PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्पको एक वर्ष : दैनिक ५.६ वटा झुटदेखि मन नपर्ने सबैको न्वारनसम्म



ट्रम्पको एक वर्ष : दैनिक ५.६ वटा झुटदेखि मन नपर्ने सबैको न्वारनसम्म

  • प्रभात भट्टराई/न्युयोर्क -
अमेरिकी राष्ट्रपति चुनिएको पहिलो वर्ष डोनाल्ड ट्रम्पले धेरै रेकर्ड बनाएका छन्। मुख्यतः आधुनिक कालखण्डको सर्वाधिक विवादित राष्ट्रपतिको रुपमा उनी अग्र स्थानमा रहे। नियमित जस्तो विवादित अभिव्यक्ति दिएकै कारण उनी चर्चाको शिखरमा रहिरहे। विरोधीहरुले निरन्तर दबाब सिर्जना गरे पनि उनी टसमस भएका छैनन्। राष्ट्रपतिको पदभार ग्रहण गरेको भोलिपल्टै महिलाहरुले राजधानी वासिङ्गटन डिसी लगायत अमेरिकाभरनै उनको विरुद्धमा र्‍याली निकाले। ट्रम्पले ‘अहिले सडकमा निस्किन सक्ने यी महिला चुनावमा चाहिँ कता थिए? त्यही बेला मेरो विपक्षीलाई भोट हालेको भए भइ हाल्थ्यो त !’भन्ने हल्का अभिव्यक्ति दिएर टारे।
 
कार्यभार सम्हाले लगत्तै मुस्लिम बहुल केही देशका नागरिकलाई भिषा प्रतिबन्ध लगाउने ट्रम्पको कार्यकारी आदेशले विश्वभर चर्चा कमायो। सबैभन्दा धेरै अमेरिकामै उनको विरोध भयो। अदालतले पनि उनको आदेश अवैध रहेको ठह¥याए पछि ‘मुलुकको सुरक्षा नचाहने न्यायाधिश’ भन्दै न्यायालय विरुद्धनै खनिए।

उनले प्रतिपक्षी दल, छिमेकी देखि तेस्रो मुलुकसम्मको सम्बन्धमा एकरुपता र स्थिरतामा ध्यान नदिएको टिप्पणी विश्लेषकहरुले गर्दै आएका छन्। तर, ट्रम्प आफ्ना हर्कतमाथि प्रश्न गरिएका समाचार एवं टिप्पणीलाई फेक न्युजको संज्ञा दिएर उल्टो उडाइदिन्छन्। आफू यस्तै (विवादित) अभिव्यक्ति र धारणाको कारण राष्ट्रपति निर्वाचित भएको र त्यही अनुसार अघि बढ्ने उनको भनाइ रहँदै आएको छ।
 
आफ्नै सहयोगीहरुसँगको सम्बन्धमा पनि ट्रम्प एकाकार रहन सकेका छैनन् । चुनावी अभियान देखिनै विश्वासपात्र रहेका र राष्ट्रपति चुनिएपछि ह्वाइट हाउसमा त्यस अघि नरहेको प्रमुख रणनीतिकार पद सिर्जना गरि नियुक्त गरिएका स्टिभ ब्यानन सात महिनामै बर्खास्तीमा परेका थिए। अर्का विश्वासपात्र एवं विदेशमन्त्री रेक्स टिलर्सन पनि केही समयमा फायर हुने समाचार मिडियामा ब्रेक भएको थियो। ट्रम्पले उक्त समाचारलाई पनि फेक न्युजकै संज्ञा दिए पनि टिलरसनसँग आफ्ना कैयन् मतभिन्नता रहेको भने स्वीकारेका थिए।
 
आफूलाई मन नपर्ने या असहमत हुने वित्तिकै त्यो व्यक्तिका विरुद्ध ट्विट गरि हाल्ने उनको प्रवृत्ति देखिएको छ। त्यस्तै आफ्नो पक्षमा कसैले कतै बोलेको थाहा पाउने वित्तिकै ट्विटरबाटै धन्यबाद दिन पनि ढिला गर्दैनन्। आफुलाई मन नपर्ने प्रायः हरेक व्यक्तिलाई ट्रम्पले छुट्टै नाम दिएका छन्। आफू राष्ट्रपति चुनिए पनि प्रतिस्पर्धी हिलारी क्लिन्टनविरुद्ध गाली बर्साउन उनले छाडेका छैनन्। क्लिन्टनको नाम ट्रम्पले ‘क्रुक्ड हिलारी’राखेका छन्। त्यस्तै आफ्ना विश्वासपात्र ब्याननलाई पदबाट हटाएपछि ‘स्लोफी स्टिभ’नामाकरण गरिदिएका थिए। सिनेटमा विपक्षी दलका नेता चक स्हुमारदेखि हाउस डेमोक्रेटिक नेतृ न्यान्सी पिलोसीसम्मको ट्रम्पले न्वारान गरिसकेका छन्। उनको आलोचना गर्ने कैयन् कलाकारदेखि पत्रकारसम्मले ट्रम्पबाट छुट्टै नाम पाएका छन्।
 

दैनिक ५.६ वटा झुट

विभिन्न फ्याक्ट चेक गर्ने संस्थाहरुले ट्रम्पले दैनिक छ वटा हाराहारी झुठो बोलेको तथ्य प्रस्तुत गरेका छन्। राष्ट्रपति भएको पहिलो वर्ष ट्रम्पले करिब दुई हजार वटा झुठो र तथ्य मोडिएको अभिव्यक्ति दिएको विवरण वासिङ्गटन पोष्टले प्रकाशित गरेको थियो जस अनुसार ट्रम्पले दैनिक औषत ५.६ वटा झुठो अभिव्यक्ति दिने गरेको रिपोर्टमा उल्लेख छ। जबकि पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो आठ बर्षे कार्यकालमा १८ वटा झुठो एवं तथ्य मोडिएको अभिव्यक्ति दिएका थिए। आर्थिक नीतिमा होस् आप्रबासी सम्बन्धि प्रावधानमा आफ्नो भनाइ पुष्टि गर्न ट्रम्प मनलागेको अभिव्यक्ति दिन पछि पर्दैनन्। यही क्रममा छिमेकी मेक्सिकोलाई उनले विश्वको सबैभन्दा जोखिमपूर्ण मुलुक भनिदिए । अफ्रिकी मुलुकलाई पनि उनी यसै भन्दै आएका छन्।

केही समय अघि प्रकाशित भएको फायर एण्ड फ्युरी नामको किताबले ट्रम्पको अस्थिर र मनलाग्दी बोल्ने बानीले ह्वाइट हाउसका कर्मचारी आजित भइ सकेको उल्लेख गरेको थियो । सोही कारण उनीहरु ट्रम्प राष्ट्रपति बन्न मानसिक रुपले अयोग्य रहेको निचोडमा पुगेको आरोप लगाइएको थियो । ट्रम्पले उक्त किताब प्रकाशन हुनु पुर्व देखिनै निरन्तर बिरोध गरे । तर, सारा चुनौतीका बाबजुत पनि आफ्नो मानसिक स्वास्थ्यको जाँच गराउन भने तयार भएनन् । उल्टै आफ्नो तारिफ गरेर स्मार्ट र सफल व्यक्ति भएको अभिव्यक्ति दिए ।

अमेरिकामा राष्ट्रपतिका काम कारबाहीप्रति नागरिकको सन्तुष्टिबारे निरन्तर मत सर्भेक्षण हुने गरेका छन् । राष्ट्रपतिको ‘एप्रुभल रेट’भनिने यो सर्भेक्षणमा ट्रम्प कहिल्यै ४० प्रतिशत माथि गएका छन् । कार्यभार सुरु गरेको एक बर्षमा सबैभन्दा कम ‘एप्रुभल रेट’हुने राष्ट्रपतिको रुपमा मिडियाले उनको नाम दर्ज गरेका छन् । तर, त्यसप्रति पनि उनले चासो दिएका छैनन् । 

सिनेट र हाउस दुबै सदनमा रिपब्लिकनको बहुमत रहेको कारण उनी आफुले चाहे बमोजिम कर कटौती गर्ने कानुन पारित गर्न सफल भए । आफ्नो कर नीतिका कारण अमेरिकी अर्थतन्त्र अझ सबल बन्दै गएको र आगामी दिनमा लगानी उच्च दरले विस्तार हुने उनको दावी छ । तर, धनी एवं उच्च बर्गलाई मात्र कर छुट दिएको र आम कामकाजी वर्गको जीवनस्तरमा त्यसले केही फरक नपार्ने भन्दै डेमोक्र्याट एवं स्वतन्त्र अर्थशास्त्रीहरुले उनको दावीको प्रतिवाद गर्दै आएका छन् । सन् २००८ को विश्व आर्थिक मन्दी लगत्तै राष्ट्र«पति बनेका ओबामाले सबै चुनौतीहरु पार लगाएर ट्रम्पलाई सहज एवं सन्तुलित अर्थतन्त्र जिम्मा लगाएका थिए । अर्थशास्त्रीहरुले ओबामा कालिन नीतिकै कारण अहिले अर्थतन्त्रमा सन्तुलन आएको बताइरहँदा ट्रम्प भने आफैँले जस दाबी गर्दै आएका हुन् । 

ओबामा कालिन नीति एवं नियमनलाई भत्काउन सक्दो प्रयास गरि रहे पनि स्वास्थ्य बीमा (ओबामा केयर) कार्यक्रम लाई खारेज गर्न भने रिपब्लिकन सिनेटरकै असयोगका कारण ट्रम्प सफल भएनन् । 

उनका काम कारबाहीलाई लिएर रिपब्लिकन पार्टी मै दुई धार स्थापित भइसकेको छ । सिनेटर एवं सन् २००८ मा रिपब्लिकनका तर्फबाट राष्ट्रपति उम्मेद्वार जोन म्याक्कनले लेख नै लेखेर ट्रम्पलाई मिडिया बिरुद्ध नखनिन सुझाव दिएका थिए । तर, यस्ता सुझावलाई उनले व्यक्तिगत आलोचनाको रुपमा बुझ्ने र त्यही अनुसार व्यवहार गर्दै आएका छन् । रिपब्लिकनको पुरानो संस्थापनमा पार्टी मुलधारमा ट्रम्प हावी भएको भन्दै गम्भिर चिन्ता सुनिन थालेको छ । पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले समेत ट्रम्पको काम गर्ने शैलीको बिरोध गरेका थिए । ट्रम्पकै कारण अहिले बहाल रहेका झन्डै तीन दर्जन रिपब्लिकन कंग्रेस म्यान (तल्लो सदनका सांसद) र केही सिनेटरले आगामी कार्यकालका लागि उम्मेद्वारी नदिने घोषणा गरि सकेका छन् । यति हुँदा पनि हाउस रिपब्लिकन नेता एवं सभामुख पाउन रायन र सिनेट रिपब्लिकन नेता म्याककोनेल मिचले बलियोसँग ट्रम्पलाई साथ दिँदै आएका छन्।
  
ट्रम्प राष्ट्रपति निर्वाचित भएपछि सम्पन्न सिनेट एवं प्रदेश चुनावहरुमा डेमोक्र्याटले बलियो जित हासिल गरि सकेका छन् । अलाबामा जस्तो अत्यधिक रिपब्किलनको बसोबास रहेको राज्यमा समेत दुई महिना अघि सम्पन्न सिनेटको मध्यावधि चुनावमा डेमोक्र्याट उम्मेद्वार बिजयी भएका थिए । यस्तै भर्जिनिया र न्यू जर्सीमा सम्पन्न गभर्नर चुनावमा पनि डेमोक्र्याट उम्मेद्वारले नै बिजय हासिल गरेका थिए । सर्भेक्षणहरुमा मतदाताले आफुहरु डेमोक्र्याट तिर आकर्षित हुने प्रमुख कारणमा ट्रम्पको काम कारबाहीलाई पनि देखाएका छन् । तर, उनी यो मान्न तयार छैनन् । रिपब्लिकन उम्मेद्वार आफ्नो लाइनको नभएका कारण हारेको उनी बताउँदै आएका छन् । आउने नोभेम्बरमा हुने सिनेट र हाउसको मध्यावधि चुनावमा रिपब्लिकन उम्मेद्वारलाई जिताउन आफू तिब्र प्रचारमा निस्किने घोषणा गरि सकेका छन् । 

सर्भेक्षणहरुले अहिलेको अवस्थामा राष्ट्रपति चुनाव भए ट्रम्प नमज्जासँग हार्ने समेत देखाएका छन् । तर, उनले त्यसलाई पनि फेक न्युजकै कोटीमा राखि दिएका छन् । यी सबै जिद्धि व्यवहारका बाबजुत पहिलो कार्यकालको आगामी तीन बर्षमा उनका लागि सबैभन्दा ठूलो चुनौतीको रुपमा मध्यावधी निर्वाचन र गत चुनावमा रसियन सम्लग्नताबारे भइ रहेको जाँच नै देखिएको छ । मध्यावधी चुनावमा डेमोक्र्याटले हाउसमा बहुमत ल्याउन सक्ने आँकलन भइ रहेको छ । त्यो ट्रम्पका लागि निकै महङ्गो पर्नेछ । साथै गत चुनावमा ट्रम्प क्याम्पेन र रसियन संलग्नताबारे भइ रहेको जाँचको निचोड पनि उनको आगामी राजनीतिक खुड्किलोका लागि निर्णायक सावित हुनेछन् । जाँच निरन्तर चलि रहे पनि ट्रम्पले कुनै संलग्नता नरहेको दावी गर्दै आएका छन् । तथापी उनको क्याम्पेन टिमका कैयन् व्यक्ति रसियासँग कुनै न कुनै रुपमा जोडिएको तथ्य उजागर भइ सकेको छ ।

उनका अभिव्यक्ति र व्यवहार प्रति महिलाहरुले निरन्तर आलोचना गर्दै आएका छन् । उनले कार्यभार सम्मालेको एवं गत बर्षको ‘उमन मार्च’को पनि वार्षिकोत्सवको अवसर पारेर गत २० जनवरीमा महिलाहरुले अमेरिकाभर नै ¥याली निकालेका थिए । भलै सरकार सट डाउनमा परेको कारण ट्रम्प आफुले भने कार्यभार सम्हालेको बार्षिकोत्वस मनाउन पाएनन् । महिलामा अहिले देखिएको राजनीतिक जागरणले आगामी चुनावहरुमा उनीहरुनै निर्णायक हुने आँकलन गरिँदै आएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell