PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मार्क जुकरबर्गको त्यस्तो स्टायटस जसले एकै दिन २५ अर्ब डलर घाटा पार्‍यो



मार्क जुकरबर्गको त्यस्तो स्टायटस जसले एकै दिन २५ अर्ब डलर घाटा पार्‍यो

फेसबुकका संस्थापक मार्क जुकरबर्गले बिहीबार आफ्नो फेसबुकमा एउटा लामो स्टायटस पोस्ट गरे। 

भोलिपल्ट जब अमेरिकाको सेयर बजार खुल्यो, त्यही स्टायटसको प्रभावका कारण फेसबुकको सेयर भाउ निरन्तर ओरालो लाग्दै गयो। लगानीकर्ताहरुले झण्डै २५ अर्ब अमेरिकी डलर गुमाए। शुक्रबार बजार बन्द हुँदासम्म फेसबुकको सेयर ४.२ प्रतिशत अङ्क घटेको थियो। 
के थियो त त्यो स्टायटस जसले फेसबुकलाई यति ठूलो असर पार्‍यो?

उनले चानचुने कुरा लेखेका थिएनन्, अर्बौँको प्रयोगकर्ता रहेको फेसबुकमा आउने महत्त्वपूर्ण परिवर्तनको घोषणा थियो त्यो। उनले लेखेका थिए- फेसबुकको न्युजफिडमा अब मिडिया कम्पनीका न्युज हुने छैनन्। तपाईँका साथीभाइ र परिवारको पोस्टलाई प्राथमिकता दिइनेछ। 

फेसबुकमा हुन लागेको यो ठूलो परिवर्तन हो। यसले मिडिया कम्पनीका पोस्टहरु र विज्ञापन गरिएका पोस्टहरुलाई प्रयोगकर्ताको न्युजफिडमा देखाएर ठूलो कमाइ गरिरहेको कम्पनीको आयमा कस्तो असर पार्छ भन्ने अन्यौल रहेका कारण सेयर ओरालो लागेको थियो। 

बिजनेस इन्साइडरका अनुसार फेसबुकले पछि आफ्ना मिडिया पार्टनरहरुलाई एउटा इमेल पठाउँदै गर्न लागिएको परिवर्तन बारे विस्तृत जानकारी दिएको थियो। त्यसमा दिइएको जानकारी अनुसार उनीहरुको फेसबुक पेजमा अर्गानिक रिच कम हुनसक्छ तर कुनै पोस्टहरुले ‘अर्थपूर्ण संवाद’ थालेका छन् भने त्यसमा कुनै असर पर्ने छैन। सँगसँगै क्लिक पाउनका लागि रकम तिरेर पोस्ट बुस्ट गर्न अब सम्भव नहुने जानकारी पनि दिइएको छ। 

फेसबुक किन यस्तो घोषणा गर्न बाध्य भयो त?

धेरैले याद गरेको विषय हो- फेसबुकमा साथीभाइ र परिवारका सदस्यहरुभन्दा पनि पब्लिक पोस्टहरुको बाढी लागेको छ। यसले प्रयोगकर्ताहरुमा बिस्तारै वितृष्णा बढाउँदै दीर्घकालमा कम्पनीलाई गम्भीर असर पर्ने विश्लेषण भएपछि आफ्नै कमाइलाई जोखिममा पारेर पनि जुकरबर्गले यस्तो निर्णय गर्नुपरेको हो। 

अमेरिकी राष्ट्रपतिको चुनावमा फेक न्युजले पारेको असर बारे अहिलेसम्म मिडिया पण्डितहरु विश्लेषण गरिरहेका छन्। नेपालमा पनि सिएमआर नेपालले गरेको एउटा अनुसन्धानमा एउटा फेक समाचारको जस्तो देखिने हेडलाइनलाई हजारौँ प्रयोगकर्ताले सेयर गरेको देखिएको थियो, त्यसभित्र के लेखिएको छ पढ्दै नपढी। विश्वभर यस्तो प्रवृत्ति बढ्दो थियो र यसका कारण कम्पनीको आलोचना पनि बढ्दै थियो। 

तत्काल घाटा भए पनि दीर्घकालमा यसले कम्पनीलाई फाइदै गर्ने विश्लेषण विज्ञहरुले गरेका छन्। 

क्वार्टजमा पाउल स्मालेराले त यसलाई ड्रग डिलरको पुरानो ट्याक्टिकसँग तुलना गरेका छन्। उनको विश्लेषण छ- ड्रग डिलरले ओभरडोज दिन थाल्यो भने मृत्यु हुने भएकोले बरु डोज घटाउँदै लग्ने गर्छ। फेसबुकबाट दिक्क भएकाहरु पनि छाडेर गए भने फर्कन गाह्रो हुन्छ। त्यसैले डोज घटाएर त्यसैमा रहेर रमाउने वातावरण बनाउन जुकरवर्गले यो प्रयास गरेका हुन्। 

त्यसो भए अब फेसबुकमा के परिवर्तन हुनेछ त ?

जुकरबर्गले लेखेका छन्- यो परिवर्तन रोल आउट गर्दै गएपछि तपाईँले बिजनेसहरु, ब्रान्डहरु र मिडियाका पब्लिक कन्टेन्टहरु कम देख्न पाउनु हुनेछ। र तपाईँले देख्नुहुने पब्लिक कन्टेन्ट स्टायन्डर्डको हुनेछ, यसले मानिसहरु बीच अर्थपूर्ण संवादलाई बढावा दिनेछ। 


त्यसो भए के अब तपाईँले फेसबुकमा ‘भगवान शिवलाई एक लाइक गर्नुस्’ लेखिएका विज्ञापन र ‘आइफोन १० उपहार पाउन यो पोस्ट सेयर गर्नुस्’ लेखिएका पोस्टहरु देख्नुहुने छैन त?

हेर्न बाँकी छ। 

तर तपाईँले पहिलोपोस्टको फेसबुक पेज लाइक गर्नुभएको छ भने यस्ता समाचार तपाईँले फेसबुकमा देख्न पाउनु हुने छैन। यदि तपाईँको कुनै साथी वा आफन्तले फेसबुकमा सेयर गरेका रहेछन् वा कमेन्ट गरेका रहेछन् भने मात्रै तपाईँको फेसबुकको न्युजफिडमा त्यो देखिनेछ। यसले लाखौँ लाइक भएका र लाइकका लागि सयौँ डलर खर्च गरेका फेसबुक पेजहरु पनि प्रभावित हुने पक्का छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell