PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गणेश थापाको मनोनयन मेरो निम्ति कठिन र असहज: कमल थापा



गणेश थापाको मनोनयन मेरो निम्ति कठिन र असहज: कमल थापा
तस्बिरः onlinechautari.com

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभामा गणेश थापाको मनोनयनको सिफारिस आफ्ना लागि अत्यन्त कठिन र असहज निर्णय रहेको दाबी गरेका छन्।

आफ्ना भाइ गणेश थापालाई संविधानसभामा मनोनीत गर्ने सन्दर्भमा पार्टी केन्द्रीय समितिका बहुसंख्यक सदस्य गणेश थापाको पक्षमा रहेपनि आफू अनिर्णित र किंकर्तव्यविमुढ अवस्थामा रहेको फेसबुकमा लेखेका छन्।

सरकारले अध्यक्ष थापाका भाइ अखिल नेपाल खेलकुद संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई राप्रपा नेपालको सिफारिसमा गत शुक्रवार सभासद मनोनीत गरेको थियो।

आफ्नै भाइलाई सभासद मनोनीत गरेर परिवारवादी बनेको आरोप लागेपछि थापाले फेसबुकमार्फत आफ्नो निर्णयको बचाउ गरेका हुन्।

'प्रधानमन्त्री सुशील कोइरालाले स्पष्ट शब्दमा 'संविधानसभाको गत निर्वाचनमा प्रत्यक्ष र समानुपातिक उमेदवार भएका बाहेक र राष्ट्रिय जीवनमा ख्याति प्राप्त गरेको व्यक्तिहरु' मध्येबाट नाम सिफारिस गर्न आग्रह गरेको अवस्थामा हाम्रो अगाडि छनौटको सिमा र बाध्यताका रेखाहरु कोरिएका थिए', थापाले लेखेका छन्, 'खेलजगतको हस्तीको रुपमा पहिचान बनाएका गणेश थापाको मनोनयन राष्ट्रको बृहत्तर हितमा उपयोगी हुनेछ भन्नेमा म विश्वस्त छु।'

थापाले आफ्ना भाइको योग्यता र क्षमताबारे कुरै नगरि आफूमाथि परिवारवादको आरोप लगाइएको गुनासो गरेका छन्। 

'गणेशको मनोनयनसँगै सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रतिक्रियाहरुको बाढी नै आयो। अधिकांश नकरात्मक थिए', अध्यक्ष थापाले फेसबुकमा लेखेका छन्, 'उसको योग्यता र क्षमता बारे भन्दा पनि पार्टी अध्यक्षको भाइ र एन्फा सम्बन्धि अनियमितताको छानबीनको प्रसंगले बढी प्रतिक्रिया जन्मायो। त्यो बिलकुल स्वभाविक थियो।'

एन्फामा भएको अनियमितता बारे व्यवस्थापिका संसदको लेखा समितिले छानबीन गरिरहेको छ। यस्तै एन्फा अध्यक्ष गणेश थापाले कतारलाई सन् २०२२ को विश्वकप फुटबल आयोजनाको अधिकार दिलाउन एसियाली फुटबल महासंघ (एएफसी) का विवादित पूर्वअध्यक्ष मोहमद विन हमामसँग एक लाख १५ हजार पाउन्ड लिएको समाचार बेलायती अखबार सन्डे टाइम्सले प्रकाशित गरेपछि उनी विवादमा आएका थिए।

एन्फामा भएको अनियमितता विवादबारे आफूले टिप्पणी नगर्ने र समयले नै यसको छिनोफानो गर्ने थापाले उल्लेख गरेका छन्।

'गणेश मेरो सहोदर भाइ हो र उसले नेतृत्व गरेको एन्फा अहिले विवादको घेरामा पनि छ। यी दुवै यथार्थलाई आधार बनाइ प्रतिक्रिया आउनु स्वभाविक हो', थापाले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाबारे लेखेका छन्, 'सबै प्रतिक्रियाबारे अहिले नै म सवालजवाफ गर्न चाहन्नँ। समय बलवान छ र समयले सबै आरोप प्रत्यारोपको छिनोफानो गर्नेछ।'

सभासदका रुपमा भाइ थापालाई सिफारिस गर्दा आफूले अप्ठेरो महसुस गरेको उनले दाबी गरेका छन्। 'मन र मस्तिष्कका बीचमा अन्तरद्वन्द निकै समय कायम रह्यो। मेरो अगाडि स्पष्ट रुपमा दुई वटा बाटोहरु थिए। एउटा सहज र सरल बाटो, अर्को कठिन र असहज बाटो', अध्यक्ष थापाले लेखेका छन्, 'सधैं झैं र सायद स्वभाववस समेत मैले यस पटक पनि अप्ठेरो बाटो नै रोजें। मन र मस्तिष्कको द्वन्द्व मनले जित्यो। मैले गणेश थापाको नाम सिफरिस गरें। मैले यो निर्णयलाई समयको कसीमा छोडिदिएको छु।'  

थापाले गणेश थापा अध्यक्ष रहेको एन्फाको अनियमितताको बारे कुनै टिप्पणि नगर्ने पनि उल्लेख गरेका छन्।

'जहाँसम्म एन्फाको अनियमितताको प्रश्न छ, त्यसबारे म कुनै टिप्पणि गर्न चाहन्नँ,' थापाले लेखेका छन्, 'कानुनभन्दा माथि कोही छैन। त्यसबारे कानुनले आफ्नो बाटो तय गर्ने नै छ।' उनले गणेश थापा राप्रपा नेपालको महत्वपुर्ण सम्पति हुने पनि लेखेका छन्।

राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले कमल थापाको व्यक्तिगत चाहनामा गणेश थापालाई सभासद् मनोनीत गरेको भन्नु सरासर गलत भएको दाबी गरे। 'केन्द्रीय कार्यसम्पादन समितिको निर्णयलाई अध्यक्षले स्वीकार गर्नुभएको हो', श्रेष्ठले भने, 'यो उहाँको व्यक्तिगत चाहनाले भएको हैन। यसमा पार्टी एकमत छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell