PahiloPost

Oct 16, 2018 | ३० असोज २०७५


कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार


किशोर नेपाल

कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार

  • कान्तिपुर गाथा -
कनिकाले कान्तिपुरमा दीपावलीको रमाइलो घरमा नै बसे पनि प्रायः मिस गर्ने गरेकी छ। यहाँको दीपावली कला–संस्कृतिको रमाइलोमा भन्दा पनि खाली धनधान्यमा रुमलिएको छ। मानिसहरु कि जुवा तास र रक्सीमा रमाउँछन, कि मिठाइमा। यो कम्विनेशन बाहेक अरु केही छैन। लाग्दछ गोर्खालीले अरु कुनै कम्विनेशन मिलाउन जानेको छैन। यहाँ पाइने फलफूलमा पनि कुनै विशेषता छैन। सँधै स्याउ, केरा, सुन्तला। एकथरि स्याउ फुजी रे, अर्कोथरीे झोले । देख्नमा दुवैथरि स्याउ उस्तै । चपायो भने स्पन्ज चपाएजस्तो।
 
कान्तिपुर शहरमा हिजोआज कुनै चीजको पनि भरोसा छैन। ‘बरु, तिहारको वेलामा कान्तिपुरबाट बाहिर कतै गएर बसे रमाइलो होला’कनिका सोच्दै थिइ। त्यहीवेला बाबा आएर भन्नु भो, ‘ल अब यो वर्ष तिहार काठमाडौमा नमनाउने। गाउँमा मनाउने।’बाबाले कमाण्ड दिएपनि बाबाको गाउँ जाने निर्णय सुनेर ऊ खासै उत्साहित हुन सकिन। उसलाई लागेको थियो, ‘हजुरमुवाले सारा होलिडे ध्वस्त पारिदिनेछिन्।’तर, घरमा कनिकाले सोचेभन्दा ठ्याम्मै उल्टो कुरा भयो। बिहानदेखि बेलुकासम्म कनिकाको बिहे बिहे र बिहे भन्दा बाहेक अरु केही देख्दै नदेख्ने बुढियामा ठूलो परिवर्तन आएको देखि कनिकाले ।

यो कनिकाका लागि सरप्राइज नै थियो, पत्याउनै नसकिने सरप्राइज । सँधै बिहेको कचकच गर्ने हजुरमुवाले कनिकाको बिहेको प्रसंग एकपटक पनि उठाइनन्। हजुरमुवाको स्वभावमा परिवर्तन आएको लक्षण सबभन्दा पहिले बुद्धकुमारी बज्यैले देखेकी थिइन। उनले हजुरमुवासँग सोध्दा हजुरमुवाको जवाफ थियो,‘मेरी नातिनी अब बच्चा छैन, जान्ने बुझ्ने भै सकेकी छ। उस्तै परे सरकारसँग पनि लडन सक्छे। अहिले यहींबाट चुनावमा उठाएँ भन्ने उसैले जित्छे सबैलाई । अब हामीले उसका लागि केटा खोज्ने होइन, उसैले हामीलाई समेत मनपर्ने ज्वाईं खोज्ने हो ।’
हजुरमुवाको मन कसरी बदलियो ? कनिकाले पनि बुझ्न सकिन।  तर, सत्य हो, उनको मूड बदलिएको थियो। बुध्दकुमारी बज्यैका अनुसार, हजुर मुवालाई भेटन केही महिना पहिले उहाँको कान्छो भाइ आएका थिए । त्यो बेलामा बुढियाले एकमात्र नातिनी कनिकाको बिहे गर्न  राम्रो जग्गा जमिन धन सम्पत्ति भएको कुलीन केटो खोज्न भनेकी थिइन भाइला । दिदीलाई जवाफ दिंदै भाइले न्वारानदेखिको बल निकालेर कनिकाको वारेमा ‘कन्भिन्स’ गराएपछि उनी चूप भएकी हुन्।

कनिकालाई आफनो गाउँ खूव रमाइलो लाग्दछ दुइ–तीन दिनका लागि । चौथो दिन उसलाई जसरी भएपनि शहर फर्किनै पर्दछ ।  सवैभन्दा वेहाल त चर्पीले नै हुन्छ । गाउँमा बनेका कच्चा चर्पीमा ऊ जानै सक्दिन । उसको गाउँ खुला दिशामुक्त क्षेत्र भएर पनि गाउँमा एउटैपनि ढंगको चर्पीछैन । यो पटक त्यस्तो होला जस्तो छैन । किनभने, हजुरमुवाले दुइटा कोठा अट्याच वाथ बनाइ सकेकी छन्। यो देखेर कनिकाको जोश दुइगुना बढेकोछ । उ सुदिप्तीलाई पनि गाउँमा बोलाउँदैछे । सुदिप्तीलाई उ भन्छे, ‘हेर,आखिर यो दशैं–तिहारको विदामा राम्रा न्यूज त केही हुने होइन । जता हेर्यो त्यतै फेक न्यूजको विगविगि छ । त्यो भन्दा त स्लो फीड भएको नै जाति हुन्छ । दशैं–तिहारमा कोही मरेछ भनेपनि लाश लुकाएर भोजखाने चलन छ । केही हुन्न । तँ पनि आइज । यहाँ दुइ दिन इन्जोय गरुँ त्यसपछि फर्कियुला ।’

सुदिप्तीले भनी, ‘हेर्न, अब आजैको दिन हरिवोल भट्टराईले नयाँ कांग्रेस पार्टी खोल्न थालेका छन । यहाँ केटाहरु त्यसलाई सेन्सेसनलाइज गर्दैछन्।’

सुदिप्तीका कुरा सकिन नपाई कनिकाले ओभरटेकगर्दै बोली, ‘अब यी हरिवोल काका मेरो बाबाका साथी हुन्। पहिलेका राम्रा नेता हुन्। अहिले यिनको आड भरोस कतै केही छैन । कांग्रेस पार्टी कसैले फुटाएर फुटने र जुटाएर जुट्ने पार्टी पनि होइन । त्यसैले हरिवोल काकाको टेन्सन नलिएकै राम्रो ।’ 

सुदिप्तीलाई कनिकाको कुरा ठीक लाग्यो । उ आउने भएपछि कनिका फुरुंग परी । 

त्यही रात हजुर आमा विरामी भइन । कनिकाको वावा र मामु हजुर आमालाई लिएर काठमाडौं जाने भए । कनिकाले मामुलाई सोधी, ‘के हामी पनि आउनु पर्दछ ?’

‘पर्दैन’, जवाफ वावाले दिए । घरमा काम गर्नेहरुलाई कनिका र सुदिप्तीको राम्ररी खातिरदारीगर्न अराइन मामुले । उनीहरु कान्तिपुरतिर लागेको झण्डै डेढ घण्टापछि सुदिप्ती आइपुगी । सुदिप्तीसंगै आएका थिए सुरज र सोनाम । कनिकालाई स्वनामको ज्यानको सेप र कट मन पथ्र्यो । धेरैदेखि कनिकाको दिल सोनामको नाममा लटकिएको थियो । उसले कसैलाई यो कुरा थाह दिएकी थिइन । उसलाई लागेको थियो, सोनामसंग सुदिप्तीले चोखो पियार लाइदेकी छ ।

आज कनिका गलत सावित भइ । सुदिप्तीले सुरजलाई लाइदेकी रहिछ चोखो पियार । पाँच वर्षदेखि रिलेशनशीपमा रहेछन सुदिप्ती र सुरज । चाल कसैले पाएन । आज सुदिप्ती र सुरज दुवैले आफैं कन्फेस गरे । कनिकालाई रमाइलो लाग्यो । उसले सोनामको पाखुरा आफनो हत्केलाले मुसारी । सोनामले उसको कानमा विस्तारै भन्यो, ‘त्यस्तो तिखो लेख्ने हातले मेरो पाखुरा समाउँदा कलम विझ्यो भने के गर्ने नि ?’ उनीहरुले तिहारको तीन दिन त्यहीं मनाए । सुदिप्ती र कनिका दुवैको लागि यो साँच्चै अवसर थियो खुशीको ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा)



कला–संस्कृतिको रमाइलोमा भन्दा धनधान्यमा रुमलिएको तिहार को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट