PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मैले धेरै सहेर पार्टी एक भएर चुनावमा आएको हो : रामचन्द्र पौडेल



मैले धेरै सहेर पार्टी एक भएर चुनावमा आएको हो : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले २०४६ सालको राजनीतिक परिवर्तनपछि भएका हरेक चुनाव तनहुँबाट जिते। यस पटक भने एकातिर वाम गठबन्धन अर्कोतिर पार्टीकै सहयात्री साथी गोविन्दराज जोशीको चुनौति थपियो। जोशीको बागी उम्मेदवारीलाई निर्वाचन आयोगले रद्द गरिदिएपछि उनलाई बल्ल राहत भएको छ। यद्यपि जोशीका आगामी कदमले उनलाई झस्काउन बाध्य बनाइरहन्छ। निर्वाचनको यही सेरोफेरोमा चुनावी प्रचारमा व्यस्त पौडेलसित पहिलोपोस्टका उमेश श्रेष्ठ र ऋषिकेश दाहालले गरेको कुराकानी

गोरखामा बाबुराम भट्टराईलाई जिताउन कांग्रेसका नेता दिनरात खटिएका छन्। तर तपाईँको क्षेत्रमा कांग्रेसी नेता नै विद्रोहीका रुपमा उत्रिए। तपाईँका लागि यो कति कठिन अवस्था हो?
तनहुँमा आजमात्र होइन, पञ्चायतकालको अवस्थामा पञ्चायत विरोधी गतिविधि गर्दै गाउँको विकास गर्ने काममा खटिएको, बाटो खन्न सक्रिय रहेको मानिस हुँ म। त्यसैले यहाँका जनतासँग मेरो ज्यादै नजिकको सम्बन्ध छ। जनतालाई माया गर्ने नेताका रुपमा मलाई जनताले चिन्छन्। अहिले चुनावका विषयमा जुनसुकै अवस्थामा पनि समस्या देख्दिन। मैले फेरि जनतालाई सम्झाउनुपर्छ। उहाँहरुका अगाडि देखिनुपर्छ। उभिनुपर्छ। म जनताकहाँ गैदिनुपर्छ। उहाँहरुले मलाई देख्न पाउनुपर्छ। त्यति भएपछि मलाई मत आउँछ।

उम्मेदवारी मनोनयअघि नै तपाईविरुद्ध तनहुँमा नै पटकपटक र्‍याली निकालियो। गोविन्दराज जोशीले उम्मेदवारी नै दर्ता गराउनुभयो। 
केही प्रयास साथीहरुले आफ्ना लागि गरे। भोट माग्नका लागि चुनावमा देशभरि हरेक किसिमका कोसिसहरु भएका छन्। त्यसलाई म त्यति खास विशेष र उल्लेख्य मान्दिन। 

तपाईँविरुद्ध यस्तो अभियान हुनु पार्टीको अन्तरिक असन्तुष्टि हो कि विपक्षीहरुको चाल?
यो असन्तुष्टि व्यक्तिगत म प्रतिभन्दा पनि आफूप्रतिको आकांक्षा को प्रतिविम्बमात्र हो। कार्यकर्तामा महत्कांक्षा हुन्छ नि - मलाई नि चाहियो। मलाई नि चाहियो भन्ने।  

वाम गठबन्धन बलियो छ। पार्टीभित्र यो खाले गतिविधि छ। चुनाव कांग्रेसका लागि कठिन हुँदै गएको देखिन्छ त? 
हाम्रो चुनावको अभियान जति अगाडि बढ्छ त्यो गठबन्धन त्यति नै फिका हुँदै जान्छ।

पार्टीभित्रको संरचनाले त्यो त स्थापित गर्ने सक्ने त देखिन्न त?
पार्टीमा धेरै कुरा सहेर रहेर पनि हामीले पार्टीलाई एक राखेका छौं। मैल धेरै सहेँ। अहिले पार्टी एक भएर चुनावमा आएको छ। अरु पार्टीहरुलाई लिएर पनि आएको छ। लोकतन्त्रका पक्षमा जनता छन्। लोकतन्त्रमा विश्वास गर्नेहरुको मत एक ठाउँमा हुन्छ। किनकि जनता लोकतन्त्रको विरुद्धमा जाँदैनन्। बहुमत जनता लोकतन्त्रमा विश्वास गर्छन् त्यसैले उनीहरु कम्युनिज्ममा जाँदैनन्।

पार्टीभित्रै संघर्ष गरिरहनुभएको छ। प्रचारमा चाहिँ भावी प्रधानमन्त्रीका रुपमा कार्यकर्ताले चाहेको देखियो। त्यस्तो सम्भावना छ?
यसपाला नेपाली कांग्रेसले नेतृत्व गरेर समृद्धिको अभियानलाई पनि अगाडि बढाउँछ। कांग्रेसले बढाउन चाहन्छ। कांग्रेस नेतृत्वकै सरकारले त्यो अभियान अगाडि बढाउनेमा निश्चिन्त भए हुन्छ। 

वाम गठबन्धनले कांग्रेसी- कांग्रेसीबीचमा रहेको दुरी घटाएको छ कि छैन? 
कहिलेकाही के हुन्छ भने चुनौति बढ्दा एक हुने अवस्था पैदा हुन्छ। एकता हुन बल मिल्छ नै।

तर, तनहुँको तपाईँकै क्षेत्रमा यो कुरा त फरक देखियो। तपाईँ आफै अर्को उम्मेदवार जोशीविरुद्ध उजुरी गर्न पुग्नुभयो। 
त्यो चाहिँ विशेष परिस्थिति हो। तर, मेराविरुद्ध हिजो र्‍याली गर्न जानुभएका नेताहरु नै आज मेरो सभाका वक्ता हुनुन्थ्यो। तपाईँले देखिहाल्नुभयो नि। 

यसपालाको निर्वाचनमा समग्रमा कांग्रेसको अवस्था के होला?
नेपाली कांग्रेस फेरि पनि देशको पहिलो पार्टी हुन्छ।

त्‍यसको आधार के?
विस्तारै जनताले लोकतन्त्रको पक्षमा मतदान गर्छन्।

चुनावी भाषणमा यो कुरा जति सहजै भन्नुहुन्छ तपाईँकै अन्तरआत्मले र स्थानीय तहको परिणामले कसरी पत्याउने?
वाम गठबन्धन सधैं भएको हो देशमा। कांग्रेस विरुद्ध सधै सबै एक भएर उत्रिँदै गरेका हुन्। नयाँ कुरा होइन। अझ तनहुँमा त सबै दल कांग्रेसको विरुद्धमा एकजुट हुँदै आएका हुन् नि। त्यसैले यस्तो गठबन्धनले खासै असर पार्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell