PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

नयाँ कांग्रेस बनाउन भत्काऔं थोत्रो संरचना : धनराज गुरुङको टिप्स



पहिलोपोस्ट

नयाँ कांग्रेस बनाउन भत्काऔं थोत्रो संरचना : धनराज गुरुङको टिप्स

  • धनराज गुरुङ -
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा कांग्रेसले अपेक्षा गरेअनुसारको जनमत पाएन। आशातीत जनमत आफ्नो पक्षमा  आएन भनेर कांग्रेस नेतृत्व आत्तिहाल्नुपर्ने अवस्था भने छैन। 

निर्वाचन परिणाम कमजोर कांग्रेसको गल्तीबाटै भएको हो। गल्तीहरुबाट पाठ सिकिन्छ। कांग्रेसको लागि यो अवसर हो। इतिहासले अवसरको रुपमा दिएको छ। हार व्यहोरे पनि यसबाट पाठ सिक्नुपर्छ। अवसरका रुपमा बदल्दै अघि बढ्नुपर्छ। 

अहिले पार्टीलाई सुदृढ कसरी बनाउने? पार्टी कसरी बलियो बनाउने? पार्टीलाई नयाँ कसरी बनाउने? भन्ने बहसको विषय बनेको छ। अब यो बहस मात्र हैन। कार्यन्वयनकै विषय बनिसकेको छ। 


थोत्रो संरचना भत्काऔं

२०१५ सालमा ३७ प्रतिशत पपुलर मत पाएको कांग्रेसले अहिले ३३ प्रतिशत मात्र मत पाएको छ। चार प्रतिशत पपुलर मत घटेको यहाँबाट देखिन्छ। अहिलेको समयमा कांग्रेसको मत त बढ्नुपर्ने हो। त्यतिबेला वामपन्थीहरुको १७ प्रतिशत मात्र मत थियो। अहिले ५० प्रतिशतभन्दा बढेको छ। तर हामी बढ्न सकेनौ। हामी बढ्न नसक्दा अरु बढेर गएको अवस्था छ।

कांग्रेसको जनमत खस्कनु भनेको पार्टीले रुपान्तरण खोजिरहेको छ भन्ने कुरा बुझ्नु जरुरी छ। यसलाई हामीले सघन रुपमा बुझ्नुपर्छ। अमुल परिवर्तन गरेर लानुपर्ने अवस्था आएको छ। हामीले पार्टीलाई करेस्मेटिक ढंगले सञ्चालन गर्न सकेनौ। अब अगाडि बढाउनुपर्छ। पार्टी सञ्चालनमा हाम्रो त्रुटीहरु भएका छन्। सघन छलफल गर्दै आत्माआलोचना गर्दै अघि बढ्नुपर्छ। 

पहिले त संरचना परिवर्तन गर्नुपर्यो। अहिलेको संरचना थोत्रो भइसक्यो। गाँउपालिका बनिसक्यो। नगरपालिका बनिसक्यो। तर पार्टीभित्र त गाविसकै संरचनामा छ। ३३० प्रदेश भइसक्यो। यो अनुसारको केही संरचना छैन। सात प्रदेश बनेको छ। पुरानो २४० क्षेत्र त गइसक्यो। १६५ निर्वाचन क्षेत्रमा आइसक्यो। सोही क्षेत्र र प्रदेश बमोजिम लैजान पर्छ संरचना। यसरी पुरानै संरचनाअनुसार चलेर हुदैन। यसरी चलेको कारण फल त हामीले यसपाली पायौं।

विशेष महाधिवेशन संघीय संरचनामा जानकै लागि पानि चाहिन्छ। नेतृत्वमा को आउछ भन्ने त महाधिवेशनले रोज्ने विषय हो। नेतृत्वप्रति इर्श्या र रिस होइन, नेतृत्व त पुन:स्थापना पनि हुनसक्छ। काम नलाग्ने पुरानै संरचना बोके त पार्टी झनै कमजोर हुदै जान्छ। 


थोत्रो सोच त्यागौं

पछिल्लो समय पार्टीमा युवालाई नेतृत्व दिनुपर्छ भन्ने कुरा आएको छ। नेतृत्वमा युवाको हस्तक्षेप भन्ने शब्द त राम्रो होइन। पार्टी त सबैको हो। एकआपसमा द्वन्द्व चर्काउने कुरा गर्नुहुदैन। पार्टी शुद्धीकरणको कुरा हो। युवालाई नेतृत्व हस्तान्तर गर्नुपर्छ भन्ने कुरा आइरहदाँ नयाँ पुस्ताले आन्दोलन नै गर्न थाले भनेर बुझ्न थाले। यहाँ त सबै पुस्ता जोडिएका छन्। 

युवा भनेको सोचमा हुन्छ। पुनर्ताजगी गराउने खालको सोच हुनुपर्यो। उमेरका हिसाबले युवा हुँदैन। नेतृत्व भनेको लोकप्रिय कुरा ल्याउन सक्नपर्यो। मुर्तिजस्तोमात्र भएर हुँदैन। 

नेतृत्व शैली कलात्मक हुनुपर्यो। जसलाई मान्छेले फलो गरोस। नेतामा कला चाहियो। नेता भनेपछि कार्यकर्ताले मनपराउने खालको चाहियो। जनता नै परपर भाग्ने खालको हुनुभएन। कलाकारिता देखाउन सक्नुपर्छ। दृष्टिकोणको कुरा रहन्छ नेतृत्वमा। उमेरले यसलाई छेक्दैन।
भिजनलेस नेतासँग मिसन हुँदैन, मिसनलेस नेतासँग कमिटमेन्ट हुँदैन। त्यसकारण कमिटमेन्टसहितको नेता चाहियो। यसको खोजी आजको आवश्यकता हो। पुस्तान्तरणको कुरा यहीबाट सुरु हुन्छ।


लोककल्याणकारी नीति 

कांग्रेसले लोकप्रिय नीति ल्याउन धेरै पर जानै पर्दैन। नेपाली कांग्रेस बीपी कोइरालाले स्थापित गरेको पार्टी हो। २०१६ सालमा लिएको नीति लिइरहेको हेर्दा कांग्रेस लोककल्याणकारी राज्यको पक्षमा उभिएको जस्तै देखिन्छ। तर पार्टीको नेतृत्वको कार्यशैली हेर्ने हो भने बीपीवाद त पार्टीले बिर्सदै गएको देखिन्छ। सरकारमा पुग्दा पनि यो पालना हुन सकेन। पटकपटक सरकारमा पुग्दा पटकपटक मन्त्री भएका व्यवहारले यस्तो देखिन्छ। नेताहरु मन्त्री हुदाँ बीपी मार्गदर्शनलाई भुल्नुहुन्छ। सरकारबाट बाहिरिएपछि बीपीको मार्गदर्शनलाई सम्झनुहुन्छ।

मन्त्रीबाट बाहिरिएपछि ब्याख्या। बीपीले भनेको कुरा सम्झाउने तर आफू चाहि केही नगर्ने खालका नेताका कारण पनि यस्तै भएको हो। एकजनाको मात्र गल्ती छ भन्ने छैन। धेरैले गल्ती गरेका छन्।  यसको दोष हामी सबैले लिनुपर्छ। पार्टीलाई रिभाइभ गर्न सबैले आफूले गरेको गल्ती स्वीकार्दै सच्याउनुपर्छ।

रणनीति, कार्यदिशा नयाँ बनाउनुपर्छ। विगतका गल्ती कमीकमजोरीलाई सच्याउदै अघि बढ्नपर्छ। यसबाट पाठ सिकेर अघि बढ्नुपर्छ।
थोत्रो कार्यशैली परिवर्तन गर्नुपर्छ।

अहिले पार्टीमा मात्र हैन भातृ संगठनमा भद्रगोल छ। पार्टीका भातृ संगठनका नेताहरु कुनै कार्यक्रम भयो भने बोल्न पाउँ भन्दै निवेदन दिन्छन्। बोल्न पाएनन् भने निहुँ खोज्छन्। अनि हात बाँधेर बस्छन्। 

भातृ संगठनमा विभिन्न विवाद आउनु नेतृत्व दाबी गर्नेहरुकै कमजोरी हो। भातृ संगठन पार्टीको नेतृत्वको आदेश पर्खेर मात्र बसे। कुनै संगठनले काम गरेको छैन। यसकारण भातृ संगठनमा पनि पुरै परिवर्तन आउनुपर्छ। 

विद्यार्थी संगठनले काम गरेन। नेविसंघ त स्कुलस्कुलमा जानुपर्ने हो। महिला संघ त्यस्तै देखिन्छ। गाउँगाउँमा जानुपर्ने हो महिला संघ। त्यो पनि छैन। तरुणले पनि काम गरेन। उनीहरु स्वतन्त्र रुपले चल्ने वातावरण बनाउनुपर्छ। स्वतन्त्र रुपले चल्नुपर्छ। संगठनले पूर्ण रुप पाएन अनि काम गर्ने वातावरण भएन भनेर भातृ संगठनका साथीहरु चुप लागेर बसेका छन्। 

पहिले काम गरेपछि पो यसले काम गर्दो रहेछ। यसलाई जिम्मेवारी दिउँ भन्ने हुन्छ। काम कसैले नगर्ने अनि कसरी जिम्मेवारी दिने? यो निर्वाचन हारमा पार्टीको 'विङ'ले काम नगरेका कारण पनि परिणाम खस्केको हो।


थोत्रो मानसिकता परिवर्तन

अहिले नेतृत्व परिवर्तन गर्नुपर्छ भनेर साथीहरु एक्लैले भनेर हुदैन। महाधिवेशन प्रतिनिधिले चाहेमा नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनमात्र ठुलो कुरा होइन। 

नेतृत्वमा मात्र हैन समग्रमा परिवर्तनको कुरा हुनुपर्छ। पटकपटक मन्त्री हुने र पार्टीका केन्द्रीय समितिमा भएका हामी सबै चोखा बन्न भएन। केही न केहीमा सबै चुकेका छन्। पानीमाथिको ओभानो कोही हुनुभएन। म आफै पनि हुन्न। कमजोरीहरु प्रशस्तै छन्। 


बीपी भजाउन बन्द गर्नुपर्छ

कांग्रेसका नेताहरुले बीपी कोइरालालाई भजाउने काम मात्र गरे। बीपीको मार्गदर्शनलाई ठीक ढंगबाट कार्यन्वयन गरेको भए आजको अवस्था नै आउदैन थियो। 'उहाँले यस्तो गर्नुभएको थियो, यस्तो गर्नुहुन्थ्यो' भन्ने कुरा व्याख्या गर्ने, अरुलाई सुनाउने तर आफू चाहि केही नगर्नेहरुकै कारण यस्तो भएको हो। अबका दिनमा बीपीको लोककल्याणकारी नीतिलाई अंगालेर नयाँ परिस्थितिअनुसारको अपडेटेड कांग्रेस बन्नुपर्छ। नयाँ वादको खाँचो छैन।


टिकट वितरण न्यायोचित हुनुपर्छ  

हरेक निर्वाचनमा कांग्रेसले व्यहोर्दै आएको अनि समीक्षा गर्दै आएको विषय भनेको टिकट वितरण हो। टिकट वितरणमा गल्ती भएकै हो। समीक्षा गर्दै आत्माआलोचना हुनुपर्छ। परम्परागत शैलीबाट पार्टी चल्दैन। ठुला दुइटा पार्टी मिल्दा पनि हामी दोस्रो भयौ। तर यसमै रमाउने पार्टी त होइन कांग्रेस। म पनि रमाउने मान्छे हैन। 

कांग्रेसको मत घटेको एउटा कारण टिकट वितरण पनि हो। टिकट वितरणमा नलायकीपन भएकै हो। अवैधानिक ढंगले टिकट दिए। पार्टीमा अन्तरघातका कुराहरु पनि छन्। यस्ता विकृति रोक्न पार्टी संयन्त्र बन्नुपर्छ। अन्तर्घात गर्नेलाई प्रोत्साहन गर्ने काम बन्द गरिनुपर्छ।  

अन्त्यमा: हाम्रो अभियान नयाँ कांग्रेस बनाउने हो। यो अभियान पदका लागि चलाएको हैन। सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस भन्ने हाम्रो घोषित नीति नै हो। त्यसैले सबै पुस्तालाई जोडेर हामी अघि बढ्नुपर्छ। यसरी दुई पार्टी एकजूट भएपनि ५० प्रतिशत पुर्याउनुपर्छ कांग्रेसले।
गुरुङ कांग्रेस केन्द्रीय सदस्य हुन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell