PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपाली मूलका युवा अमेरिकी स्थानीय चुनावका उम्मेदवार, डेमोक्र्याटिक पार्टीले दियो टिकट



पहिलोपोस्ट

नेपाली मूलका युवा अमेरिकी स्थानीय चुनावका उम्मेदवार, डेमोक्र्याटिक पार्टीले दियो टिकट

न्यूह्यामसर :  अमेरिकाको न्यूह्यामसर राज्यको स्थानीय चुनावमा नेपाली मूलका यूवाले उम्मेदवारी दिएका छन्। न्यूह्यामसरको म्यान्चेष्टर नगरपालिकामा बस्दै आएका माधव गुरुङले नगरको वडा नम्बर १२ को सेलेक्टम्यान पदमा उम्मेदवारी दिएका हुन्। 

सेलेक्टम्यान नेपालको गाउँ/नगरपालिकाको वडा सदस्यजस्तै पद हो। गुरुङ डेमोक्र्याटिक पार्टीकातर्फबाट उक्त पदमा उम्मेद्वार बनेका हुन्।

नोभेम्बर ७ मा हुने निर्वाचनमा गुरुङले अन्य छ जना उम्मेदवारसँग प्रतिस्पर्धा गर्दैछन्। छ जनामध्ये तीन जना सेलेक्टम्यान निर्वाचित हुनेछन्। 

डेमोक्र्याट र रिपब्लिकन पार्टीकातर्फबाट ३/३ जनाले सेलेक्टम्यान पदमा उम्मेदवारी दिएका छन्। ‘अमेरिकी मूलधारका पार्टीले आप्रबासी मूलका मानिसहरुलाई पत्याएर टिकट दिनु नै प्रमुख कुरा हो, जित वा हार त्यसपछि मात्र आउँछ’ गुरुङले भने।

 गुरुङ सन् २०१२ यता डेमोक्र्याटिक पार्टीको स्थानीय तहमा क्रियाशिल छन्। ‘मैले यो अवसर पाएकोमा एकदमै खुसी छु’ गुरुङले थपे ‘यो अवसरले हामीजस्ता आप्रबासीहरुलाई पहिचान मात्रै दिलाएको छैन, आप्रबासीहरुसँग पनि राजनीतिक नेतृत्व गर्ने क्षमता छ भनेर मूलधारका पार्टीले पत्याएका छन्, त्यसमाथि नेपाली मूलका अमेरिकीलाई यो अवसले उत्साहित बनाएको छ।’

इलाममा जन्मिएका गुरुङ एक दशकदेखि अमेरिका बस्दै आएका छन्। साउदर्न न्यूह्यामसर युनिभर्सिटीका विद्यार्थीसमेत रहेका गुरुङ न्यूह्यामसर नेपाली समाजका सचिव, गुरुङ (तमु) समाज न्यूह्यामसरका महासचिव तथा न्यूह्यामसर पब्लिक रेडियोका संचालक सदस्य हुन्।

गुरुङ न्यूह्यामसर राज्यमा डेमोक्र्याटिक पार्टीकातर्फबाट दोस्रो नेपाली मूलका उम्मेद्वार हुन्। यसअघि गतवर्षको चुनावमा मदलशा गुरुङलाई पार्टीले स्टेट रिप्रेजेन्टेटिभ (राज्य/प्रदेश सांसद) को रुपमा उम्मेद्वार बनाएको थियो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell