PahiloPost

Aug 19, 2018 | ३ भदौ २०७५

रवीन्द्रले पाएको प्रोक्सी अवसर


किशोर नेपाल

 रवीन्द्रले पाएको प्रोक्सी अवसर

  • कान्तिपुर गाथा -
चुनावले गर्दा कनिकाको मूड गज्याङ–मज्याङ भएको थियो । यो पटकका लागि सुदिप्तीले उसलाई रिजर्भ फोर्समा राखेकी थिइ । सुदिप्तीको विचार कनिकालाई चितवन र डडेलधुरा पठाउने थियो । काठमाडौमा पनि चुनावको सिनारियो उत्तिकै चाखलाग्दो बन्दै थियो । कनिका सुदिप्तीको योजनासँग सहमत थिइ । ऊ पनि प्रधानमन्त्री शेरबहादुर देउवाको चुनाव क्षेत्र डडेलधुरा जान चाहन्थी ।  हिजो बिहीवार डडेलधुरामा प्रधानमन्त्रीको चुनावी सभा र र्‍यालीपछि ऊ अझै उत्सुक भएकी थिइ डडेलधुरा जान । डडेलधुरा जाँदा कैलाली जिल्लाको धनगढी शहर नजीकै रहेको म्याडम प्राइममिनिष्टरको चुनाव क्षेत्रको अवस्था पनि बुझ्न सकिन्थ्यो । म्याडम प्राइममिनिष्टरले आफूलाई धनगढीका बासिन्दाले टुरिष्ट उम्मेदवार भनेको झोंकमा तीन करोडमा घरखेत किनेको खबर समाचारमा आएको थियो । अहिले म्याडम प्राइममिनिष्टरलाई त्यहाँका बासिन्दाले के भन्दा रहेछन् ? थाह पाउने उत्सुकता थियो कनिकालाई ।

त्यो भन्दा चर्को त कान्तिपुरमा नै परेको थियो । यहाँको एक नम्वर क्षेत्रमा सर्वमान्य नेता स्वर्गीय गणेशमान सिंहका सुपुत्र प्रकाशमान सिंहका विरुद्ध देश बनाउन सक्षम, इमान्दार, कर्मठ, अंग्रेजी भाषा फरर बोल्न जान्ने, सुन्दर, सुशील, सम्पन्न रवीन्द्र मिश्र चुनावी टक्करमा रहेकोले यो क्षेत्रमाथि विशेष ध्यान दिनुपरेको थियो उसले । फेसबुकमा रवीन्द्र मिश्रका बारेमा अनेक प्रशंसा र अनेक आरोप पोष्ट भइ राखेका थिए। फेसबुकमा नै आएको एउटा विवरण अनुसार, रवीन्द्र मिश्रजीले आफूलाई सोधिएको आर्थिक प्रश्नको खुलासा गर्दै जवाफ दिएका थिए, “मलाई देशमा सबैभन्दा धेरै कर तिर्ने कम्पनीका सिइओ सिद्धार्थ राणाले हिजैमात्र एक करोड चन्दा दिए । डिल्लीबजारकी एक महिलाले दश लाख रुपियाँ दिइन् । उनीहरुले यो पैसा के गरिस् भनेर सोधेका छैनन् । तर, एक हजार डलर चन्दा दिने मानिसहरु चाहीं हामीले दिएको चन्दा के गरिस् भनेर सोध्दछन् । वाहियात ।”

***
“हामी अढाइ दशक लामो समयदेखि नेपालको राजनीतिमा अपराजित रहेका शक्तिलाई पराजित गर्न भनेर राजनीतिमा आएका हौं । एकजना व्यक्तिको कुरा छोडौं, हाम्रो लक्ष्य भनेको त लामो समयदेखि कुशासन गर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्नु हो ।”

***
पहिलो नजरमा त कनिका आशिक नै भएकी थिइ रवीन्द्रको । तर, विस्तारै विस्तारै उसको मनको चक्षु खुल्दै थियो । उसका बाबा भ्रष्टाचारका विरोधी र परिवर्तनका कट्टर पक्षपाती भएपनि राजनीतिमा आएका “नयाँ मुल्ला” हरुसँग प्रभावित थिएनन् । कनिकाले रवीन्द्रका बारेमा प्रश्न गर्दा उनको जवाफ थियो, “यिनको दृष्टिकोण नै प्रष्ट छैन । यिनले परिवर्तनलाई मदारीको खेल सम्झेका छन् । तिमी आफैं हेर न फेसबुकमा यिनको स्टाटस । उनैले राखेका हुन् बाह्रखरीबाट निकालेर ।”

कनिकाले पढी । रवीन्द्रले आफनो टाइमलाइनमा लेखेका थिए, “हामी अढाइ दशक लामो समयदेखि नेपालको राजनीतिमा अपराजित रहेका शक्तिलाई पराजित गर्न भनेर राजनीतिमा आएका हौं । एकजना व्यक्तिको कुरा छोडौं, हाम्रो लक्ष्य भनेको त लामो समयदेखि कुशासन गर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्नु हो ।”


कनिकाले कुरा बुझी । अढाइ दशक लामो समयदेखि नेपालको राजनीतिमा अपराजित रहेको शक्ति को छन् त ? राजनीतिक हिसाबले यसको जवाफ हो – कांग्रेस र कम्युनिष्ट । जसले अधिनायकवादी राजतन्त्रलाई संवैधानिक राजतन्त्रमा परिवर्तन गरे । तिनैलाई पराजितगर्न आएका रहेछन् रवीन्द्र मिश्र । उनले भनेका छन् – हाम्रो लक्ष्य भनेको त लामो समयदेखि कुशासन गर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्नु हो ।कनिकालाई रवीन्द्र मिश्रको यो “विचार” बुझ्न अलिक समय लाग्यो । उसले जब यसका अर्थहरु बुझी त्यसपछि सबै कुरा घाम झैं क्लियर भयो । रवीन्द्र मिश्र अढाइ दशक लामो समयदेखि अपराजित रहेको शक्तिलाई पराजित गरेर लामो समयदेखि कुशासन गर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्न चाहन्छन् ।
 
कनिकाले सोची, त्यत्रो ठूलो संस्था बीबीसीको पत्रकार भै सकेका मानिसलाई राजनीतिक संस्थाहरुले कुशासन गर्दैनन्, कुशासन गर्ने त मानिस हुन् भनेर कसले सम्झाउने ? अनि, उनले तोकेरै भनेका छन, अढाइ दशक पहिले । त्यो भन्दा अघि पनि होइन र पछि पनि होइन । पहिलो जन आन्दोलनले पनि समाप्त पार्न नसकेर गणतन्त्र नै ल्याउनु परेको “अपराजित शक्ति” हरुसँगै करोडका करोड चन्दा बुझेर तिनैलाई सिध्याउने कुरामा अलिकति पनि दम छैन । रवीन्द्र मिश्रको मुख्य भनाइ “लामो समयदेखि कुशासनगर्दै आएको राजनीतिक संस्थाहरुलाई पराजित गर्नु हो” । ती राजनीतिक संस्थाहरु भनेको जन प्रतिनिधिहरुको निकाय हो ।

त्यसपछि कनिकाले देखी, एकातिर, समाजको रुपान्तरणको खोजीमा, रोजगारीको खोजीमा, समानताको खोजीमा, परिवर्तनको खोजीमा भौंतारिएर हिंडी रहेका सयौं युवा रवीन्द्र मिश्रको पछिपछि दगुर्दैछन् । राजनीति गर्दागर्दै बूढा भएका नेताहरु युवावर्गको बाटो छेकेर बसेका छन् । घूस नखाइ कलम नचल्ने कर्मचारीहरु लोकतान्त्रिक गणतन्त्रको उपहासमा लागेका छन् । नातावाद र फरियावादको जालोले देशलाई ढपक्क ढाकी रहेको बेला सुकुमार रवीन्द्र मिश्रहरु बाजारु सत्यको विक्री गर्दैछन् । उनीहरुसँग न सपना छ, न इमान छ । उनीहरुको सपना काँचले बनेको छ । त्यो काँच एकै प्रहारले फुट्छ । जातको दम्भ, शिक्षाको दम्भ, पैसाको दम्भ, विदेशी जागीरको दम्भ । उनीहरुले भनेजस्तै चमत्कारिक हिसावले समाज परिवर्तन हुने भए त भै हाल्थ्यो नि छू मन्तर कि वाचा । त्यस्तै हुन्थ्यो भने राजा ज्ञानेन्द्रले आफनै हातमा सत्ता लिएका थिए । राज्यको अपरिमित शक्तिका मालिक पनि उनी आफै थिए । उनी आफै आफूलाई चाहिएजस्तो परिवर्तन गर्न सक्षम भै हाल्थे । रवीन्द्र मिश्रहरुले उनको वारेस बोक्ने अवसर पाउने नै थिएनन् ।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। टेलिसिरियल शैलीमा लेखिएका गाथा अब हरेक हप्ता पहिलोपोस्टमा)



रवीन्द्रले पाएको प्रोक्सी अवसर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट