PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

​२०५८ जेठ १९ : के भएको थियो नारायणहिटी दरबारभित्र त्यो दिन?



  • पहिलोपोस्ट -
२०५८ जेठ १९ : नेपालीले कहिल्यै बिर्सन नसक्ने एउटा कालो दिनको रुपमा इतिहासमा दर्ता भइसकेको छ। तत्कालीन राजा वीरेन्द्रको वंशनाश भएको यो दिन खासमा के भएको थियो, शंका र उपशंकाका अनेक कहानी छन्। तर आधिकारिक रुपमा यो घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय समितिले घटनास्थलको अवलोकन, भौतिक चीज वस्तुको संकलन र वैज्ञानिक परीक्षण, घटना प्रत्यक्ष रूपमा देख्ने, घटनाबाट पीडित, एवं शाहीरक्षकहरू लगायतका उद्धारकार्यमा संलग्न व्यक्तिहरू, उपचारकार्यमा संलग्न चिकित्सकहरू लगायतका व्यक्तिहरूसँग सोधपुछ गरेपछि सार्वजनिक गरेको तथ्य यस्तो छ-
 

राति ७ : ३० बजे : नारायणहिटी राजदरबारमा हरेक महिनाको तेस्रो शुक्रवार राति नियमित रूपमा पारिवारिक जमघटको आयोजना गर्ने परम्परा रहे अनुसार २०५८ जेठ १९ गते शुक्रवार नारायणहिटी राजदरबारको त्रिभुवन सदनमा निमन्त्रणा। 
राति ८ बजे
युवराज दीपेन्द्रले आफ्नो मोटरबाट मुमाबडामहारानी बस्ने बंगला महेन्द्र–मञ्जिलमा गई श्री ५ मुमा बडामहारानीलाई मोटर आफैले चलाई जमघटस्थान त्रिभुवन सदनमा ल्याएको।
 

राति ८ बजेपछि : युवराज दीपेन्द्र त्रिभुवन सदनको विलियार्ड कोठामा केही समय एक्लै विलियार्ड खेलेको र त्यस क्रममा १/२ पेग निट (पानी नराखी) ह्विस्की समेत पिएको। राजा वीरेन्द्र त्रिभुवन सदनमा सवारी हुनुभन्दा केही समय अगाडि (करिव १०–१२ मिनेटजति अगाडि) युवराज शरीर थाम्न नसकी ढलपल ढलपल गरेको देखी ह्विस्कीको असरले हो कि ? भन्ने सम्झी नीराजन, पारस, कुमार गोरख र डा.राजीव समेत ४ जना भई त्रिभुवन सदनभित्र रहेको खोपीमा सवारी चलाएको।
 

राति ८ : १९ बजे

युवराज दीपेन्द्र विलियार्ड कोठामा रहँदाकै अवस्थामा आफ्ना पाश्र्ववर्ती गजेन्द्र वोहरालाई चुरोट ल्याउन मोबाइल फोनबाट हुकुम भएको। सोही बमोजिम बोहराले शाही अर्दली रामकृष्ण केसीलाई आदेश गरे अनुसार उनले विशेष प्रकारको (शिखर चुरोटमा गाजाँ र अर्को नाम नखुलेको कालो पदार्थ मिसाई तयार गरिएको) चुरोट विलियार्ड कोठाको पूर्व ढोकामा गई पारसमार्फत् जिम्मा दिएको।

राति ८ : १२ बजे

युवराज दीपेन्द्रको मोबाइलबाट देव्यानी राणासित १ मिनेट १४ सेकेन्ड कुरा भएको।

राति ८ :१९ बजे

  • दोश्रो पटक देवयानी राणाले आफ्नो ल्यान्डलाइन फोनबाट युवराज दीपेन्द्रको मोबाइलमा ४ मिनेट १४ सेकेण्ड कुरा गरेको। कुरा भइरहेको समयमा स्वर लड्वराई रहेको जस्तो लागेकोले अरु कुरा हुन नसकेको कारणले “श्री ५ युवराजाधिराजको स्वर अलि लड्वराइ राखेको छ अलि सञ्चो छैन कि ? भनी श्री ५ युवराजाधिराजको पाश्र्ववर्ती गजेन्द्र वोहरालाई अफिसमा र राजु कार्कीलाई निजको घरमा फोन गरेर खोपीमा गई हेर्न आग्रह गरेकी हुँ” भनी देव्यानीले पछि समितिलाई बयान दिएको।
  • सोही अनुसार अर्दली रामकृष्ण केसी र द्वारे आमा जमुना अधिकारी खोपीमा पुग्दा युवराज भुइँमा पल्टिराखेको र शरीरको माथिल्लो कपडा फुकाल्न खोजेकोदेखि सो कपडा फुकाल्न उनीहरुले सहयोग गरेको र कपडा फुकालिसकेपछि युवराज बाथरूम गएको, बाथरुमभित्र वाक वाक गरेको आवाज जमुना अधिकारी समेतले सुनेको र बाथरुमबाट निस्केपछि युवराजले ती दुवैजनालाई सुत्न आ–आफ्नो कोठातिर जानूभनी  हुकुम भएको भन्ने द्वारे आमा र अर्दली रामकृष्ण केसीको कथन।

राति  ८ : ३० बजे

राजा वीरेन्द्र आफ्नो कार्यालयबाट सिधै त्रिभुवन सदनमा पैदल सवारी भई  मुमा वडामहारानीको दर्शन गरी केही समयको भलाकुसारी पछि विलियार्ड कोठातर्फ सवारी भएको।
 

राति ८ : ३९ बजे

युवराज दीपेन्द्रले आफ्नफो मोबाइलबाट देवयानी राणाको मोबाइलमा ३२ सेकेन्ड कुरा गरेको।  “अब म सुत्न लागें”,  “गुड नाईट, भोलि कुरा गरौला” भनेको देवयानीको कथन।
 
 
  • देवयानी राणासँग फोन सम्पर्कपश्चात् युवराज दीपेन्द्र सैनिक कम्व्याट पोशाक पहिरी हातहतियारसमेत लिई खोपीबाहिर निस्किए। अर्दली रामकृष्णले बाहिर सवारी हुने रहेछ क्यार भन्ने ठानी “इमर्जेन्सी व्याग टक्रयाउँ सरकार ?” भन्दा “पर्दैन अहिले” भन्ने हुकुम भएको भन्ने अर्दली रामकृष्णको कथन।
 
  • युवराज दीपेन्द्र कम्व्याट सैनिक पोशाकमा दुईतर्फ राइफल र १२ बोर भिरी बिलियार्ड कोठातर्फ प्रवेश गरेको बिलियार्ड कोठासँगै जोडिएको डाइनिङ्ग कोठाको पूर्वपट्टिको बैठकबाट व्वाइज बच्चुराम केसीले देखेको।
 
  • युवराज सैनिक कम्व्याट पोशाकमा विलियार्ड कोठामा प्रवेश गरे। कालो रङ्गको बन्दुक -9 mm. Caliber MP-5K Automatic Sub-machine Gun) ले कोठाको सिलिङ र पश्चिम भित्तातर्फ फाएरिङ्ग गरे। त्यसपछि तत्काल विलियार्ड टेवुलको पूर्व छेउमा उभिएर अरुहरूसंग कुरा गरिरहेका राजा वीरेन्द्रलाई भटटट फायर गरी पछाडि सर्दै विलियार्ड कोठा बाहिर निस्के। कोठाको पूर्वतर्फ भित्री बगैँचाको छेउकै उत्तर तर्फ झ्याङ्ग नजिक १२ वोरको वन्दुक -SPAS 12- L FRENCH SPA) फ्याँकी पुनः भित्र विलियार्ड कोठामा प्रवेश गरे। बत्ती र टेलिस्कोपसहितको राइफल 5.56mm Caliber Colt M-16 A2 सोझ्याउँदै आएर भटटट पार्दै पुनः राजा वीरेन्द्र एवं कुमार गोरख शम्शेर राणा, श्री धीरेन्द्र शाह र कुमार खड्गविक्रम शाह समेतलाई फाएरिङ्ग गरी पछाडि सर्दै ढोकामा पुगे। पुनः अगाडि बढेर तेस्रो पटक अधिराजकुमारी श्रुति राज्यलक्ष्मी देवी राणा, श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी शाह, श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी सिंह र श्री ५ शाहज्यादी जयन्ती शाह लगायत अन्यलाई लाग्ने गरी जथाभावी परररर फाएरिङ्ग गरी युवराज दीपेन्द्र विलियार्ड कोठाबाट बाहिर पूर्वतिरको भित्री बगैँचातर्फ पछाडि सर्दै गएको (घटनास्थलमा उपस्थित श्री ५ अधिराजकुमारी शोभा, श्री ५ शाहज्यादा पारस, कुमार गोरख, केतकी चेष्टर, रवि शम्शेर , डा. राजीव शाही, महेश्वर कुमार सिंह समेतको बयान)
 
  • विलियार्ड कोठामा तेस्रो पटक अन्धाधुन्द फाएरिङ्ग गरे पश्चात् पछाडि सर्दैसर्दै पूर्वतर्फको भित्री बगैँचातिर जाँदा रातो सारी पहिरिएको महिलाको आकृतिले पनि त्यसतर्फ खेदेको (विलियार्ड कोठासँग जोडिएको उत्तरतर्फको डाईनिङ्ग रुमबाट व्वाइज शान्तबहादुर खड्का समेतले देखेको)
 
  • विलियार्ड कोठाबाट पूर्व भित्री बगैँचामा जाने वाटो हुँदै सो बगैँचाको उत्तर त्रिभुवन सदन खोपीतर्फ जाने बाटो र पूर्वतर्फ रहेको प्रतीक्षास्थल (सेड)मा जाने सानो वाटोको संगम जस्तो ठाउँमा रानी ऐश्वर्य पछाडि पछाडि  अधिराजकुमार नीराजन सवारी भएको (श्रीमती केतकी चेष्टर समेतको भनाइ)
 
  • सोही ठाउँमा रहेको नीलकाँडाको झयाङ्ग नाघी सानो चौरमा उभिएर दक्षिण मोहडा गरी उत्तरबाट दक्षिणतर्फ गोली चलेको त्यहाँ प्राप्त भएको गोलीको खोकाको स्थिति र दक्षिणतर्फको भित्तामा रहेको गोली लागेको प्वालहरू समेत घटनास्थलको अवलोकनबाट देखिएको र सो ठाउँमा नै अधिराजकुमार नीराजन पूर्वतर्फ टाउको परेर ढलेको अचेत अवस्थामा देखिएको भन्ने उद्धार गर्न आएका सेनानी बिष्णु खड्का समेतले त्यहाँबाट बोकी बाहिर ल्याई मोटरमा राखी अस्पताल पुर्‍याएको। 
 
  • विलियार्ड कोठामा भएको फाएरिङ्ग पश्चात् त्रिभुवन सदनको मूल ढोकाको दाहिने पट्टिको एडिसी अफिसको भित्री कोठामा रहेका शाही पाश्र्ववर्तीहरू फाएरिङ्गको आवाज र “डाक्टर चाँडो बोलाऊँ...” भन्ने आवाज सुनी भित्र गई विलियार्ड कोठाबाट चाँडो उद्धार गर्न सो कोठाको दक्षिणतर्फको सँधै बन्द रहने गरेको ढोकाको सिसा फुटाएर शाही पाश्र्ववर्ती महासेनानी सुन्दरप्रताप राना समेत भित्र प्रवेश गरी राजा वीरेन्द्रलाई अचेत अवस्थामा बाहिर बोकेर ल्याई मोटरमा राखी सैनिक अस्पताल छाउनी लगेको।
 
  • युवराज दीपेन्द्रको खोपीतर्फ जाने सानो पोखरीको पुलबाट उत्तर लागी माथि तलाको खोपीतर्फ जाने मुख्यद्वार हुँदै भित्री भर्‍याङको सातौं खुड्किलोमा रानी ऐश्वर्यलाई खोपीमा पुग्ने ठाउँको भर्‍याङ्गको माथिल्लो भागमा रहेको ल्याण्डिङ्ग एरियाबाट फायरिङ्ग भएको। रानी ऐश्वर्य ढलेको भनिएको ठाउँमा गिदी वाहिर निस्की छरपष्ट भएको, केही दाँत र वंगाराहरू समेत झरी छरिएर यत्रतत्र रहेको, रातो टीका, दुईवटा कानको रातो टप, रातो चुराको टुक्राहरू रहेको, रगतको छिर्काहरू ठाउँ ठाउँमा लागेको एक किसिमको रगतको खोलै वगेको स्थिति घटनास्थलको अवलोकनबाट देखिएक।
 
  • युवराज बस्ने त्रिभुवन सदन (जहाँ उनको खोपी छ) अगाडिको बगैँचाको स–साना पोखरीको सानो पुलको दक्षिण भागमा उत्तानो पल्टी घ्वार घ्वार आवाज निकाली रहेको अवस्थामा युवराज दीपेन्द्रलाई भेटिएको भनी उद्धारकर्मी सेनानी विष्णु खड्का एवं शाही पाश्र्ववर्ती समेतले समिति समक्ष जानकारी गराएको।
 

राति ९ : १५

  • श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेव राति ९ : १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ बडामहारानी ऐश्वर्य राज्यलक्ष्मी देवी शाह राति ९: १५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ अधिराजकुमार नीराजन वीर विक्रम शाह राति ९:१५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
 

राति ९ : २०

  • श्री ५ अधिराजकुमारी श्रुति राज्यलक्ष्मीदेवी राणा राति ९: २० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र ९:५५ बजे अस्पतालमा मृत घोषित।
 

राति ९ :२४

  • श्री ५ युवराजाधिराज दीपेन्द्र वीर विक्रम शाहलाई राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र जेठ २२ गते सोही अस्पतालमा बिहान ३ : ४५ बजे मृत घोषित। उपचारका लागि अस्पताल पुर्‍याउँदा पञ्जा लगाएको अवस्थामा पुर्‍याइएको अस्पतालको पत्र। सो एकजोर पञ्जा वाहेक घटनास्थल एवं अस्पताल समेतबाट अन्य कुनै पञ्जा प्राप्त हुन सकेको देखिँदैन।
 
  • श्री धीरेन्द्र शाह राति ९ : २४ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याएको र जेठ २२ गते बेलुकी ५ : ५७ बजे सोही अस्पतालमा मृत घोषित।
 

राति ९ :३०

  • श्री ५ अधिराजकुमारी शारदा राज्यलक्ष्मी देवी शाह राति ९:३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री ५ शाहज्यादी जयन्ती राज्यलक्ष्मी  शाह राती ९: ३० बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।

 
राति ९ :३५

  • श्री ५ अधिराजकुमारी शान्ति राज्यलक्ष्मी देवी सिंह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
  • श्री कुमार खड्गविक्रम शाह राती ९:३५ बजे वीरेन्द्र सैनिक अस्पताल पुर्‍याउँदा मृत घोषित।
 (दरबार हत्याकान्डको छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनबाट। राजा ज्ञानेन्द्रले २०५८ जेठ २२ गते  प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित यो समितिमा सभामुख तारानाथ रानाभाट र प्रतिनिधि सभामा विपक्षी दलका नेता माधवकुमार नेपाललाई ज्ञानेन्द्रले सदस्य तोकेको भए पनि नेपालले समितिमा बस्न अस्वीकार गरेका थिए। नेपालले “उक्त समितिमा रहेर काम गर्ने सम्बन्धमा २०५८ साल जेठ २३ गते बसेको नेकपा (एमाले) स्थायी कमिटीको बैठकले मेरो हकमा उक्त समितिमा रहन नसकिने निर्णय गरेकाले सोही बमोजिम सो समितिबाट राजीनामा जाहेर गरेको छु । उक्त घटनाको विधिवत् रूपमा हुने छानवीन प्रक्रियामा म र हाम्रो पार्टीको पूर्ण सहयोग रहने व्यहोरा विन्ति गर्न चाहन्छु” भनी समितिका अध्यक्ष मार्फत् चढाभएको राजीनामा राजा ज्ञानेन्द्रले जेठ २४ गते स्वीकृत गरेका थिए। जेठ २६ गतेदेखि काम सुरु गरेको यो समितिले जेठ ३२ गते प्रतिवेदन पेश गरेको थियो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell