PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

मञ्जुश्रीको मुहारमा चन्द्रश्यामको शिल्पी, यसरी बन्दैछ सबैभन्दा ठूलो ढुंगाको मुर्ति

मञ्जुश्रीको मुहारमा चन्द्रश्यामको शिल्पी, यसरी बन्दैछ सबैभन्दा ठूलो ढुंगाको मुर्ति

पहिलोपोस्ट /पहिलोपोस्ट


  • शिशिर वैद्य -
'बैद्यले हरेक झारपातमा औषधि देख्छ, मुर्तिकारले हरेक ढुंगामा मुर्ति।'

ज्यान बचाउने औषधि झारपात बाट नै बन्छ। बहुमुल्य मुर्तिहरु पनि ढुंगाबाट नै। तर, झारपातलाई ओखती र ढुंगालाई मुर्ति सबैले बनाउन सक्दैनन्। धैर्य र चुनौती चाहिन्छ यसका लागि। चन्द्रश्याम धैर्य र चुनौती दुवै सामना गर्न तयार छन्। त्यस्तै परिआएको जोखिम मोल्न पनि।

ढुंगा धेरैका लागि ढुंगामात्रै हो। केहीका लागि गिट्टीको बृहत आकार। यिनै ढुंगा चन्द्रश्यामका लागि अमूल्य छन्। अरु अजंगका ढुंगा देख्दा दिक्क मान्छन्, पन्साउनपर्ने पीरले। उनी खुशी हुन्छन्। उनको मुखबाट अनायाशै निस्कने गर्छ – आहा! कति राम्रो ढुंगा। जति ठूलो ढुंगा देखिन्छ चन्द्रको मुहारको चमक उति नै बढ्ने गर्छ। उनको चमक फिका हुन थाल्छ त्यतिखेर जतिखेर कामदार ती अजंगका ढुंगा चोइट्याउँछन् – सडकछेउ नाली र पर्खाल बनाउन। 

ढुंगाको माया यत्तिकै लागेको होइन चन्द्रश्यामलाई। उनी मुर्तिकार हुन्। अजङ्गका ढुंगामा उनी मुर्तिको आकार देखिसक्छन्। दुई दशक भन्दा लामो समयदेखि उनी ढुंगामा विभिन्न आकृति उतारिरहेका छन्। 

चन्द्रश्याम काम गर्दा गर्दै ललितकला कलेज भर्ना भए। सन् २०१२ मा मुर्तिकलामा स्नातकोत्तर उत्तीर्ण गरे। बुङमती स्थित आफैले ज्यासः (कारखाना) खोले। अहिले त्यहाँ उनी ढुंगामा घन ठोकिरहेका भेटिन्छन्। 
 
+++

चन्द्रका बा कृष्ण डंगोल तोरीको तेल पेल्ने र बेच्थे। पछि ढलोटको मुर्ति बनाउने काम गरे। त्यो पनि छाडे। अहिले चन्द्रश्यामको सम्पूर्ण परिवार ढुंगा ठोकिरहेका भेटिन्छन्। सिंह, नाग, गणेश, भगवती, सरस्वती, भैरव, शिवलिंग अनेक पारम्परिक मुर्तिहरू भेटिन्छन् उनको ज्यासःमा। यी बाहेक बडेमानका ढुंगाहरु त छँदैछन्।

चन्द्रलाई काम लाग्ने ढुंगा हो 'हाकु ल्ह्वं' अर्थात ब्ल्याक बालाष्टिक स्टोन। यो ढुंगा नरम हुन्छ, नसा हुँदैन।
ढुंगा! अनि नरम। 

ढुंगामा नसा। सुन्दै अचम्म लाग्ने।

फर्पिङ र चन्द्रगिरी क्षेत्रमा यसको खानी छ। तर, सरकारले ढुंगा निकाल्ने स्विकृति दिएको छैन। त्यसैले  ‘ल्हासामा सुन छ, मेरो कान बुच्चै’ भनेजस्तै छ चन्द्रजस्ता मुर्तिकारहरुका लागि। 
 
केही वर्ष अघिसम्म फर्पिङ, खार्पाका ढुंगा खानी सञ्चालक कुबेर गुरूङले चन्द्रले खोजेजस्तो आकारको ढुंगा उपलब्ध गराउँथे। अहिले खानी बन्द छ। त्यसैले ढुंगा पाउन पनि गाह्रो। टाढा टाढाबाट ढुंगा ल्याउँदा लागत बढ्ने गरेको छ। कहिले काहीँ कारखानामा आइपुगेको ढुंगा पनि खेर जाने गर्छ। भन्छन् – ‘ढुंगा छान्नु सबै भन्दा गाह्रो काम हो। बाहिरबाट राम्रो देखिने ढुंगामा पनि काम गर्दा गर्दै भित्र पानीले खाएको, चर्केको हुने सम्भावना हुन्छ। यसो हुँदा आफ्नो मिहिनेत पैसा खेर जाने गर्छ।’ 

तर, ढुंगा छान्नु भन्दा ठूलो झन्झट बेहोर्दैछन् चन्द्र आजभोलि। स्थानीय र टोले नेताहरुलाई रिझाउनुपर्ने झन्झट छ उनलाई। सबै प्रक्रिया मिलाएर लाखौं खर्च गर्दा ढुंगा ढुवानी गर्न सकेका छैनन उनले। लाखौं रुपैयाँ पर्ने ढुंगा फर्पिङस्थित खेलमैदानमा वर्षौं देखि फोहरको डुंगुरले छोपिएर बसेको छ। राजनीतिक स्वार्थले सुन्दर मुर्ति बन्नु पर्ने ति अजंगका ढुंगा बेवारिस बनेका छन्।
 
+++

चन्द्रश्यामलाई भेट्दा उनी औजार र ढुंगाको पूजामा व्यस्त थिए। दुई अजंगका ढुंगा गुभाजुको पूजाको पर्खाइमा थिए। पाँच फिट अग्ला एक जोडी सिंहको मुर्ति बन्ने तरखरमा।  कामको भ्याइ नभ्याइ छ।

चन्द्रको व्यस्तता यतिमै सीमित छैन। आफ्नो नाम पछिसम्म रहोस् भन्ने महत्वाकांक्षा छ। भन्छन्– ‘म आफ्ना हरेक कृति अमर बनाउन चाहन्छु। जसले देखे पनि कसले बनायो होला? कसरी बनाए होलान्? खुल्दुली बढोस्।’
 
 +++

कलाकारहरूको स्वभाव अलि भिन्नै हुने गर्दछ। लहडी, सनकी, चञ्चल, एकसुरे, धुनी। उनीहरु समय अनुसार चल्दैनन् धुन अनुसार चल्छन्। चन्द्रश्याममा पनि यी स्वभाव प्रशस्त छन्। कतिखेर के धुन चल्छ ठेगान नै हुँदैन। 

उनी कहिले दिउँसै काम बन्द गरिदिन्छन्। कहिले आधा रात सम्म पनि काम गरिबस्छन्। उनको स्वाभावले परिवारका लागि भने दिक्कलाग्दो। 
एक रात अबेरसम्म ज्यासःमा छेनी र घन ठोकिरहेका थिए चन्द्रश्याम। त्यहाँ आइपुगे ईन्द्र महर्जन र साथीहरु। ईन्द्र जलविनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष थिए। सामान्य चिनजान पछि ईन्द्रले चन्द्रश्यामलाई चोभारमा मञ्जुश्रीको मुर्ति बनाउने योजना सुनाए। चन्द्रश्याम मनमनै फुरूङ्ग भए। किनकि, मञ्जुश्रीको मुर्ति बनाउने सपना उनले ललितकला पढे देखि नै साँचेका थिए।

चोभारको डाँडा काटेर उपत्यका दहको पानी सुकाएको कथा चन्द्रले पनि पढेका थिए। चन्द्रश्यामको मनमा चोभारमा मञ्जुश्रीको मुर्ति किन बनेन भन्ने प्रश्न आइरहन्थ्यो। ईन्द्र एवं उपभोक्ता समितिका साथीहरुसँगको भेट उनका लागि सुखद् संयोग बन्यो। 

बढीमा आठ फिटको मुर्ति बनाउन चाहन्थे ईन्द्र र उपभोक्ता समितिका साथीहरु। चन्द्र त्यो भन्दा ठूलो मुर्तिको अठोटमा थिए। पुरातत्वविद् शुक्रसागर श्रेष्ठ सहितसँगको छलफल पछि तेत्तिस फिटको मुर्ति बनाउने चन्द्रको प्रस्ताव स्वीकृत भयो। 

तेत्तिस !

किन? 

चन्द्र भन्छन्– ‘तेत्तिस कोटी देवता छन् भन्छन् नेपालमा। त्यसैले।’ 

मुर्तिको काम नसकिँदै श्रेष्ठको असामयिक निधन भयो। पुरातत्वविद् श्रेष्ठको निधनले चन्द्र स्तब्ध बने। मञ्जुश्रीको मुर्ति बनाउने योजनासँगै श्रेष्ठको र चन्द्रको सम्बन्ध निकै आत्मीय बनेको थियो। ‘तिमी दाम नहेर्ने र नाम कमाउने धुनमा रहेछौ। त्यसैले यो काम तिमीले नै गर्नु पर्छ भन्थे,’ चन्द्रले श्रेष्ठसँगको संवाद सम्झिए।
 
+++

छलफल सकिएको तीन महिना बित्यो। तीन महिनामै  पाँच टेलर ढुंगा चन्द्रको ज्यासःमा झरिसकेको थियो। न कुनै ठोस योजना थियो। न कस्तो मुर्ति बनाउने भन्ने चित्र। न पैसाको जोहो। ढुंगा झरेको एक वर्ष पछि बल्ल मुर्तिको काम शुरु भयो।

पहिले काठको आकृति बनाए। चित्त बुझेन। पछि आफ्ना गुरू रविन्द्र ज्यापुकहाँ सल्लाह लिन पुगे। गुरू रविन्द्रको सहयोगमा धातुको नमूना आकृति तयार भयो। चन्द्रले थुप्रै वरिष्ठ एवं समकालीन कलाकारहरुसँग सल्लाह लिए। दिपक जोशी, लोक सर, केके कर्माचार्य जस्ता वरिष्ठ कलाकार थुप्रै पटक उनको कलाकारिता हेर्न पुगे। आवश्यक सल्लाह दिए। तीन वर्ष आफ्नै ज्यासःमा काम गरेपछि बल्ल मुर्तिका विभिन्न भाग चोभार लगियो।

दैनिक खटिने मानिस र काम गरेको दिनको हिसाब गर्दा झण्डै ६ हजार ३ सय मानिसको मिहिनेत परेको बताउँछन चन्द्र। पाँच वर्षको बीचमा थुप्रै सहयोगी हात फेरिए।
 
+++

मुर्तिका तेह्र टुक्रा छन्। झन्डै साठी टन वजन। मुर्ति पेडेस्टलमा नठडिएसम्म चन्द्रश्यामको सपना पूरा हुने छैन। चोभारको डाँडोमा पेडेस्टल तयार भएर बसेको छ। चन्द्रको गुरू योजनामा पेडेस्टल ढुंगाकै थियो। तर, पेडेस्टलका लागि फर्पिङ खार्पाबाट ल्याउँदै गरेको पाँच टेलर ढुंगा स्थानीय राजनीतिक कार्यकर्ताले रोकिदिँदा ढलानको विकल्प चन्द्रसँग रहेन।

उता लाखौं खर्चेको सामान अलपत्र, यता अभाव। ढुंगाको मुर्ति, सिमेन्टको पेडेस्टल। सिमेन्टको पेडेस्टल बनाउनु परेकोमा चन्द्र निकै असन्तुष्ट छन्। हजारौं वर्ष आयु रहेको ढुंगाको बोझ सय वर्ष आयु रहेको सिमेन्टले भविष्यमा कसरी थेग्ला? यो गम्भीर प्रश्नका बीच मञ्जुश्रीको मुर्ति चोभारको डाँडोमा ठडिने प्रक्रिया शुरू भइसकेको छ। श्रीपञ्चमीको दिन पारेर मुर्तिको रत्नन्यास पूजा गरिएको छ। अब केही दिनमा नै चोभार घुम्न जानेहरूले यहाँ मञ्जुश्रीको दर्शन गर्न पाउनेछन्। 

यो पेडेस्टल सहित ३३ फिट अग्लो अजंगको मुर्तिले सबैको ध्यान तान्ने छ। बुढानीलकण्ठ स्थित भगवान विष्णुको मुर्ति नेपालमा पाइने सिंगो ढुंगामा बनेको सबैभन्दा ठूलो मुर्ति हो। चन्द्रले बनाउँदै गरेको मञ्जुश्री नेपालकै सबैभन्दा ठूलो ढुंगाको मुर्ति बन्ने उनको दावी छ। त्यसैले चन्द्रको निम्ति यो कृति मुर्ति मात्र होइन। प्रतिष्ठा पनि हो।

चन्द्रश्याम नयाँ पुस्ता मध्येका दत्तचित्त मुर्तिकार हुन्। कमसल ढुंगामा कालो रंग दलेर बेच्ने बजारिया होडमा छैनन् उनी। बिना अर्डर मुर्ति बनाउँदैनन्। त्यसैले उनीसँग मुर्तिहरु बाँकी रहँदैनन्। दाम कमाउने भन्दा नाम कमाउने धुनमा लागेका चन्द्रश्यामलाई आधुनिक मुर्तिकलामा खासै रूची छैन। उनी पारम्परिक मुर्तिकारितालाई नै अघि बढाउन चाहन्छन्। 

भुटान, चीन, बङ्गलादेश, श्रीलङ्का जस्ता देशहरुमा आयोजित मुर्तिकला प्रदर्शनीमा पुगिसकेका छन् उनी। उनले सांघाईमा भएको प्रदर्शनीका लागि १२ फिट अग्लो बोधिसत्वको मुर्ति बनाएका थिए। यो एक्स्पोले उनको नाम एकाएक चर्चित बन्यो। त्यस्तै अठार फिट अग्लो तपस्वी रामबहादुर बमजनको मुर्ति चन्द्रले तीन महिनामा नै तयार पारेका थिए। 

एउटा सिंगो ढुंगामा तयार भएको बम्जनको मुर्ति मञ्जुश्रीको मुर्ति बनाउनुअघि चन्द्रले बनाएको सबै भन्दा अग्लो मुर्ति हो। स्थानीय एवं प्रशासनको विरोधपछि ठडिन नपाएको उक्त मुर्ति अहिले बाराको जंगलमा बेवारिस लडिरहेको छ। ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा)मा भएको मुर्तिकला प्रतियोगितामा नाफा विशेष पुरस्कारले सम्मानित चन्द्रश्याम सिर्जना कलेजमा मुर्तिकला पढाउँछन्।  भन्छन्– ' कलाकार आफ्नो कृतिबाटै अमर हुने हो। त्यसैले म आफ्नो हरेक मुर्तिलाई विशिष्ट बनाउने प्रयत्न गर्छु।'


ट्रेन्डिङ पोस्ट

Ncell