PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

भूकम्प बिर्सन टुँडिखेलमा निर्मलीसँग नाचगान



काठमाडौं: भूकम्‍पपछि बालबालिकामा रहेको त्रास हटाउन मंगलबार नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सांगीतिक कार्यक्रम गर्‍यो।

दिउँसो २ बजेलाई निर्धारण गरेपनि टुँडिखेलका शिविरमा रहेका भूकम्प पीडित परिवारले राहत लिने बेला परेकाले कार्यक्रम करिब एक घण्टा ढिला सुरु भयो। कार्यक्रम सुरुवातको औपचारिकतापछि नै दर्शक दीर्घाबाट एक बालिकाले 'चौबन्दीमा पटुकी' गीत गाएसँगै टुँडिखेल गुन्जिन थाल्यो। अर्का बालकले थपे 'हे आमा नेपाल तिमीलाई संसारकी राम्री बनाउँला।'

एक पछि अर्को गर्दै टुडिखेलमा बसेका बालबालिकाले गीत गाएपछि पालो आयो कलाकार निरु खड्का अर्थात निर्मलीको। उनले माइक हातमा लिएदेखि नै बालबालिकाहरु झ्याम्मिन थाले। जब उनले कम्मरमुनि पटुकी बोलको गीतमा नाच्न थालिन् सबै बालबालिकाहरु उठेर सँगै नाच्न थाले।

यहाँ कसलाई एक्टिङ गर्न आउँछ? कोही फसिलाल बन्ने हो। हैन म पाँडे सोल्टीको जानेको छु भन्दै एक बालक अघि सरे। उनले हास्य श्रृङ्खला भद्रगोलका पात्र पाँडेसोल्टीको क्यारिकेचर गरे। उनको अभिनयपछि बालबालिकाले एकछिन बिभिन्न गीतमा नाचगान गरे।

कार्यक्रममा भूकम्प आएका बेला भाग्न नहुने, घरभित्र भए टेबुल वा खाटमुनि लुक्ने र घर बाहिर भए खुला ठाउँमा बस्ने भनेर पनि सिकाइएको थियो। भूकम्प सँधै जान सक्ने भएकाले सजग हुन पनि सिकाइएको थियो। भूकम्पपछि बालबालिकामा परेको नकारात्मक असर कम गरेर सामान्य जीवनमा फर्काउन मनोरन्जनात्मक कार्यक्रम गरिएको नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ तथा गीतकार उन्नति बोहरा शिलाले बताइन्।








फोटो:अंगद ढकाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell