PahiloPost

Nov 14, 2018 | २८ कात्तिक २०७५


सुष्माको आगमनले देखाएको ओलीको अनुहार (टिप्पणी)


सूर्य खड्का

सुष्माको आगमनले देखाएको ओलीको अनुहार (टिप्पणी)

नयाँ दिल्लीमा पानी पर्दा काठमाडौंमा छाता ओडिन्छ भन्ने राजनीतिक व्यंग्य अब काम नलाग्ने प्रतीत हुन्छ। माघ १८ मा आएर १९ मा फर्केकी भारतीय विदेशमन्त्री तथा प्रधानमन्त्री मोदीकी विशेष दूत सुष्मा स्वराजको दुई दिने भ्रमण अब काठमाडौंमा पानी पर्दा दिल्लीमा पनि छाताको जोहो गर्न थालिएको नयाँ उदाहरण हो। 

नेपालमा आम चुनाव २०७४ ले एमाले नेतृत्वमा वामपन्थी सरकार बन्ने निश्चित भएपछि भारतीय मोदी सत्ता नेपाली वाम सत्तालाई मित्रताको हात बढाएरै विश्वासमा लिन उद्धत छ भन्ने तथ्य सम्पन्न एजेण्डाबिहीन र कुटनीतिक मर्यादा तथा परम्पराविपरित सम्पन्न भ्रमणले सिद्ध गरिसकेको छ। 

चुनावी मतादेशले सरकार बनाउने निश्चित प्रायः भए चुनावको पूर्ण प्रकृया पूरा भइसकेको छैन। नयाँ संसदले पूर्णाकार पाइसकेकै छैन।  आफ्नो नेतृत्वमा सरकार र प्रधान मन्त्री बन्न नै नभ्याउँदै भावी प्रधानमन्त्री केपी शर्मा ओली भारतको सद्‍भाव र विश्वास बटुल्न किन हतारिए? 

हुनेवाला सत्तारुढ दल नेकपा एमाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको स्वागत र जयगान गर्न किन हतारियो? दक्षिण छिमेकको अस्वभाविक भ्रमणले उत्तरी छिमेक चीन झसंग भएन होला? ओलीको नाकाबन्दीकालीन राष्ट्रवादी अडान र सत्तारोहणको पूर्वसन्ध्यामा स्वराजको जयगानको अन्तर्य खुल्न बाँकी नै छ। स्वराजको काठमाडौं यात्रा समाप्तीपछि एमालेको भारत नीति र देशको बदलिँदो सत्ता राजनीति यसैकारण बहसको केन्द्रमा छ। 

भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको दुई दिने भ्रमणमा आइपुग्दा नेपाली सत्ता राजनीतिमा ठूलै तरंग ल्यायो। वेटिङ प्राइममिनिष्टर अर्थात् एमालेका अध्यक्ष र वाम गठबन्धनका नेता ओलीको हार्दिक निम्तामा स्वराज आकस्मिक रुपमा एजेण्डाविहीन रुपमा काठमाडौं उत्रेकी थिइन्। 

उनी काठमाडौं उत्रिँदैगर्दा ओली निवास बालकोटमा वाम गठबन्धनका नेताको बैठक चलिरहेको थियो – एकताका लागि जुन निष्कर्षमा पुग्न सकेन। यो निष्कर्षमा पुग्न नसक्नु र उनको आगमन संयोगमात्रै हुनसक्छ। तर, एकताका लागि स्वराजको स्वीकृति पर्खे झै गरी वाम दलको एकता वार्ता निष्कर्षमा नपुग्नुले यो भ्रमण वाम एकताको सार्थकता वा विफलताका लागि समेत एक भारतीय परीक्षण त होइन? 

भावी प्रधानमन्त्री ओलीको मोदीसँगका दुई दुई पटकका संवादको परिणाम पनि हो स्वराजको यात्रा। आम चुनावपछि मात्रै भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीले ओलीसँग दुई पटक फोन सम्बाद गरे। भारत विरोधी मानिएको एमाले र त्यसका अध्यक्ष ओलीसँग संबन्ध सुधारको प्रयास खुल्लम खुल्ला रुपमा भयो। त्यसको एक 'मोदी स्वरुप' थियो स्वराजको आकस्मिक आगमन।

ओलीले मोदीसँग तारन्तारका फोन संवादमा नै विशेष दूत पठाउन भनेका थिए। भावी प्रधानमन्त्रीसँग खुसामद गरेर नेपाल आएपछि भारतीय विदेशमन्त्री स्वराजको प्राथमिकतामा ओली पर्ने नै भए। त्यसैले पहिलो भेट, अतिथ्यता र रात्रीभोज पनि एमालेसँग नै भयो। नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल नेपाली कांग्रेसभन्दा पहिला नै स्वराजले एमालेको रात्रिभोज स्वीकारिन्। ओलीसँग पहिलो भेट गरिन्। यसले दिल्लीको विशेष दूत स्वराज एमालेसँगको संबन्धलाई नयाँ आयाम दिन काठमाडौं उत्रेको स्पष्ट पार्यो। 

नेपालमा नयाँ सरकार नबन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष पहलमा भएको यो यात्राको प्रयोजन या उद्देश्यबारे जति नै सकारात्मक टिप्पणी गर्न खोजिए पनि यो नयाँ सरकारलाई बन्नु अघि नै भारतीय दीक्षा वा दिग्दर्शन दिन केन्द्रित रहेको ठानिुन स्वभाविक नै छ। यो भ्रमणको सफलता,  असफलता या नियत भ्रमणपछिको भारतीय व्यवहारबाट जाँचिन बाँकी छ। तर पनि यो एमाले केन्द्रित भ्रमण स्वभाविक भने होइन। नेपालमा निर्वाचन सम्पन्न भइसकेको तर नयाँ जनादेशमा आधारित सरकार बनिनसकेको अवस्थामा नेपालको विदेश मन्त्रालयका सबै सरकारी संयन्त्रलाई बेवास्ता गर्दै भएको यो यात्राले कुटनीतिक परम्परा र अभ्यासलाई खिल्ली उडायो। दुई वर्ष अघिको नाकाबन्दीमा भारत विरोधी छबी बनाएका ओली नै अहिले सत्तामा जानुपूर्व दक्षिण रिझाउने खेतीमा लाग्नु उनले भारतसँग मुखले धम्की र कामले संझौतापरस्त नीति लिँदै गरेको खुलायो। 

एक सार्वभौम देशको हुनेवाला प्रधानमन्त्रीले उत्तर र दक्षिणका छिमेकलाई समान महत्व दिन बिर्सेर दक्षिणका विशेष दूतलाई पहिल्यै बोलाएर रात्रिभोज सहितको वार्ता गर्नु भारत परस्त नीतिको पूर्व झझल्को होइन त? दक्षिणी छिमेकीसँग सत्तारोहणपूर्व नै यस खालको न्यानो संबन्ध बनाउने नाममा ओलीले भारतप्रति देखाएको पूर्व भक्तिभाव उनको नाकाबन्दीकालीन राष्ट्रवादी अडान र आर्दशको स्खलन नै हो। यसले ओलीको राष्ट्रवादी अडानमा स्खलन वा धर्मराहट आएको स्पष्ट मात्रै पारेन, महाकाली सन्धीका बेला जस्तै ओली भारतीय विश्वास पात्र बन्ने नयाँ जग खडा गरेको छ। 

स्वराज मार्फत् भारतलाई विशेष सम्मान व्यक्त गर्दै, विश्वासमा लिँदै गर्दा ओलीले आफ्नै आत्मसम्मान र स्वार्थमा मात्रै होइन देशकै तटस्थ विदेश नीतिको परम्परा धान्न नसकेको उदाहरण दिए। विगतमा चीनतिर ढल्केको जस्तो देखिने ओली अडान र व्यवहार केवल भारतलाई आफूतिर केन्द्रित गर्न दबाब थप्ने हेतुले मात्रै थियो कि भन्ने आशंका उत्पन्न गराएको छ।
 
स्वराजको यो भ्रमणले भारतप्रति नेपाल र आम नेपालीको विश्वास र सम्मानलाई अझ चम्कायो भन्नेहरु पनि छन्। ओली र एमालेहरुले जतिसुकै हल्ला गरे पनि कुटनीतिक रुपमा चीनलाई वेवास्ता गरेर सत्तामा नजाँदै भारततिर ओलीको स्पष्ट झुकाव देखियो। सत्तामा जाँदा एमाले र ओली राष्ट्रवादी होइन, तटस्थ विदेश नीतिवादी होइन, पहिले भारतवादी बन्न उन्मुख छन् भन्ने सिद्ध गर्छ। नयाँ वाम सरकार नै ओलीपन्थको शिकार हुँदै गएमा भावी सरकार पनि तटस्थ विदेश नीतिको पक्षपाती हुन नसक्ने संकेत यसैबाट मिलेको छ। 

खासगरी सरकारको नेतृत्व गर्नुपूर्व कुन हैसियतमा र किन यो भ्रमणको रहरमा एमाले फस्यो भन्ने समीक्षा अब एमाले भित्रैबाट हुन जरुरी छ। दक्षिण छिमेकको एउटा उच्चस्तरीय कुटनीतिक या राजनीतिक भ्रमणमा साझा एजेण्डा र साझा समझदारीका साथ होइन, मात्रै सत्तामा जान लागेको पार्टी केन्द्रित रह्यो। यसले भारतको नेपाल नीतिमा होइन, सत्तामा जान लागेको एमालेप्रति मात्रै बदलिएको नजरियाको उदाहरण दियो। यो भ्रमण दिल्ली, एमाले, मोदी वा ओली जसको रहरमा भएको भए पनि देशभक्ति र स्वभिमानको आलोकमा ओलीको महत्वाकांक्षाको छायाँमा पर्यो। भारतले चाह्यो के वा चाहन्छ के भन्ने कुरा गौण हो। 

दक्षिण छिमेकी भारतका विदेशमन्त्री स्वराज चौविस घण्टाको नेपाल यात्रामा एमाले केन्द्रित भइरहँदा उत्तर छिमेकी चीनका राजदूत यु होङ तराई – मधेशका बाढी पीडितलाई राहत प्रदान गर्न महोत्तरीमा रमाउँदै थिइन्। उत्तर छिमेककी राजदूत होङले महोत्तरीको लोहारपट्टी नगरपालिका–५ डोठारा बस्तीका २ सय ९० बाढी पीडित दलित परिवारलाई राहत वितरण गर्दा दक्षिण छिमेककी विदेशमन्त्री स्वराज उच्चस्तरीय राजनीतिक भेटघाटमा मस्त थिइन्। यसको सिधा सन्देश हो - दक्षिण नेपालको राजनीतिमा दबदबा कायम गर्न उद्धत छ भने उत्तर जनताको मन जित्न प्रयत्नशील। 

नेपालले उत्तर र दक्षिण छिमेकलाई समान महत्व दिएको सन्देश यदि भावी प्रधानमन्त्री ओलीले दिने हो भने अब यही स्तरको चिनियाँ विदेशमन्त्रीको भ्रमण गराउन सक्नुपर्छ। तर, उत्तरी विदेशमन्त्री यही पारा र शैलीमा हान्निएर नेपाल आइहाल्लान भन्ने संकेत कम्तिमा अहिलेसम्म देखिएको छैन। यसको मतलब स्वराजको काठमाडौं यात्रा र एमालेको स्वराजको जयगानले उत्तरी छिेमकी चीनलाई ट्वाल्ल मात्रै होइन झल्यास्स पनि पारिसकेको छ। यसको असर आजको भोलि नभए पनि भावी सत्तामा नै देखिने छ। 

उत्तरी छिमेकले नेपाललाई भारत विरुद्ध कहिल्यै उक्साएन, मिलेर बस्न सुझायो। तर, यसको मतलव यो पनि होइन कि उत्तरलाई वेवास्ता गरेर नेपाल दक्षिणको मात्रै दाहिना हुनुपर्छ। तर, ओली कदम उत्तरी भन्दा दक्षिणी आलिंगनमा रमाउन अग्रसर देखिनु सन्तुलित छिमेक संबन्धको थप क्षति हुनेछ। 

स्वराज आएकोमा होइन, उनलाई कुटनीतिक मर्यादा विपरित निम्तो दिने ओली नै आलोचना र प्रहारको निशानामा हुनुपर्छ। एकजना भूतपूर्व र भावी प्रधानमन्त्री सामान्य विदेश मन्त्री भेट्न होटल धाउने र भोज ख्वाउने ओलीले चलाएको चलन कुटनीतिक परम्पराको क्रमभंग मात्रै होइन,  उनले बसाएको नयाँ बेथितिको नमुना पनि हो। ओली हुन् कि प्रचण्ड कुनै पनि भूतपूर्व प्रधानमन्त्रीहरु आफ्नो हैसियत बिर्सेर जब होटल होटल धाएर स्वराजको दर्शनमा लाम लागे भने गाली भारतीय वा स्वराजले होइन, ओली र प्रचण्डहरुले पाउनुपर्छ। 

दिल्ली आफैँ काठमाडौं धायो भनेर मख्ख पर्ने एमालेहरुले बुझ्नुपर्छ कि स्वराजको बधाई मात्रैले उसको नेपाल नीतिमा बदलाव आएको प्रमाणित गर्दैन। 

आफ्ना विदेश विभागहरुलाई वेवास्ता, विदेश मन्त्रालयलाई वेवास्ता, पार्टीका विदेश विभाग प्रमुखहरुलाई उपेक्षा गरेर ओली, प्रचण्डहरुले स्वराजसँग गरेको एक्लो भेटवार्ता उनीहरुले दिल्ली दरवारलाई वैधानिक शक्ति केन्द्र र मालिक मानेको उदाहरण हो। ओली प्रचण्डले एक्लाएक्लै गरेका बातचितका कुनै पनि विवरण सार्वजनिक नहुनु त झन् उनीहरुले मालिकलाई आन्तरिक राजनीतिको रिर्पोटिङ मात्रै गरेर देशलाई ढाँटेको प्रमाण हो। 

यसले देशको भावी गठबन्धन नै भारतीय पृष्ठपोषक हुने खतरा बढाएको छ। नयाँ जोगीले धेरै खरानी धस्छ भने झै युद्धकालमा उम्दा क्रान्तिकारी देखिएका प्रचण्ड र अलौकिक राष्ट्रवादी देखिएका ओलीको यो छद्मभेषको घुम्टो उर्तान ती पार्टीभित्रैका देशभक्तहरुले ढिला गरे भने यहाँ दिल्लीको झेल्ली बढ्ने मात्रै छैन नक्कली राष्ट्रवादीहरुको चंगुलमा देश नै फस्नेछ। सबै चासो र चिन्ता देखाउनुपर्ने साझा सबाल यही हो। 

सुष्माले दिल्ली फिरेर कस्तो सुस्केरा हालिन्? त्यो हेर्न बाँकी छ। तर, यसले काठमाडौं वाम सत्ताको विदेश नीति सरकार नबन्दै भारत परस्तका रुपमा छताछुल्ल पारेको छ। छपकैयामा मिचिएको नेपाली सीमा वा अन्य सीमाका मुद्दा,  तराईमा बढाइएका भारतीय पेन्सनपट्टाका अड्डा आदि सवालमा प्रचण्ड, ओलीहरुले स्वराजसँगका वार्तामा मौन रहनुले पनि उनीहरुको नक्कली मुहार उदांगो भइसक्या छ।



सुष्माको आगमनले देखाएको ओलीको अनुहार (टिप्पणी) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट