PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

इबोला: डरभन्दा तयारी जरुरी



इबोला: डरभन्दा तयारी जरुरी

- सतिस पाण्डे

  • गिनीमा इबोला देखिएको केही महिना भइसकेको थियो। सियरालिओनसँगको सीमा नजिक एक महिलाको मृत्यपश्चात् अन्तिम संस्कारमा सियरालिओनकी एक महिला पनि सरिक हुन पुगिन्। त्यसको केही दिनपछि ती सियरालिओनकी महिलालाई पनि इबोला भएको पुष्टि भयो।
  • जुलाइमा लाइबेरियामा काम गर्ने प्याट्रिक सयर आफ्नो बहिनीको मृत्युपछि बिरामी हुँदाहुँदै कन्फ्रेन्समा भाग लिने नाममा नाइजेरियातिर लागे। सयर प्लेन चढेदेखि नै बिरामी देखिन्थे। नाइजेरिया पुग्दा उनी सिकिस्त भए। उनलाई इबोला भएको पक्का भयो। सयर बिरामी हुँदा हेरचाह गर्ने कम्तिमा ८/९ जना समेतलाई इबोला भएको पुष्टि भयो।
  • गिनीका एक विद्यार्थी अध्ययनको बीचमै सेनेगल गए। बिरामी ती विद्यार्थीले उपचारको क्रममा आफ्नो स्वास्थ्यको पुर्ण विवरण स्वास्थ्यकर्मीसँग खुलाएनन्। पछि उनलाई पनि इबोला भएको पुष्टि भयो।
  • पश्चिम अफ्रिकाबाट पर डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा एक गर्भवति महिलाले आफ्नो पतिले ल्याएको जंगली जनावरलाई काटेर त्यसको मासु सेवन गरिन्। उनी यसपटकको कंगोमा देखिएको पहिलो इबोला संक्रमित व्यक्ति भइन्।  
विश्व स्वास्थ्य संगठन (WHO) ले प्रकाशित गरेको सबैभन्दा नयाँ तथ्याङ्क अनुसार हालको पश्चिमी अफ्रिकाको इबोला ‘आइटब्रेक’मा हालसम्म देखिएको इबोला ‘केस’ मध्ये करिब ४० प्रतिशत केसहरु विगतको २१ दिनमा मात्र देखा परेका छन्।

संसारमा चिकित्सा विज्ञानले गरेको प्रगतिका कारण क्यान्सर जस्तो एकाध रोगलाई छाडेर अरु धेरै रोग लाग्दा आफू  मरि नै हालिन्छ भन्ने डर मान्छेहरुमा धेरै कम भइसकेको छ। अझ बढी विकसित मुलुकहरुमा त यस्तो सोच झन् बलियो छ किनभने ती देशहरुको स्वास्थ्य सेवाले नयाँनयाँ प्रविधिको प्रयोगबाट व्यक्तिको ज्यान सजिलै बचाउन सक्छन्।

यस्तो वातावरणमा विश्वमा कुनै निवारण नभएको रोग देखापर्दा सर्वत्र त्यस्को चर्चा हुनु र मानिस त्रसित हुनु स्वभाविक हो। अहिले विश्वमा इबोला नामक भाइरसले त्यस्तै त्रास सिर्जना गरेको छ। ‘यसले त संक्रमण भएका ९० प्रतिशतसम्म व्यक्तिको ज्यान लिन्छ रे नि !’ भन्ने अभिव्यक्ति/प्रश्नहरु जताततै सुन्न र पढ्न पाइन्छ। तर हामीबाट निकै टाढा अफ्रिकाको ६ वटा देश (सियरालिओन, गिनी, लाइबेरिया, नाइजेरिया, सेनेगल र डेमोक्रेटिक रिपब्लिक अफ कंगो) मा मात्र देखा परेको इबोला भाइरस रोग (Ebola Virus Disease– इभिडी) बाट हामी नेपालमा बसेर भयभित हुने कि नहुने त?

यो प्रश्नको उत्तर त्यति सहज भने छैन। तर आम मानिसले बुझ्नेगरी भन्दा यो रोगको बारेमा सबैलाई थाहा हुनु राम्रो हुन्छ र हाम्रो स्वास्थ्य, सुरक्षा र अन्य सरोकारवाला क्षेत्रले सक्दो तयारी गरेको राम्रो हुन्छ। त्रासको वातावरण सिर्जना गर्नु भने गलत नै हुन्छ।

नेपालमा इबोलाको खतरा छ?
हामी उच्च चलायमान विश्वमा बसोबास गर्छौं। विज्ञानलाई थाहा भएका डरलाग्दा रोगमध्ये कतिपय रोग जनावरमै सिमीत हुने र जनावरबाट मानिसमा सरिहाले पनि संक्रमितले अरु मानिसलाई त्यो रोग सार्न नसक्ने हुन्छ। तर सिमीत रोग भने एक मानिसबाट अर्को मानिसमा सर्छन् र यस्ता रोग सहजै भौगोलिक सीमाभन्दा बाहिर पुग्न सक्छन्।

इबोला रोग डरलाग्दो हुनुमा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने क्षमता र यस रोगले सिर्जना गर्ने बिरामीको डरलाग्दो अवस्थाका कारण हो। यसबाहेक इबोला पत्ता लागेको बिरामीलाई लामो समय छुट्टै एकान्तमा राखिरहने भएकोले बिरामी सँधैं आफन्तबाट टाढा बस्नुपर्ने अवस्था सिर्जना हुन्छ। एकान्तपनको मनोवैज्ञानिक असरले पनि यो रोगलाई अझ डरलाग्दो बनाएको छ।

नेपालीहरु पनि उच्च दरमा विदेश आवतजावत गर्छन्। छिमेकी मुलुकबाट र विश्वका अन्य मुलुकबाट पनि निरन्तर रुपमा नेपाल घुम्न आउनेको संख्या उल्लेख्य छ। यस्तो अवस्थामा व्यक्तिबाट व्यक्तिमा सर्न सक्ने रोगदेखि हामी सशंकित हुनु स्वभाविक हो। तर इबोला ‘सार्स’ (SARS) र बर्डफ्लु जस्तो सजिलै हावाबाट सर्दैन। यो संक्रमितको शरिरबाट निस्कने तरल पदार्थ (जस्तै: थुक, आँशु, दिसा पिशाब, रगत) बाट सर्छ। रोगबाट बढी ग्रस्त भएकाको पसिनाबाट पनि यो रोग सर्न सक्ने भनिएको छ। इबोलाकै कारण मृत्यु भएको लाशबाट भने इबोला सर्नसक्ने खतरा झन् बढी छ।

इबोला भइसकेको व्यक्तिले त्यसका लक्षण देखिन थालेपछि मात्र सो रोग अर्को व्यक्तिमा सार्न सक्छ। इबोलाको लक्षण देखिएको व्यक्ति प्राय: अशक्त हुने र लामो दुरीको यात्रा सजिलै गर्न नसक्ने अवस्थामा हुन्छन्। यसले यो रोग हवाइजहाज वा जमिनको माध्यमबाट लामो यात्रा गर्ने व्यक्तिले धेरै टाढा रहेका मुलुकमा सजिलै लैजान सक्ने सम्भावनालाई केही हदसम्म कम गरेको छ।

नेपालको सन्दर्भमा अहिलेसम्म छिमेकी मुलुकमा यो रोग देखा नपरिसकेकोले छोटो दुरीको यात्रामा आउने व्यक्तिले यो रोग नेपाल भित्र्याइहाल्ने खतरा हाललाई कम देखिन्छ। तर छिमेकी मुलुकमा यो रोग देखा परेमा अवस्था परिवर्तन हुन सक्छ। इबोला संक्रमण भएको व्यक्ति लामो दुरीको यात्राबाट आइहाले पनि विमानस्थलमा व्यवस्था कडा भएको खण्डमा सो व्यक्तिको पहिचान गरि छुट्टै राखेर नियन्त्रण गर्न सकिन्छ।

यसको लागि विमानस्थलमा एअरलाइन्ससँगको समन्वय, तालिमप्राप्त व्यक्तिको सक्रियता र स्वास्थ्य, सुरक्षाका लागि खटाइएका व्यक्तिबीच तालमेल अत्यन्त जरुरी हुन्छ। कसैलाई इबोला लागेको शंका लागेको खण्डमा उसलाई तोकिएको अस्पतालसम्म सुरक्षित रुपमा लग्न र अस्पतालभित्र सम्पूर्ण स्वास्थ्यकर्मीको बचावटका लागि आवश्यक सुरक्षाविधि अपनाइ उपचार गर्न सकेको खण्डमा इबोला फैलनबाट रोक्न सकिन्छ।

साथै शंकास्पद व्यक्तिसँग यात्रा गर्ने वा उसँग नजिकको सम्पर्कमा आएका व्यक्तिको पहिचान गरी एक्काइस दिनसम्म छुट्टै राख्ने तथा अनुगमन गर्ने व्यवस्था मिलाउन सकिन्छ। पहिचान भएका व्यक्तिलाई तदारुकताका साथ व्यवस्थापन गरेको खण्डमा अन्य व्यक्तिमा यो रोग सर्नसक्ने खतरा कम हुन्छ।

नियन्त्रण वा व्यवस्थापन?
इबोला आफ्नो देशमा भित्रिएको खण्डमा यसलाई सजिलै नियन्त्रण गर्ने कुरामा विकसित मुलुकहरु विश्वस्त देखिन्छन्। पश्चिम अफ्रिकामा काम गर्ने क्रममा इबोला संक्रमण भएका दुई अमेरिकी र एक बेलायती नागरिकलाई अत्यन्त जटिल सुरक्षा व्यवस्था अपनाइ आ-आफ्नो देशमा लगेर उपचार गराएको कुराले पनि यसलाई पुष्टि गर्छ। साथै ती देशका स्वास्थ्य संस्थामा संक्रमण नियन्त्रण प्रणाली उच्चस्तरको रहने भएकोले उनीहरुले यसखालको रोगलाई सहजै नियन्त्रण गर्न सक्ने विचार विज्ञहरु राख्छन्।

नेपालजस्तो न्युन स्रोत र साधन भएको मुलुकमा भने विकसित देशमा रहेको जस्तो अवस्था छैन। इबोला संक्रमण देखिएको खण्डमा यसले हाम्रो स्वास्थ्य व्यवस्था प्रणालीलाई चुनौति भने पक्कै प्रदान गर्छ। काठमाडौंजस्तो उच्च जनसंख्या भएको र स्वास्थ्य संस्थाहरुमा नियमित भीडभाड हुने शहरमा इबोला भित्रिएको खण्डमा यसको व्यवस्थापन जटिल हुनसक्छ।

यसको लागि सम्पूर्ण स्वास्थ्य निकाय र खासगरी सरुवा रोग नियन्त्रण महाशाखाको भूमिका महत्वपूर्ण हुन्छ। सरकार पनि आपतकालीन निर्णयहरु तुरुन्तै गर्न तयार रहनुपर्छ। यसमा सरकारका अन्य निकाय, सुरक्षाकर्मी तथा सञ्चारजगतले पनि योगदान दिन सक्ने ठाउँ धेरै हुनसक्छन्। धेरै भीडभाड हुने क्षेत्र, सार्वजनिक यातायात, विद्यालय र अत्यावश्यक सामग्री वितरण प्रणाली व्यवस्थित गर्नु पर्ने हुन्छ।
यस्तो अवस्थामा सरकारी निकाय, संयुक्त राष्ट्रसंघीय संयन्त्र र दातृ निकायले हातेमालो गर्नु जरुरी छ। विगतमा बर्डफ्लु र स्वाइन फ्लुको संक्रमणको बेला नेपालले गरेको तयारीको पाठ इबोलाको लागि उपयोगी हुन्छ।

इबोला देखिएका देशबाट के सिक्ने?
सबैभन्दा पहिला त इबोलाका बारेमा जनतालाई पर्याप्त सूचना र जानकारी दिनु जरुरी छ, किनभने अहिले इबोला देखिएका मुलुकमा डर र त्रासले गर्दा इबोला नियन्त्रणमा लागिपरेका सरकारी, स्वयंसेवक तथा विदेशी स्वास्थ्यकर्मीको काम अझ जटिल बनेको छ।

इबोला देखिएका देशहरुमा जंगली जनावर खाने, एकअर्कासँग बढी घुलमिल हुने संस्कार तथा मृत्यु उप्रान्त गरिने काजक्रिया मार्फत संक्रमण बढेको देखिएको छ। इबोला फैलाउन सक्ने स्थानीय रितीरिवाज बुझेर त्यससम्बन्धि जनचेतना बढाउन सकिन्छ।

इबोलाको लक्षण मलेरिया, टाइफाइड जस्ता रोगको लक्षणसँग मिल्दोजुल्दो छ। संक्रमण देखिन थालेका सुरुका दिनमा स्वास्थ्यकर्मीमा सचेतना नहुँदा तिनै मलेरिया वा टाइफाइड रोगको उपचार गरेजस्तै नजिकको सम्पर्कमा रहँदा धेरै स्वास्थ्यकर्मी पनि संक्रमित भएका थिए। त्यसैले बेलैमा स्वास्थ्यकर्मीलाई यसबारेमा सचेत बनाउनु जरुरी छ।

लाइबेरियामा सरकारप्रति विश्वास कम भएकोले जनमानसले देशमा इबोला नै नभएको र सरकारले भ्रममात्र फैलाउन खोजेको आरोपले इबोला नियन्त्रण ठुलो समस्या उत्पन्न भएको देखियो। इबोला भएका देशमा भयभित जनताले आफ्नो परिवारका सदस्यमा इबोलाको लक्षण देखापरेपनि लुकाएर राख्ने प्रवृतिले उपचारमा ढिलाई भएर मृत्यु हुनेको संख्या बढ्यो र अन्य व्यक्तिमा पनि सर्‍यो। यसले गर्दा सरकारले विश्वसनीय रुपमा जनतालाई समयमै सही सुचना र जानकारी दिनु पर्छ।

स्वास्थ्यकर्मीहरुमा पनि इबोलाको संक्रमण बढ्दै जाँदा अन्य रोगका बिरामीहरु अस्पताल जाने क्रम घटन थालेको देखिन्छ। यसको प्रभावले मानिसहरुले अन्य रोगको उपचार पनि पाएका छैनन्। यसको प्रभाव न्युन गर्न इबोला संक्रमितलाई उपचार गर्ने अस्पतालको छुट्टै व्यवस्था गर्ने र त्यसबारे मानिसलाई सुसूचित गराउनु पर्ने आवश्यकता रहन्छ।

नियन्त्रणको आशा
विश्व स्वास्थ्य संगठनले हालसालै सार्वजनिक गरेको ‘रोडम्याप’मा अहिलेको इबोलाको अवस्थालाई ६ देखि ९ महिनामा नियन्त्रण गर्ने लक्ष्य राखिएको छ। विगतको दुई हप्तामा देखिएको इबोलाको अत्याधिक वृद्धिले यो लक्ष्य कठीन भएको देखाउँछ।

यस्तै विश्व स्वास्थ्य संगठनले प्रकाशित गरेको ‘सिचुएसन रिपोर्ट’ मा ३ हजार जतिमा संक्रमण भएको जनाएपनि करिब २० हजारजना सम्ममा यो संक्रमण हुनसक्ने अनुमान लगाइएको छ। पश्चिम अफ्रिकी चारवटा मुलुकमा सिमीत रहेको हालको इबोला ‘आउटब्रेक’ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (छुट्टै आउटब्रेक) र सेनेगलमा समेत देखिएकोले नियन्त्रणमा थप चुनौति सिर्जना भएको छ।

आशा गरौं, यसपटकको इबोलाको संक्रमण यी देशहरुमै सिमीत रहेर विश्व समुदायको मद्दतले सोचेकै समयावधिभित्र नियन्त्रणमा आउन सकोस्।

(नोट: लेखमा प्रयोग गरिएका सबै चार्ट र तथ्याङ्क विश्व स्वास्थ्य संगठनको २९ अगस्ट २०१४ को रिपोर्टबाट लिइएका हुन्)

-लेखक जनस्वास्थ्यको क्षेत्रमा कार्यरत छन्।

सम्बन्धित समाचार 
इबोलाका कारण विश्वभर स्वास्थ्य खतरा
इबोलाबाट जोगाउन सरकारको सक्रियता
​विदेशबाट आएकासँग हात नमिलाउन र अङ्कमाल नगर्न आग्रह



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell