PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

​स्वर्गीय राजा वीरेन्द्रको सम्पत्तिमा क-कसको आँखा?



​स्वर्गीय राजा वीरेन्द्रको सम्पत्तिमा क-कसको आँखा?

काठमाडौं :  स्वर्गीय राजा वीरेन्द्र तथा उनका परिवारका नाममा रहेको चलअचल सम्पत्ति खोजबिन गर्न गठित नेपाल ट्रष्टले स्व. वीरेन्द्रको जग्गामा अतिक्रमणको खतरा बढेको जनाएको छ।

आइतवार ट्रष्टका संरक्षक समेत रहेका प्रधानमन्त्री सुशील कोइरालालाई बुझाइएको वार्षिक प्रतिवेदनमा 'ट्रष्टको जग्गामा धेरै पक्षबाट आँखा गाडिएको' उल्लेख छ।

'सार्वजनिक सम्पत्ति अतिक्रमण गर्ने प्रवृत्तिले गर्दा ट्रष्टको सम्पत्तिमा विभिन्न व्यक्ति र समूहको अतिक्रमण बढ्दा सम्पत्ति संरक्षणमा कठिनाई भएको छ', प्रधानमन्त्रीलाई बुझाइएको आर्थिक वर्ष २०६९/२०७० को प्रतिवेदनमा उल्लेख छ, 'पूर्व राजपरिवारको जग्गामा धेरै पक्षबाट आँखा गाडिएको छ।'

ट्रष्टको सम्पत्ति विभिन्न सरकारी, गैरसरकारी र विभिन्न संघसंस्था र समूहले निःशुल्क रुपमा माग गर्ने प्रवृत्तिले सम्पत्ति संरक्षणमा कठिनाई भएको र सम्पत्तिको उपयोग गरी आय आर्जन गर्न नसकिएको प्रतिवेदनमा जनाइएको छ।

स्वर्गीय राजपरिवारको नाममा रहेको चलअचल सम्पत्ति खोज्न गठित नेपाल ट्रष्टका प्रवक्ता प्रज्जवल शर्माले सरकारी तथा गैरसरकारी दुबै क्षेत्रबाट ट्रष्टको सम्पत्तिमा आँखा गडेको बताए। 'यहाँ कसैको निजी सम्पत्ति त अतिक्रमण हुन्छ भने यो त ट्रष्टका नाममा रहेको सम्पत्ति', शर्माले पहिलोपोस्टसँग भने, 'हामीले पाए हुन्थ्यो भन्ने लबिङ सबैको छ।'

एकातिर पूर्वराजपरिवारका नाममा रहेको सम्पत्ति आफ्नो नाममा ल्याउनै समस्या रहेको र अर्कोतिर ल्याइसकेपछि पनि त्यसलाई उचित प्रयोजनमा प्रयोग गर्ने चुनौति रहेको शर्माले बताए।  

काठमाडौंको छाउनीस्थित तत्कालीन राजाको नाममा रहेको घर जग्गा ट्रष्टको स्वामित्वमा आएपनि उक्त जग्गामा बनेको भवन तत्कालीन राजपरिवारका सदस्यले हालसम्म उपभोग गरिरहेकाले ट्रष्टको प्रयासका बावजुद पनि उपभोग र उपयोग गर्न बाँकी रहेको ट्रष्टले जनाएको छ।

तत्कालीन अधिराजकुमारी प्रेरणाले छाउनीस्थित नेपाल ट्रष्टको जग्गा कब्जा गरी हालसम्म पनि उपभोग गर्दै आएकी छन्। उनी पूर्वराजा ज्ञानेन्द्रका छोरी हुन्। ट्रष्टले चर्चेको भवन र जग्गा आफ्नो पेवा भएको दाबी उनले उक्त सम्पत्ति आफ्नो नाममा गरिदिन सरकारलाई लिखित आग्रह नै गरेकी थिइन्।

ट्रष्टको नाममा आइसके पनि उक्त जग्गा र भवन पूर्वराजा ज्ञानेन्द्रकी छोरी प्रेरणा र ज्वाइँ राजबहादुर सिंहले लामो समयदेखि कब्जा गरेर बसिरहेका छन्।

यस्तै तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा सरकारले नेपाल ट्रष्टको करोडौं मूल्य पर्ने राजधानीभित्रको १ सय ७५ रोपनीभन्दा बढी जग्गा कानुनविपरीत डेढ सयभन्दा बढी परिवारलाई बाँडेको समाचार सार्वजनिक भएको थियो।

विदेशमा सम्पत्ति रहेको पत्ता लागेन

स्वर्गीय राजपरिवारका सदस्यको विदेशमा रहेको भनिएको सम्पत्ति पनि ट्रष्टले पत्ता लगाउन सकेको छैन। 'नेपाल ट्रष्टको स्वामित्वमा आउनुपर्ने हालसम्म विदेशमा रहेको हुन सक्ने भनी ठानिएको कुनै पनि चल अचल सम्पत्ति पत्ता लाग्न सकेको छैन', प्रतिवेदनमा उल्लेख छ।

विदेशस्थित सम्भावित सम्पत्ति खोजविनको सिलसिलामा विदेशी सरकार र संस्थाबाट त्यहीँका विज्ञ राखी खोजी कार्य गर्न सुझाव प्राप्त भएपनि संस्थालाई आर्थिक र बढी पर्ने भएकोले काम रोकिएको ट्रष्टका प्रवक्ता शर्माले जानकारी दिए।

नेपाल ट्रष्ट र अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको सहयोगमा विदेशमा रहेको सम्पत्ति खोजबिन कार्यका लागि स्थायी प्रकृतिको कार्यदल गठन गरी परिचालन गर्न ट्रष्टले सरकारलाई सुझाएको छ।

के हो नेपाल ट्रष्ट?

नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५९ (४) ले 'राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको सम्पत्ति नेपाल सरकारको मातहतमा ल्याई ट्रष्ट बनाएर राष्ट्रहितमा प्रयोग गरिनेछ' भन्ने व्यवस्था गरेको छ। यही व्यवस्था अनुसार नेपाल ट्रष्ट स्थापना र सञ्चालन सम्बन्धमा व्यवस्था गर्ने अध्यादेश, २०६४ जारी भएपछि २०६४ साल मंसिर ६ गते नेपाल ट्रष्ट स्थापना भएको थियो।

ट्रष्टलाई राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको कानुन बमोजिम ट्रष्टलाई प्राप्त हुनु पर्ने सम्पत्ति नेपाल भित्र वा नेपाल बाहिर खोज तलास गर्ने र त्यसको वास्तविक स्थिति पत्ता लगाई यथार्थ विवरण सहितको अभिलेख राख्ने अधिकार छ। ट्रष्टले आफ्नो नाममा आएको सम्पत्ति कानुन बमोजिम राष्ट्रहितमा प्रयोग गर्न र आय आर्जन हुने कार्यमा लगानी गर्न वा गराउन सक्छ।

नेपाल ट्रष्ट ऐन ०६४ अनुसार गठित नेपाल ट्रष्टको संरक्षकमा प्रधानमन्त्री रहन्छन् भने ट्रष्ट सञ्चालक समितिको अध्यक्ष गृहमन्त्री रहने प्रावधान छ।

नेपाल ट्रष्ट कार्यालय अन्तर्गत चितवनको भरतपुर, मकवानपुरको हेटौँडा, कास्कीको पोखरा, नुवाकोटको थानसिङ तथा काठमाडौंको गोकर्णमा गरी पाँचवटा इकाइ कार्यालय सञ्चालित छन्।

ट्रष्टका हालसम्मका उपलब्धिः

जग्गाः
६२४४ रोपनी ७ आना १ पैसा ३ दाम।

चल सम्पत्तिः
आर्थिक वर्ष ०६८/०६९ सम्म १४ करोड ५५ लाख एक सय २० रुपैयाँ।
आर्थिक वर्ष ०६९/०७० मा २० करोड ५६ लाख ६८ हजार ८ सय ४१ रुपैयाँ।
आयआर्जनः ६ करोड एक लाख ६८ हजार ७ सय २० रुपैयाँ।

सेयरः
नविल बैंक लिमिटेडमा एक लाख ४४ हजार ४ सय ७२ कित्ता।
होटेल डेला अन्नपूर्णमा १५ हजार ३ सय ६० कित्ता।
नेपाल इन्ड्रस्ट्रियल डेभलपमेन्ट बैंकमा ६ हजार ७ सय ५० कित्ता।
कूल सेयरः एक लाख ६६ हजार ५ सय ८२ कित्ता।

स्थापनाको बखत ठूलो धनराशी संकलन हुने अनुमान रहेकोमा अपेक्षित रकम ट्रष्टको स्वामित्वमा संकलन हुन नसकेकोले उद्देश्य अनुरुपका कार्यक्रम सञ्चालन गर्न कठिनाई भएको ट्रष्टको वार्षिक प्रतिवेदनमा जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell