PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

​संविधानमा भूमिअधिकार माग



​संविधानमा भूमिअधिकार माग

काठमाडौं : विभिन्न जिल्लाका भूमिहीनका प्रतिनिधि संविधानमा भूमिअधिकार ग्यारेन्टी गर्न र संविधानमा आफ्ना हक सुनिश्चितका लागि दबाब दिन राजधानी आएका छन्।

राष्ट्रिय भूमिअधिकार मञ्चको अगुवाईमा राजधानी आएका भूमिहीन किसानका प्रतिनिधिले संविधानसभाका विभिन्न समितिका सभापति तथा सभासद्सँग भेट गर्नेछन्।

सप्तरीकी भूमिहीन तथा राष्ट्रिय भूमिअधिकार मञ्चकी उपाध्यक्ष गुलाबदेबी रामले भोट मागेदेखि सभासदहरु गाउँ नफर्किएको गुनासो गर्दै संविधानमा भूमिअधिकार सुनिश्चित गर्न काठमाडौं आएको बताइन्। 'भोट माग्ने बेलामा हाम्रा समस्या सल्ट्याउने भन्छन्। जितेपछि हराउँछन्। हाम्रा समस्या उस्तै', उनले भनिन्।

हरुवाचरुवा, ज्याला मजदुर, गाउँ ब्लक, गुठी तथा ऐलानी जग्गामा बस्न बाध्य आफूहरुलाई प्रशासनले पनि बेलाबेलामा दुःख दिने गरेको उनले बताइन्।

राष्ट्रिय भूमिअधिकार मञ्च, धनुषाका अध्यक्ष इच्छाराम परियारले आफ्ना पुर्खाले नै आफ्नो नाममा लालपुर्जा नदेखेको भन्दै आफ्नो जीवन पनि लालपुर्जा नदेखेर बित्ने चिन्ता लागेको बताए। 'समस्या समाधान होला भन्दा उल्टै प्रशासनले सुकुम्बासीका बस्ती जलाउँछ', उनले गुनासो गरे।

कैलालीबाट आएका मञ्चका केन्द्रीय सदस्य भुन्ते राजीले अधिकांश लोपोन्मुख समूदायहरु नेपालमा भूमिहीन रहेको बताए।  

चितवनबाट आएकी भूमिहीन तथा मञ्चकी केन्द्रीय सदस्य दमनकुमारी चेपाङले आफूहरुले धेरै पीडा सहन बाध्य भएपनि भूमिहीनका पीडा प्रचारमा आउन नसकेको बताइन्।

नयाँ बन्ने संविधानमा भूमिसुधारको ग्यारेन्टी गरी गरिब तथा भूमिहीनलाई गासबासको व्यवस्था गर्न दबाब दिन काठमाडौं आएको बताइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell