PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

तीतो तथ्य : जेल पर्ने सबै अपराधी हुँदैनन्



सागर बुढाथोकी

तीतो तथ्य : जेल पर्ने सबै अपराधी हुँदैनन्

बीस वर्षअघि (सन् १९९७ मार्च ३) नेपाली नागरिक गोविन्द मैनाली जापानको जेलमा परे। उनलाई आरोप थियो - जापानी महिलाको बलात्कार गरी हत्या। मैनाली जेल परेको १५ वर्षपछि (सन् २०१२ जुन १५) उनी निर्दोष सावित भए। अनि नेपाल फर्के। उक्त घटनाले संसारभरको मिडियाहरुको ध्यान तान्यो। 

त्यो घटनाले धेरै नेपालीले मात्र होइन विदेशीहरुले पनि बुझे – जेल पर्न अपराध नै गर्नुपर्दैन या अपराध नगरे पनि जेलको ढोका खुलै रहन्छ।

मैनाली जस्तै विनाकसुर जेल परेर छुट्नेहरुको लिस्ट लामै छ। विश्वका धेरै देशमा हुने यस्ता घटनाका खबरले एउटै निष्कर्ष दिन्छ - जेल पर्दैमा मात्र मान्छे अपराधी हुँदैन।

अहिले नेपालका ७४ वटा जेलमा १९ हजार कैदी छन्। दुईवटा बाल सुधार केन्द्र छन्। जेल आफैँमा एउटा फरक संसार बनिरहेको छ। त्यहाँभित्रै धेरैखाले घटना भइरहन्छन्। चार दिवारभित्रको कैदखानको यथार्थ धेरै थोरैले मात्र थाहा पाउँछन्। 

जापानमा विनाकसुर कैदी बनेका मैनालीजस्ता नेपालमा पनि धेरै छन् जसले साधारण धरौटी तिर्न नसकेरै वर्षौँदेखि जेल जीवन भोगिरहेका छन्। धरौटी तिर्न नसकेर जेल बसेका ६४ यस्तै कैदीहरुलाई विवेक उपाध्यले निकालिसकेका छन्।



विवेक उपाध्याय जेल परेका मानिसलाई सुधार्ने अभियन्ताका रुपमा चिनिँदैछन्। दुई वर्षयता उनीले यो अभियान अघि सारेका हुन्। यो समयमा उनले नेपालका विभिन्न जिल्लाका जेल भ्रमण गरे। कैदीहरुको अवस्था अध्ययन गरे। उनीहरुका लागि काम गर्ने योजनासमेत बनाए।

‘रौतहटको जेल भत्किएको छ। भत्केको ढल नजिकै भएकाले दुर्गन्ध फैलिएको छ। सानो जेलमा अटाइनअटाई कैदी राखिएका छन्,' विवेक भन्छन्, ‘तराईका सबै जेलको अवस्था नाजुक छ। खाने पानीदेखि स्वास्थ्य सामग्रीको अभाव कैदीहरुले भोगिरहेका छन्।’

‘राज्यले सजाए दिएका कैदीहरुलाई समाजले सजाए दिन्छ। एउटा सामान्य गल्तीले जेल परेर निस्केको मान्छे समाजकै कारण आत्महत्या गर्नसमेत बाध्य हुन्छ,’ विवेक भन्छन्, ‘राज्यले सजाय दिएपछि समाजले उसको परिवारको तीन पुस्तासम्मलाई सजाय दिइरहन्छ।’

जेल पर्ने सबैलाई समाजले अपराधीको नजरले हेर्नुलाई समस्या ठान्छन् उनी।

आफैंबाट सुरु अभियान

युवा उमेरमै करोडपति भइसकेका विवेक जेल परेका थिए।  ४६ दिन जेल बसेर निस्किए।  समाजबाट तिरस्कार सहेर बस्न बाध्य भए। असह्य भएपछि आत्महत्या गर्ने सोच पलायो। तर, सफल भएनन्। 

‘दुईपटक गरेको आत्महत्या असफल भएपछि तेस्रो पटक प्रयास गरिनँ,’ विवेकले विगत कोट्याए, ‘मर्नुभन्दा बौलाउनु जाती भनेर त्यतिकै बसेँ।’ 

विवेक पोखराका व्यापारी थिए। व्यापारिक पृष्ठभूमि भएकाले उनलाई पैसाको दुःख थिएन्। क्याफेबाट व्यावसाय सुरु गरेका उनले रेडिमेड कपडा पसल, विद्यालय र सहकारीलगायका व्यवसायमा लगानी गरेका थिए। 

२३ वर्षकै उमेरमा करोडपति भइसकेका थिए उनी। व्यवसाय धेरै भएकाले सबै ठाउँमा आफू पुग्न सम्भव थिएन। कर्मचारीको भरमा छोडिएकाले उनको व्यावसाय डुब्न थाल्यो। आफ्नै कमर्चारीको गलत कदमले उनी फस्दै गए। प्रहरीले उनलाई समात्यो।

परिवारको कोही पनि चौकीसमेत नटेकेका तर उनी सोझै जेल परे। 

कारोबार गर्ने क्रममा उनले एक जनालाई साढे सात लाखको चेक दिए। चेक बाउन्स भयो। सहकारीमा काम गर्ने उनको कर्मचारीहरुले ‘फेक डिपोजिट’ गर्दै पैसा निकाल्ने गर्दा रहेछन्। विश्वास गरेको कर्मचारीले उनलाई घात गरे। उनी त्यही चेक बाउन्सको आरोपमा जेल परे।

उनी जेल परेपछि अखबारमा समाचार छापिए। उनीसँग कारोबार गर्ने व्यक्तिले काठमाडौं, पोखरालगायत ठाउँमा रहेका व्यवसायमा ताला लगाइदिए। पैसा डुब्यो। उनको परिवार नै बदनाम।  

जीवनको टर्निङ पोइन्ट

जेलमा उनलाई समय काट्न गाह्रो हुन्थ्यो। उनी त्यहाँ डायरी लेख्थे। पुस्तकहरु पढ्थे। जेलमा भएका विविध समस्याहरु त नियमित भोग्नु नै पर्थ्यो। ४६ दिनपछि उनी साढे सात लाख धरौटी तिरेर छुटे।

जेलबाट छुटेपछि काठमाडौं आए। त्यसपछि तनाव सुरु हुन थाल्यो। जेलबाट निस्केपछि आफन्तले नै उनलाई मानेनन्। 'आफू त डुबिस् परिवारलाई पनि डुबाइस्' भन्ने धेरै थिए। घरबाट बाहिर निस्किँदा उनलाई नकरात्मक दृष्टिकोणले हेर्ने र तुच्छ बचन लगाउने कम थिएनन्।

 
उनी मानसिक रुपमा विक्षिप्त भए। जीवन कसरी अगाडि बढाउने सोच्न सकेनन्। उनको साथी रक्सी बन्यो। १ वर्ष त्यतिकै बित्यो। आत्महत्याको प्रयास सफल भएन। विदेश जान मनले मानेन। व्यापार गर्न जोश थिएन्। करोडभन्दा बढी ऋण तिर्न सकिरहेका थिएनन्। 


अब गर्ने चाहिँ के त? उनी आफैँलाई थाहा थिएन।

एकदिन जेलमा लेखेको  डायरी पल्टाए। डायरीमा लेखिएको थियो-

‘वर्षौदेखि सामान्य धरौटी तिर्न नसकेका कैदीहरुलाई छुटाउने काम गर्छु।’  

यो वाक्यमा उनको ध्यान केन्द्रित भयो। धरौटी तिर्न नसकेर जेलमा बसिरहेका ३ जना कैदीहरुलाई घरबाट पठाएको ‘पकेट मनी’ तिरेर छुटाए। 

डायरीका ती शब्दहरुले उनको मन हुलुको भयो। उनले भने, ‘ती शब्दहरुले मैले बाँच्ने उद्देश्य पत्ता लगाएँ।’ 

जेलमा उनले दुई–चार हजार धरौटी तिर्न नसक्दा मानिसहरू वर्षौं जेलमा सडिरहेका देखेका थिए । आफ्नै परिवारका सदस्यले मानसिक सन्तुलन गुमेको आफन्तलाई बलात्कारको आरोपमा जेलमा थुनेका थिए। अरुले फसाएर जेल सजाए भोग्नेहरु उत्तिकै थिए।

आफ्नै मान्छे भेट्न जेलमा आउँदैन थिए। जेल सुधार केन्द्रभन्दा पनि तनाव केन्द्रजस्तो थियो। जेलमा धेरै किसिमका कैदीहरुलाई प्रत्यक्ष देख्ने, भोग्ने र संगत गरेको कारण विवेकले ठम्याइसकेका थिए अपराधी मात्रै जेल पर्दैनन्।

डायरी पढेपछि गन्तब्यहीन उनका पैतालाले नयाँ गोरेटो पाएको थियो। तत्कालै निर्णय गरे –‘अब म जेल परेका कैदीहरुलाई छुटाउँछु। धरौटी तिर्न नसकेर बाध्य भएर जेल बसिरहेकाहरुको उद्धार गर्छु। अनि, जेलभित्रका समस्याहरु समाधान गर्न पहल गर्छु।’ 

उनको यो निर्णय परिवारका लागि प्रिय थिएनन्। तर, विवेकको दृढसंकल्पको अगाडि कसैको केही लागेन्।

काम गर्नको लागि संस्था दर्ता गराउनुपर्थ्यो। संस्था दर्ता गर्नको लागि सातवटा नागरिकता आफ्नै आफन्तहरुले दिएनन्। तर,टाढाको मानिसहरुले उनलाई विश्वास गरे ।

‘हिडेन लाइफ फाउन्डेसन’ नामक संस्था दर्ता भयो। संस्था दर्ता गरेको केही दिनमा जेलका कैदीहरु निकाल्न थाले ।

एआइजी विज्ञानराज शर्माको साथ

प्रहरीहरुसँग सम्पर्क थिएन। जेलरहरुसँग घुलमिल हुन गार्हो थियो। उनको उद्देश्य बुझ्न कोही तयार भएनन्। प्रहरीहरु जहाँ गए पनि एउटै डाइलग बोल्थे, ‘हामी अपराधी जेलमा थुन्छौँ, तपाईं निकाल्नुहुन्छ। यो कस्तो काम हो?’



कामको सिलसिलामा एक ठाउँबाट अर्को ठाउँमा दिनहुँ पुग्थे। कार्यलयका कर्मचारीहरुले अनेक बहाना गरेर फर्काइदिन्थे। 

समस्याहरु बढ्दै थियो। उनले तत्कालिन प्रहरी एआइजी विज्ञानराज शर्मालाई भेटे। शर्माले उनलाई सहयोग गरे। त्यसपछि उनको काम अघि बढ्दै गयो। कैदीहरु निकाल्न आर्थिक सहयोग साथीहरुले गरे। दुई चार हजारको अभावमा जेल परेको सुन्दा उनका साथीहरुले अनौठो मानेर सहयोग गर्थे।

सहयोग आउँदै गयो। कतिपय कैदीहरु निकाल्न आफ्नो पकेट मनी खर्च गरे। त्यसरी नै उनी कैदी निकाल्थे, तालिम दिन्थे। त्यसपछि उनीहरु आफै काम गर्न सक्थे। 

तर, केही घटनाले उनलाई निराश पनि बनाए। निकालेकालेका मध्ये तीन जना कैदीहरु पुनः पक्राउ परे। उनीहरु पक्राउ परेपछि उनलाई निरुत्साहित पार्नेहरु धेरै आए।

‘सबै मानिस एउटै हुँदैनन्,’ भनेर उनले चित्त बुझाए। तत्कालीन एआइजी शर्माले उनलाई सकारात्मक पाटो हेर्न आग्रह गरे। 

जेल यसरी पर्छन्, फर्कन्छन् यसरी उनले जेल मुक्त गराएका ६३ जनाको  छुट्टै कथा छ। जसका कारण उनलाई यो काम गर्न प्रेरणा मिलेको बताउँछन्।

घटना १

श्रीमती सुत्केरी व्याथाले छटपटाइरहेकी थिइन्।  डेलीभरीका लागि ट्याक्सीमा चढेर एक युवा थापाथली प्रसुतीगृह पुगे। त्यही ट्याक्सी चढेर काम गरेको ठाउँमा पैसा लिन आए। तर, पैसा पाएनन्।

श्रीमती अस्पतालमा थिइन्। ट्याक्सीलाई दिने भाडा थिएन। उनले पसलेको  मोबाइल ट्याक्सी ड्राइभरलाई दिएर पठाए। उनीमाथि चोरीको आरोप लाग्यो। त्यही कारण उनी ६ महिनासम्म जेल परे। जेल परेको श्रीमतीलाई थाहा थिएन । 

श्रीमतीले सुत्केरी अवस्थामा आफूलाई अस्पतालमा छोडेर बेपत्ता भएको ठानिन्।  अस्पतालका नर्सहरुले नै उनलाई कोठमा ल्याएर छोडिदिए। त्यसपछि थाहा पाइन श्रीमान् जेल परेको। 

५० हजार धरौटी तिरेमात्र ती युवा जेलबाट छुट्न सक्थे। तर, त्यत्रो पैसा जम्मा गर्न उनको सामर्थ्य थिएन्।

विवेकले ती युवालाई जेलबाट निकालिदिए।

घटना २

उनले पर्सा जेलबाट अर्का एक युवालाई निकाले।  ती युवाको आमा दुईटा थिए। सामान्य बिवादमा कान्छी आमाले जेल हालेकी थिइन्। ५ हजार तिरेर विवेकले उनलाई निकाले। अहिले ती युवा पर्सामा खाजा पसल चलाएर राम्रो आम्दानी गरेर बसिरहेका छन्।

घटना ३

एकजना गर्भवती महिला जो लागूऔषध प्रयोकर्तासँगै प्रेम विवाह गरेकी थिइन्। उनी लागू औषध साथमा राखेकाले पक्राउ परिन्।  श्रीमान् वैदेशिक रोजगारका लागि विदेशमा थिए।  श्रीमानले उनलाई स्वीकार गरेनन्। अन्य आफन्तले भेट्न इन्कार गरिदिए। पेटमा बच्चा बोकेर जेल परेकी उनलाई जेलबाट निकाल्दा बच्चा डेढ वर्षको भइसकेको थियो।

हरेक कैदीहरु छुटाउँदा कैदीका आनन्दका पलहरु देख्छन्। त्यो  देख्नु नै विवकले चाहेको खुशी हो। किनकि, उनले जेल पर्नेहरुको बाध्यता र अवस्था बुझेका छन्।

विगत जस्तो भयो गुनासो छैन्। अतितप्रति उनलाई कुनै दुखेसो छैन्।

‘जे भयो राम्रैको लागि भयो। समय र परिस्थतिले कहाँ बाट कहाँ पुर्यायो,’ उनले भने, ‘कुनै समय करौडौँ कमाएर नामी बनेको थिएँ। कुनै समय समाजबाट अपमानित भएँ। अहिले कैदीहरुको लागि काम गरिरहेको छु।’ 

उनको परिवारको काठमाडौँको विभिन्न ठाउँमा व्यावसाय छ। व्यवसामा पनि उनी समय दिन्छन्। समाज सेवा गर्नका लागि स्रोत चाहिन्छ। कतिपय अवस्थामा अन्तबाट आएको सहयोगले मात्र पुग्दै। कैदी छुटाउन उनी आफ्नो व्यावासायको केही रकम खर्च गर्छन्।

जेल समस्याको जालो

देशका ४० भन्दा बढी जिल्लाका जेल पुगेका उनले त्यहाँ समस्याको जालो मात्र देखेका छन्। जेलमा बस्नमात्र हैन, खान पिउन र सुत्न सबैको समस्या छ। न खेलकुदको सामाग्री छ, न पढ्नको लागि पुस्तकालय नै छ। खानेपानी शौचालयको समस्या अधिकांश जेलमा छ। 

महिला कैदीहरुको लागि छुट्टै समस्या छ। धेरै ठाउँका जेलहरु जिर्ण भएर टेका लगाएर अड्याइएको छ।

जेलमा काम र अन्य गतिविधी नहुने भएकाले जेल गएपछि कैदीहरु झनै समस्यामा पर्ने गरेका छन्। उनको संस्थाले खानेपानी, शौचालय, पुस्तकालय र  खेलकुद सामाग्री विभिन्न जेलमा उपलब्ध गराएका छन्।

उनलाई थाहा छ, यत्ति कामले जेलका समस्या समाधान हुनेवाला छैन्। सरकारले ध्यान दिने हो भने जेलभित्रको समस्या र कैदीहरुको जीवनस्तर उकास्न धेरै मेहनत नलाग्ने उनको भनाई छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell