PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

प्रचण्डले नारायणकाजीलाई किन बलिको बोका बनाउँदैछन्? : बाबुराम भट्टराई



पहिलोपोस्ट

प्रचण्डले नारायणकाजीलाई किन बलिको बोका बनाउँदैछन्? : बाबुराम भट्टराई

चुनावी अभियानमा सक्रिय रहेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सदरमुकाम गोरखा बजारमा झरेपछि पहिलोपोस्ट उनको चुनावी अभियान अवलोकन गर्न गोरखा पुगेको थियो। विकट भेगबाट सदरमुकाम आसपासका गाउँमा चुनावी अभियानमा उनीसँगै नेपाली कांग्रेसका स्थानीय र राष्ट्रियस्तरका नेताहरु काँधमा काँध मिलाएर हिँडेका थिए। बाबुराम भट्टराई प्रतिनिधिसभामा किन आवश्यक हुन् भन्ने विषय उनले बोल्नै पर्दैन कांग्रेसका नेताहरुले नै त्यो प्रस्ट्याउने गर्छन्। भट्टराईको निर्वाचन क्षेत्रमा रोचक प्रतिस्पर्धा यसकारण पनि छ कि उनका प्रतिद्वन्द्वी अरु कोही नभइ नारायणकाजी श्रेष्ठ हुन्। कुनै समय प्रचण्डविरुद्ध पार्टीमा यी दुई नेता एक गुटमा भेटिन्थे। राजनीतिका समीकरणहरुमा आएको फेरवदलले यतिखेर नारायणकाजी र बाबुराम भट्टराई दुई कित्तामा पुर्‍यायो। यसपालाका चुनाव दुवै नेताका लागि 'गर या मर' भएको छ। यिनै प्रसंगमा डाक्टर भट्टराईसँग गरिएको कुराकानी:

 

प्रतिपक्षसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्थ्यो। तर, सहयात्रीसँग त अलि अप्ठ्यारै होला नि?

हामी बहुदलीय प्रतिस्पर्धात्मक राजनीतिमा छौं। बहुदलीय प्रतिस्पर्धामा प्रतिस्पर्धी कहिले को कहिले को हुन्छ। हामीले त्यसलाई अन्यथा लिनु हुँदैन। हामी नयाँ शक्ति बनाएर एउटा वाम लोकतान्त्रिक धार बनाएर अघि बढ्दैछौं। अहिले नेपालमा जसरी वाम र लोकतान्त्रिक धार देखापरेको छ, हामी यी दुवै धारको समदूरीमै छौं। व्यवहारिक र सैद्धान्तिक हिसाबले हामी सहकार्य गर्न सक्छौं। यो अहिले हाम्रो चुनावी तालमेल हो। सहजताका निम्ति संविधान कार्यान्वयन गरेर राजनीतिक स्थिरता कायम गर्दै विकासको दिशामा जाने मुख्य एजेण्डा भएकाले तत्काल सहकार्य सहज र उपयुक्त होला भनेर नेपाली कांग्रेससँग तालमेल गरेका हौं।


नेपाली कांग्रेससँग सहकार्य त सहज होला तर नारायणकाजीसँगको प्रतिस्पर्धा त कठिनै होला नि?

मलाई त्यस्तो लाग्दैन। चुनाव जनताको मतले जित्ने हो। व्यक्तिका इच्छा आकांक्षाले हुँदैन। म यहीँ जन्मेँ हुर्केँ। दुई पटक यहीँबाट चुनाव जितेँ। एक पटक ८२ र अर्को पटक ५८ प्रतिशत मत ल्याएँ। एउटा पार्टीको बलमा मात्र मैले जितेको होइन। त्यतिबेला पनि नेपाली कांग्रेस, एमाले, माओवादी, स्वतन्त्र सबैको मतले जितेको हुँ। अर्थमन्त्री हुँदा गोरखामा आधारभूत पूर्वाधार निर्माणको काम मैले सुरुवात गरेँ। बुढीगण्डकी, दरौंदी, चेपे मर्स्याङ्दीले घेरिएको गोरखामा रणनीतिक महत्वका बाटा, पुल, मध्यपहाडी लोकमार्ग निर्माण, बुढीगण्डकी परियोजनाको परिकल्पना जस्ता कुराले गोरखाली जनताको मनमा बाबुरामले गर्दा गोरखामा विकासको मूल पलाएको छ भन्ने विश्वास जागेको छ। र, व्यवहारिक रुपमा पनि म प्रधानमन्त्री हुँदासमेत हरेक महिना एक पटक जिल्ला आएँ। जनताको घरदैलोमा गएँ। सुख दुःख बाँडे। सुख्खा रोटी खाएर हिँडे। यस्ता कारण पनि जनताले मलाई मत दिनुहुन्छ र म सहज ढंगले जित्छु भन्ने विश्वास छ।

चुनावमा त आफ्नो प्रक्षेपणले मात्र पनि त हुन्न। विपक्षीका कमजोरी पनि कोट्याउनुपर्छ। सँगै एकै दलमा बसेको मान्छेलाई पराजित गर्नु कठिन नै होला नि?

म अरुको नकारात्मक कुरा गर्दिनँ। म आफ्ना सकारात्मक कुरा गर्छु। हिजो राजनीतिक परिवर्तनका लागि जुन भूमिका खेलेँ, ज्यान जोखिममा राखेर संघर्षमा लागेँ र पछि माओवादी आन्दोलनलाई शान्तिपूर्ण बाटोमा ल्याउन जुन भूमिका खेलेँ, संविधान निर्माण गर्न भूमिका खेलेँ र अर्थमन्त्री हुँदा गोरखाको आधारभूत विकासका लागि आधार खडा गरिएको छ त्यसलाई पूरा गर्न मलाई अवसर दिनुहुन्छ भन्नेमा विश्वस्त छु। म कसैका नकारात्मक कुरा गरेर भन्दा पनि आफ्नै सकारात्मक गविविधि र क्रियाकलापका आधारमा मत माग्दैछु।


तपाईँकै घरमा कसैले कालो झण्डा गाडे। माहोल चाहिँ गोरखामा बढी तात्तिएको देखिन्छ है?

गोरखामा मप्रतिको सद्भाव छ। अनि कांग्रेससँगको सहकार्यमा नयाँ शक्ति पार्टीले जुन अग्रता लिएको छ त्यसबाट अत्तालिएको अर्को पक्षले यस्तो गरेको होला। स्वस्थ प्रतिस्पर्धा गरौं भनेको छु मैले त। अरुले गरेको अवान्छित क्रियाकलापप्रति प्रशासनको ध्यान जाओस्।


कांग्रेससँग मिलेर भोट माग्न जाँदा कति सहज छ त?

हामी हिजो १२ बुँदै समझदारीपछिका सहयात्री हौं। त्यसअघि राज्यसत्ताविरुद्ध विद्रोहका बेला केही घटना भए। राणा शाही, पञ्चायतविरुद्ध कांग्रेसले पनि हतियार उठाएकै हो। त्यस्तै एमालेले पनि हतियार उठाएकै हो। राज्यसत्ताविरुद्ध भएका घटनालाई कोट्याइरहनु आवश्यक छैन। हामी सत्यनिरुपण तथा मेलमिलाप आयोग मार्फत् त्यसलाई हल गरेर टुंग्याउने दिशामा गइरहेका छौं। १२ बुँदेपछि हामी सहयात्री नै हौं। त्यो कारणले गर्दा त्यति असहज छैन। विगतमा केही निजी पारिवारिक क्षति पुग्न गएका घटना छन्  - दुबै पक्षमा। उहाँहरुलाई सँगै राखेर आश्वास्त पार्ने प्रयास गरेका छौं। त्यसले खासै समस्या ल्याउँदैन।


भोट माग्न जाँदा तपार्इँलाई किन माओवादी छाड्नुभयो भन्ने प्रश्न आउँछ नि त? प्रश्नले घोच्छ होला?

घोच्दैन। मैले सचेत ढंगले यसको जवाफ दिने गरेको छु। विचार गतिशील हुन्छ। हिजोका पूँजीवाद् र साम्यवाद् भन्ने कुरा शीतयुद्धका बेला खडा गरिए। अब अहिले २१ औं शताब्दीमा ती हिउँका पर्खालहरु पग्लिँदैछन्। नयाँ विचारको खोजी भइरहेको छ। वाम लोकतान्त्रक हुँदै नयाँ समुन्नत समाजवादमा जाने जुन विचार नीति अगाडि सारेका छौं त्यसैको प्रयोग हामीले यहाँ गर्दैछौं। त्यस अर्थमा माओवादी आन्दोलन हिजो राज्यसत्ताविरुद्ध विद्रोह गर्न ठीकै थियो। फौजी पाटो प्रयोग गर्‍यौं।  अब आवश्यक छैन।

त्यसको अब राजनीतिक तथा आर्थिक पाटो आवश्यक र सान्दर्भिक पनि छैन। त्यस हिसाबले पनि अब माओवादी भनेर साइनबोर्ड झुण्ड्याइरहनु आवश्यक छैन। त्यसलाई समाजवादी पार्टीको रुपमा रुपान्तरित गर्नुपर्छ भनेर मैले त्यतिबेला पनि प्रचण्डलाई भनेको थिएँ तर उहाँ मान्नु भएन। उहाँहरु अहिले वाम गठबन्धन बनाउने क्रममा पनि कम्युनिष्ट केन्द्र बनाउने भन्नु भयो। मैले समाजवादी केन्द्र बनाऔं भन्ने प्रस्ताव राखेको थिएँ। उहाँहरु मान्नुभएन र सहकार्य हुन सकेन। हामी वाम लोकतन्त्र हुँदै समुन्नत समाजवादमा तिर जाने बाटो अवलम्वन गरेका छौं जुन भोलि नेपाल र विश्वकै लागि उपयुक्त बाटो यही हो भन्ने लाग्छ।


यो बाटो तपाईँका लागि कति सहज होला? अनि स्थानीय तहको निर्वाचनको मतपरिणाले पनि तपाईँलाई सहज हुने देखाएन त?

हैन त्यस्तो होइन। हाम्रो पार्टी गठन भएको एक वर्ष हुँदै थियो। उहाँहरुले षड्यन्त्र गरेर चुनाव चिह्न पनि दिनुभएन। अरुको चिह्न लिएर जानुपर्‍यो। यो केन्द्रको निर्वाचन भयो। यो मुद्दाका आधारमा हुन्छ।


सर्वश्रेष्ठ त तपाईँ हो नि ?

स्थानीय तहमा त म उम्मेदवार थिइन। स्थानीय व्यक्ति उम्मेदवार हुन्थे। संगठन र चुनाव चिह्न चिनाउने समय पनि थिएन। जसका बाबजुद पनि परिणाम निराशाजनक थिएन। तर, अहिले चाहिँ मुद्दा नै फरक भएकाले म आफैं निर्वाचन लडेकाले परिणाम फरक ढंगले आउँछ। यसमा कुनै दुविधा छैन।


यो जित तपार्इँलाई कति महत्वपूर्ण हुन्छ?

हिजो आपसमा लडेका माओवादी र कांग्रेसबीच सहकार्य गरेर अघि बढेर जाने नयाँ वातावरण निर्माण भएको छ। यसको सफलताले नेपाल शान्ति स्थिरता र विकासको गतिमा अघि बढ्छ भन्ने सन्देश जान्छ। यसकारण पनि गोरखाको जितको महत्व छ। दोस्रो कुरा मैले गोरखाको विकासका लागि अर्थमन्त्री हुँदादेखि जुन खाका कोरेको छु मैले जितेर गोरखालाई मोडल बनाउन सक्दा देशकै निम्ति पनि नमुना बन्न सक्छ। तेस्रो कुरा, सुशासन र सदाचारको कुरा उठाएको छु। एउटा म अहिलेसम्म भ्रष्टाचाररहित, दागरहित जुन काम गरिरहेको छु भ्रष्टाचाररहित राजनीति पनि सम्भव छ भन्ने कुरा गोरखा विजयले सन्देश दिन्छ। यी सब कारणले गर्दा गोरखा विजयले राष्ट्रिय महत्व राख्छ।


नयाँ शक्तिका लागि नि?

नयाँ शक्ति त भर्खर विजारोपण गरेका छौं। हुर्कन समय लाग्छ। नर्सरीका लागि नयाँ शक्तिको विकास गर्ने ठाउँ गोरखा बन्न सक्छ। यो चुनावको परिणामले यसको संकेत र सन्देश दिन्छ।


कांग्रेस कार्यकर्ताले चुनाव जितेपछि के हुन्छ डाक्टर'साप भनेर सोध्छन होला नि?

मैले कांग्रेसका साथीहरुलाई निरन्तर भनेको छु हामी १२ बुँदे समझदारी पछि सहयात्री नै हौं। हामीले मिलेर संविधान बनाएका छौं। संविधान कार्यान्वयनका लागि पनि मिलेर जानुपर्छ। विकासका लागि हामी एक्ला एक्लै अगाडि बढेर सक्दैनौं। निर्वाचन प्रणाली, शासकीय प्रणाली जुन अपनाएका छौं त्यसका लागि पनि हाम्रो सहकार्य दीर्घकालीन हितमा छ भन्ने कुरा मैले उहाँहरुलाई राखेको छु। नेपाली कांग्रेस पनि एउटा लोकतान्त्रिक संस्कार बोकेको पार्टी भएकाले उसभित्र पनि फरक फरक विचार आउँछन् र त्यो स्वभाविक नै हो। तर हामीले मिलेर सहकार्य गरेका छौं। त्यसैले हामी गोरखाका दुई वटै क्षेत्र जित्नेमा विश्वस्त छौं।

तपाईँलाई जनताले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको रुपमा देख्न पाउने प्रक्षेपण गरेका थिए। तर अहिले गोरखामा खुम्चिनु पर्दा मन कतै अमिलो हुँदैन?

त्यस्तो होइन। म त जीवनमा सधैं सकारात्मक सोच राख्ने मान्छे हुँ। जीवनमा अलिकति जोखिम नराखी नयाँ कुरा बन्दैन। ठूला वैज्ञानिक, आविष्कारहरु, विचार र दर्शनहरु बलिदानको बीचबाटै अगाडि बढ्छ। हिजो पनि जोखिम उठाएर पञ्चायतविरुद्ध लागेको हो र जनयुद्ध पनि गरेको हो। अहिले पनि जोखिम उठाएर देशलाई विकास र समृद्धिको बाटोमा लैजान र नेपालमा राजनीतिक स्थिरतका लागि म लागेको छु, त्यसमा कति पनि विचलित छैन।


तपाईँले आफूलाई केन्द्रमा राखेर कांग्रेससँग सहकार्य गर्नुभयो भन्ने अरोप छ नि ?

त्यो होइन। म त आफू एक्लै पनि उठ्न तयार भएको मान्छे हुँ। चुनावी तालमेल भनेको त पारस्परिक हितका लागि हो। कतै हुन्छ कतै हुँदैन। दुवै पक्षलाई हित हुने कुरा भनेको सहमतिमा तालमेल हुन्छ। यी त गौण कुरा हुन्। मुख्य कुरा त नयाँ शक्तिको वाम लोकतान्त्रिक जुन सोच छ, जुन विकास र समृद्धिलाई केन्द्रमा राख्ने र सुशासन कायम राखी नयाँ वैकल्पिक राजनीति अगाडि सार्ने विचार छ, त्यो प्रमुख कुरा हो। त्यसैका निम्ति म लागिराखेको छु। चुनाव त एउटा माध्यममात्र हो। भोलि संसदमा गएर यी विचारहरु प्रवाहित गर्ने, नीति निर्माण गर्ने र संविधान कार्यान्वयनका लागि सहयोग गर्ने हो। प्रमुख कुरा वैकल्पिक राजनीतिक धारलाई अगाडि बढाउने कुरा हो। त्यसका लागि दृढ भएर म लागिरहेको छु।


तपाईँ एक्लो बृहस्पति बन्नुभयो नि?

त्यो त म पञ्चायतविरुद्ध लाग्दा पनि एक्लो बृहस्पति नै भन्थे। हामी सानो समूह लिएर हिँड्थ्यौं। यस्तो पढेलेखेको, पिएचडी गरेको मान्छे किन पञ्चायतविरुद्ध लागेको भन्थे। २०४६ को आन्दोलनपछि परिवर्तन देखे। त्यसपछि थाहा भयो कि हामीहरुले गरेको आन्दोलन सही रहेछ भनेर। त्यस्तै जनयुद्ध सुरु गर्दा पनि हामी बहुत थोरै थियौं। कस्तो मुर्ख रहेछ पढे लेखेको मान्छे भनेर त्यतिबेला पनि मलाई भन्थे। त्यसबेला पव्लिक फेस भएको मान्छे मै मात्र त थिएँ। तर, पछि परिणामले त्यो देखायो। अहिले पनि यो अभियान नयाँ ढंगले सुरु भएको छ। सुरुमा प्रश्न उठाउनु स्वभाविकै हो। तर, परिणामले के देखाउँछ भने नेपालमा सुशासन र सदाचारयुक्त राजनीतिको आवश्यकता छ र जनताले त्यो देख्छन्। त्यतिबेला बुझ्छन् सही रहेछ भनेर। यसमा म ढुक्क छु।


संगठकका रुपमा कहिल्यै पनि छवि निर्माण भएन तपाईँको?

त्यो गलत कुरा हो। एकथरी मान्छेले अरु केही हतियार नपाएर बाबुराम संगठन गर्न सक्दैन भनेर प्रचार गरेका छन्। मेरो राजनीतिक इतिहासमा म आफैंले संगठन निर्माण गरेर अखिल भारत नेपाली विद्यार्थी संघ भनेर कांग्रेस, कम्युनिष्टलगायतलाई सबैलाई २०३३/३४ सालमा मिलाएँ। बीपी, गणेशमान, मनमोहन अधिकारी, मोहनविक्रम सिंहलाई जम्मा गर्ने थलो बनाएर सुरु गर्ने मान्छे हुँ म। म कसैले बनाएको संगठनमा छिरेर त्यहाँ ऐजेरु बनेर खाइनँ। माओवादी आन्दोलन पनि यसरी नै सुरु गरेको थिएँ। नयाँ शक्ति त एक वर्षअघि सुरु गरेको हो। एक वर्षको बच्चाले युवासँग प्रतिस्पर्धा गर्न  सकेन भनेर बच्चाको भविष्य छैन भनेर भन्न मिल्दैन। हामी वैचारिक राजनीतिक र सांगठनिक रुपमा अब्बल सावित भएर देखाउनेछौं।

धेरैले छाडे त तपाईँको पार्टी?

होइन। तपाईँले गएको मान्छे मात्र देख्नुभयो। आएका कति छन् कति। नयाँ युवा शक्ति बढी आएका छन्। अलि नबुझी लागेका व्यक्ति जो लाभ देखेर आएका थिए, त्यो नदेखेपछि उनीहरु गएका हुन्। तर, युवा आकर्षण बढेको छ। कांग्रेससँग गठबन्धन बढाएपछि युवाको आकर्षण थप बढेको छ। त्यसकारण यसको भविष्य छ।


वाम गठबन्धनको तपाईँ तारो हुनुभएको छ। नारायणकाजी उठाएका छन् तपाईँसँग प्रतिस्पर्धा गर्न।

प्रतिस्पर्धी राजनीतिमा विपक्षीले आफ्ना हत्कण्डा प्रयोग गर्छन्। अलि अपारदर्शी खालका गैरकानुनी गतिविधि, हर्कत नहोस् भन्ने चाहना हो। स्वस्थ प्रतिस्पर्धा गर्नैपर्छ हामी त्यसमा विश्वास गर्छौ। विपक्षीले के गर्छ भन्ने टिप्पणी गर्न चाहन्न। म आफैँ हिजो गोरखामा गरेको कामका आधारमा निर्वाचन लड्दैछु। जनताको माया ममताले जित्छु भन्ने विश्वस्त छु। प्रतिस्पर्धीहरुले आआफ्ना रणनीति अपनाउने त उनीहरुको अधिकारको कुरा हो।


नारायणकाजीसँग कि प्रचण्डसँग अप्ठ्यारो लागिरहेको छ?

त्योबारे टिप्पणी नगरौं। नारायणकाजीलाई किन बलिको बोको बनाइएको छ? र किन बन्न गइरहनु भएको छ? मलाई दुःख पनि लागेको छ। उहाँलाई शुभकामना छ मेरो। यो मेरो जन्मथलो, कर्मथलो सबै यहीँ हो। तर, नारायणकाजी यहाँ जन्मनुभयो तर उहाँको कर्मथलो रहेन। किन उहाँलाई यहाँ ल्याएर लडाइँदैछ बुझ्न सकेको छैन।


नारायणकाजीलाई यहाँबाट लडाइनुको मिनिङ के हुनसक्छ ?

स्वभाविक चाहिँ छैन। उहाँको कार्यक्षेत्र होइन यो। मैले दुई पटक जितेको त्यसमा पनि ८२ र ५८ प्रतिशतको भारी मतले। यस्तो ठाउँमा ल्याएर उहाँलाई उभ्याइनु चाहिँ अस्वभाविक लाग्छ। किन उठाइयो भन्ने कुरा त तपाईँहरुले खोज्ने कुरा हो। तर म चाहिँ जनताको बलमा जित्छु भन्नेमा ढुक्क छु।


यस पटकको भोटको मार्जिन कति होला जस्तो लाग्छ?

म गाउँ गाउँमा पुगेको छु। मलाई सबैले चिन्नुहुन्छ। माया गर्नुहुन्छ। जनताको अपार सद्भाव देख्छु। त्यसैले मैले अत्याधिक मतले जित्छु।


तपाईँले अर्थ मन्त्री छँदाका कुरा भनेर बढी जोड दिनु भएको छ। तर प्रधानमन्त्री भइसकेको व्यक्तिले किन अर्थमन्त्रीलाई जोड बल गर्नुभएको?

अर्थमन्त्री हुँदा सुरु गरेँ। पछि चाहिँ मेरा निरन्तरतामा गए। मैले खासगरी बुढीगण्डकी परियोजना चाहिँ प्रधानमन्त्री हुँदा सुरु गरेँ, राष्ट्रिय गौरवको आयोजना। अर्थमन्त्री हुँदा आधारभूत पूर्वाधार सुरु गरेको भन्ने अर्थमा हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell