PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

​'भ्रष्ट्राचार मुद्दामा कसैलाई बचाउन सकिन्न'



​'भ्रष्ट्राचार मुद्दामा कसैलाई बचाउन सकिन्न'
तस्बिरः nepalenergyforum.com

काठमाडौँ: प्रधानमन्त्री सुशील कोइरालाले भ्रष्ट्राचारको मामिलामा कसैलाई पनि आफूले बचाउन नसक्ने बताएका छन्।

बुधवार विश्वविद्यालय अनुदान आयोगका पदाधिकारी तथा विभिन्न विश्वविद्यालका उपकुलपतिसँगको भेटमा प्रधानमन्त्री कोइरालाले कोही भ्रष्ट्राचारको मुद्दामा मुछिए आफूलाई नभन्न आग्रह गरे।

'मैले गल्ती गरेँ भने मैले पनि सजायँ पाउनुपर्छ', कोइरालाले भने, 'कोही कुनै घटनामा मुछिए मलाई नभन्नुहोला। म सत्तामा बसिराख्ने र टिकीराख्ने भनेर आएको होइन।'

प्रधानमन्त्री कोइरालाले विश्वविद्यालय जस्ता शैक्षिक र प्राज्ञिक संस्थामा आर्थिक अनियमितता र भ्रष्टाचारका समाचार सुन्नुपर्दा पीडा महसुस भएको बताए। प्राज्ञिक क्षेत्रमा आएका अनियमितताका विषयले सबैलाई निराश बनाउने भएकोले असल काम गर्नेलाई मात्र प्रोत्साहित गर्नुपर्ने उनले बताए।

कार्यक्रममा उपकुलपतिहरुले अख्तियार जस्तो गरिमामयी संवैधानिक निकायले प्राज्ञिक क्षेत्रको गरिमा र मर्यादा गर्न नसकेको तथा बेरुजु र भ्रष्ट्राचारको बारेमा अन्तर समेत नबुझेको बताए। उनीहरुले अख्तियारले अनुसन्धान अधिकृत खटाएर विश्वविद्यालयको गरिमामा आँच पुग्ने गरी काम कारबाही गरेको, प्राज्ञको अपमान गरेको तथा स्वायत्त संस्थामा पनि निजामति सेवाको जस्तो परिपाटी खोजेर हतास बनाउने गरेको गुनासो गरे।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. पराशर कोइराला र सचिव भोला पोखरेलले नयाँ खुलेका विश्वविद्यालयहरुमा थालिएको छानबिनले आयोगबाट आर्थिक सहयोग लिएर काम गर्न विश्वविद्यालयका पदाधिकारी र कर्मचारीको जाँगर मरेर ती संस्थाको स्वभाविक विकास नै अवरुद्ध हुने जोखिम देखिएको बताएको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell