PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मलाई अवतरण गराउने राज्यको जिम्मेवारी हो : रेशम चौधरी



बीपी साह

मलाई अवतरण गराउने राज्यको जिम्मेवारी हो : रेशम चौधरी

थरुहट आन्दोलनको नेतृत्व गर्दै आएका रेशम चौधरी टीकापुर घटनापछि भूमिगत जीवन बिताउँदै आएका छन्। प्रहरीले टिकापुर घटनाको मुख्य अभियुक्त बनाएर चौधरीलाई सर्वाधिक खोजीको सूचीमा राखेको छ। अञ्चल प्रहरी प्रमुखसहित प्रहरीको हत्यामा उनीमाथि आरोप लागेको छ। घटनापछि टीकापुरमा थारु समुदाय घरबाट बाहिर निस्कन समेत नसक्ने अवस्था बन्यो। थारुका बस्ती बस्तीमा आक्रमण भए। अहिलेको निर्वाचनमा 'फरार' रेशम चौधरीको जितको जग त्यही घटनाले खनेको थियो। भूमिगत अवस्थाबाटै उनी भर्खरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा सहभागी भए। अत्याधिक मत ल्याउन सफल पनि भए। 

टीकापुर बजारसहितको कैलाली क्षेत्र नम्बर एकबाट चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी वाम गठबन्धनकी मदन कुमारी शाहीले जम्मा १३ हजार ४ सय ६ मत। चौधरी विजयी भए पनि जितको प्रमाणपत्र पाएका छैनन्। निर्वाचन कार्यालयले उनलाई प्रमाणपत्र उपलब्ध गराएको छैन। उनले पत्नीलाई वारेस तोकेका छन्। वारेस तोकेरै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रदीप गिरिजस्ता नेताले जितको प्रमाणपत्र बुझिसके। यिनै सन्दर्भमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सचिव समेत रहेका रेशम चौधरीसँग गरिएको कुराकानीको अंश :

यति धेरै मतान्तरले तपाईँले चुनाव जित्नुको कारण के हो?

मलाई जिताउन थारु र पहाडी दुवै समुदायको भूमिका छ। मलाई दुवै समुदायले मत दिएका कारण मतअन्तर यति ठूलो भएको हो। यस क्षेत्रमा थारु समुदायले नेतृत्व खोज्दै थियो भने पहाडी समुदायले सद्भाव खोज्दै थियो। जसकारण दुवै समुदायले मन परेर मलाई जिताए। 

तपाईँमाथि आतंककारीको आरोप लगाएर तपाईँको घर सम्पति पनि जलाए। तर भोट कसरी दिए? 

समग्र पहाडी समुदायले मलाई आतंककारी भनेको होइन। भन्दा पनि भन्दैन। त्यस समुदायभित्रका केही व्यक्तिले भने भनेकै हुन्। तोडफोड र आगजनीमा उत्रेका पनि हुन्। त्यसकारण म व्यक्तिको पछाडि लाग्दिन। केही व्यक्तिले क्षति गरेका हुन्। यसमा सम्पूर्ण समुदायलाई नै दोषी मान्नु र सोच्नु पनि गलत हो। 

जे भने पनि थारु जातिकै भोटले तपाईँलाई जिताएको त हो नि?

मलाई थारु समुदायबाट अत्याधिक मत आएको सत्य हो। थारु बाहुल्य गाउँहरुबाट शतप्रतिशत मत आएको छ। केही स्थानमा त गैर थारु पोलिङ एजेण्टहरुले पनि मलाई नै मत दिएका छन्। मलाई मुख्य रुपमा जिताउने थारु नै हुन् तर पहाडी मत पनि राम्रो परेको छ। 

चुनाव जित्नुभयो, प्रमाणपत्र समेत पाउनु भएको छैन। तपाईँको संसदमा अवतरण कसरी होला?

मैले प्रतिनिधि सभाको निर्वाचनमा जित हासिल गरिसकेपछि म नेपालको माननीय भएँ। मलाई कसरी सुरक्षित अवतरण गराउने भन्ने जिम्मेवारी अब नेपाल सरकारको हो। मैले नियम कानुन मान्दै आएको छु। निर्वाचन पनि नेपालकै कानुअनुसार लडेँ र जित पनि कानुनअनुसार नै हासिल गरेको हो।

तपाईँ कहिले बाहिर निस्कनुहुन्छ अनि समातौला भनेर प्रहरी परिचालन भएको छ त?

प्रहरीले खोजेको मलाई थाहा छैन। मैले पनि समाजिक सञ्जालबाटै यो कुरा थाहा पाएको हो। 

यति धेरै मतान्तरले जित हासिल गर्नुभयो। जितको प्रमाणपत्र दिन रोक्नुपर्ने कारण के हो त त्यसोभए?

निर्वाचन कार्यालयले प्रमाणपत्रको बखेडा खोजेर मलाई दबाउन खोजेको छ। त्यो निर्वाचन कार्यालयको आनाकानी हो। म प्राविधिक कारणले त्यहाँ पुग्न सकेको छैन। मैले वारेसनामा दिएर श्रीमतीलाई पठाएको छु। तर, पनि प्रमाणपत्र दिइएको छैन। अरु नेताहरुलाई वारेसमार्फत् प्रमाणपत्र दिने तर मलाई हेपेको जस्तो लाग्यो। निर्वाचन कार्यालयले मतगणनामा पनि हाम्रो पक्षलाई दबाउने प्रयास गरेको थियो। हाम्रो करिब ५ हजार मतलाई बदर गराइएको छ। झिनो मतान्तर भएको भए मलाई निश्चिय नै हराइने थियो। तर, मतान्तरको पहाड देखेपछि कसैको केही चलेन।

तपाईँले चुनाव जित्नुभयो। तर धेरै ठाउँमा थारु नेताहरु पछि नै परे। मधेश–थरुहट आन्दोलनको गति अब के होला?

मधेश थरुहट आन्दोलन तीब्र रुपमा अगाडि बढ्नेछ। थारुहरुबाट त्यसबेला प्रतिनिधित्व थिएन। भएको पनि काम लाग्ने खालका थिएन। अब म आफैँ सदनमा हुनेछु। सदनमा जोडतोडले आवाज उठाउँनेछु। म मधेश थरुहटकै लागि लड्ने हो शिर झुकाएर मन्त्री बन्ने खालको मानिस होइन। अरु थारु नेता र ममा धेरै फरक छ।

त्यसो भए अब आन्दोलन कस्तो होला त?

अब आन्दोलनको स्वरुप परिवर्तन गर्नुपर्छ। सदन र सडक संघर्ष गर्नुपर्छ। टीकापुर घटनाको आरोपमा पक्राउ परेकाहरुको पनि सुरक्षित अवतरण गराउनुपर्छ। त्यो जिम्मेवारी मसहित मेरो पार्टीको हो। त्यसतर्फ पनि मेरो ध्यान जानेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell