PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मेरा प्रतिस्पर्धी कपास जस्तै छन्, के का हेभिवेट? : अनुराधा



पहिलोपोस्ट

मेरा प्रतिस्पर्धी कपास जस्तै छन्, के का हेभिवेट? : अनुराधा

काठमाडौं : अनुराधा थापा मगर भक्तपुर क्षेत्र नं २ बाट प्रतिनिधि सभाका लागि नेपाल मजदुर किसान पार्टी (नेमकिपा)की उम्मेदवार हुन्। पूर्वसांसदसमेत रहेकी मगर यतिबेला चुनावी प्रचारप्रसारका लागि घरदैलोमा व्यस्त छिन्। हक्की स्वभाव उनकी प्रतिस्पर्धीमा कांग्रेसबाट पूर्वसभामुख दमननाथ ढुंगाना र एमालेबाट पूर्वमन्त्री महेश बस्नेत रहेका छन्।

निर्वाचनमा यस क्षेत्रलाई कांग्रेस र एमालेबाट हेभिवेट उम्मेदवार मैदानमा उतारिनु र नेमकिपाबाट मगरले उम्मेदवारी दिनुलाई महत्वका साथ हेरिएको छ। यसै सन्दर्भमा पहिलोपोस्टका नेत्र तामाङले उनीसँग गरेको कुराकानी :

तपाईँले चुनाव जित्न के के बाँड्दै हुनुहुन्छ?

ठूला राजनीतिक दलका उम्मेदवार जनतालाई पहिले झैँ यो पटक पनि धोका दिँदैछन्। अरु पार्टीका उम्मेदवारले विकासका नाममा ठूला कुरा गर्दै क्षेत्र नम्बर एकका मतदातालाई विकासका सपना बाँडेका छन्। आफ्नो उम्मेदवारी कुन क्षेत्रबाट भन्ने सामान्य ज्ञान नभएकाहरु पनि उम्मेदवार छन्।


यो चुनाव विकासभन्दा पनि देशभरका जनतालार्इ निशुल्क शिक्षा, स्वास्थ्य र व्यवस्थित रोजगारका लागि नीति बनाउन हो। यो कुरा यहाँका मतदाताले बुझेका छन्। मतदाता झुठको पोकोमा विश्वास गर्दैनन्। हामीले केही बाँडेका छैनौँ। देशको नीति बदल्न समाजवादी बन्दोबस्ती मिलाउन जनताले हामीलाई छान्नेमा विश्वस्त छु।

जनताको चाहना विकास पनि हुन्छ नि हैन?

विकास त स्थानीय निकायले गर्ने हो। १२ कक्षासम्मको शिक्षा उपलब्ध गराउने अधिकार पनि स्थानीय निकायलाई नै छ। विकासका कुरा गर्ने हो भने यहाँका उम्मेदवारले १४ करोड सिंहदरबारबाट ल्याउँछन्। ४ करोड खर्चेर बाटो बनाउँछन्। बाँकी दम्पच। पिच गरेको सडक १४ दिनमै भत्किन्छ।

केही समय अगाडि एक जना उम्मेदवारले १ करोडको बजेट ल्याएछन्। वाम गठबन्धनका उम्मेदवार नै हुन्। उद्योगमन्त्री हुदाँ नै। काँक्रबारीको कुरा हो यो। ४४ लाख ठेकेदारलाई दिएछन्। ठेकेदारले कति खर्च गरे? अनि त्यस्तो बाटो कस्तो बन्ला?

त्यस्तै योजना हात पार्नका लागि आफू जित्न पैसा बाँडेर, विकास गर्छु भनेर मत किनिरहेका छन्। घर धितो राखेको छु भन्या छन्। ४८ लाख खर्च गर्छु भनेका छन्। यो अपराध हो। निर्वाचन आयोगले उल्लेखनीय भूमिका खेलेको छैन्। त्यस्ताको उम्मेदवारी मात्र हैन दल नै खारेज गर्नुपर्छ भन्ने हाम्रो माग हो। तर, त्यस्तै गठबन्धनमा छन्। उनीहरुकै हालीमुहाली छ।

धेरै पार्टीले गठबन्धन गरेका छन्। तर, तपाईँहरुले त गर्नु भएन नि?

पछिल्लो पटक बनेको यो संयन्त्र गठबन्धन होइन, ठगबन्धन हो। यी ठगबन्धन भारतको इच्छाअनुसार बनेको गठबन्धन मात्रै हो। हामी यसको विरोध गर्छौँ। भारतको इच्छाअनुसार संविधान संशोधन गर्न यो गठबन्धन बनेको हो। त्यसैले हामी एक्लै लड्दैछौँ। भारत परस्त दलले गर्दा नै देश परनिर्भर हुँदैछ। यसबाट देशलार्इ जोगाउन नेमकिपाले जोडदार खबरदारी गर्दै आएको छ, भोलि पनि निरन्तर रहनेछ।

कांग्रेसका उम्मेदवारले नेमकिपाले हामीलाई सहयोग गर्छन् भनिरहेका छन् नि?

एकदम गलत हो। हाम्रा मतदाता भड्काउन कांग्रेसले यसो भनेका हुन्। भारत परस्त बनाउने पार्टी नै कांग्रेस हो। यो रुढीवादी पार्टी हो। यस्तो प्रतिगामी पार्टीलाई साथ दिने कुरै भएन। हाम्रो पार्टीले कसैलाई सहयोग गर्दैन। मैले अघि नै भने हामी एक्लै लड्दैछौँ। सैद्धान्तिक तथा वैचारिक रुपमा।

तपाईँले पटकपटक भारतीय दलाल र गुन्डालाई परास्त गर्न आफ्नो उम्मेदवारी हो भन्नुभयो। कांग्रेस र एमालेका उम्मेदवारलाई यस्तो आरोप लगाउनुभएको हो?

यो कुरा त जगजाहेर नै छ नि। एमालेका उम्मेदवारले गुन्डागर्दी गरेकै हुन्। कांग्रेसका उम्मेदवारले वीरगंज पुगेर नाकाबन्दी कडा गर्नु भनेर भनेकै हुन्। रेकर्ड नै छ। नाकाबन्दी हुँदा हामीले दबाव दिएपछि बल्ल भारतले नाकाबन्दी फिर्ता लिए। भारतीय दबदबा रोक्न हामीले सदनमा पहिलोपटक आवाज उठाएको हौँ।

नाकाबन्दी विरुद्ध लागेको त एमाले हैन र उनीहरु पनि यही एजेन्डा बोकेर चुनावी मैदानमा छन् ?

नाकाबन्दी विरुद्ध उठेको जस एमालले लिदैँ जनतामाथि भ्रम छरेका छन्। संसदमा नाकाबन्दी विरुद्ध नारा लगाउने नेमकिपा हो। त्यसपछि अन्तराष्ट्रियकरण भयो। सरकारले त यो खुलेर नाकाबन्दी हो भन्नै  सकेको थिएन। यो त नेमकिपाले संसदमा बोलेर लैनचौर घेरेर फिर्ता लिएको हो भारतले। अहिले जनतासामु केपी ओलीले भ्रम छरेका हुन्। नाकाबन्दी अथवा भारतीय विस्तारवाद विरुद्ध लागेको एक मात्र पार्टी भनेकै नेमकिपा हो।

नाकाबन्दी त सकिसक्यो, भारत विरुद्ध नारा बनाउनुभएको रहेछ यही नाराबाट मत आउँला?

संसदमा हामीले भारतको प्रत्यक्ष दबाव देख्यौँ। संविधान जारी नगर्न दबाव दिएकै थियो। जब जारी भयो तब भारतले नाकाबन्दी गर्‍यो। के हामीले भारतको हस्ताक्षेप स्विकार्ने त? हामी आफ्नो देशलाई सिक्किमीकरण हुन दिदैनौँ। यो कुरा जनताले बुझेका छन्। थप जनतालाई बुझाउन, सचेत बनाउन यस आवाजलाई बुलन्द पार्नैपर्छ।

भारत, अमेरिकाजस्ता प्रजातान्त्रिक मुलुक विरुद्ध उठेर उत्तर कोरियाजस्तो निरंकुश देशको शासन व्यवस्था ल्याउने योजना हो तपार्इँहरुको?

उत्तर कोरिया समाजवादी देश हो। त्यहाँ ६ महिनामा विकासका उलटपुलट गरेको उदाहरण छ। शिक्षा, स्वास्थ्य निशुल्क छ। रोजगारी पाएकै छन्। खै हाम्रोमा? हाम्रो एउटा सडक बनाउन वर्षौ लाग्छ। रोजगारी समस्याले युवाहरु खाडीमा जानुपरेको छ। कम्युनिस्ट देशका उदाहरणमा ठूलो देश भए चीन, सानोमा क्युबा, उत्तर कोरिया छन्। कस्तो सम्पन्न भएका छन्।

आज अमेरिकाजस्तो देशका विरुद्ध उत्तर कोरियाले धावा बोल्न सक्छ। समाजवादी देश आत्मनिर्भर हुन्छ। अमेरिका जो प्रजातन्त्रको ठेकेदार भन्छ। साम्राज्यवादी नीति लिएको छ। भारतले विस्तारवादी नीति लिएको छ। के हामीले यस्ता देशको उदाहरण लिनु। अब जनता सचेत भइसकेका छन्। जनताले बुझेर मत दिनेछन्।

हेभिवेटसँग भिडन्तमा हुनुहुन्छ, कडा टक्कर पर्ने भो है?

के का हेभिवेट? को हेभिवेट? उनीहरु कपासजस्तै हुन्। हल्का... हामीसँग प्रतिस्पर्धा गर्न लायक उनीहरु छन् भन्ने लाग्दैछ। देशको स्वाधिनता विरोधी काम गर्ने चुनावी दौडमा छन्। भ्रष्टचारी छन्। भूकम्पका बेला सरकारमा हुँदा १०/२० लाख ल्याउने, जनतालाई १०/२० हजार बाँड्ने। लाखौँ आफ्नो खल्तीमा हाल्ने यस्ता त उम्मेदवार छन्। ४ अर्ब ल्याए रे। सरकारमा बसेर एनजिओको पैसा ल्याए। खै कसको घर बन्यो? राजनीतिमा गुन्डागर्दी गर्ने, भ्रष्टचार गर्ने र नाकाबन्दी गर्न उक्साउने हामीसँग प्रतिस्पर्धी हुन सक्दैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell