PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पारिवारिक साँघुरो घेराबन्दीमा प्रधानमन्त्री कोइराला



पारिवारिक साँघुरो घेराबन्दीमा प्रधानमन्त्री कोइराला

काठमाडौं : प्रधानमन्त्री सुशील कोइराला पछिल्लो समय पारिवारिक घेराभित्र बन्द भएका छन्। सुस्त प्रधानमन्त्रीको आरोप खेपिरहेका प्रधानमन्त्रीका सहयोगीहरु पनि अहिले सबै पारिवारिक सदस्य मात्र छन्।

प्रधानमन्त्रीको प्रमुख राजनैतिक सहयोगीका रुपमा अहिले बिपी कोइरालाका कान्छा छोरा शशांक कोइराला क्रियाशील छन्। प्रधानमन्त्रीले राजनैतिक निर्णयदेखि नियुक्तिसम्ममा शशांकको साथ लिने गरेका छन्।

कोइरालाको भेटघाट हेर्ने जिम्मा भतिज अतुल कोइरालाले गर्दै आएका छन्। उनी प्रधानमन्त्रीका दाइका छोरा हुन्। कोइरालाको महाराजगञ्ज निवासको सामानसमेत अहिले अतुलको धापासीस्थित घरमा सारिएको छ। प्रधानमन्त्रीको सचिवालयका सहसचिवको हैसियतमा नियुक्त गरिएका अतुलसँग सम्पर्क बिना कांग्रेसकै नेताहरुले समेत अहिले भेट पाउने अवस्था छैन।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवमा भान्जा रमेश भण्डारीलाई नियुक्त गरिएको छ। अहिलेका स्वकीय सचिव भण्डारीकी श्रीमती प्रभा पनि प्रधानमन्त्री सचिवालयमा नै रहेकि छिन्। उनी अहिले प्रधानमन्त्रीलाई प्रभाव पार्न सक्ने हैसियतमा पुगेको स्रोत बताउँछ।

प्रधानमन्त्रीको 'किचन क्याबिनेट'मा प्रभावशाली अर्की महिला मृदुला पनि कोइरालाको नातेदार नै हुन्। उनी प्रधानमन्त्रीकी सानिमाकी देवरकी छोरी हुन्। तर भान्जी बुहारी प्रभा र मृदुलाको सम्बन्ध राम्रो नरहेको बालुवाटार स्रोत बताउँछ। तर मृदुलालाई कोइरालाले शुक्रबार मात्रै मन्त्रिपरिषद्बाटै अनुमोदन गरेर जनसम्पर्क सल्लाहकारमा नियुक्त गरका छन्।

कोइराला परिवार बाहिरका एकमात्र व्यक्ति लक्ष्मण ढकाल प्रधानमन्त्री सचिवालयबाट बाहिरी सकेका छन्। उपचार गरेर अमेरिकाबाट फर्किए लगत्तै ढकाललाई सेवा आवश्यक नरहेको भन्दै पत्र थमाइएको थियो। आफूलाई स्वकीय सचिवबाट हटाउन मृदुलाको भूमिका रहेको आरोप ढकालले लगाएका थिए।

प्रधानमन्त्रीका अर्का स्वकीय सचिवमा वसन्त गौतमलाई नियुक्त गरिएको छ भने प्रधानमन्त्री निवासको व्यवस्थापन सबीर खनालले हेर्छन्। गौतम कांग्रेस पार्टी कार्यालयका सचिव थिए। खनाल बाँकेका हुन्। प्रेस संयोजकमा भने प्रकाश अधिकारी रहेका छन्। प्रधानमन्त्रीको सहयोगीमा हुर्मत न्यौपाने र सागर खनाललाई पनि नियुक्ति दिइएको छ। तरुण दलका पूर्व महासचिव न्यौपाने बाँकेका हुन्। उनले कोइरालालाई बाँकेबाट निर्वाचनमा विजयी बन्न सहयोग गरेका थिए।

२०४६ का सारथीको बिदाइ
प्रधानमन्त्री कोइरालालाई प्रधानमन्त्रीमा आसिन गराउन मुख्य भूमिका खेलेकाहरु अहिले पाखा लागेका छन्। प्रधानमन्त्रीमा कोइरालालाई एमाले समर्थन जुटाउन भूमिका खेलेका महामन्त्री कृष्णप्रसाद सिटौला र दिलेन्द्र बडु असन्तुष्ट छन्। बडुलाई राजनैतिक सल्लाहकारको नियुक्ति दिने कुरा चलेपनि कोइरालाले नियुक्ति नगरेपछि पाखा लागेका छन्। सिटौलाको कुराकानी समेत अहिले कोइरालाले सुन्न छाडेका छन्।

उपसभापति रामचन्द्र पौडेलले कोइरालालाई संसदीय दलका नेता बनाउन भूमिका खेलेका भएपनि कार्यबाहक सभापति नपाएपछि असन्तुष्ट छन्। पौडेलले पत्रकार सम्मेलन गरेरै नीति तथा प्रशिक्षण प्रतिष्ठान मार्फत सरकारलाई पार्टी घोषणापत्रका विषय बजेटमा समावेश गराउन सुझाव दिएका थिए। सुशीललाई प्रधानमन्त्रीमा सहयोग गर्नेमा अहिले कानुन मन्त्री नरहरी आचार्य र दीपकुमार उपाध्याय सक्रिय छन्।

कोइरालाका २०४६ साल पछिका राजनैतिक सहकर्मीहरु आनन्दप्रसाद ढुंगाना, फर्मुल्लाह मन्सुर, दिलबहादुर घर्ती, पद्मनारायण चौधरी र मानबहादुर विश्वकर्मा अहिले कुनै भूमिकामा छैनन्। सरकारमा मन्त्री नपाएपछि उनीहरु पनि असन्तुष्ट बनेका छन्।

सरकारका सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजाललाई समेत प्रधानमन्त्रीले विश्वास गर्न छाडेको स्रोत बताउँछ। रिजालले सचिवको सरुवा र पदस्थापनमा चलखेल गरेको कोइरालाको गुनासो छ। अर्थमन्त्री रामशरण महतसँग समेत कोइरालाको सम्बन्ध औपचारिक बन्दै गएको छ।

सुख दु:खका साथी राष्ट्रपति
प्रधानमन्त्री सुशील कोइरालाले आफ्नो स्वास्थ्य लगायतका विषयमा अहिले विश्वास गर्ने एक मात्र व्यक्ति राष्ट्रपति डा. रामवरण यादव हुन्। उपचारका लागि विदेशमा रहँदा देखि नेपालमा समेत कोइरालाले राष्टपतिसँग मात्र अहिले आफ्नो सुख दु:ख सुनाउने गरेका छन्।

कांग्रेसकै नेताहरु जाँदैनन् भेट्न
प्रधानमन्त्रीको अव्यवहारिक स्वभावका कारण प्रधानमन्त्री कोइरालालाई कांग्रेसकै नेताहरु समेत निवासमा भेट्न जाँदैनन्। काम बाहेक बालुवाटारमा सरसल्लाह र कोइरालासँग परामर्श गर्न मन्त्रीहरु नै नजाने गरेको बालुवाटार स्रोत बताउँछ। आफ्नो स्वार्थबारे मात्रै प्रधानमन्त्रीलाई भेट्न कांग्रेस नेताहरु पुग्ने गरेका छन्।

प्रधानमन्त्रीलाई अहिले भेट्नेमा प्रमुख सचेतक चीनकाजी श्रेष्ठ तथा ऋषिकेश तिवारी रहेका छन्। चीनकाजी सचेतक भएपछि धौलागिरी अन्चल समन्वय समिति सदस्य रहेका तिवारी कांग्रेस मुख्य सचिव नियुक्त भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell