध पोखरा लेखनाथ निर्माणको अभिभारा सुम्पेका छन्, यो अभिभारा पूरा गर्नु नै मेरो पहिलो लक्ष्य हो। यसका लागि पोखरामा पर्यटन उद्योगको प्रचुर सम्भावना छ, तसर्थ पर्यटन प्रवर्द्धनका लागि पूर्वाधार निर्माण गरेर अगाडि जानु पर्छ नै।

शिक्षा, स्वास्थ्य जस्ता अत्यावश्यक सेवा जनताका माझ पुर्‍याउनसमेत हामी योजनाबद्ध ढंगले अगाडि बढेका छौं। पोखरालाई कस्तो बनाउने भन्ने कुरामा तर्कहरु नभएका होइनन्, तर हामीले हचुवाको भरमा यस्तो भन्नु भन्दा पनि गुरुयोजना  तयार गरेर नै अगाडि बढ्दै छौं, यो आर्थिक वर्ष पोखरा लेखनाथ समृद्धि र विकासको गुरुयोजना निर्माणका काममा हामी लाग्ने छौं। गुरुयोजना तयार गरी त्यसको प्रारुप अनुरुप महानगरको भौतिक विकासलाई तिव्र पार्ने छौं। त्यो दिगो र योजनाबद्ध हुनेछ।

यी योजना सम्पन्न गर्न महानगरपालिकालाई कति बजेटको आवश्यकता पर्छ र त्यसका स्रोतहरु के के हुन्? 

नेपालमा नै आर्थिक व्यवस्था भन्नु हुन्छ भने करमा आधारित अर्थ प्रणाली हो। यसको विकल्प हामीले सोच्नु जरुरी छ। योजना निर्माण गरेर अगाडि बढ्नका लागि लागि पोखरामा स्रोतको समस्या नहुने कुरामा हामी ढुक्क छौं आन्तरिक स्रोत व्यवस्थापन, कर तथा बैदेशिक सहायता तथा समन्वय पनि स्रोत व्यवस्थापनको पाटो हो।

अहिले स्थानीय तहले स्थानीय सरकारको रुपमा भूमिका निर्वाह गर्नुपर्ने संवैधानिक व्यवस्था छ, यो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्न के–के चुनौति देख्नुहुन्छ ?

चुनौति नै छैनन् या हुँदैनन् भन्ने होइन, तर आफू काममा इमान्दारपुर्वक लाग्ने हो भने खासै समस्या आउँछ जस्तो म देख्दिन। आज हामी आफैं आफ्ना लागि आवश्यक कानुन बनाउन सक्ने जिम्मेवारीमा छौं।  यसले गर्दा झन् जनताको काम सरल र सहज ढंगबाट सम्पादन गर्नका लागि सहज हुनेछ।

पोखरा लेखनाथ महानगरमा राजनीतिक दलहरुलाई विकासका मुद्दामा सहभागी बनाउन तपाइँको भूमिका के हुन्छ ? 

विकास निर्माणमा स्थानीय राजनीतिक दलहरू सरिक हुनु आवश्यक छ । एक्लैले विकास निर्माण सम्भव हुँदैन, विकास निर्माणमा राजनीतिक दलहरूको सल्लाह, सुझाव र सहकार्य आवश्यक पर्छ।

त्यसमा राजनीतिक दलहरूसँग पनि सहकार्य हुन्छ, महानगरमा रहेका राजनीतिक दलहरुसँगको सल्लाह, सुझावलाई समेटेर निस्वार्थ भावनाले आवश्यकताको पहिचान गरी विकासका पूर्वाधार निर्माणमा हातेमालो गरी अगाडि बढ्नेछौं।महानगरको विकास निर्माणको काममा कुनै पूर्वाग्रह नराखिकन आवश्यकताको पहिचान गरी हालेमालो गरेर नै अगाडि बढ्न तयार छु। 

पोखरा लेखनाथ महानगरलाई अन्य नगर भन्दा फरक नगरको रुपमा विकास गर्न नगरमा भएका सम्भावनाका क्षेत्रहरु के के हुन् ?

पोखरा नेपालकै सुन्दर आकर्षक र समृद्ध नगर हो। नेपालका अन्य नगर तथा गाउँपालिकाको मात्र हैन, यो विश्वकै एउटा मनमोहक र आकर्षक सहर हो। पोखरा महानगरबाट नेपालका अन्य नगरपालिका, गाउँपालिका र समग्र विश्वलाई नै शिक्षा बन्ने खालको महानगर निर्माण गर्न आवश्यक छ।

पोखरामा प्रचुरमात्रामा पर्यटनको सम्भावना छ। नौवटा ताल महानगर भित्रै छन्।पातले छाँगो, गुप्तेश्वर गुफा, महेन्द्र गुफा, अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय, गुम्बा, सेतीनदी, धार्मिक पर्यटनका लागि प्रसिद्ध मठमन्दिर, सराङ्कोटलगायतका पर्यटकीय स्थलहरु रहेका कारण पोखराको समग्र विकास भनेको पर्यटन नै हो। 

महानगरभित्र रहेका पर्यटन पूर्वाधारका क्षेत्रहरुको विकासबाट मात्र यहाँको समृद्धि सम्भव छ.त्यसैले पर्यटन पूर्वाधार विकासमा हाम्रो विशेष ध्यान रहने छ। 

लामो समयदेखि स्थानीय निकाय कर्मचारीले सञ्चालन गर्दै आइरहेको अवस्थामा हाल जनप्रतिनिधि निर्वाचित भएर आउँदा काम गर्न कर्मचारीसँग समन्वयको समस्या छ कि छैन ?

कर्मचारीले देशको विषम परिस्थितिमा जनप्रतिनिधिले गर्नेलगायतका प्रशासनिक कामहरु गर्दै आएका थिए।तर, स्थानीय निकायको निर्वाचन सम्पन्न भएर निवाचित जनप्रतिनिधिहरुले कार्य प्रारम्भ गरेपछि कर्मचारीहरु आफ्नो जुन जिम्मेवारी र भूमिका हो त्यसमै जिम्मेवारीपूर्वक लागेका छन्।

निर्वाचित प्रतिनिधिहरु र उहाँहरुको तोकिएको आ–आफ्नो जिम्मेवारी अनुसार नै कार्य अगाडि बढेको छ। कमचारी बर्गबाट हामीहरुले सवै सहयोग पाएका छौं र अपेक्षापनि गरेका छौं। हामीलाई विश्वास छ कर्मचारीबाट हामीले सोचे अनुसारको सहयोग मिल्ने छ।

तपाइँले निर्वाचन अगाडि मतदाताहरुसँग गर्नु भएका प्रतिबद्धताहरु मध्ये यो अवधिमा के–के काम गर्नु भयो ?

हामीले स्थानीय तह सञ्चालन सम्बन्धी ऐन नआएका कारण जनअपेक्षा अनुसार कार्य गर्न सकेका छैनौं। तर, हाम्रो पहिलो ध्यान प्रशासन सुधारतर्फ रह्यो।  

केही सुधारका कामहरु गरिएका छन्। जनताले अनुभूति गर्ने गरी कार्य हुन सकेको छैन। महानगरमा पार्किङका लागि आवश्यक जग्गाको खोजी गरिरहेका छौंं। ट्राफिक व्यवस्थापनका लागि आइल्यान्डको आकार घटाउने कार्यमा तत्कालै कार्यान्वयन गर्ने तयारीमा छौं।

महानगरका विकट ठाउँलाई निकट ल्याउनका लागि सडक सञ्जाल बनाउन सर्भेको काम अगाडि बढेको छ। तर देखिने गरी केही काम हुन र प्रतिफल आउन समय लाग्छ। केही समय भित्रनै हामीले महत्वपूर्ण कार्य गर्ने छौं।

निर्वाचनका बेला महानगरलाई स्मार्ट सिटी निर्माण गर्ने प्रतिबद्धता व्यक्त भएको थियो, कसरी अगाडि बढ्दै हुनुहुन्छ?

हामीले स्मार्ट सिटी बनाउने कुरा सस्तो चुनावी नारा बनाएका पक्कै होइनौं। सम्भावना देखेकाले नै बोलेका हौं। यो पाँच वर्ष हामी पोखरालाई स्मार्ट सिटी बनाउन आवश्यक पूर्वाधार तयार गर्ने कुरामा प्रतिबद्ध छौं।

इच्छाशक्ति हुँदा ८० वर्षको आमाले फेसबुक सिकेर चलाएको मैले देखेको छु। तसर्थ हामीलाई हाम्रो सहरलाई स्मार्ट सिटी बनाउने कुरामा कुनै कुराले रोक्दैन। सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै हरेक कार्यसम्पादन चुस्त दुरुस्त तथा सहज बनाउँदै अगाडि बढ्नु आजको आवश्यकता पनि हो।

के साँच्चै सम्भव छ त? स्मार्ट सिटी?
असम्भव कहाँनेर देख्नु हुन्छ तपाइँ? म त प्रशस्त सम्भावनाहरु देखिरहेको छु । स्मार्ट सिटी बनाउने एउटा पूर्वाधार स्मार्ट नागरिक हुन्, स्मार्ट कृषि, स्मार्ट स्वास्थ्य शिक्षा हुँदै इन्टरनेट अफ थिङस् समेत परिकल्पना गरेर अगाडि बढ्नु पर्ने समयमा सम्भव असम्भव भन्ने कुरामा अलमल गर्नु भन्दा स्मार्ट सिटी बनाउन आवश्यक पूर्वाधार निर्माणको काममा लाग्नु उपयुक्त हुन्छ।

लामो समय जनप्रतिनिधिविहीन भएको महानगरमा निर्वाचित भएर आउनु भो, तर जनताको जुन अपेक्षा थियो, त्यो अनुसार काम भएन भन्ने जनगुनासो छ नि?

जनताले हामीलाई पाँच वर्षको लागि जिम्मेवारी दिएर पठाउनु भएको हो। ढुक्क हुनुहोस् यो समय अवधिमा मलाई भोट दिएकोमा गर्व गर्न सक्ने गरी पोखराको समृद्धिका लागि काम गर्नेछु।

तत्काल काम नभएको होइन तर आन्तरिक सुधारमा बढी समय बितेकाले काम अनुभूत नभएको हुनसक्छ। आगामी दिनलाई भरमग्दुर सदुपयोग गर्दै विकासका निर्माणलाई तिव्रता दिने छौ।

पोखरा महानगरको सडक, खानेपानी, छाडा चौपाया, सडक केही पनि कार्य गर्न सक्नुभएन भन्ने गुनासो छ।

कामहरु हुँदै नभएको भन्ने होइन, खाल्टाखुल्टी पुर्नका लागि हामीले एउटा ट्याक्टरमा ग्रावेलसहित तीन जना कामदारसमेत गरी तयारी अवस्थामा राखेर काम सुरु गरिसकिएको छ। 

छाडा चौपाया व्यवस्थापनका लागि हामीले भलाममा सहकारीसँग सम्झौता गरी चौपाया लगिसकेको अवस्था हो। तर त्यहाँ स्थानीयले अवरोध गरेका कारण केही समय अप्ठ्यारो परेको थियो। हाल स्थानीयसमेत तयार हुनुभएको छ।

त्यस्तै, मादी गाउँपालिकामासमेत हामीले छाडाचौपाया व्यवस्थापन मिलाएका थियौं। बाटोमा स्थानीयको अवरोधले गर्दा उता लैजादै गरेका छाडा पशुचौपायासमेत अलपत्र परे। तपाइँले भने जस्तो हामीले गर्दै नगरेको होइन तर प्रत्यक्ष नदेखिएको चाहिं होला।

महानगरपालिकाको कार्यालयमै सेवाग्राहीले सास्ती भोगेको गुनासो छ, त्यसलाई पनि सुधार गर्न सक्नु भयो?

सुरुवात भएको छ, सेवा चुस्तदुरुस्त भएको चाँडै अनुभूत गर्न पाउने गरी काम सुरु गरेका छौं। विगत भन्दा केही सहज होस् भनेर राजश्वको लागि टोकन प्रणाली सुरुवात गरिएको छ, अनलाइन नक्सा पास प्रणालीको अभ्यास भएको छ। अब महानगरमा सेकेन्डमा आउने मिनेटमा काम सकाएर घण्टा भित्रै सेवाग्राही फर्किन सक्ने गरी सुधार गरिने छ। 

मेयरमा निर्वाचित हुनुपूर्व सार्वजनिक गरेका प्रतिबद्धता अनुसार काम गर्न सक्नु भएन भन्ने आरोप छ। 

निर्वाचनका वेला जनतासँग व्यक्त गरिएका प्रतिबद्धता  अनुसार नै हामीले महानगरभित्र विभिन्न खालका योजनाहरु अगाडि बढाएका छौं।
हामीले पोखरामा व्यवस्थित बसपार्क बनाउनका लागि बसपर्क क्षेत्रको वारेमा बढी जानकार रहेका वडा अध्यक्षहरु र नगर विकासका सदस्यसहितको एउटा अध्ययन कार्यदल बनाएर अगाडि बढाएका छौं।

महानगरपालिकाको संगठन स्वरुप, जनशक्ति एवम् कर्मचारी पदपूर्ति बढुवा तथा स्थायी गर्ने प्रयोजनका लागि उपयुक्त निकास दिन उपमेयर मञ्जु गुरुङको संयोजकत्वमा एक अध्ययन समिति गठन गरी कार्य अगाडि बढेको छ। त्यसैगरी अविरल वर्षाका कारण बाढीबाट क्षति भएका विभिन्न वडाहरुको भौतिक संरचना निर्माणका लागि प्राविधिकको स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा भुक्तानी दिने निर्णय गरिएको छ। 
बाढी, पीडितलाई राहत, बृद्धभत्ता बृद्धि, सडक निर्माण, वर्षा भएका कारण सडक पिच नभएपनि खाल्टाखुल्टी पुर्नेलगायतका काम अगाडि बढिसकेका छन्। अन्य पूर्वाधारका कार्यहरु क्रमिकरुपमा अगाडि बढाउँदै जाने छौं।

सस्तो लोकप्रियताका लागि पदासिन भएकै दिन बृद्ध भत्ता बढाउनु भयो भन्ने आरोप पनि छ।

हामीले जे बोल्यौं त्यही कुराको सुरुवात मात्रै गरेका हौं। सस्तो लोकप्रियताका लागि भन्दा पनि आवश्यकता महसुस गरेर नै यो कार्य गरिएको हो। 

एउटा नागरिकले युवा अवस्थामा समाज र राज्यका लाागि आफ्नो ठाउँबाट महत्वपूर्ण योगदान गरिरहेको हुन्छ। जब, ऊ उमेरको हिसावले बृद्ध अवस्थामा पुग्छ, त्यस अवस्थामा नागरिकको योगदान स्वरुप राज्यले उसलाई केही भएपछि राहत र सम्मान गर्नुपर्छ भन्ने अवधारणा अनुसार नै हामीले यो निर्णय गरेका हौैं। हाम्रो उहाँहरुप्रतिको सम्मान हो।

त्यसलाई निरन्तरता दिन सक्नु हुन्छ त?    
निरन्तरता दिनका लागि हामी अगाडि बढिसकेको अवस्था हो। तसर्थ अव यो निर्णय निर्धक्कसँग कार्यान्वयन हुन्छ। हामीले आफ्नो आन्तरिक स्रोत जुटाएरै भएपनि व्यक्त गरेका प्रतिबद्धता पूरा गरेरै छाड्छौं। यसका लागि गृहकार्य थालिसकेका छौं।

महानगर भित्रका पूर्वाधार निर्माणले कहिलेदेखि गति लिन्छ त?
यो वर्ष त गुरुयोजना तथा विकास योजनाको डीपीआर तयार गर्नमै पहिलो जोड हुनेछ। सँगै महानगर भित्रका मूल सडक कालोपत्रे त होइन तर २४ सै घण्टा सवारी चलाउन मिल्नेगरी स्तरोन्नति गर्ने छौं। यसका लागि प्राविधिकको टोलीसमेत बनाएर काममा खटाई सकेका छौं। 

महानगरको विकास निर्माणमा प्रमुख दलहरुको सहयोग कत्तिको पाउनु भा छ?
स्वाभाविक रुपमै पोखरा लेखनाथको समग्र विकासको लागि सबै राजनीतिक दल, संघसस्था, प्रतिनिधि सवैको सहयोग अपरिहार्य हुन्छ। आ–आफ्नो ठाउँबाट सवैले सकेको सहयोग गरेको अनुभूत गरेको छु ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell