PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

दुई नम्बर प्रदेशमा बन्ने मधेश सरकारको प्राथमिकता केमा? भावी मुख्यमन्त्री लालबाबु राउतसित अन्तर्वार्ता



दुई नम्बर प्रदेशमा बन्ने मधेश सरकारको प्राथमिकता केमा? भावी मुख्यमन्त्री लालबाबु राउतसित अन्तर्वार्ता
फोटो : लालबाबु राउतको फेसबुकबाट

दुई नम्बर प्रदेशमा प्रदेश प्रमुखले सरकार गठन प्रक्रियाका लागि आह्वान गरिसकेका छन्। फागुनको पहिलो साता मै यो प्रदेशले मुख्यमन्त्री पाउनेछ। प्रदेशको सबभन्दा ठूलो दल संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता मोहम्मद लालबाबु राउत ‘गदी’ मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन्।

दोस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र फोरमबीच संयुक्त सरकार बनाउने सहमति भइसकेको छ जसअनुसार राउत नै मुख्यमन्त्री बन्ने निश्चित छ। दुई नम्बर प्रदेशसहितका विषयमा भावी मुख्यमन्त्री राउतसँग वीपी साहले गरेको कुराकानी।

० तपाई मुख्यमन्त्री भएपछिको पहिलो काम के हुन सक्छ ?
दुई नम्बर प्रदेशमा गर्नुपर्ने धेरै काम छन्। सरकारसँग जनताको ठूलो अपेक्षा पनि छ। आन्दोलनको जगमा यहाँ हाम्रो सरकार बन्दैछ। अन्य कयौं कामहरु हुँदाहुँदै पनि पहिलो काम सहिदको सपना पूरा गर्नु हो। हामीले सहिद परिवारको सम्मान र सहिदको सपना साकार गर्नतर्फ लाग्नु पर्छ। यससँगै जोडिएका कयौं कामहरु छन्। मेरो लागि यी कामहरु नै पहिलो प्राथमिकतामा पर्नेछ।

० त्यसो भए आन्दोलनताका तपाईँहरुले सहिद परिवारलाई दिने भनेर घोषणा गर्नु भएको ५० लाख पाउँछन् त ?
त्यो तत्कालै सम्भव जस्तो तपाईंलाई लाग्छ? पैसाले मात्रै सहिद परिवारको सम्मान हुने होइन। अन्य धेरै कुराबाट उहाँहरुको सम्मान हुन सक्छ। त्यसकारण सहिद परिवारको आर्थिक अवस्थाका विषयमा पनि हाम्रो सरकारले सोच्नेछ। हामी हरसम्भव सहयोग गर्नेछौं।

० त्यसपछि दुई नम्बर प्रदेशमा गर्नुपर्ने अन्य काम चाहिँ के हुन सक्छ?
महत्वपूर्ण काम सुशासन कायम गर्नु हो। प्रदेशभित्रको विविधतालाई ध्यानमा राख्दै शान्ति सुरक्षासहित सुशासन कायम गरी प्रदेशको हकहितमा अगाडि बढ्ने कार्य मेरो प्राथमिकतामा पर्नेछ। सबै जनताको सहयोगको अपेक्षा पनि गरेका छौं। दुई नम्बर प्रदेशका जनताको मनबाट निर्वाचित हाम्रो सरकार हुनेछ। त्यसकारण उहाँहरु कै सहयोग र सल्लाहमा हाम्रो सरकार चल्नेछ।

० देशमै सबभन्दा बढी गरीब दुई नम्बर प्रदेशमा छन्। मानव विकास सूचकांकमा पनि पछाडि छ। यस विषयमा केही धारणा बनाउनु भएको छ?
हो, दुई नम्बर प्रदेशलाई सबभन्दा बढी गरीब प्रदेश भन्न मिल्छ। तर यहाँ गर्न सक्यो भने धेरै कुरा छ। मेरो प्राथमिकता पनि गरीब हटाउने हुनेछ। शिक्षा, स्वास्थ्यलगायतका आधारभूत कुराहरुलाई सहज बनाउनु पर्छ जसका लागि हाम्रो सरकारले काम गर्नेछ।
 
० तपाईँहरुको सरकार मधेश आन्दोलन कै जगमा बनेको हो। त्यसो भए मधेश आन्दोलनका एजेण्डाहरु चै के होला ?
मधेश आन्दोलनको माग पूरा गर्न नै दुई नम्बर प्रदेशमा मधेश सरकार बन्दैछ। हामी मधेश आन्दोलनको मर्म भावना अनुरुप नै अगाडि बढ्छौं। मधेशसँग भएको विभेदलाई अन्त्य गर्न दुई नम्बर प्रदेशको मधेश सरकार पनि महत्वपूर्ण छ। र, हामी ती एजेण्डालाई अझै सशक्त ढंगले अगाडि बढाउँछौं।
 
० त्यो भए तपाईहरुले चुनावी एजेण्डा बनाएको संविधान संशोधनको विषय पनि अगाडि उठ्ला नि ?
संविधानमा रहेको त्रुटि सच्याउन पर्छ भनेर मैले सधैं भनेको छु र आगामी दिन पनि भन्ने छु। हाम्रो पहल पनि संविधान संशोधनका लागि रहनेछ। अहिले हामी संविधानलाई मानेर अगाडि बढेका छौं, यसको मतलब यो होइन कि संविधानको त्रुटि नसच्याइयोस्। मधेश आन्दोलन, आदिवासी जनजाति आन्दोलनसहितका आन्दोलनको मागलाई सम्बोधन हुने गरी संविधानमा रहेका त्रुटि सच्याइनु पर्छ।
 
० त्यो भए दुई नम्बर प्रदेशको राजनीतिक समीकरण कस्तो देख्नुहुन्छ?
दुई नम्बर प्रदेशमा सबभन्दा महत्वपूर्ण कुरो के छ भने हामी आन्दोलनकारी दुईवटा दल मिलेका छौं। मधेशी जनताको भावना पूरा गर्न हामी एक ठाउँमा आएका छौं, सबैका लागि यो खुशीको कुरा हो। यो समीकरण अझै बलियो भएर जानेछ।
 
० अन्तिममा दुई नम्बर प्रदेशको स्रोत साधनबाट विकास सम्भव छ?
केन्द्र सरकारको नीतिमा पनि भर पर्ने कुरा हो। केन्द्रबाट कस्तो सहयोग प्राप्त हुन्छ, त्यस आधारमा दुई नम्बर प्रदेशलाई सक्षम प्रदेश बनाउन सकिन्छ। तर दुई नम्बर प्रदेशमा पनि स्रोतसाधनको कमि छैन। हामी यसलाई प्रयोग गर्ने र सम्वृद्ध मधेश बनाउने प्रयास गर्नेछौं।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell