PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

यसरी विस्तार हुँदैछ वाइवाइको ग्लोबल बजार, चौधरीको लक्ष्य : न्युयोर्क स्टक एक्सचेन्ज



विज्ञान अधिकारी

यसरी विस्तार हुँदैछ वाइवाइको ग्लोबल बजार, चौधरीको लक्ष्य : न्युयोर्क स्टक एक्सचेन्ज

पूर्णिया (बिहार) : विराटनगरबाट ५ किलोमिटर धुले सडक पार गरेपछि पुगिन्छ ८ लेनको एक्सप्रेस हाइवे। जोगवनी नाका पारे गरेपछिको यही हाइ वेबाट दक्षिण पश्चिम ९५ किलोमिटर दुरी तय गरेपछि पुगिन्छ बिहारको पूर्णिया जिल्ला।
 
यात्रा पूर्णियाको मराङ औद्योगिक क्षेत्रको हो। औद्योगिक क्षेत्र नजिकै पर्ने शाखा बाटोमा एउटा बोर्ड देखिन्छ। बोर्डमा देवनगरीमा लेखिएको छ – सिजी फुड्स मे आपका स्वागत् है। 

यहीबाट दुर्इ सय मिटर टाढा सिजी फुड्सको भव्य भवन देखिन्छ। विराटनगरबाट सवा दुर्इ घण्टाको यात्रापछि पुगिने उद्योगभित्र स्वागतका लागि कर्मचारीहरु तयार छन्।
 
‘तपार्इँहरुलार्इ भारतको नयाँ उद्योगमा स्वागत छ,’ पूर्णिया प्लान्टका अपरेसन जिएम दिव्यराज घिमिरेले भने। घिमिरे चौधरी समूहको भारतको पहिलो प्लान्ट सिक्किममा लगाउँदादेखि नै नेपालबाट गएका कर्मचारी हुन्। २०१५ मा पूर्णिया प्लान्ट सञ्चालनमा आएदेखि नै उनले यहाँको जिम्मेवारी सम्हालेका छन्।
 
'हामी पूर्ण हाइजेनिक उत्पादनमा विश्वास गर्छौं, त्यसैले ‘हेयर सेफ्टी क्याप’ लगाउनुहोला,' चाउचाउ उत्पादन कक्षमा पुग्नुअघि घिमिरेको इन्स्ट्रक्सन।  
 
टाउकोमा हरियो जालीको टोपी लगाएर उत्पादन कक्षभित्र हामी छिर्दैंछौं। उत्पादनको सुरुवाती चरणको मैदा मुछ्ने ठाउँमा पुर्‍याउँदै गर्दा घिमिरेले चाउचाउबारे ब्रिफिङ थालेका छन्। 
 
चाउचाउ उत्पादन गर्दा कतै पनि हातको प्रयोग हुँदैन रहेछ। मैदा मुछ्नेदेखि चाउचाउ प्याकिङ गर्ने सबै काम मेसिनकै भर। आधुनिक प्रविधिको समुचित प्रयोग गर्दै बिहारमा स्थापित नयाँ कारखानामा उत्पादन भइरहे पनि यसको ब्रान्ड भने पुरानै हो - वाइवाइ। 
 
१६ हजार १ सय ८७ वर्ग मिटर क्षेत्रफलमा फैलिएको यो उद्योगभित्र दैनिक तीन सिफ्टमा काम भइरहेको छ। दैनिक पाँच सय कर्मचारी वाइवाइ उत्पादनमा खटिएका छन्। 
 
उद्योगमा 'ह्वाइट कलर जब' गर्ने सबै कर्मचारी नेपाली छन् तर 'ब्लू कलर जब'मा पूर्णियाका स्थानीय। 
 
देशका एकमात्र डलर अर्बपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहको भारतमा ९ वटा यस्ता वाइवाइका प्लान्ट छन्। वाइवाइ युरोपमा पनि फैलिन थालेको छ। युरोपको सर्वियामा प्लान्ट खुलिसकेको छ। ती सबै प्लान्टको उपल्लो तहमा नेपाली नै छन्। कामदार भने पूर्णियामा जस्तै स्थानीयको भागमा। 
 
सिक्किमबाट वाइवाइ प्लान्ट सुरु भएपछि अहिले उत्तराखण्डको रुद्रपुरमा दुर्इ वटा प्लान्ट, छैंगाउँमा दुर्इ वटा, सिल्चरमा दुर्इ वटा, विहारको पूर्णिया र आन्द्र प्रदेशमा एउटा प्लान्ट सञ्चालनमा छ। 
 
‘हामीले विश्वभरी नेपालसँगै नेपालीको दक्षतालार्इ समेत स्थापित गराएका छौं,’ अध्यक्ष विनोद चौधरीले भने, 'यसले पनि हामी सक्षम छौं भन्ने प्रमाणित गरेको छ।‘ 

उनका अनुसार, वाइवाइलाई मात्र होइन, नेपाली दक्षतालाई पनि 'ग्लोबल' बन्न सहयोग पुर्‍याइरहेको छ यही ब्रान्डले। 
 

भारतीय बजारको ३० प्रतिशत हिस्सा

भारतमा सबैभन्दा धेरै बिक्ने चाउचाउ हो- म्यागी। नेपालको वाइवाइले भारतमा म्यागीसँग प्रतिस्पर्धा गरिरहेको छ अहिले। अहिले म्यागीको बजार ४५ प्रतिशत छ भने वाइवाइको ३० प्रतिशतको हाराहारी। चौधरीको अहिलेको लक्ष्य हो - म्यागीलाई उछिन्ने गरी उत्पादन बढाउन प्लान्ट बिस्तार गर्ने। त्यही भएर वाइवाइले आक्रमक रुपमा भारतका विभिन्न ठाउँमा नयाँनयाँ प्लान्ट लगाइरहेको छ।
 
‘हाम्रा केही एड्भान्टेज छन्, जसका कारण भारतका धेरै स्थानमा हाम्रो प्लान्ट स्थापना भइसकेको छ भने केही ठाउँमा निर्माण भइरहेका छ,‘ उनले भने, 'हाम्रो पेनिट्रेसन बढ्दो क्रममा छ।‘ 
 
चौधरी समूहले राजस्थानको अजमेरमा वाइवाइ प्लान्टको शिलन्यास गरिसकेको छ। 

नेपाली ब्रान्डको ग्लोबलाइजेनसलाई हामी भारतको पूर्णियाबाट नियाल्दैछौं।

वाइवाइका ग्लोबल सिइओ जीपी शाहले एउटा टार्गेट हामीलाई ब्रिफ गरे। बढ्दो क्रममा रहेको नुडल्स मार्केटमा केही समयभित्रै वाइवाइ म्यागीको लेभलमा पुग्ने उनको दावी छ। 

‘हामी एक/दुर्इ वर्षभित्र नै भारतको पहिलो चाउचाउ कम्पनी बन्नेछौं,’ शाहले भने, 'हाम्रो प्लान्ट नेटवर्कले पनि यसलाई सघाउ पुर्‍याउनेछ।'


भारत बाहिर पनि उत्तिकै एग्रेसिभ

वाइवाइ भारतमा मात्रै होइन विश्व बजारमै साम्राज्य खडा गर्न खोज्दैछ – एउटा ग्लोबल प्रोडक्टका रुपमा। बंगलादेशमा वाइवाइको प्लान्ट अप्रिलबाट सुरु हुँदैछ। यो समूहले इजिप्टमा उद्योग लगाउन सबै तयारी थालिसकेको छ भने किर्गिस्तानमा समेत प्लान्टका लागि छलफल अघि बढिरहेको चौधरीले बताए। मेक्सिकोमा प्लान्ट लगाउन जग्गाको खोजी भइरहेको छ।

‘हामीले अमेरिकामा होइन मेक्सिकोमा प्लान्ट लगाउने निष्कर्षमा पुग्यौं,' चौधरीले आफ्नो स्ट्र्याटिजी सेयर गरे, 'मेक्सिकोमा प्लान्ट लगाउँदा अमेरिका, यूरोप लगायतका देशमा पनि निकासी गर्न सकिन्छ भन्ने लाग्यो।’उनका अनुसार केन्यामा समेत वाइवाइको प्लान्ट लगाउन छलफल सुरु भएको छ।

 

नेपाली नै हुन् ब्राण्ड एम्बेस्डर : चौधरी

भारत लगायत विश्वभरि वाइवाइको प्लान्ट लगाउने ‘मोरल’ सहयोग नेपालीबाटै पाएको चौधरी बताउँछन्। २०४६ सालपछि आएको परिवर्तनसँगै नेपालीहरु अध्ययन र कामका लागि विदेशिनेक्रम ह्वात्तै बढ्यो। उनीहरुको विदेशयात्रासँगै वाइवाइसमेत विश्वबजार जाने बाटो खुल्यो।
 
‘विदेश जाने हरेक नेपालीले वाइवाइ चाउचाउ लैजान थाले। नेपालबाट पठाउने गिफ्टमा पहिलो नम्बरमा वाइवाइ नै थियो। खाडी, अमेरिका र यूरोपमा नेपालीले वाइवाइ लिएर गए जसले मार्केटिङ गर्न सजिलो भयो,’ उनले भने।
 

टार्गेट : न्यूयोर्क स्टक एक्सचेञ्ज

विनोद चौधरीले वाइवाइ कसरी ग्लोबल ब्राण्ड बन्दै छ भनेर आत्मकथामा पनि लेखेका छन्। चौधरी भन्छन्- रोजगार निम्ति विदेश जाँदा पनि नेपालीले वाइवाइसँग नाता तोड्न सकेका छैनन्। अनि सोच्छु, अरु कति देशका कति विमानस्थलमा नेपालीहरु वाइवाइसँग नाता गाँस्दै विदेशी भूमिमा ओर्लिरहेका होलान्। वाइवाइका कार्टुन ओसार्दै होलान्। विदामा घर फिरेका साथीसँग वाइवाइकै फर्माइस गरिरहेका होलान्। साथीले कोशेली ल्याइदिएको वाइवाइ छिट्टै निख्रिएला भनेर पुर्‍याइपुर्‍याइ खाँदै होलान्।
 
कम्तिमा वाइवाइसँगै हुर्किएका पुस्ता जहाँजहाँ पुगेका छन्, त्यहाँत्यहाँ वाइवाइ नपुर्याइ म यो यात्रा बिसाउँदिन। 
 
यी सम्पूर्ण कुराको धरातलमा उभिएर म के विश्वासका साथ भन्नसक्छु भने, सिजी फुड्स (ग्लोबल) कुनै दिन भारतको स्टक एक्सचेञ्ज हुँदै सिंगापुर र न्युयोर्क स्टक एक्सचेञ्जमा सूचिकृत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell