PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


सहरमा चढेको भ्यालेन्टाइन फिभर


किशोर नेपाल

सहरमा चढेको भ्यालेन्टाइन फिभर

  • कान्तिपुर गाथा -
उनी सन्त थिए। प्रेमका गुरु। सन्त भ्यालेन्टाइन।

कान्तिपुर शहरमा उनी कहिले आए? कसैलाई थाहा छैन। उनको नाममा कुनै मठ मन्दिर र धर्मशाला बनेका पनि छैनन्। जे छन् ती दरवार मार्गमा छन्। सन्त भ्यालेन्टाइन बार र रेष्टुराँमा रमाउँदैनन्। तर उनका अनुयायीहरु त्यहीँ भेटिन्छन्। 

पर्सि सोमवार के-के हुने होला? दरवारमार्गका कुन-कुन होेटलका शिशा फुट्ने होलान्। कुन-कुन होटल सुरक्षित जोगिएलान्?

आखिर सुदिप्ती र कनिका दुवै पत्रकार न परे। उनीहरुलाई त हरेक दिन एउटा न एउटा आपत्तिको आवश्यकता पर्ने नै भयो। यो आपत्तिवाला समाचार अलिकति खतरनाक हुने त भै हाल्यो। त्यसैले रिपोर्टरहरु “चोलीके पिछे क्या है ?” मा नै लागेका हुन्छन्। आपत्तिवाला समाचारमा कनिका र विपत्तिवाला समाचारमा विपुलसिंह बाहेक अरु त्यति तात्दैनथे।
 
विपुलसिंह भ्यालेन्टाइन दिवस कनिकासँग मनाउने सोचेमा थियो। कनिका उसलाई मनपर्थी। मन त पर्थी, तर विपुलसिंहले अहिलेसम्म ऊसँग धक फुकाएर बोल्न सकेको थिएन। कनिका राम्री थिई।  तर उसको सौन्दर्यको तारीफ गर्ने साहस थिएन विपुलमा।

कसो-कसो यो पटक भने विपुलले अलिकति साहस देखायो। उसले कनिकासँग भन्यो, यो पटक भ्यालेन्टिन तिमीलाई बनाउने विचार छ। 

कनिका वास्तवमा खुशी भई। उसलाई यसरी डाइरेक्ट भ्यालेन्टाइन मनाउने निम्तो दिने अर्को कोही थिएन।
 
कनिकाले सोधी, “किन रोज्यौ त मलाई नै?”

विपुलले सोझै जवाफ दियो, “तिमी मलाई राम्रो लाग्छ्यौ।”

उनीहरु बीच सोमबार डिनर फिक्स्ड भयो। हंग्री प्यारोट्स कान्तिपुरमा भर्खर खुलेको रेष्टुराँ थियो। विपुलले त्यहीँ टेवल बुक गर्‍यो कनिका र आफ्नो लागि।

कनिका र विपुलको रात्रि भोजको चर्चा अखवारको लबीमा व्याप्त थियो। तर, कनिका र विपुल दुवैलाई कसैले यसबारे प्रश्न गरेको थिएन। कनिकाले मानेको अवस्थामा विपुल उसँग बिहे गर्न तयार थियो। तर, यो त्यति सजिलो कुरा थिएन। कनिकाको अहिलेसम्मको पूरै जीवन पश्चिमी शैलीमा ढालिएको थियो। त्यो शैलीमा परिवर्तन असम्भव थिएन। तर, त्यति सजिलो पनि थिएन। बाबा–ममीले अनुमति दिएको खण्डमा कनिका कुनै पनि बेला बेलायत उड्ने तयारीमा थिई। तर, उसको बाबा–ममी मात्रै होइन, साथी सुदिप्ती पनि कनिका बेलायत फर्किने कुराको विरोधी थिइ।
 
अखबारमा काम गर्ने अधिकांश पत्रकारहरु आफूले पाउने तलबबाट सन्तुष्ट थिएनन्। सानो तहबाट भर्खर काम सिक्न थालेको पत्रकारसमेत बीस हजारको रेन्जमा तलबको आशा राख्दथे। पैसा खर्च गरेको अनुपातमा कम्पनीले पाउनुपर्ने सेवा पाएको थिएन। पत्रकारले पैसाको बढी डिमाण्ड गर्दा लगानीकर्ताले हात झिक्ला भन्ने डर थियो। पत्रकारिता बिस्तारै पावरको रुपमा विकसित भएकोले न त लगानीकर्ताले हात झिक्ने अवस्था थियो, न कामदारले बढी तलव माग्ने परिस्थिति थियो। देशमा बलियो हुँदै गएको पेशा यही मात्रै थियो जहाँ झगडा र प्रेम एकैसाथ शुरु हुन्थ्यो।

यता, सुदिप्तीले पनि ह्याट्रिक्स मारेकी थिइ। कनिका र विपुलको डिनर हंग्री प्यारोट्समा रहेको थाहा पाएपछि उसले पूरै सम्पादकीय टीमलाई त्यहीं निम्त्याएकी थिइ डिनरका लागि। भ्यालेन्टाइनको साँझ आठ बजे कनिका र विपुल रेष्टुराँमा पुग्दा उनीहरु आफना साथीहरुबाट घेरिए। उनीहरुलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्ने त कति कति।

प्रेमका एकजना महान सन्तको नाममा संसारको सवै भागमा जयजयकार हुनु त ठूलो कुरा हुँदै हो। यता भोजको बीचैमा सुदिप्ती ठूलो छटपटीमा थिई। उसले पाएको सूचना अनुसार, जित्नुपर्ने मानिस हार्ने र हार्नुपर्ने मानिस जित्ने धुन्धुकारी खेल भइरहेको थियो। कनिकाले भनी, “डोन्ट वरी। आइ वील फाइण्ड आउट।”

आधा घण्टामा मा नै फर्किइ कनिका। एउटै पार्टीका मानिसहरु आफ्नै पार्टीका मानिससँग गुर्राउँदै थिए। तर, भोज भने सबैतिर जारी थियो।

(तीन दशकदेखि निरन्तर लेखिएको किशोर नेपालको 'कान्तिपुर गाथा' तन्नेरी पुस्ताले रुचाएको लोकप्रिय सिर्जना हो। परम्पराका नाममा हुर्काइएका पाखण्डमाथि कटाक्ष र स्वतन्त्र बाँच्न चाहने तन्नेरी पुस्ताको यायावरी जीवनको वर्णन गाथाको मुख्य पक्ष हो। फ्याक्ट र फिक्सनको संयोजन गरी टेलिसिरियल शैलीमा लेखिएका गाथा हरेक हप्ता पहिलोपोस्टमा प्रकाशित हुन्छ। )



सहरमा चढेको भ्यालेन्टाइन फिभर को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट