PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​सर्वपक्षीय राजनीतिक सभा गर्न प्रमुख दल तयार



​सर्वपक्षीय राजनीतिक सभा गर्न प्रमुख दल तयार
बालुवाटारमा भएको मुख्य दलको बैठक। तस्बिरः रासस

मनोज सत्याल/ पहिलोपोस्ट
काठमाडौं : प्रमुख राजनीतिक दलहरु सर्वपक्षीय राजनीतिक सभा गर्न सहमत भएका छन्।

नेकपा-माओवादीको माग वमोजिम सर्वपक्षीय राजनीतिक सभालाई संविधान निर्माणमा उपयोगी हुने गरी प्रयोग गर्न सत्तारुढ दलसँगै प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादी तयार भएको हो।

मंगलबार बालुवाटारमा नेकपा-माओवादीसँग भएको छलफलपछि प्रमुख तीन दलले छुट्टै बैठक गरी सर्वपक्षीय सभालाई संविधान निर्माणमा उपयोगी हुने गरी प्रयोग गर्ने सहमति गरेका हुन्।

बैठकपछि संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिका सभापति समेत रहेका डा. बाबुराम भट्टराईले तीनै दलले सर्वपक्षीय राजनैतिक सभाको मागलाई सकरात्मक ढंगले ग्रहण गर्ने निर्णय गरेको बताए। 

'उहाँहरु संविधान निर्माण प्रक्रियामा सहभागी बन्ने सकरात्मक संकेत देखा परेको छ', भट्टराईले भने, 'त्यसलाई हामीले ग्रहण गर्दै उहाँहरुले माग गर्नु भएको राष्ट्रिय राजनीतिक सभा गर्न हामी सकरात्मक छौँ।' भट्टराईले राजनीतिक सभाको 'मोडालिटी' (स्वरुप) र समयबारे भने आउँदो १९ गते थप छलफल गरेर तय गरिने बताए।

संविधानसभा वहिष्कार गरेको नेकपा-माओवादी समेत संविधानसभाको अन्तर्वस्तुमा छलफल गरेर सहभागी बन्ने विषयलाई दलहरुले सकरात्मक रुपमा लिएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। 

'राजनीतिक सभालाई परिणाममुखी बनाउने विषयमा प्रमुख नेताहरुले गम्भीर गृहकार्य गर्ने सहमति भएको छ', श्रेष्ठले भने, 'सर्वपक्षीय राजनीतिक सभा ठोस रुपमा कसरी आयोजना गर्ने, के गरी गर्ने भन्ने जस्ता विषयमा गम्भीर गृहकार्य गर्ने भन्ने भएको छ।'

नेकपा-माओवादीका सचिव देव गुरुङले राजनीतिक सभा गठनको विषयमा सैद्धान्तिक रुपमा दलहरु पहिले नै सहमत भएपनि तीन दलले टुंगो लगाउनु पर्ने विषय भएको बताए। तीन दल भित्र सभाबारे फरक फरक धारणा रहेकोले १९ गते थप छलफल गर्न प्रस्ताव आएको गुरुङले बताए।

'संविधान लेनदेन हुन नसकेर अड्किएको विषय हो। राजनीतिक विषयमा लेनदेन हुन नसकेर अड्किएको कारणले गर्दा त्यस्ता विषयमा लेनदेन हुन जरुरी छ', गुरुङले भने, 'त्यसैले लेनदेनका लागि उपयुक्त माध्यम भनेकै सर्वपक्षीय सभा हो। संविधानका अन्तरवस्तुमा लेनदेन हुनुपर्छ भन्ने हाम्रो प्रस्तावना हो।'

सभाका विषयमा सहमत भैसकेपछि प्रक्रियाको विषय तपसिलको विषय भएको उनले बताए। सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा मार्फत संविधान निर्माण र अन्य राजनीतिक विषयमा आफ्ना विचार राख्नका निमित्त नेकपा-माओवादीबाट प्रस्ताव आएको काँग्रेस प्रवक्ता दीलेन्द्र बडुले बताए। 

'यदि यो प्रक्रियाबाट उहाँहरु समेतको सहभागिता र सल्लाहले संविधानसभामा सहभागिता पाउँछ भने यो सकरात्मक कुरा हो', बडुले भने। राजनीतिक सभा र नेकपा-माओवादीसँगको छलफलका कारण संविधान निर्माणको कार्यतालिकामा असर नपर्ने बडुको दाबी गरे।

नेकपा-माओवादीले गत जेठको २६ गते सरकार समक्ष राजनीतिक सभा गर्न प्रस्ताव गरेको थियो। प्रमुख राजनीतिक दलहरुको तर्फबाट राजनीतिक सभा आयोजना गर्ने र सरकारले  त्यसको व्यवस्थापन गर्ने उसको प्रस्ताव छ।

मंगलबारको बैठकमा सत्तारुढ कांग्रेस, एमालेसँगै राप्रपा र नेकपा मालेका नेता पनि सहभागी थिए।
 
नेकपा माओवादीले गएको जेठ २६ गते पेश गरेको ८ बुँदे यस्तो छः 


सर्वपक्षीय सभाबारे
१. नाम :  सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा
२. क्षेत्राधिकार : दलहरुबीचमा विगतमा भएका सहमतिहरुको कार्यान्वयन र जनताको संविधान निर्माणलगायत राष्ट्रिय राजनीतिक विषयहरुमा दलहरुबीच राष्ट्रिय राजनीतिक सहमति कायम गर्ने।
३. आयोजक : तत्काल नेपाली कांग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र नेकपा–माओवादीबीच आपसी सहमतिबाट आयोजना गर्ने।
४. व्यवस्थापन : नेपाल सरकारले गर्ने।
५. सहभागिता : संविधानसभा–२ मा भएका दलहरु र ३३ दलीय मोर्चामा रहेका दलहरु रहने।
६. कार्यसूची : आयोजक ४ दलले आपसी सहमतिबाट कार्यसूची तय गरी प्रस्ताव गर्ने।
७. निर्णयप्रक्रिया : सहभागी सबै दलहरुबीच सहमतीय प्रणालीबाट निर्णय गर्ने।
८. निर्णय कार्यान्वयन : संविधान निर्माणसम्बन्धी निर्णयहरु सर्वपक्षीय राष्ट्रिय राजनीतिक सभा स्वयम्ले गर्नेछ। राज्यका अन्य निकायहरुमार्फत् कार्यान्वयन गरिनुपर्ने निर्णयहरुको सम्बन्धमा सम्बन्धित निकायहरुको जिम्मेवारी रहेका राजनीतिक दलहरुले गर्ने।
मिति :२०७१ जेठ २६ गते
नेकपा–माओवादी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell