PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाँदरबाट काठमाडौंमा महामारीको खतरा



बाँदरबाट काठमाडौंमा महामारीको खतरा
बाँदरलाई मुखबाट खानेकुरा खुवाउँदै पशुपतिनाथ मन्दिरमा एक साधु। तस्बिरः latimes.com

काठमाडौं : सन् १९७६ मा पहिलोपटक अफ्रिकी मुलुक कंगोमा देखिएको इबोला संक्रमणबाट यतिबेला फेरी धेरै मानिस आतंकित छन्। कंगोमा बाँदर तथा चिम्पान्जी जस्ता जनावर इबोला संक्रमणबाट मरेको र मृत बाँदर तथा चिम्पाञ्जी 'क्लियर' गर्नेक्रममा मानिसमा इबोला भाइरस संक्रमण भएको अनुसन्धानले पुष्टि गरेको थियो।

सन् १९९५ मा फैलिएको इबोला भाइरस डिजिजबाट कंगोमा करिब दुई सय ४५ जनाको मृत्यु भयो। कंगोकै छिमेकी मुलुक युगान्डामा सन् २००८ को फेब्रुवरीमा एक सय ४९ जना संक्रमित मध्ये ३७ जनाले ज्यान गुमाए।

सुरुमा बाँदर तथा चिम्पान्जी लगायतबाट फैलिएको इबोला संक्रमणले नाइजेरिया, गिनी, सेयरालियोन, लाइबेरियामा महामारीको रुप लिएको छ। गिनी, सेयरालियोन र लाइबेरियामामात्र पछिल्ला २१ दिनमा १०१ जनाको मृत्यु भएको छ। इबोला त बाँदरबाट फैलिन सक्ने रोगको एउटा उदाहरणमात्र हो। जनावरविद् प्रा. डा. मुकेश चालिसे भन्छन्- 'मानिसलाई लाग्ने जति पनि रोग बाँदरबाट सर्न सक्छन्।'

उसोभए के राजधानी काठमाडौं बाँदरबाट लाग्न सक्ने रोगको संक्रमणबाट सुरक्षित छ? डा. चालिसेका अनुसार बाँदरका कारण काठमाडौंमा विभिन्न रोगको महामारी फैलिने खतरा छ।

कसरी फैलिन्छ बाँदरबाट महामारी?

सरकारले समयमा ध्यान नदिए काठमाडौंका पशुपतिनाथ, थापाथली र स्वम्भूनाथ आसपासको क्षेत्रमा महामारीको खतरा बढेको छ। 'बेलामा सचेत नहुने हो भने राजधानीमै बाँदरको महामारी फैलिने निश्चित छ', डा. चालिसे भन्छन्।

पशुपतिनाथ मन्दिरमा करिब साढे चार सय हाराहारीमा बाँदर छन्। चालिसेका अनुसार बाँदरको जन्मदर र मृत्युदर लगभग बराबर छ। प्राकृतिक खानाको कमी, बासस्थान अभाव र तयारी खानेकुराका कारण यी क्षेत्रका बाँदरमा मातृ तथा शिशु मृत्युदर बढिरहेको छ।

बितेका ३५ वर्षदेखि पशुपति वनकाली क्षेत्रका बाँदरको संख्या तीन सय ५० देखि चार सय मात्र रहेको चालिसेले जानकारी दिए। 'जन्मदर र मृत्युदरको बराबरी हुनुको कारण बाँदर रोगी हुनुपनि हो। खासगरी पशुपतिनाथ मन्दिर आसपासका बाँदर स्वस्थ छैनन्। उनीहरुमा कुनै न कुनै प्रकारको संक्रमण छ।'

यस क्षेत्रमा २० ओटादेखि एक सयसम्म मात्र बाँदर बस्न सक्ने भएपनि साढे चार सयको हाराहारीमा बाँदर रहेकाले मृत्युदर बढिरहेको चालिसे बताउँछन्। बाँदर बिरामी हुनमा मानिस नै जिम्मेवार भएको उनको तर्क छ। 'मानिसले दिने तयारी खानाका कारण उमेर नपुग्दै बाँदरको शरीर बच्चा पाउन तयार हुन्छ', 'जंगली खानेकुरा भन्दा धेरै मानिसले दिने खानेकुरा खाँदा बाँदरमा रोगहरु देखा पर्छन्।' थापाथली क्षेत्रका बाँदरको अवस्था पनि उस्तै छ।

स्वास्थ्यको हिसाबले जनावरलाई पनि निश्चित मापदण्डका खानेकुरा मात्र दिन मिल्छ तर पशुपतिमा सबै प्रकारका खानेकुरा दिने गरिन्छ। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनले पछिल्लो समय भने खाना व्यवस्थित गर्न थालिएको बताउँछन्।

'पछिल्लो समय पशुपतिनाथ मन्दिरको पश्चिमपट्टी स्वस्थ ठाउँमा बाँदरलाई खाना दिने प्रबन्ध मिलाएका छौँ', टण्डनले भने, 'तर भक्तजनलाई भने खाने कुरा दिने कुरामा बलजफ्ती गर्न सकिएको छैन।' पशुपति परिसरमा विभिन्न सूचना र होर्डिङबोर्ड मार्फत जनावरलाई खाने कुरा नदिन सचेत गराइएको उनले बताए। टण्डनले भारतका धार्मिक क्षेत्र र धाममा भन्दा पशुपतिनाथका बाँदर स्वस्थ रहेको दाबी गरे।


तस्बिरः trailingtrekker.wordpress.com
तर जनावरविद् चालिसे काठमाडौं क्षेत्रका बाँदरको स्वास्थ्य अवस्थाबारे भरपर्दो अनुसन्धान नै नभएको बताउँछन्। 'व्यक्तिगत अनुसन्धानको कुरा एउटा भयो तर हामी कतिपटक बाँदरबाट मानिसमा रोग सर्ने खतरा छ, अनुसन्धान गरौँ, सचेतना अपनाउँ भन्दै सरकारलाई अनुरोध गरिरहेका छौँ', उनले भने, 'कसैलाई यसबारे चासो नै छैन। गम्भीर विषयलाई हाँसेर उडाउने चलन छ।'

सरकारी निकायसँग समेत बाँदरका बारेमा आधिकारिक तथ्याकं छैन। सरकारी निकायपनि डा. चालिसेकै अध्ययनमा निर्भर छ। वन तथा भुसंरक्षण मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद आचार्य बाँदरका विषयमा चालिसे विज्ञ रहेको भन्दै पन्छिन खोजे। 'यो विषयमा त बाँदरविद् चालिसे नै विज्ञ हो। उहाँलाई सोध्नुभए बेश होला', उनले भने, 'अन्य कुरा राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रहरुले हेर्छन्।'

थापाथली क्षेत्रका बाँदरले आसपासका अस्पतालसम्म पुगेर अस्पतालको फोहरमा खेल्ने र मानिसको खानेकुरामा पुग्ने भएकाले मानिसमा रोगको संक्रमण बढेको चालिसेको भनाई छ।

बाँदरहरु ब्लुक्रस अस्पताल, आँखा अस्पताल, प्रसूतिगृह, नर्भिक अस्पताल लगायतका अस्पताल भित्रै पुग्ने गरेका छन्। 'एकातिर बाँदरहरु फोहोरमा खेल्छन् त अर्कोतिर मानिसका खाद्यसमग्री र भान्छासम्म पुग्छन्', डा. चालिसे भन्छन्, 'काठमाडौंमा कुनैपनि बेला महामारी फैलिनसक्छ।'

उनले सन् २००६ मा पशुपतिमा गरेको अध्ययनले विभिन्न रोगको संक्रमणमा परेका तीर्थालुबाट बाँदरमा रोग सर्ने क्रम बढेको देखाएको थियो। क्षयरोग, झाडापखला, पेटका जुका, ठेउला, दादुरा र छाला रोग बाँदरमा भेटिएको थियो। पछि यिनै रोग पुनः मानिसमा फैलिने खतरा हुन्छ।

पशुपति र थापाथलीमा फालिने फोहर, खुला मलमुत्र लगायतका कारण बाँदरमा संक्रमण हुन्छ र बाँदरबाट मानिसमा सर्छ। बाँदरमा कुनै रोग देखिनेबित्तिकै त्यो मानिसमा सर्न सक्ने सम्भावना हुन्छ।

आक्रामक हुँदैछन् बाँदर

जनावरविद् चालिसेका अनुसार रुखका बोक्रा, पात, जडिबुटी खाने बाँदरले हिजोआज जुस, आइसक्रिम, चाउचाउ, बिस्टकुट, पाउरोटी जस्ता तयारी खानेकुरा खाने गरेका छन्। यस्ता तयारी खानेकुरामा पाइने विभिन्न रासायनिक पदार्थका कारण पनि बाँदर मानिसप्रति बढी आक्रमक हुन्छ। नेपालको सहरी क्षेत्रमा रहेका राता बाँदर बढी आक्रमक छन्।

रातो बाँदरले काठमाडौंको पशुपति, मकालु बरुण आसपास, पाल्पाको मतिनडाँडा, काभ्रेको बल्थली, शिवपुरी र लाङ्टाङ आसपासका क्षेत्रमा आतंकै फैलाउने गरेको छ। एक हप्तासम्म मुखमा खानेकुरा संकलन गरेर राख्ने भएकाले रातो बाँदर सबैभन्दा विनाषकारी मानिन्छ। बाँदरको विनास रोक्न सक्ने हो भने प्रति बाँदर दैनिक कम्तिमा एक किलो खाद्यान्न जोगाउन सकिने चालिसे बताउँछन्। उनका अनुसार एउटा बाँदरले दैनिक करिब एक किलो खान्छ भने करिब तीनकिलो खाद्यान्न नष्ट गर्छ।

मानिसका कुनैपनि कुरा तत्काल सक्ने क्षमता भएका कारण बाँदरले आफूलाई नियन्त्रण गर्न लगाइएका उपाय सजिलै असफल बनाइदिन्छ। 'नियन्त्रणका नयाँनयाँ तरिका विकास गर्नुपर्ने हुन्छ', चालिसे भन्छन्।   

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव टण्डन पशुपतिका बाँदर अन्यत्रका भन्दा स्वस्थ रहेकोले तीर्थालुलाई त्यति दुख नदिएको बताउँछन्। 'बरु खाना नपाएकै कारण थापाथलीका बाँदर पशुपतिका भन्दा आक्रामक छन्', उनले भने, 'पशुपतिका बाँदरले त्यति दुख दिन्नन्।'

नेपालमा लंगुर, रातो र आसामी गरी ३ प्रजातिमा ६ उपजातिका बाँदर पाइन्छ। नेपालमा एक लाखको हाराहारीमा बाँदर रहेको अनुमान छ।

बाँदर र मानिसका शारीरिक अगं मिल्दोजुल्दो भएका कारण विभिन्न औषधि र खोप परीक्षणमा बाँदर निकै उपयोगी मानिँदै आएको छ। अहिले पनि एचआइभी/एड्स, स्वाइन फ्लू, क्षयरोग लगायतका औषधि र खोप बाँदरमा परीक्षण हुने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell