PahiloPost

Sep 30, 2024 | १४ असोज २०८१

नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू, प्रशिक्षक र कप्तान भन्छन 'लक्ष्य शीर्ष दुई'



गोविन्दराज नेपाल

नेपाली क्रिकेटको भविष्य जोडिएको डिभिजन टू, प्रशिक्षक र कप्तान भन्छन 'लक्ष्य शीर्ष  दुई'

काठमाडौं: मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको पोजेटिभिटी मान्ने हो भने नेपाली आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) डिभिजन टू'को शीर्ष दुई स्थानमा रहन्छ।

नेपाल टप टू'मा रहेर वान डे वर्ल्ड कपको क्वालिफायरमा छनोट हुनुपर्छ र हुन्छ भन्ने उनीहरुको तर्क पनि हो।

आइसीसी वर्ल्ड क्रिकेट लिग (डब्लुसिएल) च्याम्पियनसिप डिभिजन टू अर्को महिना नामिवियामा सुरु हुँदैछ र त्यसका लागि नेपालले मंगबारदेखि क्याम्पमा रहेर तयारी सुरु गरिसकेको छ।

वान डे वर्ल्ड कप क्रिकेट खेल्ने नेपालको एकमात्र सम्भावित बाटोको रुपमा रहेको डिभिजन टू'मा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन्। शीर्ष दुई स्थानमा रहने टोली मार्चमा जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायर्का लागि छनोट हुनेछ।

जहाँ वान डे र्‍याङकिङको नवौँदेखि १२औँ स्थानसम्म रहेका चार राष्ट्र समेत हुनेछन्।

 

प्रतियोगिताको महत्व

प्रशिक्षक टमाटा र कप्तान खड्काले डिभिजन टू नेपालको लागि महत्वपूर्ण प्रतियोगिता भएको बताएका छन्। टमाटाले डिभिजन टू नेपाली क्रिकेटको लागि धेरै महत्वपूर्ण प्रतियोगिता भएको बताएका छन्। 'सबैलाई थाहा छ नेपालको लागि यो टुर्नामेन्टको महत्व कति छ भनेर। त्यसैले हामी बेस्ट २१ जना खेलाडी लिएर तयारीमा जुटेका छौँ।'

प्रशिक्षक टमाटाले यो समय यस्तो र उस्तो भन्ने भन्दा पनि राम्रो क्रिकेट खेल्ने समय रहेको बताए। ‘यो अरु कुरा सोच्ने समय होइन। हामी आफूले राम्रो क्रिकेट खेल्नुपर्छ। आफ्नो क्रिकेट खेल्ने हो। बोर्डमा राम्रो स्कोर गर्नैपर्छ २६०/२७० रन बोर्ड बनाउनैपर्छ’ टमाटाले भने ‘डिभिजन टू खेल्ने विपक्षीसँग उनी सजग समेत छन् तर लक्ष्य टप टु नै रहेको बताउँछन्। ‘सबै टिम राम्रो छन् यो राम्रो उ नराम्रो भन्न मिल्दैन। हाम्रो टोटल फोकस भनेको टप टू नै हो।’

यस्तै पारसले पनि यो प्रतियोगिताको महत्व कति छ भनेर सबैले बुझेको बताए। ‘अहिले हामी नामिवियाको कन्डिसनअनुसार हामीले कसरी बेस्ट प्रिपेरेसन गर्न सक्छौँ भनेर धेरै फास्ट बलरहरुलाई बोलाएका छौँ र उनीहरुलाई नै फोकस गरेर खेल्न प्राथमिकता दिनेछौँ' खड्काले भने ‘हामीले डब्लुसिएल खेलेर आयौँ। त्यहाँ कति म्याच क्लोज भए। हामीले अझै राम्रो गर्न सकिन्थ्यो तर पर्याप्त भएन। अहिले हामी डिभिजन टू मा झरेका छौँ। अब डब्लुसिएलको त्यही अनुभव प्रयोग गरेर अगाडी बढ्नेछौँ।’

‘अब हामीसँग एक्सक्युज दिने कुनै बाटो छैन। नेपाली क्रिकेटको लागि आगामी दिनमा अगाडि बढ्नको लागि 'वि ह्याभ टु विन' डिभिजन टू को ग्रयाभिटी बुझेर नै हामी अहिलेदेखि नै प्रेसर फिल गरिरहेको छौँ। प्रतियोगिताको लागि प्रेसर छैन भन्न मिल्दैन। त्यो प्रेसर फिल गरिरहेका छौँ। कसरी ह्यान्डिल गर्ने भनेर नै फोकस भइरहेका छौँ’ खड्काले भने।

 

बेस्ट २१ खेलाडी

प्रशिक्षक टमाटाको भनाई मान्ने हो भने अहिले क्याम्पमा नेपालकै २१ बेस्ट खेलाडी छन्। ‘अहिले हामीले बेस्ट खेलाडी छानेका छौँ। अब त्यसबाट पनि बेस्टभन्दा बेस्ट १४ खेलाडी छनोट गर्ने हो।’ टमाटाले छनोट भएका खेलाडीबारे भने ‘अब हामी यहाँ प्राक्टिस म्याचहरु खेल्छौँ। सबैले आफूले आफूलाई प्रुभ गर्नुपर्छ। अनी हामी त्यसबाट बेस्ट १४ छान्छौँ। अब यसबाट कसरी ब्यालेनस्ड टिम बनाउने भन्ने हो।’

उनले प्रारम्भिक सूचीमै नपरेका विनोद भण्डारी र सागर पुन पनि नराम्रो खेलाडी नभएको तर प्रदर्शन अहिले राम्रो नरहेको स्वीकारे। ‘विनोद र सागर जो आउट भए। उनीहरुलाई पनि म नराम्रो खेलाडी भन्दिनँ। उनीहरुले विगतमा राम्रो प्रदर्शन गरेका छन्। कति म्याच जिताएका छन्। तर पछिल्लो समय उनीहरुको प्रदर्शन नराम्रो भएको हो। कुनै दिन आउँछ, जब बेस्ट प्लेअरको पनि ब्याड डे लाग्छ। ट्रिपल सेन्चुरी हान्ने खेलाडी समेत टिममा नपरेको विश्व क्रिकेटमा उदाहरण छ। उनीहरुलाई रिप्लेस गरेका नयाँ खेलाडीहरु पनि आफूलाई प्रुभ गरेरै आएका छन्।’

 

युवा खेलाडीको बाहुल्य

क्याम्पमा रहेका २१ खेलाडीमध्ये युवा खेलाडीको बाहुल्य रहेको छ। सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीसँगै यू-१९ राष्ट्रिय टोलीका ७ खेलाडी पहिलो सूचीमा छन्। यस्तै आरिफ शेख, ललित भण्डारी, दीलिप नाथ, सुनिल धमला, सिद्दान्त लोहनी सुशन भारी, दीपेश श्रेष्ठ जस्तै खेलाडी पनि युवा समूहबाटै आएका हुन्।

सिनियर खेलाडी ५ जनामात्र छन्। सोमपाल कामी र करण केसी उमेर समूह नखेली राष्ट्रिय टोलीमा परेका हुन्। सोमपालले यू-१९ नेशनल च्याम्पियनसिप मात्र खेलेका छन्।

यू-१९ का चार खेलाडी राष्ट्रिय टोलीको क्याम्पमा नयाँ हुन्। आफूमा भएको क्षमता देखाएर राम्रो प्रदर्शन गरेर नै यी खेलाडीहरु यहाँसम्म आइपुगेको प्रशिक्षक र कप्तानको भनाई छ। युवा खेलाडीबारे टमाटा भन्छन् ‘ब्याटिङमा नयाँ खेलाडीहरु छन्। उनीहरु क्षमता देखाएरै आएका छन्। यू-१९ र डोमेस्टिक लेभलमा पनि राम्रो गरेका छन्। आफूलाई प्रुभ गरेर नै यहाँसम्म आएका छन्। अब क्याम्पमा कसरी अगाडि बढ्छन् त्यो हेरेर टिम सेलेक्सन हुन्छ।’

यस्तै पारस खड्का यसपटक नेपाली टिम योङ रहेको बताउँछन्। ‘आफ्नो पोटेन्सिएल देखाएर नै युवा खेलाडीहरु यहाँ सम्म आका छन्। महत्वपूर्ण कुरा के हो भने उनीहरुले विगतका दिनमा आफ्नो क्षमतालाई प्रुभ समेत गरेका छन्। त्यसैले गर्दा हामीले प्लेअरको फर्म हेरेर उनीहरुको पोटेन्सियल हेरेर नै छानेका छौँ’ खड्काले भने।

 

ओपनिङ र विकेटकिपिङ

नेपालको सबैभन्दा समस्याको रुपमा रहेको विषय हो ओपनिङ। डब्लुसिएलको सातै चरणको खेलमा नेपालले ओपनिङ जोडी परिवर्तन गरेको थियो। तर कुनै जोडीले पनि राम्रो गरेनन्। डब्लुसिएलबाटै सिनियर टोलीमा डेब्यु गरेका सुनिल धमलाले फेरि पुनरागमन गरेका छन् भने युएईसँग डब्लुसिएलमा डेब्यु गरेका दीलिप नाथ पनि छन्। यस्तोमा नेपालसँग ज्ञानेन्द्र मल्ल, धमला र नाथ गरी ३ ओपनर छन्।

‘सुनिलले कमब्याक गरेका छन्। हामीसँग ज्ञानु अलरेडी छ। दीलिप पनि छ। जसले राम्रो गर्छ उही टीममा पर्ने हो। यी तीनमध्ये दुईले ओपनिङ गर्छन्।’

ओपनर दीलिप नाथ मात्र अहिले क्याम्पमा रहेका सोल विकेट किपर हुन्। उनले गत वर्ष बंगलादेशमा भएको इमर्जिङ टिम्स कपमा डेब्यु गर्दै नेपालको लागि विकेटकिपिङ सम्हालीसकेका छन्। महेश क्षेत्री, सुवास खकुरेल, राजु रिजाल, विनोद भण्डारी, आसिफ शेख जस्ता विकेटकिपरहरु क्याम्पमा नपरेका कारण दीलिपले ओपनिङ र विकेटकिपिङ दुवै भूमिका पाउने सम्भावना छ। तर उनले नै विकेटकिपिङ गर्ने पक्का नरहेको टमाटाको भनाई छ। ‘हामीसँग ज्ञानु र अनिल पनि पार्ट टाइमर विकेटकिपरको रुपमा छन्। अहिले नै दीलिपले गर्छ भन्ने पक्का छैन। अब कसले राम्रो गर्छ उसैले चान्स पाउँछ।’

 

विदेश टुर

नेपालले डिभिजन टू खेल्नुअघि तयारीका लागि जम्मा एक महिनाको मात्र समय पाएको छ। यही समयमा नेपालले सबै खालका तयारी गर्नु पर्ने बाध्यता छ। जनवरी २५ सम्म नेपालमै तयारी गर्ने र त्यसपछि तयारीका लागि बाहिर जाने विषयमा छलफल भइरहेको प्रशिक्षक जगत टमाटाले जानकारी दिए। 'हामी जनवरी २५ सम्म यहाँ तयारी गर्छौँ। त्यसपछि हामीसँग दुईवटा अप्सन छ। दक्षिण अफ्रिका वा दुबई टुर जानका लागि आइसीसीलाई पत्र पठाएका छौँ। अप्रुभल हुन बाँकी छ। अब उताबाट अप्रुभल आएपछि थाहा हुन्छ।' टमाटाले भने। 'कम्तीमा पनि बाहिर गएर ३/४ वटा म्याच खेल्ने हाम्रो प्लान छ।'

टमाटाले भने, 'हामी अझै दुई साता यही तयारी गर्नेछौँ। हामी तयारीका लागि टिम बनाएर चार म्याच खेल्नेछौँ। २७०/२८० को टार्गेट राखेर। त्यसपछि अन्तिम टोली छनोट गर्नेछौँ चार ब्याकअफ सहित।'

कप्तान पारसले अर्को साता सम्मा विदेश भ्रमणको टुङ्गो लाग्ने जानकारी दिए।

 

नेपाली क्रिकेटको भविष्य

अहिले नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान आइसीसीको निलम्वनमा छ। तर पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइरहेको छ। आइसीसीको रोहबरमा। अनी इपीएल जस्तव डोमेस्टिक टुर्नामेन्ट पनि यही सफलताका साथ सम्पन्न भयो। नेपालले दुई वर्ष डब्लुसिएल च्याम्पियनसिप पनि खेल्यो। त्यसमै टप ४ मा रहेको भए डिभिजन टु खेल्नु पर्दैनथ्यो। सिधै वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट हुन्थ्यो। तर अहिलेको परिस्थिति फरक छ। नेपालले त्यहाँ पुग्ने हो भने डिभिजन टू को शीर्ष २ मा रहनै पर्छ। नत्र तेस्रो चौथो वा बटम २ मा रहे नेपालको क्रिकेट धेरै तल धकेलिने छ। कप्तान पारस खड्काले टू बाहेक अरु केही नसोचेको बताए। ‘हामीले दुई पटक डिभिजन ४ दुई पटक डिभिजन ३ खेलिसकेका छौँ। अब हामी त्यहाँ जान चाहन्नौँ।’

यस्तै प्रशिक्षक टमाटाले पनि अहिले डिभिजन टू को टप टू बाहेक अरु नसोचेको बताए। ‘तल झर्ने त हामीले सोचेका पनि छैनौँ। अब पछि कन्डिसन के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। हामीले बेस्ट क्रिकेट खेल्ने हो। डेढ दशक खेलेका खेलाडीहरु छन्। नयाँले पनि २/३ वर्ष क्रिकेट खेलिसके। उनीहरुलाई पनि थाहा छ नेपाल क्वालिफाइ हुनुपर्छ भन्ने।’

कप्तान पारस डिभिजन ५ देखि १ सम्म संघर्ष गर्दै पुगेका कारण तल झर्ने नसोचेको बताउँछन्। ‘हामी सबैलाई थाहा छ की त्यहाँ आइपुग्न कति गाह्रो छ भनेर। त्यसैले गर्दा तल झर्दा माथि आउन कति गाह्रो हुन्छ भनेर सबैले बुझेका छौँ। हामीले दुई पटक डिभिजन ४ र दुई पटक डिभिजन ३ खेलेर आइसकेका छौँ। अब हामी त्यसैलाई फेरि दोहोर्‍याउन चाहन्नौँ’ खड्काले भने ‘आगामी दिनमा यो लेभलमा यदी राम्रो क्रिकेट खेलेर अगाडि बढ्नु छ भने माथिल्लो डिभिजनमा हुनै पर्छ। त्यसैले गर्दा अहिलेको लागि प्रतियोगिता जितेर आउने वा टप टू मा पर्ने नै हो।’

 

दोस्रो पटक डिभिजन टू

नेपालले आइसीसीको डिभिजन टू प्रतियोगिता खेल्न लागेको यो दोस्रो पटक हो। र संयोगवस दुवै पटक नेपालले खेल्ने स्थान एकै हुनेछ। सन् २०१५ मा नेपालले नामिसवियामा पहिलोपटक डिभिजन टू खेलेको थियो र २ वर्षपछि सोही स्थानमा खेल्न जाँदैछ। ‘हामीले यसअघि पनि नामिवियामा डिभिजन टू खलेका थियौँ त्यहाँको कन्डिसन अनुसार नै तयारी गर्दैछौँ।’ कप्तान पारसले भने।

२०१३ मै डिभिजन थ्री को च्याम्पियन बनेको नेपाल डिभिजन टू का लागि छनोट भएको थियो। तर त्यतिबेला नेपालले डिभिजन टू खेल्नुपर्ने र डिभिजन थ्री को च्याम्पियन हैसियतमा सन् २०१४ मा न्यूजिल्याण्डमा भएको वान डे वर्ल्डकप क्वालिफायर खेलेको थियो। तर उक्त प्रतियोगितामा बिर्सनलायक प्रदर्शन गर्दै नौ स्थानमा सकाएपछि नेपाल पुन डिभिजन थ्री मै झरेको थियो। २०१४ मै भएको डिभिजन थ्री जितेर नेपालले फेरी २०१५ मा डिभिजन टु मा स्थान बनाएको थियो। 

 

डिभिजन टू को लागि के छ नेपालको तयारी? यस्तो छ प्रशिक्षक टमाटाको भनाई

 

हामी फेरी तल झर्न चाहन्नौँ : पारस खड्का



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell